प्रधानमन्त्री ओलीको सम्बोधन : कडा लबजको कमजोर भाषण
काठमाडौं, चैत २५ : कोरोना भाइरसले देश आक्रान्त बनेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ
काठमाडौं, चैत २५ : कोरोना भाइरसले देश आक्रान्त बनेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य अवस्थाका कारण तीन सातासम्म गुपचुप थिए।
मुलुक संकटमा रहँदा अभिभावक मौन बसेर नागरिकलाई टुहुरो बनाएको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना बढ्न थाल्यो। आराम गरिरहेका प्रधानमन्त्री ओली मंगलबार आत्मविश्वासका साथ देशवासीका नाममा सम्बोधन गर्न आए। उनको आत्मविश्वासको आवरण देख्दा लाग्थ्यो– ओलीले नागरिकमा आशाको सञ्चार गर्नेछन्। तर, अनुमानको ठीक विपरीत कडा लबजमा कमजोर सम्बोधन गर्दै प्रधानमन्त्री बिदा भए।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने १६ लाख नागरिक सबैभन्दा बढी मारमा छन्। सरकारबाट उचित राहतको अपेक्षा गरेका त्यस्ता नागरिकलाई प्रधानमन्त्रीको सम्बोधनले केही आशा जगाउन सकेन।
प्रधानमन्त्री ओलीले उनीहरुप्रति सहानुभूतिका शब्दमात्रै खर्चिए। रोजगार नभएर बेखर्ची भएका नागरिकलाई सरकारले कसरी आर्थिक सहायता दिन्छ, प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेनन्। श्रमिक भोको हुनु नपर्ने उनको सम्बोधन थियो। तर, त्यसको सुनिश्चितता राज्यले कसरी गर्छ? यो प्रश्न अनुत्तरित रह्यो।
‘कोही श्रमिक भोको मर्नु नपरोस् भनेर सरकारले स्थानीय निकायको संयोजनमा राहत वितरण गरिरहेको छ,’ श्रमिकका नाममा प्रधानमन्त्रीले खर्चिएको शब्द यही थियो।
स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्दै सरकारको कडा आलोचना भइरहेको छ। चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र रक्षामन्त्री ईश्वर पोख्रेलमाथि प्रश्न तेर्सिरहेका छन्। सञ्चारमाध्यमहरुले निरन्तर भ्रष्टाचारबारे आवाज उठाइरहेका छन्।
स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी समूहको आवद्धताले प्रधानमन्त्री ओलीमाथि पनि प्रश्न उठेको थियो। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिएका ओलीले यो प्रकरणमा कडा कदम चाल्छन् कि भन्ने नागरिक अपेक्षा गलत साबित भयो। ओलीले त्यस्ता आलोचना बेमौसी बाजा हुन भनिदिए। ‘सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्प्णी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ,’ उनले भनेका छन्।
मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हुन्, यस्तो परिस्थिति किमार्थ स्वीकार्य हुन सक्दैन।’ सरकारले गरेको अनियमितताबारे प्रश्न उठाउँदा प्रधानमन्त्रीले दिएको यस्तो आडम्बरपूर्ण अभिव्यक्तिलाई शोभनीय मान्न सकिँदैन।
यस्तै, प्रधानमन्त्री ओलीले नागरिकलाई जीवन वा वैयक्तिक स्वतन्त्रतामध्ये एक रोज्न भनेका छन्। वर्तमान अवस्थामा दुवैको महत्व छ। चेतावनीपूर्ण ढंगबाट त्रास सिर्जना गर्न खोज्नु उचित होइन। अधिकांश जनता घरभित्रै बसेर सरकारलाई सहयोग गरिरहेका छन् भने आफ्नो जीवन रक्षा पनि गरिरहेका छन्। तर, सीमानामा आइपुगेका नागरिक देश छिर्न नपाएर अलपत्र परेको परिस्थिति पनि छ। नागरिकले आफ्नो देशभित्र प्रवेश पाउनुपर्छ। उनीहरुको स्वतन्त्रता र जीवनरक्षा गर्र्नु राज्यको दायित्व हो। जनतालाई प्रश्न तेर्साएर आफ्नो जिम्मेवारीबाट उन्मुक्ति लिन खोज्नु जायज होइन।
यद्यपी स्वास्थ्यकर्मीहरुलाई प्रधानमन्त्रीले दिएको ढाडस, शब्दमै सही, नागरिकको जीवन रक्षाका लागि कुनै कसुर बाँकी नराख्ने भनेर जनाएको प्रतिबद्धता सम्बोधनका सकरात्मक अंश हुन्। ओलीले भनेका छन्, ‘कोरोना भाइरस फैलिन नदिन जनजीवन सामान्य बनाउन आपूर्तिलाई सहज बनाउन सरकार एकजुट भएर अघि बढ्न प्रतिबद्ध छ।’
प्रधानमन्त्रीको यो प्रतिबद्धताले आशाको आँकुरा पलाउने काम गरेपनि कडा लबजमा उनले गरेको सम्बोधनमा आडम्बर र असहिष्णुता झल्किँदा देशवासीका नाममा गरेको सम्बोधनलाई कमजोर बनाएको छ।