Kathmandu Press

‘मेरा औंलामा प्वाल परेपनि मन्दिरमा प्वाल राख्दिनँ’

काठमाडौं, माघ २८ : साँझ ढल्किसकेको थियो । झकिझकाउ रानीपोखरीको पानी दीपको झिलमिली टिलपिल टिलपिल भइरहे

‘मेरा औंलामा प्वाल परेपनि मन्दिरमा प्वाल राख्दिनँ’

काठमाडौं, माघ २८ : साँझ ढल्किसकेको थियो । झकिझकाउ रानीपोखरीको पानी दीपको झिलमिली टिलपिल टिलपिल भइरहेको थियो। मनमोहक रानीपोखरीको दृश्यले नुवाकोटको दुईपिपल गाउँबाट भरखर काठमाडौं छिरेकी १८ वर्षीया सरिता तामाङको मनमा पनि खुल्दुली मच्चायो।

‘दिदी, भित्र जाऔं,’ रानीपोखरी घुमाउन ल्याएकी दिदीलाई भनिन्।

उनकी दिदीले जवाफ दिइन, ‘अहिले भित्र जान मिल्दैन।’

Hardik ivf

त्यो साँझ रानीपोखरीको मन्दिरभित्र छिर्न नपाएकी सरिताका डेढ दशक काठमाडौंमै बिते। तर, रानीपोखरीको मन्दिर दर्शन गर्ने साइत जुरेन।

साउन १५ गते भने उनी रानीपोखरी हाताभित्रै प्रवेश गरिन्, त्यसको पुनर्निर्माणका लागि। पहिले त रानीपोखरी देख्दा उनको मन खिन्न भयो, अर्को मनले भन्यो अब बनिहाल्छ नि। रानीपोखरी हाताभित्र प्रवेश गर्दा उनले के सोचिन्? ‘भूकम्पले धरहरा र रानीपोखरी भत्किएको छ भन्ने सुनेकी थिएँ, यस्तो अवस्थामा देख्दा निकै दुःख लाग्यो,’ सरिताले रानीपोखरीभित्र छिर्दाको क्षण सम्झिन्, ‘बाहिर गेटबाटै हेर्दा बीचको मन्दिर कस्तो छ भन्ने लागेको थियो। बनाउन आएको पहिलो दिन नै मन्दिर वरिपरि हेरें, मन्दिर देखेर मन झन दुःख्यो।’

पोखरीको पानी सुकेको छ। मन्दिर पहिलेकै अवस्थामा छैन। झिलमिली कता हराएको छ। त्यो झकिझकाउ रानीपोखरी खण्डहर बनेको छ। उनको अर्को मनले भन्यो, ‘अब फेरि उस्तै बनाइहाल्छौं नि।’

उनलाई यस्तो आत्मविश्वास त्यत्तिकै आएको भने होइन। भूकम्पले भत्काएका ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणमा लागेको तीन वर्ष भयो। दुई वटा सम्पदा निर्माणमा योगदान पुर्याएकैले उनलाई साहस आएको हो, रानीपोखरी पनि झकिझकाउ हुन्छ।

२०७२ को भूकम्पले भत्किएका संरचना निर्माणमा उनी तीन वर्ष अघिदेखि लाग्न थालेकी हुन्। स्वयम्भूमा बस्दै आएकी उनलाई तीन वर्षअघि त्यहींको विजेश्वरी मन्दिर पुनर्निर्माणमा काम गर्ने मौका मिल्यो। ‘विजेश्वरी मन्दिर निर्माण हुन दुई वर्ष लाग्यो। त्यो दुई वर्षमा मैले धेरै काम सिकेँ,’ सरिता भन्छिन्।

विजेश्वरी मन्दिरमा उनले पुटिङ हाल्ने काम गरिन्। सुरुआतमा त के होला, कस्तो होला भन्ने लागेको थियो। विस्तारै लय समाति हालिन्। ‘घरमा लिपपोत गरेजस्तै त हो,’ सरिताले सुनाइन्, ‘लिपपोत नै हो, यहाँ मन्दिर लिपपोत गर्छौं।’

उनले भनेजस्तै, पुटिन भनेको एकप्रकारको लिपपोत नै हो। मन्दिरको बनावटअनुसार, पुटिनको रंग बनाइन्छ। मन्दिरको आकार र बनावटअनुसार, रंग तयार पारिन्छ, त्यसलाई सुर्की भनिन्छ। यसले इँटालाई बलियो बनाउने र लामो समयसम्म रंग नजाने हुन्छ। लामो समयसम्म पानी र घामले फिक्का पनि बनाउन दिँदैन। ‘यसले मन्दिर सुन्दर बनाउँछ, सिमेन्टजस्तै काम पनि गर्छ,’ उनको अनुभवले पनि भन्छ। त्यहि सुर्की लगाउने अर्थात पुटिन लगाउने काम गर्छिन् उनी।

स्वयम्भुको विजेश्वरी मन्दिर निर्माणको ठेक्का निर्माण व्यवसायी देवरत्न महर्जनले पाएका थिए। मन्दिर तयार भएपछि उनले गोकर्णेश्वर नगरपालिकास्थित महादेव मन्दिर निर्माणको ठेक्का पाए। विजेश्वरी मन्दिरमा सरिताको काम देखेका देवरत्नले महादेव मन्दिर निर्माणमा पनि उनलाई बोलाए। ‘विजेश्वरी मन्दिर निर्माणपछि गोकर्णेश्वर नगरपालिकामा रहेको महादेव मन्दिरमा पनि पुटिनको काम गरेँ,’ सरिताले भनिन्, ‘महादेव मन्दिर पनि राम्रो भयो। एकदम मेहनत गरेर सिंगार्ने काम गरेँ।’ महादेव मन्दिरमा उनले ६ महिना काम गरिन्।

