Kathmandu Press

लकडाउनमा के गर्दैछन् खेलाडी? 

काठमाडौं, चैत १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण खेलकुद गतिविधि

लकडाउनमा के गर्दैछन् खेलाडी? 

काठमाडौं, चैत १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण खेलकुद गतिविधि पनि बन्द भएका छन्। अधिकांश देशमा लकडाउन गरिएको छ। यसबाट नेपाल पनि अछुतो छैन।

कोरोना भाइरस फैलन नदिन सरकारले २५ गतेसम्मका लागि लकडाउन गरेको छ। सरकारले लकडाउन गरेसँगै अधिकांशको दैनिकी कम्पाउन्डभित्र मात्र सीमित बनेको छ। सधैँ मैदानमा देखिने खेलाडीहरु कम्पाउन्डमा सीमित बनेका छन्। कोरोनाले खेलकुद गतिविधि ठप्प भएपछि फुर्सदिला बनेका नेपाली खेलाडीहरू घरमै दैनिकी बिताइरहेका छन्।

महामारीले निम्त्याएको लकडाउनमा खेलाडीहरुले के गरेर दिन बिताइरहेका छन् त? काठमाडौंप्रेसले केही खेलाडीको दैनिकी जान्ने प्रयास गरेको छ।  

Hardik ivf

सावित्रा भण्डारी, फुटबलर

नेपाली महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)  डेरामै छिन्। सशस्त्र प्रहरी बलकी जागिरे सावित्रा अहिले बिदामा छिन्। ‘दुई हप्ता छुट्टी लिएको थिएँ, अझै एक हप्ता बाँकी नै छ’, सावित्राले भनिन् ‘यो बेलामा त्यस्तो खास त केही गरेको छैन। कोठामै सामान्य एक्सरसाइज गर्‍यो, त्यही हो।’

‘बिहान उठेर एक छिन् एक्सरसाइज गर्छु, त्यसपछि चिया खायो, अनि खाना बनायो, खायो, त्यसपछि टिभी हेर्छु, कहाँ के भइरहेको छ अपडेट हुन्छु। फेसबुक चलाउँछु, साथीहरूसँग च्याटमा कुरा गर्छु। अनि युट्युबमा भिडियो पनि हेर्छु,’ सावित्राले आफ्नो दैनिकीबारे भनिन्। अरुबेला जागिर, फुटबल ट्रेनिङले गर्दा धेरै व्यस्त रहने उनलाई आजभोलि फुर्सद मिलेको छ। धेरैपछि लामो फुर्सद मिलेकाले रमाइलो भइरहेको उनले सुनाइन्।

‘यो बीचमा धेरै समय टिभीसँगै बिताइरहेकी छु। धेरैपछि टिभी हेर्ने समय मिलेको छ, त्यसैले धेरै सयम टिभीमै भुल्छु, अरुबेला कहाँ यसरी टिभी हेर्न पाउनु,’ सावित्राले भनिन्। सावित्राले महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्न पनि आग्रह गरिन्। साथै उनले सरकारी निर्णयको पालना गर्न आधिकारिक निकायको सूचनामा विश्वास गर्न र अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरिन्। 

सन्दीप लामिछाने, क्रिकेटर 

पछिल्लो तीन वर्ष यता क्रिकेटमा निकै व्यस्त रहेका सन्दीप लामिछाने अहिले भने फुसर्दमा छन्।  कोरोना भाइरसका कारण विश्व खेलकुद नै ठप्प भएपछि सन्दीप पनि फुर्सदिला बनेका हुन्। उनी अहिले घरमै बसिरहेका छन्। कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको निर्णयलाई समर्थन गर्दै आफू घरमै बसिरहेको सन्दीपले इन्स्टाग्राममार्फत जानकारी दिएका छन्। उनले भनेका छन्,‘घरमै सामान्य एक्सरसाइज गरिरहेको छु र परिवारसँग रमाइलो गरिरहेको छु।’ सन्दीपले घरभित्रै बसेर सुरक्षित रहन आग्रह पनि गरेका छन्। 

विराज महर्जन, फुटबलर

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन लकडाउनमा घरमै बसेर समय बिताइरहेका छन्। उनी त्रिपुरेश्वरस्थित घरबाट ननिस्केको सात दिन भइसक्यो। ‘घरमा  परिवारसँगै समय बिताइरहेको छु। हाम्रो जोइन्ट फ्यामेली हो। उहाँहरुलाई सहयोग गर्‍यो,’ विराजले आफ्नो दैनिकी सुनाए। 

