‘नेताहरूले सोध्छन्- हाम्रो कार्टुन कहिले बनाउनुहुन्छ?’
२०५० सालमा ‘नेपाल टाइम्स’ पत्रिकाबाट कार्टुन बनाउन सुरु गरेका वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले &lsqu
२०५० सालमा ‘नेपाल टाइम्स’ पत्रिकाबाट कार्टुन बनाउन सुरु गरेका वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले ‘अविनको कार्टुन संग्रह भाग–२’ सार्वजनिक गरेका छन्।
साढे दुई दशकदेखि कार्टुन बनाउँदै आएका अविन हाल कान्तिपुर पब्लिकेशनमा आवद्ध छन्। हालै बजारमा ल्याएको ‘अविनको कार्टुन संग्रह भाग–२’ मा २०६२÷०६३ को जनआन्दोलनदेखि अहिलेसम्मका विविध विषयका काटुर्न समेटेका छन्।
उनै वरिष्ठ कार्टुनिष्ट अविनसँग काठमाडौं प्रेसका लागि सम्राज्ञी भण्डारीले गरेको कुराकानी :
-तपाईंलाई कार्टुन यस्तो बनाउँछु भन्ने आइडिया कसरी फुर्छ ?
मलाई आफैँ पनि थाहा छैन कसरी फुर्छ भनेर। कहिले पुरै सोचिराख्दा पनि फुर्दैन। कहिले न्यूजको हेडलाइन हेर्दैमा आइडिया फुर्छ। कहिलेकाहीँ कुनै नयाँ विषयमा यस्तो कार्टुन बनाउँछु भनेर सोच्दा लाग्दा हप्तौसम्म पनि फुर्दैन।
कहिलेकाहीँ यति सजिलोसँग फुर्छ कि संसारमा मेरो जस्तो सजिलो काम त कसैको पनि छैन होला भन्ने लाग्छ। म कार्टुन बनाउँदा विचार पक्ष मात्र होइन कला पक्षलाई पनि त्यत्तिकै महत्व दिन्छु।
-एउटा कार्टुनलाई मूर्त रुप दिन ज्ञानको स्रोत कसरी जुटाउनु हुन्छ ?
ज्ञानको स्रोत समाचार नै हो। कार्टुनिष्टमा एउटा के क्षमता हुनुपर्छ भने समाचार पढ्दैमा कार्टुन बनिहाल्छ भन्ने त होइन। कतिपय समाचार नै गलत पनि हुन्छन्। समाचारमा आएको विषय यो सही हो र यो गलत हो भनेर विश्लेषण गर्न सक्ने क्षमता मुख्य कुरा हो। कार्टुन बनाउन मलाई चाहिने ज्ञानको स्रोत भनेको समाचार नै हो। अहिले पछिल्लो समय अनलाइन न्यूज पोर्टलहरु मेरो स्रोत हुन्। सबै घटना, राजनीतिक गतिविधि, सरकारका निर्णय लगायतमा भने जानकार हुनुपर्छ।
-तपाईं कसरी कार्टुनिष्ट हुनु भयो?
