Kathmandu Press

शक्तिशाली सरकारको कमजोर शासनका १२ घटना

काठमाडौं, वैशाख १ : हामीबाट २०७६ साल बिदा भएको छ। आजदेखि नयाँ वर्ष २०७७ लागेको छ र नयाँ वर्षको

शक्तिशाली सरकारको कमजोर शासनका १२ घटना

काठमाडौं, वैशाख १ : हामीबाट २०७६ साल बिदा भएको छ। आजदेखि नयाँ वर्ष २०७७ लागेको छ र नयाँ वर्षको स्वागत गरिरहेका छौं। हरेक नयाँ वर्षको आगमनसँगै हामीसँग नयाँ आशा समेत पलाउँछन्। 

तर, ती कति पूरा हुन्छन् र कति हुँदैनन्। खासगरी मुलुकको समृद्धि र विकास नै हाम्रो मुख्य चासो हुने गरेको छ। तर, ती आशा वर्षको अन्त्यसँगै निराशामा परिणत हुने गरेको छन्। सँगै अर्को वर्ष सुरुवात भएसँगै नयाँ आशा जागृत हुन्छन्। यस्तै आशा र अपेक्षा नागरिक तहमा ०७६ सुरु हुँदा समेत थियो। तर  नागरिकका ती अपेक्षा पूरा नभई वर्ष सकियो। ०७६ मा थुप्रै घटना घटे। विवादको भूमरीमै ०७६ सकियो।

२०७६ का १२ प्रमुख घटना

Hardik ivf

१. कोरोना भाइरस : चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसले विश्वव्यापीरुप लियो। त्यसको मार नेपालले समेत खेपिरहेको छ। यो समचार तयार पार्दासम्म नेपालमा १३ जना कोरोना संक्रमित भेटिएका छन्।  जसमध्ये एक जना उपचार पश्चात घर फर्किएका छन् भने १२ जना उपचाररत छन्। 
संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउन २१ दिनयता जारी छ। लकडाउन कहिले सकिन्छ र कोरोनालाई नयाँ वर्षले परास्त गर्न सक्छ कि सक्दैन यो प्रश्न अनुत्तरित नै छ।
  
२. स्वास्थ्य सामग्री खरिद प्रकरण : कोरोना रोगथाम तथा नियन्त्रणका लागि  खरिद गरिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको घटनाले वर्षको अन्त्यमा राम्रै चर्चा पायो। कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक  स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले ओम्नी ग्रुपलाई स्वास्थ्य सामग्री ल्याउने ठेक्का  दिएको थियो।

सरकारले स्वास्थ्य सेवा विभागमार्फत गरेको टेण्डर ओम्नी ग्रुपले पाएर बजार भाउभन्दा सात गुणसम्म बढी तिरेर सामान ल्यायो। तीन चरणमा ल्याउने भनिएको सामान एक चरणमा करिब १० प्रतिशतमात्रै आयो। उक्त सामान पनि  कमसल भएको र स्वास्थ्य सामग्री खरिदमा करोडौं भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले चैत २० गते नै ओम्नी समूहसँग गरिएको स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्‍यो। ओम्नीसँगको सम्झौता रद्द गरेर सरकारले स्वास्थ्य उपकरण खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्‍यो। सरकारको उक्त निर्णय समेत विवादको भूमरीमा फस्यो।

३. सभामुख प्रकरण : तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि असोज १२ गते यौन दुराचारको आरोपमा लाग्यो।  उनले संसद सचिवालयकै एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप खेपे। उनलाई प्रहरीले सरकारी निवासबाटै पक्राउ गर्‍यो। महरा नै सरकारी निवासबाटै पक्राउ पर्ने उच्च तहका पहिलो नेता बने। 

नेकपाको पार्टी सचिवालयको आग्रहपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। असोज १९ गते सरकारी निवासबाट पक्राउ परेका महराले दाङ क्षेत्र नम्बर दुईबाट निर्वाचित भएका थिए। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो। पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। 

तर, काठमाडौं जिल्ला अदालतले उनलाई फागुन ५ गते सफाइ दिएको थियो। महरा यौन दुराचारको आरोपमा फसेपछि प्रतिनिधिसभा चार महिना सभामुखविहीन बनेको थियो। तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाङ्म्फेले राजीनामा दिन नमान्दा सभामुख चयन प्रक्रियाले नेकपाभित्र विवाद निम्त्यायो। अन्ततः शिवमाया राजीनामा दिन राजी भइन् र माघ १२ गने अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भए।

४. बाँस्कोटा प्रकरण : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारका तत्कालीन प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक भयो। प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र  मानिएका बाँस्कोटा नै भ्रष्टाचारको आरोपमा मुछिन पुगे। फागुन ८ गते अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिए।

५. यती समूह  : यती होल्डिङ्स प्रालीसँग जोडिएर ०७६ सालमा सरकार बदनाम हुन पुग्यो। नेपाल ट्रष्टका नाममा रहेका जग्गा कौडीका भाउमा यती समूहलाई लिजमा दिइएको भन्दै सरकारको आलोचना भयो। गोकर्ण रिसोर्ट लिज प्रकरणबाट सुरु भएको यति विवाद सगरमाथा राष्ट्रिय निकुञ्जमा रिसोर्ट बनाउनेदेखि पाथीभरामा केबलकारसम्म पुग्यो। सरकारले यतीलाई समूहलाई जग्गा दिन ऐन नै संशोधन समेत गरिदियो। यतिसम्मकी प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन हेलिकोप्टरमार्फत तेह्रथुमसम्म केक यती समूहले नै पुर्‍याइदिएको थियो। यती समूहको विवादका कारण सरकारले जनस्तरबाट समेत चर्को आलोचना व्यहोर्न पर्‍यो। 

