सुमन कोइराला उर्फ ‘दले दाइ’
काठमाडाैं, फागुन ७ : हास्यव्यंग्यमूलक नेपाली रियालिटी सो ‘कमेडी च्याम्पियन’मा जग्गा बेच्

काठमाडाैं, फागुन ७ : हास्यव्यंग्यमूलक नेपाली रियालिटी सो ‘कमेडी च्याम्पियन’मा जग्गा बेच्ने दलालको चरित्र निभाएर यतिवेला चर्चामा छन्, सुमन कोइराला। यो चर्चाको पछाडि एउटा ‘टर्निङ प्वाइन्ट’ छ।
कलाकार बन्ने होडमा उनले हुँदाखाँदाको जागिर छाडेका थिए। तर, उनी ‘टप–टेन’बाटै आउट भए। पुनः प्रवेश पाउन ‘वाइल्ड कार्ड’ विकल्प थियो। उनले त्यो मौकाप्रति ध्यान केन्द्रित गरे। र, करिब नौ मिनटेको भिडियोमार्फत आफ्नो प्रस्तुति दिए, उनको प्रस्तुति यति जोडदार रह्यो कि चारैजना जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाए। त्यो प्रस्तुतिले उनलाई सीधै ‘टप सेभेन’मा मात्रै पुर्याएन, उनको परिचय नै फेरिदियो– दले दाइ। उमेरले भर्खरै २४ टेकेका उनको अर्को पनि उपनाम छ– ‘अर्गानिक कमेडियन’।
उनले प्रस्तुतिमा काठमाडौंमा घर–जग्गाको मूल्य अकासिएको विषयलाई फोनको संवादमार्फत यसरी व्यंग्य गर्छन्, ‘हेलो, ए काठमाडौंमा १० लाखमा जग्गा चाहिएको? आउँछ...। आउन न त दरबारमार्गमै आउँछ, तर यति यति (हातले संकेत गर्दै), हर्लिक्सका बट्टामा हालेर त्यतै पठाइदिउँला नि म।’
त्यस्तै, प्रदेशको राजधानी निर्धारण गर्न पनि व्यापारी, दलालहरूले प्रभाव पार्न खोजेको विषयलाई उनले उठाएका छन्, ‘हेलो, प्रदेशको राजधानी तोकिने कुरा हुँदै छ रे? प्रदेशको राजधानी त हर्कदाइको ट्वाइलेटपछाडिको प्लटमै हुनुपर्छ नि। अब हाम्रो लगानी नै त्यहीँ छ, अन्त राखेर हुन्छ त।’
बालुवाटार जग्गा प्रकरणमा बिष्णु पौडेल मुछिएको, उनको बचाउमा पार्टी तथा प्रधानमन्त्री लागेको विषयप्रति पनि उनले व्यंग्य गरेका छन्, ‘केपी बा’काँ पनि गा’थेँ म। केपी बा, चार रोपनी जग्गा छ, ल मारौँ न बैना भन्छु, हुँदैन म त बाहिरका दलाल हायर गर्दिनँ, मेरो काम त बिष्णु भाइल्यै हेर्छ...।’
यसरी देशको महँगी, राजनीतिक बेथिति, राजनीतिमा व्यापारीहरूको हस्तक्षेप आदिप्रति सुमनले गरेको व्यंग्य दर्शक र निर्णायकहरूको नजरमा उत्कृष्ट ठहरियो।
दलालको ‘कन्सेप्ट’
रोचक यो छ कि सुमनले दले दाइको प्रस्तुति ‘टप–नाइन’का लागि बनाएका थिए। त्यो प्रस्तुतिको सुटिङ तय भइसकेको थियो, उनी सुटिङका लागि जाँदै थिए, बाटोमै उनी आउट भएको खबर आयो। त्यसपछि उनी फर्किए।
