Kathmandu Press

'लकडाउनले हाम्रो त मुखै लकडाउन गर्ने भो'

काठमाडौं, चैत १५ : बाँसको भाटाले बारेर बनाइएको छाप्रोभित्र एउटा मजदुरको समूह उदास अनुहारमा विरक

'लकडाउनले हाम्रो त मुखै लकडाउन गर्ने भो'

काठमाडौं, चैत १५ : बाँसको भाटाले बारेर बनाइएको छाप्रोभित्र एउटा मजदुरको समूह उदास अनुहारमा विरक्तिएर बसिरहेका छन्। तीमध्ये एक हुन्- २७ वर्षीय सञ्जय तामाङ। 

निजगढ नगरपालिका-११, रतनपुरबाट सडक निर्माणको काम गर्न केही महिनाअघि उनी काठमाडौं आएका हुन्।

नुवाकोटस्थित खोलेगाउँ सडकमा जाली भर्न थालेको पाँच दिन भएको थियो। ठेकेदार प्रेम रुम्बाले अर्को ठाउँमा काम गर्नुपर्‍यो भनेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा बोलाए। 

Hardik ivf

आइतबारदेखि भष्मथली वडा नम्बर-४ मा सडकको पर्खालमा जाली भर्ने काम सुरु गरेका थिए। सोमबार कोरोना संक्रमणबाट जोगिन सरकारले लकडाउनको निर्णय गरेपछि उनीहरुको काममा पनि रोकिएको छ। 

'सुरुको एक-दुई दिन त आराम भएको थियो,' उनले भने, 'अहिले त खल्ती पनि रित्तिन थाल्यो अब के गर्ने भन्ने चिन्ता बढेको छ ।'

उनको दैनिक ज्याला एक हजार रुपैयाँ थियो। बिहान काम गरेपछि बेलुक पैसा बुझ्थें। ठेकेदारसँग पैसा माग्दा बैंक बन्द छ कसरी दिने ? भन्ने जवाफ आउँछ सञ्जय भन्छन्,' 'सरकारको लक डाउनले हाम्रो त मुखै लक डाउन होला जस्तै भयो।'

सञ्जयले हरेक महिना केही पैसा दैनिक गुजारामा खर्च गरेर बचेको जहान परिवारका लागि पठाउने गरेका थिए।

सोही ठाउँमा काम गरिरहेका सकुमान रुम्बा केही महिना काम गरेर बचेको पैसाले विदेश जाने तयारीमा थिए।

बसुन्धरामा रहेको अञ्जली ओभरसिजले दश दिनमा भिसा आउँछ भनेपछि उनी यताको काम सकिएपछि विदेश उड्ने सपना बुनिरहेका थिए। तर उनी विदेश हैन, आफ्नै गाउँमा जहान परिवार भेट्न पनि जान पाएनन्। 

 उनी भन्छन्, 'हामीलाई सरकारले रोग लागेको छ/छैन जाँचेर घर जान दिएपनि हुन्थ्यो। बाँचे पनि मरे पनि परिवारसँगै हुने थियौं ।’

विश्वभर फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा लक डाउन गर्नु राम्रो कुरा हो। तर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु भने लकडाउन लम्बिँदै जाने हो भने केही दिनपछि समस्यामा पर्ने देखिएको छ। 

काठमाडौंमात्रै दैनिक ज्यालादारीमा काम गर्ने हजारौं मजदुर छन्। उनीहरु लागि केही राहतको प्याकेज घोषणा गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतले सरकारसँग माग गरेका छन्।

तर सरकारले ज्यालादारी मजदुरहरुका लागि कस्तो राहत कसरी दिने भन्ने कुनै तयारी समेत गरेको छैन।  लकडाउन अझै केही दिन लम्बिने हो भने उपभोग्य वस्तुको मुल्य बढ्ने छ। यसले ज्यालादारी मजदुरहरुलाई थप भार पर्नेछ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने बताएपनि त्यो सुविधा पनि पहुँचवालालाई  मात्रै हुने हो कि भन्ने डर श्रमिकहरुमा छ।

वाणिज्य मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले आवश्यकताभन्दा बढी स्टोर भए अभाव हुन सक्ने भएकाले सबैलाई लामो समयका लागि समान स्टोर नगर्न आग्रह गरिएको बताए। 'खाद्यान्न भनेको पानी भरिएको ट्यांकी जस्तै हो, धारा खोल्दा रितिन्छ तर फेरि भर्नुपर्छ,' उनी भन्छन्।
 

प्रकाशित मिति: ११:१५ बजे, आइतबार, चैत १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्