Kathmandu Press

बिरामीलाई भर्ना लिन किन मान्दैनन् निजी अस्पताल?

काठमाडौं, चैत १४ : कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेका बेला नेपालमा पनि त्यसबाट अछुतो रहन सकेको

बिरामीलाई भर्ना लिन किन मान्दैनन् निजी अस्पताल?

काठमाडौं, चैत १४ : कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेका बेला नेपालमा पनि त्यसबाट अछुतो रहन सकेको छैन। नेपालमा अहिलेसम्म तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोनाको संक्रमणको आशंकामा स्वास्थ्य परीक्षणका लागि धेरै बिरामी अस्पताल पुग्ने गरेका छन्।

तर, निजी अस्पतालहरुले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्ने सामान्य ज्वरो आएका बिरामीको समेत भर्ना लिन मानेका छैनन्। कोरोनाको महामारी रोक्न अस्पतालहरु थप्नु पर्ने बेलामा काठमाडौं उपत्यका लगायत देशभरका ठूला निजी अस्पतालहरुले कोरोनाको आशंकामा अस्पताल परीक्षणाका लागि पुग्ने बिरामीको उपचार गर्न आनाकानी गर्दै आएका छन्।

यसले राज्यको सुविधा लिएर खुलेका निजी अस्पतालहरु सेवामा भन्दा पनि नाफा कमाउनमा मात्रै लिप्त छन् भन्ने देखाएको छ। राजधानीका ग्राण्डी, मेडिसिटी, नर्भिक लगायतका निजी अस्पतालहरूले कोरोनाको लक्षण देखिएका बिरामीको भर्ना लिन र स्वास्थ्य परीक्षण गर्न मानेका छैनन्। 

Hardik ivf

कोरोनाको जोखिम बढेको भन्दै सरकारले एक साताका लागि लकडाउन गरेको छ। कोरोनाको परीक्षण गर्ने काम भइरहेको छ। तर, यो बेला निजी स्वास्थ्य संस्थाले भने आफ्नो दायित्व भुलेका छन्। उनीहरुले कोरोना जाँच गर्ने त परको कुरा हो सामान्य ज्वरो र रुघा लागेका बिरामीलाई समेत जाँच गर्न नमानेको गुनासो बढिरहेको छ।

संकटको घडीमा नेपालका निजी अस्पताल बिरामी छानीछानी उपचार गरिरहेका छन्। यतिबेला मौसमी रुघाखोकी र ज्वरो (मौसमी फ्लु) समेत हुने समय हो। तर, त्यस्ता बिरामी समेत निजी अस्पतालले हेर्न मानेका छैनन्। ज्वरो र रुघाखोकीका बिरामीलाई अपवादबाहेक हेर्न नै छाडेका छन्।

केही निजी अस्पतालले वृद्ध अवस्थाका ज्येष्ठ नागरिकको त निमोनिया तथा श्वाश प्रश्वासका बिरामीको समेत उपचार गर्न छाडेका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भन्छन्, 'निजी अस्पतालहरूले पहुँच नभएका बिरामीहरूलाई गेटबाटै फर्काउने गरेका छन् भन्ने गुनासो आएको छ। यस्तो संकटका बेला सबै अस्पतालहरूले पालना गर्नुपर्ने साझा प्रोटोकल बनाएर कडाइपूर्वक लागु गर्नु पर्छ। जीवनको मूल्य कथित सानाठूला सबैको बराबर हो। चिकित्साकर्मीको सुरक्षामा पनि ध्यानपुगोस्।'

हेरौं केही उदाहरण

उदाहरण-१

गत ९ चैतमा वीरगञ्ज महागनरपालिका २२ का ३० वर्षीय युवक सन्तोष यादवको चितवन मेडिकल कलेजको लापरवाही र हेलचेक्र्याइका कारण मृत्यु नै भयो। उनलाई उच्च ज्वरोसँगै रुघाखोकी लागेपछि मेडिकल कलेजले सामान्य चेकजाँच गरेर चितवनको कोरोना विशेष अस्थायी अस्पताल रिफर गर्‍यो।

सोमबार दिउँसोदेखि श्वाश–प्रश्वासमा केही समस्या बढेपछि उनलाई अस्पतालकै सघन कक्ष (आईसीयु)मा सारिएको थियो। उनी मिर्गौला र लुपस भन्ने रोगका बिरामी थिए। उनलाई ज्वरो र रुघाखोकी देखिएपछि कोरोनाको आशंकामा टेकु अस्पतालमा स्वावको नमूना परीक्षणका लागि पठाइयो तर रिपोर्ट आइनसक्दै उनको मृत्यु भयो।

