Kathmandu Press

एसीसी इस्टर्न रिजन टि-२० क्रिकेट : कहाँ चुक्यो नेपाल ?

काठमाडौं, फागुन २६ : पछिल्लो समय नेपाली टिमले अधिकांश टि–२० म्याच खेलिरहेको छ। तर, प्रदर्

एसीसी इस्टर्न रिजन टि-२० क्रिकेट : कहाँ चुक्यो नेपाल ?
फाइल

काठमाडौं, फागुन २६ : पछिल्लो समय नेपाली टिमले अधिकांश टि–२० म्याच खेलिरहेको छ। तर, प्रदर्शन भने निराशाजनक छ। त्यसको उदाहरण हुन्– थाइल्यान्डमा भएका पछिल्ला मलेसिया र हङकविरुद्धका खेल।

गत वर्ष टि–२० विश्वकपको एसिया छनोटमै रोकिएको नेपाल एसिया कपको पहिलो चरणकै छनोट पनि पार लगाउन सकेन। एसिया छनोटको  पहिलो खुड्किलोका रुपमा रहेको एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगताको उपाधि जित्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाली टिम निराशाजनक प्रदर्शनसँगै शनिबार स्वदेश फर्कियो।

थाइल्यान्डमा नेपालको ब्याटिङ र बलिङ दुवै असफल रहे। त्यसमा पनि  ब्याटिङमा मध्यक्रम र बलिङमा मिडियम पेसर चल्न सकेनन्। नेपालले ४ मध्ये १ खेल मात्र जित्यो र ५ राष्ट्र सहभागी प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमा रह्यो।

Hardik ivf

प्रतियोगितामा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो भने खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। थाइल्यान्डलाई ९ विकेटले हराएको नेपालको सिंगापुरसँगको अन्तिम खेल भने वर्षाले रद्द भएको थियो। 

कहाँ भयो कमजोरी ?

खेलाडीहरूले क्षमता अनुसार प्रदर्शन गर्न नसक्दा टिम असफल भएको प्रशिक्षक जगत टमटाले बताए। उनले खेलाडीहरु मानसिक रुपमा बलियो नभएको पनि बताए।

‘पहिलो खेलमा मलेसियासँग हार्नु दुर्भाग्य हो,’ प्रशिक्षक टमटाले भने, ‘खेलमा हात जित त हुन्छ। तर हामीले क्षमता अनुसार खेल्नै सकेनौं।’ 

प्रशिक्षक टमटाले खेलाडीले जिम्मेवारीपूर्वक नखेल्नु पनि टिम असफलताको एउटा कारण भएको बताए। ‘युवा खेलाडीमा एक्पोजरको अभाव देखियो’, टमटाले भने, ‘यस विषयमा सम्बन्धित पक्षले बेलैमा सोच्नु पर्छ।’

थाइल्यान्डमा नेपाली टिम पूर्ण रुपमा असफल भएको कप्तान ज्ञानेन्द्र मल्लले पनि स्वीकार गरे। उनले आफूहरुले राम्रो क्रिकेट खेल्न नसकेको बताए। उनले सुरुवातदेखि टिमले स्वभाविक लय समात्न नसक्दा त्यसको असर पुरै प्रतियोगितामा परेको बताए। 

विगत एक वर्षदेखि टिम जे भइरहेको थियो थाइल्यान्डमा त्यसको एक्पोज भएको कप्तान मल्लले बताए। मल्लले भने, ‘अन्य टिमले राम्रो गरिरहेका छन्। विगत एक वर्षदेखि नेपाली टिम एउटै ठाउँमा छ।’ टिमका रुपमा आफूहरु असफल भएको मल्लले बताए। 

‘हारको पहिलो दोष खेलाडीलाई जान्छ किनभने खेलाडीहरुले आफ्नो स्तर अनुसार खेल्नै सकेनन्,’ पूर्वराष्ट्रिय खेलाडी तथा यू–१९ टिमका प्रशिक्षक विनोद दास भन्छन्, ‘हामीले जुन योजना बनाएका छौं, त्यो लागु गर्न सकेका छैनौं या हामीले क्षमता अनुसार योजना बनाउन सकेका छैनौं।’ दासले नेपाली टिमको खराब प्रदर्शनका पछाडि व्यवस्थापकीय कमजोरी प्रमुख कारण भएको बताए।

