सरकारको कोरोना विशेष कोषमा जुटेन सहयोग, एक हप्तामा साढे १७ करोडमात्रै जम्मा
काठमाडौं, चैत १७ : सरकारले बनाएको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक हप्तासम्म पनि अपेक्षा गरेको भ
काठमाडौं, चैत १७ : सरकारले बनाएको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक हप्तासम्म पनि अपेक्षा गरेको भन्दा निकै कम रकम मात्रै जम्मा भएको छ।
सरकारले ५० करोड रूपैयाँ राखेर बनाएको कोषामा अहिलेसम्म सरकारको रकमबाहेक साढे १७ करोड रुपैयाँ मात्रै जम्मा भएको छ।
कोषमा उपेक्षा अनुसारको रकम जम्मा नभएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अध्यक्ष रहेको दैवी प्रकोप विपत्ति कोषमा रहेको मौजुदा रकम कोरोना रोकथाममा खर्च गर्ने निर्णय गरेको छ।
भइपरि आउने विभिन्न मौसमी विपद्का लागि खडा भएको दैवी प्रकोप विपत्ति कोषमा अहिले डेढ अर्ब रुपैयाँ छ। नेपालमा हालसम्म पाँच जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने चार जना उपचाररत छन्।
कोरोना परीक्षण गर्ने काम समेत भइरहेको छ। संक्रमितको संख्या बढ्न सक्ने सम्भावना छ।
सरकारले संक्रमण फैलिन नदिन मुलुकभर लकडाउन गरेको छ। दैवी विपत्ति कोषको रकम बर्खायाममा मात्रै प्रयोग गरिने भएकाले कोरोनाका लागि बनेको कोषमै सहयोगका लागि सरकारले अपिल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
मुलुक संकटको घडीमा रहँदा सबैले उद्योगी, व्यापारी लगायतले सरकारी कोषमा सहयोग गर्नुपर्ने हो तर केही बाहेक ठूला भनिएका उद्योगीहरुले सहयोग गरेका छैनन्।
नेपालका एक मात्रै डलर अर्बपति तथा सांसद विनोद चौधरीले देशभरका अस्पताललाई पीपीई लगायतका स्वास्थ्य सामग्री बाँडेपनि कोषमा एक रुपैयाँ पनि जम्मा गरेका छैनन्।
अर्का व्यापारी अजयराज सुमार्गीले पनि कोषलाई सहयोग गरेका छैनन्। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गत शुक्रबारसम्म १५ करोड ३१ लाख ३ हजार २ सय २२ रुपैयाँ जम्मा भएको थियो। आइतबार दुई करोड ६१ लाख ३८ हजार १६ रुपैयाँ थप सहयोग भएको थियो।
‘नेपालका उद्योगी व्यवसायी देखावटी रूपमा हामी पनि छौं भनेर फोटो–भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्नमा रमाइरहेका छन्। विपत्तिका बेला पैसा भएका समुदायका मान्छेले सहयोग गर्नुपर्ने हो। तर विडम्बना उनीहरु समयमा राज्यलाई कर त बुझाउँदैनन्। कर छल्ने र अर्बौं भएपछि कर मिनाहा गराउन खोज्छन्। तिनीहरूबाट के अपेक्षा गर्नु?,’ राजनीतिक विश्लेषक युग पाठक भन्छन्।
सरकारले कोरोना भाइरस रोकथामका लागि अपनाएका विधिप्रति आमजनताको विश्वास नभएकाले पनि कोषमा सहयोग नजुटेको हुनसक्ने पाठकको तर्क छ।
‘प्रधानमन्त्री केपी ओली आफैँ क्रोनिक बिरामी छन् र पद ओगटेर बसेका छन्। बाँकी मान्छे प्रधानमन्त्रीको आदेश बेगर खुट्टा पनि उचाल्दैन्। यस्तो भएपछि यसलाई कसरी सरकार भन्नु? यो त सरकार नै होइन,’ उनी भन्छन्, ‘सरकारले यो महामारीलाई गम्भीरतापूर्वक लिएन। लकडाउ गरिसकेपछि गरिब तथा मजदुरहरूले खान पाएनन् भने रोगले भन्दा पनि भोकका कारण बिद्रोह गर्न सक्छन्। सरकारको यसबारे कुनै तयारी नै देखिएन, यस्तो विश्वास नभएको सरकारलाई कसरी सहयोग जुट्ने?’
सत्तासीन दलले गरेन सहयोग
सरकारले गठन गरेको उक्त कोषमा सत्तासीन दल नेकपाले अहिलेसम्म सहयोग गरेको छैन। सरकारले कोष गठन गरेको दोस्रो दिन नै प्रतिपक्षी कांग्रेसले ५० लाख रुपैयाँ बैँकमा जम्मा गरेको थियो। तर ठूलो र धनी दल नेकपाले अहिलेसम्म आफ्नै सरकारले गठन गरेको कोषमा एक रुपैयाँ पनि सहयोग गरेको छैन।
कोषमा कसको कति सहयोग?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा विभिन्न व्यक्ति–संस्थाले सहयोग गरेका छन्। हालसम्म कोषमा भने केही व्यक्तिगत तबरबाट पनि सहयोग भएको छ।
एनसेलः १० करोड
एलआरआई स्कुल काठमाडौंः १ लाख रुपैयाँ
कृषि विकास बैंकः १ करोड २५ लाख रुपैयाँ
हेटौँडा स्कुल अफ म्यानेजमेन्टः १० लाख रुपैयाँ
राधामाधव समिति नेपालः १५ लाख रुपैयाँ
भाटभटेनी सुपर मार्केटः १ करोड रुपैयाँ
निर्माण व्यवसायी कोषः १ करोड रुपैयाँ
एनइबिएलः १ करोड रुपैयाँ
नेपाली कांग्रेसः ५० लाख रुपैयाँ
नेपाल स्वास्थ्य व्यवसायी महासंघः ५ लाख १० हजार
राष्ट्रिय वाणिज्य बैंकः १ करोड ५० लाख रुपैयाँ
हिमालय बैंकः १ करोड २५ लाख
नर्भिक अस्पतालः ५० लाख
लोक तथा दोहोरी गायक बद्री पंगेनीः ५० हजार
उक्याब तेन्जिङः ५ लाख
लक्ष्मीप्रसाद सुवेदीः ४ लाख
गैरआवासीय नेपाली संघ (एनआरएन) : १ करोड
लक्ष्मी ग्रुपः१ करोड रुपैयाँ
विशाल ग्रुपः १ करोड रुपैयाँ
नेपाल बैंकः १ करोड रुपैयाँ
ग्लोबल आइएमई बैंकः १ करोड १५ लाख
बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको एक महिनाको तलबः ५ लाख ५१ हजार रुपैयाँ
सिद्धार्थ बैंकः ७० लाख रुपैयाँ
नेपाल धितोपत्र बोर्डः ५० लाख रुपैयाँ
बीमा समितिः २ करोड रुपैयाँ
नेपाल वैदेशिक रोजगार व्यावसायी संघः १ करोड रुपैयाँ
नेपाल उद्योग वाणिज्य महासंघ : ५० लाख रुपैयाँ
अन्य विभिन्न संस्थागत तथा व्यक्तिगत रूपमाः २४ लाख ९३ हजार २ सय २२ रुपैयाँ सहयोग गरेका छन्। गत चैत ९ गते रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोषको गठन गरेको थियो ।
कोरोना रोकथाम कोषमा रकम जम्मा गर्न चहानेले राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न सक्नेछन्।