चित्र त बच्चैदेखि बनाउँथे। अलि बुझ्ने भएपछि समाजमा भएको विकृति देखेर पीडा महसुस हुन थाल्यो। आफूमा भएको पीडालाई चित्र बनाउन जानेपछि अब कार्टुन किन नबनाउने भन्ने भयो। त्यो बेला बनाएका कार्टुनहरु एउटा पनि खेर गएन। साप्ताहिकमा पठाउँथे त्यहाँ सबै छापिए। गोरखापत्रमा पठाए त्यहाँ पनि सबै छापिए।
गोरखापत्रमा छापिएका कार्टुन देखाएर साथीभाइ र आफन्तले आज पत्रिकामा छापिएको कार्टुन यसको हो नि भन्दा मलाई के–के नै गरेछु झै लाग्थ्यो। सुरु–सुरुमा त ठूलै मान्छे भएछु कि जस्तो लाग्थ्यो। साप्ताहिकमा छापिएका काटुर्नहरु बोकेर सबैभन्दा पहिला ‘नेपाल टाइम्समा’ जागिर खान हिँडेको थिएँ। भर्याङमै भेटिएका त्यहाँका सम्पादक चन्द्रलाल झाले कार्टुन भनेको के हो भन्ने प्रश्न गर्दा जवाफ दिन सकिनँ।
पछि सम्पादकले अफिसको कोठामा लगेर कार्टुन भनेको यो हो। कार्टुन यस कारण बनाइन्छ। कार्टुनको इतिहास यो हो भनेर सबै कुरा बताएपछि मात्र मलाई कार्टुन भनेको के रहेछ भन्ने थाहा भयो। खासमा म चित्र कोर्दाकोर्दै कार्टुनिष्ट भएको हुँ।
-चर्चित कार्टुनिष्ट बन्छु भन्ने पहिला सोच्नुभएको थियो ?
म यो क्षेत्रमा आउँदा २०–२१ वर्षको थिएँ। त्यसैले अल्लारे उमेर भएकाले त्यो बेला कुनै गाना सुन्यो भने गायक बन्न मन लाग्ने, फिल्म हेर्यो हिरो बन्न मन लाग्ने हुन्थ्यो। यसरी जीवनमा यो नै बन्छु भन्ने निर्णय गरिनसक्दै म कार्टुनिष्ट बनिसकेको थिएँ। खासै योजनाबद्ध ढंगमा कार्टुनिष्ट बन्छु भनेर हिँडेको होइन। काम गर्दागर्दै कार्टुनिष्ट बनियो।
-साढे दुई दशकदेखि कार्टुन बनाइरहनु भएको छ। यो अवधिमा आफूले बनाएको कार्टुनमध्ये सबैभन्दा मन परेको कार्टुन कुन हो?
यो प्रश्नको जवाफ दिन मलाई गाह्रै हुन्छ किनभने मैले कार्टुन बनाइरहँदा तिमीले हरेक दिन जसरी भएपनि कार्टुन बनाइदिनु पर्छ भनेको भए सायद कुनै दिन नराम्रो भएपनि बनाउनुपर्छ भन्ने हुन्थ्यो। नफुरेपनि जबरजस्ती पठाइदिनुपर्ने हुन्थ्यो। जागिर खाएको छु, जसरी पनि बनाउनै पर्छ भन्ने हुन्थ्यो। म आफूलाई फुरेको बेला मात्रै कार्टुन बनाउँछु, नफुरेको दिन बनाउँदिनँ। केही विषय फुरेपछि पनि आफूलाई चित्त बुझेको कार्टुन मात्र प्रकाशन गर्न पत्रिकामा पठाउँछु। फुरेन भने आज छैन भनेर अफिसबाट हिड्छु। मलाई सबै कार्टुन उस्तै लाग्छ। त्यसैले यो चाहिँ अहिलेसम्मको राम्रो भन्न सक्ने अवस्था छैन।
-कार्टुन बनाउँदा सम्पादकको निर्देशन पनि हुन्छ होला नि !
म चाहिँ त्यस्तो प्रेसर भयो भने झन् काम गर्नै सक्दिनँ। आफूले आफैँलाई प्रेसर दिन पनि रुचाउँदिन। कुनै दिन आज यो विषमा बनाउँछु भनेको दिन आफूले आफैँलाई दबाब दिएका कारण मलाई त्यो दिन काम गर्न निकै गाह्रो हुन्छ। मैले जागिर सुरु गर्दा नै राखेको पहिलो सर्त हो– मलाई प्रेसर दिन पाइँदैन भनेर। त्यसैले आजसम्म मैले गर्ने कामलाई कुनै पनि सम्पादकले यसरी कार्टुन बनाऊ भनेर भनेका छैनन्।
-काम गर्न चाहिने एकाग्रतालाई समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
व्यवस्थापनमा त्यस्तो समय मिलाइ राख्नु पर्दैन। कहिलेकाहीँ दिउँसो अफिस गएर छिट्टै काम सकेर निस्किन्छु भनेर छिर्दा साँझसम्म फुर्दैन। प्रायः मेरो काम बेलुका नै हुन्छ तर कान्तिपुरमा मैले अफिस बनाउँदा नै यो कुनो मलाई चाहिन्छ भनेर मागेको थिएँ। त्यही कुनो मेरो अफिस बन्यो। अलिकति डिस्टर्ब नहुने ठाउँ चाहिँ आवश्यक पर्छ।
-तपाईंले त नेताहरुलाई कार्टुनबाटै दह्रो दनक दिनुहुन्छ। उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ?
