Kathmandu Press

कोरोनाले रोकियो ४०० वर्षदेखिको सपन तीर्थ मेला, मन्दिरमा ताल्चा, हजारौं भक्तजन हुने प्राङ्गणमा परेवा

काठमाडौं, वैशाख १ : कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालमा पनि सबै क्षेत्र प्रभावित बनेका छन्।

कोरोनाले रोकियो ४०० वर्षदेखिको सपन तीर्थ मेला, मन्दिरमा ताल्चा, हजारौं भक्तजन हुने प्राङ्गणमा परेवा
रिवाज राई

काठमाडौं, वैशाख १ : कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालमा पनि सबै क्षेत्र प्रभावित बनेका छन्। झन लकडाउनका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधि पनि ठप्प बनेका छन्।

सधै गुल्जार रहने देशको सांस्कृतिक सम्पदास्थल, मठ, मन्दिर यतिवेला भने सुनसान बनेका छन्। त्यस्तैमध्ये एक हो, काठमाडौंको टोखा नगरपालिकास्थित सपन विनायक।

नयाँ वर्षको पहिलो दिन सपन विनायकमा धुमधामसँग मनाइ सपन तीर्थ मेला यो वर्ष भने मनाइएन। सोमबार बिहान सपन विनायकस्थल सुनसान थियो। मन्दिरको ढोकामा ताल्चा लगाएको छ। हजारौं भक्तजन पुग्ने प्राङ्गणमा परेवा मात्रै छन्।

Hardik ivf

‘कोरोनाका कारण मेला लागेन,’ सपन तीर्थ गुठीका अध्यक्ष देवराज डंगोल भन्छन्, ‘भिडभाड हुँदा रोग फैलिने जोखिम भएकाले विधिवत पूजा गरेपछि मन्दिरको ढोका बन्द गरेका हौं।’

हरेक वर्ष वैशाख १ गते सपन तीर्थ गुठीले विधिपूर्वक पूजाआज गरेपछि मेला प्रारम्भ हुन्छ। गुठीका अध्यक्ष डंगोलका अनुसार, हरेक नयाँ वर्ष सुरु हुने पहिलो प्रहर अर्थात मध्यराति १२ बजे सपन विनायकको विधिपूर्वक पूजाआज गरिन्छ।

त्यससँगै मन्दिर, पोखरी र चण्डेश्वरी भगवतीको पूजाआज हुने गरेको उनले बताए। राति साढे १ बजे देवतालाई गुठीमा विराजमान गराएसँगै पूजा समापन हुन्छ। त्यसपछि मेला सुरु हुन्छ।

यो मेला १६औं सताब्दीतिर मल्लाकालमा सुरु भएको हो। त्यसयता निरन्तर मनाइँदै आएको सपन गुठीका अध्यक्ष डंगोलले बताए। ‘भीम मल्लको पालादेखि सपन तीर्थ मेला सुरु भएको हो। अहिलेसम्म मनाइँदै आएको छ,’ अध्यक्ष डंगोलले भने।

विभिन्न गुठीमा बाँधिएका समुदायमा १०१८ नेवार घरधुरीले आज विशेष आस्थाका पूजाआज गरी सपन तीर्थ मेला मनाउने गरेका थिए। सपन तीर्थ पोखरीलाई त्रिवेणी नदीको रुपमा पनि मानिन्छ। संगम खोला र दूध खोलाको दोभानबाट बग्ने पानी सपन तीर्थको पोखरीमा मिसिएर त्रिवेनीको रुप लिएको विश्वास छ।

यस पोखरीमा आजको दिनमा स्नान गर्र्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। विशेष गरी सन्तान सुखका लागि तीन वर्षसम्म प्रत्येक महिनाको पहिलो दिन संक्रान्तिमा व्रत बसेर आजको दिन यस पोखरीमा नुहाएर व्रत समापन गर्नाले सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ।

आजकै दिन भक्तजनले शिवपुरी निकुञ्जभित्र रहेको बाघद्वारको मुहान (बागमतीको शिर)मा स्नान गर्छन्। यसपछि विष्णुपादुका (विष्णुमतीको शिर) मन्दिरको दर्शन गरी सपन तीर्थ पोखरीमा स्नान गर्ने प्रचलन रहेको छ। त्यसपछि चण्डेश्वरी भगवतीको दर्शन गरी भक्तपुरको बिष्केट जात्राको दर्शन गरेमा चिताएको पुग्ने धार्मिक विश्वास छ।

सपन तीर्थ मेला भर्न नुवाकोट, धादिङ, काभ्रे र रसुवाका वासिन्दा आउने गरेका छन्। यस पटक भने कोही आएनन्। मन्दिरको ढोकामा पनि ताला लगाइएको छ।

सपन तीर्थ गुठीका अध्यक्ष डंगोल निरास हुँदै भन्छन्, ‘कोरोना भाइरस संक्रमणबाट बच्न घरभित्रै बस्नु राम्रो हो। तर, वर्षौदेखि भक्तजन दर्शन गर्न आउँथे, आजको दिनमा भक्तजनलाई दर्शन गराउन नपाएकोमा दुःख लागेको छ।’

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्