त्यसपछि रानीपोखरीस्थित मन्दिर निर्माणको काम पनि देवरत्नले नै पाए। विजेश्वरी र महादेव मन्दिर सिंगारेकी सरिता पनि रानीपोखरी पुगेकी हुन्। रानीपोखरीमा काम गर्न पाउँदा झन खुशी लागेको उनले बताइन्।

ऐतिहासिक सम्पदामा पुटिनको काम गर्दा आफ्नै घर सिँगारेजस्तो लाग्ने गरेको उनले सुनाइन्। सानो छँदा पनि मन्दिर सिंगार्ने गरेको उनले बताइन्। ‘मन्दिर बनाउँदा आफ्नै घर बनाए झैं लाग्छ,’ उनी भन्छिन्, ‘त्यसैले मन लगाएर काम गर्छु। मन लगाएर काम गर्दा आफै राम्रो बनिहाल्दो रहेछ।’

यतिवेला उनी रानीपोखरीमा व्यस्त छिन्। पुटिनको लागि रंग तयार गर्छिन् र लगाउँछिन्। रानीपोखरीबीचमा रहेको मन्दिरको मुख्य भागमा रातो माटोजस्तै रङ लगाउन थालिएको छ। जसलाई चुना–सुर्की भनिन्छ। चुना–सुर्की इँटाको धुलो, बालुवा र चुना मिसाएर बनाइएको हुन्छ। प्रायः धार्मिक स्थलमा रातो माटोजस्तै देखिने रंग चुना–सुर्की नै हुने गरेको छ।

यहि चुना–सुर्की मन्दिरमा लगाउनुलाई पुटिन भनिन्छ। यसका लागि उनी हातमा पञ्जा लगाउँछिन्। ‘केमिकल भएर होला, हातका औलामा प्वाल पारिदिन्छ,’ उनी भन्छिन्।

दिनभरि पञ्जा लगाइने भएकाले औला पाक्छन्। औला चिलाउने र सुन्निने पनि हुने गरेको उनी बताउँछिन्। ‘पञ्जा लगाउँदा स–साना फोका आउँछन्। नलगाए केमिकलले पूरै औलाको छाला जान्छ,’ सरिता भन्छिन्, ‘विशेषगरि दायाँ हातको औलामा धेरै असर पर्छ। बायाँ हातमा रंग राखेर दायाँ हातले सानो पत्ताले पुटिङ गर्नुपर्छ।’

उनका पनि दायाँ हातका सबै औलाका टुप्पामा घाउँ बनेका छन्। तैपनि काम गर्न छोडेकी छैनन्। ‘हातका औलामा प्वाल परेपनि मन्दिरमा प्वाल राख्दिनँ,’ सरिताले काठमाडौं प्रेससँग भनिन्, ‘मन परेको काम भएकाले पीडा भुलिहाल्छु। काममै ध्यान हुन्छ।’

काम गर्दा मात्रै होइन, घरमा पनि अन्य काम गर्न गाहो हुन्छ। खाना खाँदा समेत गाह्रो हुन्छ। ‘सुरू–सुरूमा प्वाल परेको औलाले खाना खाँदा पोल्ने हुन्थ्यो, तर अहिले बानी परिसक्यो,’ उनी सुनाउँछिन्, ‘अलिअलि पीडा त सहन सकिहालिन्छ।’  

रानीपोखरी २०७२ वैशाख १२ गते आएको भूकम्पले भत्किएको थियो। यसको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर निर्माण गरिएको थियो। माइला छोरा चक्रवर्तेन्द्र मल्लको निधन भएपछि शोकाकुल रानीलाई खुशी पार्न राजा प्रताप मल्लले सन् १६६५ मा रानीपोखरी निर्माण गरेका थिए।

यो वि.सं. १९९० को भूकम्पमा पनि भत्किएको थियो। त्यसलाई जुद्ध शमशेरले पुनःनिर्माण गराएका थिए।

२०७२ को भूकम्पमा भत्किएको रानीपोखरी फेरि पुनःनिर्माण चलिरहेको छ। यसलाई आगामी वैशाख १२ गते हस्तान्तरण गर्ने लक्ष्य रहेको छ। सरिता भने रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर सिंगारिरहेकी छन्। यो मन्दिर वर्षमा एक दिन भाइटीकामा मात्रै खुल्ने गरेको थियो।

पुनःनिर्माणको काम गर्न पाउँदा उनलाई खुशी रहेको बताउँछिन्। एउटा त उनी दैनिक ६ सय ५० रुपैयाँ ज्याला पाउँछिन्। जसले छोराछोरीलाई स्कुल पढाउन र घरपरिवार चलाउन सहज भएको छ।

त्यो भन्दा पनि उनको मनमा बसिरहेको खुशी भने अर्को छ। ‘मन्दिर बनाउनु त पुण्यको काम हो। सित्तैमा गर्नुपर्ने काममा ज्याला पनि पाएकी छु,’ सरिता गम्भीर हुँदै भन्छिन्, ‘भोलिका दिनमा यो मन्दिर बनाउन मैले पनि काम गरेको हो भन्न पाइएला। छोराछोरीलाई घुमाउन ल्याउँदा याे मन्दिर मैले पनि बनाएको हो भनुला नि।’

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्