मलाई सिधैँ प्रतिक्रिया त आउँदैन। साथीभाइले चाहिँ बेला–बेलामा सुनाउनुहुन्छ यत्तिसम्म चाहिँ नभनिदिएको भए हुन्थ्यो भनेर। राजनीतिक विषयमा कार्टुन बनाउँदा सबैलाई चित्त बुझाउन सकिँदैन। उहाँहरुलाई पनि कार्टुनिष्टले भनेको कुरा पनि सही नै लागिरहेको हुन्छ।
दोस्रो पुस्ताका नेताहरुले भने हाम्रो कार्टुन कहिले बनाउनुहुन्छ भनेर सोध्ने गर्छन्। त्यसैले पछिल्लो समय हाम्रा नेताहरुले कार्टुनलाई ग्रहण गर्ने तरिका पनि सकारात्मक नै भइरहेको छ जस्तो लाग्छ। एक पटक मैले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई लेख लेख्न अनुरोध गरेको थिए। उहाँले लेख लेखिदिए बापत आफ्नै कार्टुन बनाइदिनु पर्ने शर्त राख्नु भयो।
-तपाईंले बनाएका कार्टुनमध्ये पाठकले धेरै रुचाएको कुनै छ?
एक जना मेरो फलोअरले पत्रिकामा छापिएका सबै कार्टुनलाई काटेर संकलन गरेर राख्नुभएको रहेछ। म आफैँले पनि आफ्ना कार्टुन त्यसरी संकलन गरेर राखेको छैन। कुनै कार्यक्रममा जाँदा साथीहरुले भेटेर हेलो अविनजी भनेर हात मिलाउँछन् अनि हात छुटेर अलिपर पुगेपछि फेरि फेर्केर आउँछन्। र, भन्छन्– ‘कान्तिपुरको कार्टुनिष्ट तपाईं नै हो नि’ भनेर दोस्रो पटक हात मिलाएर जान्छन्।
-एउटा सक्षम कार्टुनिष्ट हुन के–के कुरा आवश्यक हुन्छ?
समाचारमा जानकार भइराख्नुपर्छ। समाचारमा आएका विषयलाई विश्लेषण गर्न सक्नुपर्छ। कलाकारिता (चित्र बनाउन) मा पनि पोख्त हुनुपर्छ।
-समाज परिवर्तनका लागि कार्टुन कति आवश्यक छ?
कार्टुन भन्ने वित्तिकै हसाउनुपर्छ भन्ने हुँदैन। यसले मानवीय संवेदनादेखि समाजमा भएका बेथितिलाई सटिक रुपमा औंल्याउने काम गर्छ। बाढीपीडित, नाकाबन्दी, जनयुद्ध, गरिबी जस्ता विषयमा बनेको कार्टुनले रुवाउने पनि काम गर्छन्। कतिपय कार्टुन मान्छेले हेर्नासाथ हास्न थाल्छन्। त्यसैले कार्टुनले कहिले हसाउने र कहिले रुवाउने काम गर्छ। कार्टुनले नै समाज परिर्वतन गर्छ भन्दा पनि समाजलाई डोर्याउने काममा कार्टुनको पनि भूमिका रहन्छ जस्तो मलाई लाग्छ।