६. ललिता निवास प्रकरण : बालुवाटारको ललिता निवासको ११३ रोपनी सरकारी जग्गा भू-माफियाले आफ्नो नाममा गरेर किनबेच गरेको खुलसा यही वर्ष भयो। यो प्रकरणमा नेकपा महासविच विष्णु पौडेलका छोरादेखि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीसम्म जोडिए। पूर्वसचिव शारदा त्रिताल नेतृत्वको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेर १७५ जनामाथि मुद्दा दायर गर्‍यो। 

सर्वोच्चले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री, पूर्वसचिव र अख्तियारकै पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसम्मलाई विशेष अदालतमा मुद्दा दायर गर्‍यो। तर, अख्यितार यो प्रकरणमा विवादित बन्न पुग्यो। जग्गा फिर्ता गर्ने शर्तमा विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिएकोदेखि नीतिगत निर्णय भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई छानविनको दायरामा नल्याएको भन्दै अख्तियारको आलोचना भयो। अख्तियारलाई सरकारले आफ्नो छायामा राख्न खोजेको भन्दै आलोचना समेत भयो।

७. आलम पक्राउ :  रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम आसोज २६ गते पक्राउ परे। उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विष्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँट्टाभट्टामा जलाएर मारेको आरोप थियो। उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो। अहिले उनी नख्खु कारागारमा थुनामा छन्।

८. सीमा विवाद : भारतले दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर आफ्नो राजनीतिक नक्सा जारी गरेपछि नेपाल–भारत सीमा विवाद ०७६ मा उत्कर्षमा पुग्यो। राजनीतिकदेखि नागरिक तहसम्मले भारतको रवैयाको विरोध गरे। नेपालले कूटनीतिक नोट समेत जारी गर्‍यो। तर,  यो विषय आलोचनामा मात्र सीमित बनेको छ। हालसम्म नेपाल–भारतकाबीचमा द्विपक्षीय वार्ता हुन सकेको छैन।

९. एमसीसी प्रकरण  : यसअघि नै सम्झौता भइसकेको अमेरिकाको एमसीसी कम्प्याक्टको ५५ अर्ब अनुदान विवादको भूमरीमा फस्यो। एमसीसी अमेरिकाको एसिया प्यासेफिक रणनीतिकै हिस्सा भएको भन्दै यसको विरोध भयो। खासगरी सत्तासीन दलभित्रै यसले विवाद निम्त्यायो। प्रधानमन्त्री ओली एकतिर र अन्य नेता अर्कोतिर देखिए। डेढ वर्षपछि गत माघमा बसेको नेकपा केन्द्रीय कमिटीको बैठकमा यो विषयको विवादले चरमरुप लियो। सोही बैठकले झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल समेत बनाएको थियो। कोरोनाका कारण अहिले आझेलमा रहेको बहुचर्चित एमसीसी संसदबाट पास हुने वा नहुनेबारे टुंगो लागिसकेको छैन।

१०. प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : यो वर्ष प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाले समेत राम्रै चर्चा पायो। १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनी दुई पटक सिंगापुर गए। उनले चार साता सिंगापुरमा बिताए। सिंगापुरमा उनको उपचार खर्च कसले व्यहोर्यो ?  यो विषय अहिलेसम्म गुपचुपमै छ। दोस्रो प्रत्यारोपणको तयारी भइरहेकै बेला उनलाई एपेन्डिसाइटिस भयो। जसको शल्यक्रिया समेत गर्नुपर्‍यो। अन्ततः फागुन २१ गते उनले त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गराए।

११. चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : राष्ट्र प्रमुख स्तरमा २३ वर्षपछि चीनका राष्ट्रपति सिजिङ पिङले नेपालको भ्रमण गरे। उनी असोज २५ गते २ दिने नेपाल भ्रमणमा आएका थिए। राष्ट्रपति सीले नेपाललाई ‘भूपरिवेष्टित देशबाट भू-जडित देश’ बन्न सघाउने बताए। वर्षको सुरुवातमा राष्ट्रपति विद्यादेवी भण्डारीले साताव्यापी चीन भ्रमण गरिन्। त्यो बेला दुई मुलुकबीच पारवाहन प्राटोकलमा हस्ताक्षर भयो। १७ वर्षपछि प्रधानमन्त्री स्तरको भ्रमणका लागि ओली बेलायत ०७६ मै पुगे।

१२. अन्य घटना : समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो। समाजवादी सरकारबाट बाहिरिए लगत्तै नेकपाले राजपासँग राष्ट्रियसभा निर्वाचनका लागि तालमेल गर्‍यो। राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी कांग्रेसले ७ सिट गुमायो। यही वर्ष बैंकिङ प्रणालीमा अहिलेसम्मै ठूलो साइबर हमला भयो। चिनियाँ गिरोहले बैंकका एटिएम ह्याक गरी रकम निकालेका थिए। तर, उनीहरु पक्राउ परे। सरकारले सन् २०२० को सुरुवातमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्षको सुरुवात गर्‍यो। तर, कोरोना भाइरसका कारण भ्रमण वर्ष स्थगित गरियो।
 

प्रकाशित मिति: १६:०० बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्