टप १० पर्फमेन्स बिग्रिएकाले सुमनलाई आउट भइन्छ कि भन्ने लागेको थियो। त्यसैले उनी त्यति दुःखी भएनन्। उनी ‘रोस्ट राउन्ड’, ‘डोएट राउन्ड’को तयारीमा जुटे। वाइल्ड कार्ड इन्ट्रीका लागि तयारी थाले। जब उनले दलेदाइको सेट गरे, तब तहल्का नै मच्चियो।
कमेडी च्याम्पियनकै मेन्टरहरूले उनलाई जग्गा दलालको टपिक दिएका थिए। टपिक पाउनेबितिक्कै उनले गाउँमा जग्गा दलाली गर्नेहरूलाई सम्झिए। उनीहरूको सोझो देखिने स्वभाव, मिठो बोली र चतुर्याइँ सुमनको दिमागमा आयो।
सुमन भन्छन्, ‘गाउँमा देखेका जग्गा दलालहरूको व्यवहार अध्ययन गरेँ। दलाल सोझो देखिन्छ, तर धेरै कुरा जान्दछ। निशानाचाहिँ सही ठाउँमा हान्छ। त्यसपछि स्क्रिप्ट लेखेँ।’
उनलाई अर्को आइडिया फुर्यो। दलालहरू खासै पढे–लेखेका हुँदैन। पैसा भने भरमार कमाएका हुन्छन्। कसैले महँगो फोन पठाइदिन्छन्, तर फोन बोल्नेबाहेक अन्य उपयोगिता उनीहरूलाई थाहा हुँदैन। तर, फूर्ति भने बेग्लै हुन्छ। उनले तुरुन्तै डाइलग बनाइहाले, ‘फोन आएको होइन् र’छ, आइफोन पो आको र’छ त। मलाई मान्छेले आइफोन चलाउन जान्नुहुन्न–जान्नुहुन्न भन्छन्। किन नजान्नु रातोले काट्ने, हरियोले उठाउने त र’छ नि!’
उनलाई सामाजिक सञ्जाल, बाटोमा भेट्नेहरूले ‘दले दाइ’ भनेर बोलाउन थालेका छन्। यो सुन्दा उनलाई खुशी लाग्छ, तर उनी यतिमै सीमित हुन उनी चाहँदैनन्। ‘दले दाइमा मात्रै अड्किन चाहन्नँ। मैले अरु धेरै गर्नु छ। दलेदाइमै बाँधिएँ भने त मेरो अरु क्षमता देखाउन सक्दिनँ,’ उनी भन्छन्, ‘बाहिर कार्यक्रम आउँदा पनि त्यही दले दाइको चरित्र निभाउन लगाउँछन् कि भन्ने डर छ। मसँग अरु पनि आइडिया छ।’
टमाटरमा फर्मको जागिरदेखि ‘गोलभेडा सो’
सुमन अहिले जति चर्चित बनेका छन्, त्यो चर्चा चानचुने जगका भरमा प्राप्त भएको होइन। भोजपुरको दाँवास्थित सिद्धेश्वर उच्च माविमा वेला–वेला मञ्चन हुने नाटक हेरेर उनमा कलाकार बन्ने इच्छा जाग्थ्यो। दाइहरूको अभिनय हेरेर उनी पुलकित हुन्थे र सोच्थे, ‘मैले पनि अभिनय गर्न पाए!’ उनी भन्छन्, ‘सानै थिएँ। म फुच्चेलाई कसले अभिनय गर्न दिओस्? तर, मेरो मनमा आउँथ्यो– एक दिन कलाकार बनेरै छोड्ने हो।’
१०–११ वर्षको उमेरमै उनी क्यारिकेचर गर्न पोख्त भइसकेका थिए। कक्षा ७ मा हुँदा उनको परिवार इटहरी आयो। उनको घर र स्कुलको दूरी करिब तीन किलोमिटर थियो। उनीसँग साइकल थिएन, हिँडेर स्कुल जाँदा–आउँदा विभिन्न पात्रबारे सोच्दै हिँड्थे। उनी भन्छन्, ‘सोच्दै हिँड्दा मलाई कलाकारको फ्रेम नै दिमागमा आउन थालिसकेको थियो। त्यसपछि नै हो, म फिल्मतर्फ आकर्षित भएको।’
