Kathmandu Press

कोरोनाको त्रासले अस्पतालमा अरू बिरामीको पनि उपचार हुन छाड्यो

काठमाडौं, चैत १९ : कोरोना भाइरसको डरले रुघा, खोकी, ज्वरो, झाडा पखाला लगायतका बिरामीको निजी अस्पतालहर

कोरोनाको त्रासले अस्पतालमा अरू बिरामीको पनि उपचार हुन छाड्यो

काठमाडौं, चैत १९ : कोरोना भाइरसको डरले रुघा, खोकी, ज्वरो, झाडा पखाला लगायतका बिरामीको निजी अस्पतालहरुमा उपचार नहुने गरेको भेटिएको छ।

खासगरी निजी अस्पतालले कोरोनाको लक्षणसँग मिल्ने वा सामान्य ज्वरो आएका बिरामीको उपचार नै नगर्ने गरेको पीडितहरुको गुनासो छ।

चिकित्सकहरुले व्यक्तिगत सुरक्षा कवच (पीपीई)  लगायतका सामग्री नभएको भन्दै बिरामीको उपचार गर्न मानेका छैनन्। जसका कारण कतिपयले कोरोना भाइरस नभई अन्य बिरामीले समेत राम्रो उपचार पाउन सकेका छैनन्।

Hardik ivf

उदाहरण-१ 

निजी अस्पतालको लापरवाहीका कारण गत मंगलबार एक महिलाले ज्यान गुमाइन्। विराटनगरका न्यूरो, विराट नर्सिङ होम लगायतका अस्पतालले उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी नगरपालिकाको  लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको निधन भयो।

धनकुटामा उपचार हुन नसकेपछि उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।  तर, प्रतिष्ठानले आइसीयु खाली नभएको भन्दै न्यूरो अस्पताल रिफर गरिदियो। त्यहाँ पुर्‍याउँदा पनि न्यूरोले उनको उपचार गर्न मानेन। त्यसपछि विराट नर्सिङ होम लगिएको थियो।

तर, विराटले पनि उपचार गर्न नमानेको उनकी छोरी लक्ष्मीले बताइन्। त्यसपछि नाबेल शिक्षण अस्पतालले उनको भर्ना गरेर उपचार थालेपनि गुरूङको निधन भयो। 
नरदेवीका दाजु तथा महालक्ष्मी नगरपालिका-५ का वडा अध्यक्ष शिवकुमारले उपचारका लागि बिरामी लिनै नमान्ने अस्पतालका कारण बहिनीले ज्यान गुमाउनु परेको बताए।

उदाहरण-२

चैत ११ गते चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवाको निधन भयो। उनलाई कारोनाको आशंकामा आइसोलेसनमा राखिएको थियो। उनी मिर्गौलाका रोगी थिए। सोही कारण उनले उपचार अभावमा ज्यान गुमाउनु पर्‍यो। उनको निधन भइसकेपछि आएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको थियो।

उदाहरण -३ 

रुपन्देहीको कोरोना विशेष अस्पतालमा चैत १६ गते ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको ज्यान गयो। सैनामैना– ४ सिसौडाडाका थापा कोरोनाको आशंकामा अस्पताल भर्ना भएका थिए। तर, रिपोर्ट आइनपुग्दै उनको निधन भयो। रिपोर्टमा उनमा समेत कोरोना नेगेटिभ देखियो।

उदाहरण-४

भारतबाट आएर उपचारका लागि वीर अस्पतालमा भर्ना भएकी चन्द्रागिरी नगरपालिका-१५ की ३४ वर्षीया युवतीको चैत १७ गते निधन भयो। उच्च ज्वरो र श्वाश फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी उनी कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी थिइन्। तर, रिपोर्ट नआउँदै उनको समेत मृत्यु भयो। रिपोर्टमा भने कोरोना नेगेटिभ देखिएको छ।  

न मान्दैनन् निजी अस्पतालले सरकारको निर्देशन ?

सरकारले पटक–पटक बिरामीको भर्ना लिन र उपचार गर्न  निजी अस्पतालहरूलाई निर्देशन दिइरहेको छ। तर, निजी अस्पतालले सरकारको निदेशनलाई बेवस्ता गरिरहेका छन्। 

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण र त्यसको नियन्त्रण तथा उपचारका लागि सर्वसाधारणलाई परामर्श दिन राखेका हटलाइनमा दैनिक कम्तिमा दुई सय सर्वसाधारणले फोन गर्ने गरेका छन्।

फोन गर्ने अधिकांशले अस्पतालले भर्ना त के बिरामी हेर्न समेत नमानेको गुनासो गर्ने गरेका छन्।  ‘दैनिक सरदर दुई सय फोन आउँछन्। अधिकांशले  निजी अस्पतालले बिरामी हेर्न नमानेको गुनासो गर्नुहुन्छ,’ मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटाले भने। 

अहिले उपत्यकाका किस्ट मेडिकल कलेज, ब्लुक्रस अस्पताल, कान्तिपुर अस्पताल, बयोधा अस्पताल, मेडिकेयर अस्पताललगायत निजी अस्पतालले ज्वरो आएका बिरामी भर्ना गर्न मानेका छैनन्। 

देशभरका निजी अस्पतालहरूले समेत ज्वरोका बिरामी भर्ना गर्न मानेका छैनन्। यस्तै, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले समेत ज्वरोका बिरामी फर्काउने गरेका छन्। देशभरका निजी अस्पतालले ज्वरोका बिरामी हेर्न नमानेपछि स्वास्थ्य मन्त्रालयले बिरामी भर्ना गर्न निर्देशन दिएको छ। 

‘ज्वरोका कारण अस्पतालले बिरामी भर्ना नगरेका कारण ज्वरो र अन्य रोगका कारणले मर्नुपर्ने अवस्था आउनु हुँदैन,’ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘पीपीई लगायतका सामान आइसकेका छन्। हामीले चिकित्सकलाई जुन किसिमले मोटिभेसन गर्नुपर्ने हो गर्छौँ। त्यसैले बिरामी भर्ना गरेर उपचार गर्न निर्देशन दिएका छौं।’

यसअघि सर्वोच्च अदालतले पनि निजी अस्पतालले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमितको उपचार गर्नबाट पन्छिन नपाइने भन्दै उपचार व्यवस्था मिलाउन आदेश दिएको थियो।
 

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, चैत १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्