Kathmandu Press

लकडाउनमा सहयोगी बन्दै अनलाइन व्यवसाय

काठमाडौं, वैशाख ५ : लामो लकडाउनले सबै घरभित्रै थुनिएका छन्। व्यापार व्यवसाय ठप्प छ। तर, महाराजगञ्जस्

लकडाउनमा सहयोगी बन्दै अनलाइन व्यवसाय

काठमाडौं, वैशाख ५ : लामो लकडाउनले सबै घरभित्रै थुनिएका छन्। व्यापार व्यवसाय ठप्प छ। तर, महाराजगञ्जस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरका विशाल खत्रीलाई यतिवेला खाद्यान्नको सूचि बनाउन भ्याइनभ्याई छ।

गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेपछि उनीहरुको टिमले सेल्सबेरी डट कममार्फत ‘होम डेलिभरी’ गरिरहेको छ। यो टिमले आम मानिसको घरदैलोमै सामान पुर्‍याइरहेको छ।

अतिआवश्यक दैनिक उपभोग्य सामान अनलाइन अर्डरका आधारमा घरघरमा पुर्याइरहेको उनी बताउँछन्।। ‘हुनेखानेले पहिल्यै चाहिने सामान जोहो गरेर राखिसकेका छन्, तर मध्यमवर्गीय सबैलाई यस्तो सम्भव छैन। त्यसैले उहाँहरुलाई  आवश्य परेको सामान अर्डर गर्नुभयो भने पुर्‍याइदिने गरेका छौं,’ विशाल भन्छन्।

Hardik ivf

दुई वर्षदेखि सेल्सवेरीमा बजार व्यवस्थापकका रुपमा कार्यरत उनी अनलाइनमार्फत व्यवसायी चलाइरहेका छन्। उनीहरुको १२ जनाको टिमले लकडाउनयता होम डेलिभरीको काम गरिरहेको छ।

यसमा जोखिम पनि छन्। त्यसैले उनीहरु भण्डारबाट सामान प्याक गर्ने वेला नै सामानमा स्यानिटाइजर छर्कने, हातमा ग्लोब्स र मुखमा मास्क लगाउने गरेका छन्। ‘ग्राकहलाई समस्या नपरोस भनेर सचेत छौं, सुरक्षाका उपाय अपनाएका छौं,’ विशाल भन्छन्।

बिहान १० देखि बेलुकी ६ बजेसम्म होम डेलिभरी गर्दै आइरहेका छन्। सातदोबाटोस्थित डिपार्टमेन्ट स्टोरले  ललितपर र महाराजगञ्ज तथा सितापाइलाबाट काठमाडौंभित्र सामान उपलब्ध गराइरहेका छन्।

एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्मको सामान घरमै पुर्‍याइरहेको यो टिमले गाडी भाडाबापत एक सय रुपैयाँ लिने गरेको छ। सामान भने बजारमूल्यभन्दा सस्ताे हुने गरेको उनले बताए।

घरघरमा सामान पुर्‍याउदा ग्राहकबाट पाउने स्याबासीले उर्जा थपिरहेको उनी बताउँछन्। वैशाख १५ गतेसम्म लकडाउन थपिएपछि भने ग्राहक बढ्दै गएका छन्।  अनलाइन मार्केटिङले राम्रो बजार लिएको सुनाउँदै उनी भन्छन्, ‘अब अनलाइन व्यवसायलाई दीर्घकालीन रुपमा लैजाने सोच बनाएका छौं।’

कलंकीस्थित दरबारमार्ट डट कमका व्यवस्थापक सञ्जु कार्की पनि यतिवेला व्यस्त हुन थालेका छन्। एक वर्षदेखि अनलाइन अर्डरअनुसार भान्छा कोठामा प्रयोग हुने इन्डक्सका भाडा र खाद्य सामान आपूर्ति गरिरहेका उनी लकडाउनपछि व्यस्त बनेका हुन्।

लकडाउन सुरुदेखि अनलाइनमार्फत सामान मगाउने नयाँ ग्राहकको संख्या बढेको छ। नयाँ ग्राहका फोन, एसएमएस, ईमेल हेर्न उनलाई भ्याइनभ्याई छ।
लकडानपछि अन्य व्यवसाय चौपट भइरहेको वेला उनको व्यवसाय कस्तो छ? सञ्जु भन्छन्, ‘लकडाउन भएदेखि हाम्रो वेबसाइट भिजिटर बढिरहेका छन्। ग्राहकको संख्यामा पनि वृद्वि भइरहेको छ।’

उनको टिमले भक्तपुरको सूर्यविनायक, जोरपाटी र काठमाडौंका विभिन्न स्थानमा सामान डेलिभरि गरिरहेको छ। बिहान ८ देखि बेलुकी ७ बजेसम्म सामान पुर्‍याउनमै खटिरहेको उनी बताउँछन्। ‘बिहानदेखि साँझसम्मै घरघरमै सामान पुर्याउँछौं,’ उनी भन्छन्।

यो टिमले एक हजार रुपैयाँदेखि माथिको सामान होम डेलिभरी गर्दै आएको छ। बजार मूल्यमा घरमै सामान उपलब्ध गराउने यो टिमले ग्राहकसँग ५० रुपैयाँ भाडा लिने गरेको छ।

उनीहरु पनि ग्राहकको सुरुक्षालाई ध्यानमा राखेको बताउँछन्। उनको टिम स्यानिटाइजर छर्केर मास्क, ग्लोब्स लगाएर मात्रै सामान डेलिभरी गर्दै आएको उनी बताउँछन्। उनीहरु पैसामा समेत स्यानिटाइरज छर्केरमा मात्रै लिन्छन्।

सेल्सबेरी र दरबारमार्टजस्तै दर्जनभन्दा बढी व्यवसायी टिमहरुले अनलाइनमार्फत घरघरमा सामान पुर्याइरहेका छन्। उनीहरुले ताजा साग, तरकारीदेखि दाल, चामल उपलब्ध गराउँदै आएका छन्। बजारमूल्य र कतिपयले त्योभन्दा सस्तोमा पनि सामान घरमै पुर्‍याउने गरेका छन्।

सबैजसो डेलिभरी व्यवसायीहरुले ग्राहकको सुरक्षालाई पनि ध्यानमा राखेको बताएका छन्। उनीहरुको भनाइ छ, ‘ग्राहकलाई जोखिम हुनु भनेको हामीलाई पनि जोखिम हुनु हो।’

सरकारले चैत ११ देखि सुरु गरेको लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म नेपालमा १६ जनामा कोरोनाको संक्रमण देखिएको छ। भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि लकडाउन कहिले खुल्छ एकीन छैन्।

यस्तो वेला लकडाउन उल्लंघन गरेर कोरोनाको जोखिममा पर्नुभन्दा अनलाइनमार्फत घरमै सामान मगाउनु सजिलो छ। यसका लागि सेल्सबेरी, दरबारमार्टसँगै भाटभटेनी सुपरमार्केट, भोजडिल्स, दराज नेपाल, फुडमान्डु, ग्रीनग्रोथ, काठमाडौं अर्गानिक्समार्फत सामान मगाउन सकिन्छ। त्यस्तै, खेती, किराना, लेशेपा डेलिभरी, निम्बुस नेपाल, सस्तोडिललगायतका अनलाइन डेलिभरी गर्ने टिम तयार रहेका छन्।

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्