अहिलेको हारको जिम्मा खेलाडी, कोचिङ स्टाफ र क्यानले लिर्नु पर्ने तर्क दासको छ। नेपाली टिमबाट एक दशकभन्दा बढी प्रतिनिधित्व गरेका दासले स्पेसिफिक पोजिसनमा खेलाडीलाई ग्रुम गराउन नसक्नु पनि नेपाली टिमको कमजोरी भएको तर्क गरे।

‘क्रिकेटमा केही कुरा स्पेसिफिक हुन्छ। ओपनर भनेको ओपनर नै हुन्छ। बलको स्विङ कभर गर्नु, नयाँ बलको मुभमेन्ट बुझ्न त्यति सहज हुँदैन,’ उनी भन्छन्, ‘त्यो सब बुझ्न खेलाडीलाई २–३ वर्ष चाहिन्छ। हामीले खेलाडीलाई पर्याप्त समय दिइरहेका छैनौं।’

के गर्ने अब ?

थाइल्यान्डमा नेपाली टिम असफल भएपछि नेपाल क्रिकेट संघ क्यानले पनि त्यसको समीक्षा गर्ने बताएको छ। पछिल्लो सयम नेपालले टिमका रुपमा जे गर्नु पर्ने हो त्यो गर्न नसकिरहेको क्यान सचिव अशोकनाथ प्याकुरेलले बताए। यस विषयमा क्यान अब गम्भीर हुने उनले बताए।

‘नेपालले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। यो हाम्रा लागि पनि चिन्ताको विषय हो। यस्तो किन भइरहेको छ। हामीले बनाएको योजना नै गतल हो कि? खेलाडीमा जे गरे पनि हुन्छ भन्ने परेको हो कि ? भन्ने पनि लागिरहेको छ,’ उनले भने, ‘यस विषयमा खेलाडी, म्यानेजमेन्ट, क्यान, अन्य सरोकारवाला सबै बसेर कहाँ के भइरहेको गम्भीर छलफल गर्ने छौं।’

नेपाली टिमले राम्रो प्रदर्शन गर्न नसकिरहेकाले समीक्षा गर्ने समय पनि सही भएको सचिव प्याकुरेलले बताए। नेपाली खेलाडीलाई मनोवैज्ञानिक रुपमा पनि बलियो बनाउनु पर्ने उनको तर्क छ। उनले नेपाली खेलाडीलाई एक्पोजर दिन बढीभन्दा बढी खेल्ने र बलियो टिमसँग प्रतिस्पर्धा गराउने तर्फ पनि क्यानले सोचिरहेको बताए। 

टिमको प्रदर्शन र अब के गर्ने भन्ने विषयमा आफूसँग त्यसको सही उत्तर नभएको पूर्वकप्तान पारस खड्का बताउँछन्। जित र हारले मात्र नेपाली क्रिकेटको भविष्य राम्रो भयो भएन भन्ने सोचबाट बाहिर निस्कनु पर्ने उनले बताए।

‘हामीहरुले नराम्रो खेलेको पक्कै हो। यसमा हामीले माफी पाउने अवस्था पनि छैन। तर, पनि सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ,’ पारसले भने, ‘टिममा सुधार गर्नुपर्ने कुरा धेरै छन्। अरु खेलाडीका विषयमा सोच्नुभन्दा पनि भएका खेलाडीलाई राम्रो प्रदर्शन गराउने तर्फ सोच्नुपर्छ।’

खेलाडीलाई एक्सोजर दिन क्यानले तत्काल कदम चाल्नु पर्ने पारसले बताए। खेलाडीमाथि राम्रो प्रदर्शनका लािग दबाब परिहेको पनि उनले बताए। खेलाडीलाई एक्पोजर दिन घरेलु क्रिकेटको संरचना बलियो बनाउनु पर्ने पारसको तर्क छ। 

पूर्वराष्ट्रिय खेलाडी दासले अहिलेको अवस्थाबाट माथि उकास्न तत्काल घरेलु क्रिकेटको संरचना परिवर्तन गर्नु पर्ने बताए। नेपालमा तीन वटा फ्रेन्चाइज लिग भइरहेपनि तिनीहरुले नेपाली क्रिकेको विकास नहुने उनको तर्क छ। 
 

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, फागुन २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्