सरकारको निर्णयको पालना गर्दै घरमै बसेर टिभी हेर्दै के भइरहेको छ भनेर अपडेट पनि लिइरहेको उनको भनाइ छ।  टिभीमा समाचार नै बढी हेरिरहेका छन्, विराज। ‘सबैमा कोरोनाको त्रास छ। विश्वमा कहाँ के भइरहेको छ, नेपालमा के भइरहेको छ भन्ने जान्न उत्सुकता हुन्छ, त्यसैले समाचार नै बढी हेर्छु,’ विराजले भने। फिट रहन घरमै सामान्य एक्सरसाइज गर्ने गरेको पनि उनले सुनाए।

योसँगै उनले फिल्म,  फेसबुकमार्फत साथीभाइहरूको हालखबर समेत बुझिरहेका छन्।  विराजले घरमै बसेर सुरक्षित रहन र अत्यावश्यक काममा मात्र बाहिर निस्कन आग्रह गरे। उनले घरमा बस्दा पनि सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।  

ज्ञानेन्द्र मल्ल, क्रिकेटर

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि लकडाउनले छोएको छ। परिस्थिति सामान्य भइदिएको हुँदो हो त ज्ञानेन्द्र यतिखेर मैदानमा अभ्यास गरिरहेका हुन्थें। तर, कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएपछि ज्ञानेन्द्र घरमै सीमित भएका छन्। लकडाउनमा घरकै काममा व्यस्त भइरहेको ज्ञानेन्द्र बताउँछन्। 

‘अहिलेको परिस्थिति हामीले सोचेभन्दा बाहिरको हो। घरको काम गरेरै आफूलाई एक्टिभ राखिरहेको छु,’ ज्ञानेन्द्र भन्छन्, ‘घरमा सकिने जति एक्सरासाइज गर्दै आफूलाई फिट राख्ने प्रयासमा छु।’ यो समयमा टिभी र मोबाइल साथी भएको उनको भनाइ छ। 

‘एक हप्ता भयो घरबाट ननिस्किएको टिभी हरेर बाहिर के भइरहेको छ अपडेट भइरहेको छु’ उनी भन्छन्, ‘मोबाइल पनि चलाइरहेकै हुन्छु। फेसबुक पनि चलाउँछु अनि युट्युबमा भिडियो हेर्दै रमाइरहेको छु। यस्तोमा अभ्यास गर्ने त कुरै भएन। घरको काममै अलि व्यस्त भइरहेको छु।’ उनले सुरक्षित भएर घरमै बस्न अपील गरेका छन्। साथै उनले घरमा बस्दा आफूलाई मेन्टेन गर्न र फिटनेशमा ध्यान दिन सबैलाई आग्रह गरे। 

सरस्वती चौधरी, भलिबल खेलाडी

राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरीको दिनचर्या पनि अन्य खेलाडीकै जस्तो छ। उनी पनि लकडाउनमा घरायसी काममै भुलिरहेकी छिन् र सचेतना पनि अपनाइरहेकी छिन्।

सरकारले लकडाउन घोषणा गर्नुअघिदेखि नै घरबाट ननिस्किएकी सरस्वतीले पुस्तक पढेर दिन समय बिताइरहेकी छिन्। ‘घरमै परिवारलाई सहयोग गरिरहेकी छु’ उनी भन्छिन्, ‘धेरैपछि पढ्न सुरु गरेको छु, रमाइलो भइरहेको छ।’ इन्टरनेटमा समाचार पढिरहेको र फेसबुकमार्फत पनि बाहिरको गतिविधिबारे जानकारी लिइरहेको उनले सुनाइन्। घरभित्रै बसिरहन निकै गाह्रो हुने अनुभव सरस्वतीको छ।  ‘घरभित्रै बसिरहनु निकै मुस्किल काम रहेछ’, उनले भनिन्, ‘परिस्थिति नै यस्तै छ, त्यसैले घरभित्रै रमाउने प्रयास गरिरहेकी छु।’

लकडाउनलाई सकारात्मक रुपमा लिएर अहिलेको परिस्थितिमा सरकारलाई साथ दिन उनले आग्रह गरिन्।

रुविना क्षेत्री, क्रिकेटर

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री लकडाउन झापास्थित  घरमा बिताइरहेकी छिन्। लकडाउनले फुर्सदिली बनेकी रुविना आफूलाई फिट राख्न घरमै शारीरिक कसरत गरिरहेकी छिन्। घरमै क्रिकेट खेलिरहेको उनले बताइन्।