भोजपुरमा हुँदा उनले फिल्म हेर्न पाएनन्। हल सदरमुकाममा मात्र थियो, इटहरी आएपछि भने उनले थुप्रै फिल्म हेरे। त्यसपछि नै कलाकारिताप्रति उनको रुचि जाग्यो।
प्लस टु सक्नेबितिक्कै २०७१ सालतिर उनी काठमाडौं आए। काम पाए, टीकाभैरवको एउटा टमाटर फर्ममा। तलब थियो, मासिक पाँच हजार रुपैयाँ। कर्मचारी नचाहिने भएपछि एकमहिनामै काम छोड्नुपर्यो।
काठमाडौंमा टिक्न नसकेपछि उनी घर फर्किए। घर फर्किएपछि उनले झुम्काको रामधुनी एफएफमा काम गर्न थाले। त्यहाँ उनले समाचार वाचन र कमेडी कार्यक्रम चलाए। इटहरीको ऐरिना टेलिभिजनमा उनले ‘गोलभेँडा सो’ स्ट्यान्डप कमेडी कार्यक्रम चलाए।
समय बित्दै जाँदा एरिना टिभीको म्यानेजर बने। त्यो वेला उनले थुप्रै इभेन्टसमेत व्यवस्थापन गर्न थालिसकेका थिए।
स्नातकपछि उनलाई इटहरी बस्नु थिएन। उनी कलाकार बन्ने ध्येय बोकेर पुनः काठमाडौं छिरे। ‘नेपाल आज’मा रिपोर्टरका रुपमा छिरेका उनी एक–दुई महिनापछि नै बिजनेस म्यानेजर बने। हास्य टेलिशृंखला ‘भद्रगोल’मा सानोतिनो रोल गरे। इमेज च्यानलको ‘उल्टोसुल्टो’मा पुलिसको रोल गरे। थोरबहुत अभिनय कक्षा लिए।
सुमनको दैनिकी यसरी नै चलिरहेको थियो। त्यहीबीचमा कमेडी च्याम्पियन सुरू भयो। अडिसन दिए, सेलेक्ट भएर टप २४ मा पुगे। ‘कमेडी च्याम्पियनमा जान डर थियो। जागिर छाड्न त्यति सहज भएन,’ उनी भन्छन्, ‘जागिर छाडुँला उता केही नभइएला। तर, केही पाउन केही गुमाउनुपर्छ भन्ने लाग्यो र रिस्क लिएँ।’
‘टप–टेन’बाट आउट हुँदा उनले आमालाई फोन गरेका थिए। उनी भन्छन्, ‘आमाले भन्नुभयो– ठिकै छ, चिसो होला न्यानो लुगा लगाएर बस। वाइल्ड कार्डबाट पुनः फर्कंदा भने आमा निकै खुशी हुनुभयो।’
बाल्यकालमा कलाकार बन्ने उनको सपना एक हदसम्म पूरा भएको छ। केही सिकेका छन्, चर्चा बटुलेका छन्। तर, आफूले कुनै ठूलो महत्वाकांक्षा नपालेको उनी बताउँछन् । ‘मेरो सपना केहीहदसम्म पूरा भएको छ। तर, लाइफमा यस्तो बन्छु उस्तो बन्छु भनेर सोचेकोे छैन। किनकि सपनाको अन्तिम बिन्दु नै छैन,’ उनी भन्छन्, ‘जीवन नमरुन्जेल हिँडिरहने बाटो हो। र, एउटा असल नागरिक बन्ने कोसिस गर्ने हो।’
उनलाई अहिले नै विभिन्न सिरियलसँगै विज्ञापन कम्पनी र टेलिभिजनबाट समेत अफर आएका छन्। तर, तत्कालका लागि उनको ध्यान कमेडी च्याम्पियन मै छ।
उनमा ‘कमेडी च्याम्पियन’ नै बन्छु भन्ने विश्वास कति होला? उनी ठट्यौली पारामा भन्छन्, ‘२५ लाख र कारको माया कसलाई लाग्दैन? पहिला भोट गरौं न हैन! हाँसो...।’











-(86)-1764936079.jpg)