उदाहरण-२

चितवनको पुरानो मेडिकल कलेजको अर्को लापरवाही पनि उस्तै छ। अस्पतालले नवलपरासी रामग्राम नगरपालिका–१६ का एक युवकको उपचार गर्न नमानेको हो। उनलाई खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि आफन्तले परासीकै एक निजी अस्पताल पुर्‍याएका थिए। त्यसपछि उनलाई कोरोनाको आशंकामा सो मेडिकल कलेजमा रिफर गरियो।

अस्पतालले भर्ना गर्न नमानेपछि परिवारले काठमाडौंका धेरै निजी अस्पतालमा पुर्‍याए तर कसैले पनि भर्ना गरेर उपचार गर्न मानेनन्। त्यसपछि परिवार निराश भएर बिरामी लिएर घर गए। त्यसपछि परिवारले बिरामीलाई गत ७ चैतमा प्रदेश ५ को प्रादेशिक अस्पताल बुटवलमा भर्ना गर्न लगे। उनले त्यसअघि बिरामीलाई मणिग्रामस्थित क्रिमसन अस्पताल र देवदह मेडिकल कलेज पनि पुर्‍याइएको थियो। त्यहाँ पनि भर्ना गर्न नमानेपछि स्थानीय आक्रोशित भएपछि चिकित्सक जोडबल चलेन र भर्ना गरे। उनको स्वाव पनि टेकु पठाइएको छ।

उदाहरण-३

सांसद पूर्णप्रसाद राजवंशीलाई झापामा अचानक ज्वरो आएपछि झापाकै एक निजी अस्पतालमा उपचारका लागि पुगे। ज्वरो आएको भन्नासाथ उनको उपचार नै गर्न मानेनन् बरु उल्टै कोरोना संक्रमण भएको हुनसक्ने भन्दै त्रास देखाइदिए। अर्को अस्पताल गए र ज्वरोको औषधि खाएपछि निको पनि भए।

उदाहरण-४

विराटनगरको कोसी अस्पतालले ज्वरोका बिरामीको उपचार नै गर्न मानेन। सरकारी अस्पताल नै बिरामीको उपचार गर्न मान्दैनन्। कोसीले रिफर गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो। त्यहाँ पनि घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नु भन्दै उपचार नै नगरी बिरामीलाई घर पठाइदिए।

उदाहरण-५

विराटनगरस्थित नोबेल मेडिकल कलेजले ज्वरो आएपछि उपचारका लागि पुगेका बिरामीलाई उपचार नै गर्न मानेन। झापास्थित भद्रपुरका एक युवकलाई सामान्य जाँच गरेपछि कोरोनाको आशंका देखिएको भन्दै काठमाडौं पठाइदियो।

उदाहरण-६

३ चैतमा रुघाखोकी र ज्वरो आएपछि चतुर्भुज घिमिरे बी एन्ड बी अस्पताल ग्वार्कोमा उपचार गर्न गए तर अस्पतालले कोरोनाको आशंका भन्दै उपचार नै नगरी टेकु अस्पताल रिफर गरिदियो।

सरकारी तथा निजी अस्पतालले इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) लागेकालाई परीक्षण नगरी कोरोना आशंका गरी टेकु अस्पताल रिफर गर्ने गरेका छन्। यस्तो घटना बढेपछि सरकारले बिरामी रिफर गर्न प्रतिबन्ध नै लगाउनु परेको छ। अहिले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल नै घोषणा गरेको छ।

अझै एशियाली मुलुक सचेत र सतर्क हुन नसके कोरोनाको प्रत्यक्ष मारमा पर्न सक्ने पनि भनिएको छ। तर नेपालका निजी अस्पताल भने कानमा तेल हालेर बसेका छन्। 

नेकपा सांसद रामकुमारी झाक्रीले बिरामीको भर्ना लिन नमान्ने निजी अस्पताललाई तत्काल कारवाही गर्नु पर्ने बताउँछिन्।  ‘सरकारले सामान्य बिरामीलाई रिसिभ नगर्ने निजी अस्पताललाई कारवाही गर्नुपर्छ।इटलीको जस्तो अवस्था आयो भने हामी के गर्ने?  लुटेर खाने अस्पताललाई आजै ठीक ठाउँमा राख्नुपर्‍यो । तुरुन्त एक्सनमा जान आवश्यक छ,’ उनले भनिन्।

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्