उनी भन्छिन्, ‘बल र ब्याटसँग नजिक भएपछि क्रिकेटका धेरै कुरा सिक्ने अवसर मिल्छ। त्यसैले घरमै खेलिरहेको छु, रमाइलो पनि भइरहेको छ।’ यो फुर्सदले आफूमा रहेका अन्य प्रतिभाहरुलाई बाहिर ल्याउन पनि सहयोग गरेको उनको भनाइ छ। घरायसी काममा पनि उनले समय दिइरहेकी छिन्।

‘खाना पकाउने लगायतका अन्य काममा परिवारलाई सहयोग गरिरहेकको छु’ उनले भनिन्, ‘टिभीमा समाचार हेरिरहेकी हुन्छु, अनि फिल्म पनि हेरिरहेकी छु।’ केही समय सामाजिक सञ्जालमा बिताउने गरेको उनले सुनाइन्।  

किरण चेम्जोङ, फुटबलर

नेपाली राष्ट्रिय टिमका नम्बर वान गोलकिपर किरण चेम्जोङ पनि अहिले घरमै छन्।  केही दिनअघि मात्रै भारतीय लिग खेलेर फर्किएका किरण घरमै बसिरहेका छन्।  अरु बेला जस्तो एक्टिभ हुन नपाएपनि घरभित्रै एक्सारइस गरिरहेको उनले सुनाए।

‘खेलाडी भएकाले फिटनेशमा ध्यान दिइरहेको छु। घरमै एक्सरसाइज गरिरहेको छु। शरीरलाई मेन्टेन गर्न खानामा विशेष चनाखो छु, तौल बढ्न नदिन सक्दो प्रयास गरिरहेको छु,’ उनले भने। धेरै समयपछि परिवारलाई समय दिन पाएकोमा खुसी छन्, किरण। 
‘लामो सयम भारतमा लिग खेलें। घरबाहिर रहेको धेरै समय भएको थियो, त्रासका बीचमै भएपनि परिवारसँग समय बिताउन पाएको छु, खुसी छु। परिवारसँग रमाइलो गरिरहेको छु,’ किरणले भने।

सरकारी निर्देशनको पालना गर्दै घरभित्रै बसेर सुरक्षित रहन किरणले आग्रह गरेका छन्। 

प्रिन्स दाहाल, ब्याड्मिन्टन खेलाडी

दैनिक दशरथ रंगशाला नभए वुल्स क्लबमा अभ्यासमा बिताउने ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल अहिले घरमै छन्। लकडाउनको समयमा पनि प्रिन्सले अभ्यास गर्न भने छाडेका छैनन्।

अरु बेला जस्तो अभ्यास गर्न नपाएपनि घरमै अभ्यास गरिरहेको उनी बताउँछन्। ‘अभ्यासमा लकडाउनको प्रभाव परेको छ। अभ्यास राम्रोसँग गर्न पाएको छैन,’ प्रिन्स भन्छन्, ‘तर, पनि घरमै दैनिक ४–५ घण्टा अभ्यास गर्ने गरेको छु। आउट फर्म हुन नदिन बिहान र बेलुका अभ्यास गरिरहेको छु।’ 

उनले आँगनमै अभ्यास गरिरहेको भिडियो फेसबुकमा पोस्ट गरेका छन्। प्रिन्सले केही समय टिभी हेरर समय बिताइरहेको बताए। युट्युब, फेसबुकमा पनि केही समय भुल्छन् प्रिन्स। विश्व नै कोरोना भाइरसको मारमा परेका बेला घरमै बसेर सचेतना अपनाउन उनले अग्राह गरेका छन्। 

भुवन कार्की, क्रिकेटर

सरकारले लकडाउन गरेपछि क्रिकेटर भुवन कार्की पनि घरभित्रै बसिरहेका छन्। छोरासँग खेलेर समय बिताइरहेको भुवन बताउँछन्।

‘अलिहेको अवस्थाप्रति सचेत छु, त्यसैले घरमै छोरासँग खेलेर रमइरहेको छु, उनले भने। तीन वर्षपछि भर्खरै राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका भुवन आफूलाई ‘आउट फर्म’ हुन नदिन घरमै सामान्य अभ्यास र एक्सरसाइज गरिहेको बताउँछन्।  

उनले युट्युबमा क्रिकेटसम्बन्धी भिडियोहरू हेरेर  धेरै कुरा सिकिरहेको बताए। उनले बाँकी समय परिवारसँगै फिल्म हेर्दै बिताउने गरेको बताए। 
 

प्रकाशित मिति: ०७:३९ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्