डोल्पामा कापीकलम सकिँदा काठमाडौंमा फोन
काठमाडौं, माघ २६ : श्राद्धको तयारी चलिरहेको थियो, काठमाडौंको नरदेवीमा। घरको दोस्रो तलामा श्राद्धका स
काठमाडौं, माघ २६ : श्राद्धको तयारी चलिरहेको थियो, काठमाडौंको नरदेवीमा। घरको दोस्रो तलामा श्राद्धका सरसामान ठिक्क थिए । परिवारजन चारैतिर बसिरहेका थिए ।
छरछिमेकी पनि घरभित्र र आगनमा बाक्लै थिए । श्राद्ध भएकाले होला, माहौल भने मलिन नै थियो । त्यहीबेला एक्कासी मोबाइल बज्न थाल्यो, पुरोहित श्रीमणिराज शर्माको गोजीमा।
एकछिन त श्रीमणिराज अलमलमा परे, उठाउने कि काट्ने। सबैको अनुहारमा हेरे, कसैले नाइनास्ती गरेनन्। त्यसपछि मोबाइलको हरियो बटन थिचे। हेलो भन्नासाथ उताबाट आवाज आयो, ‘कलम त सकिँए नि।’
पुरोहित श्रीमणिराजले जवाफ नदिँदै उतैबाट एकहोरो आवाज आयो, ‘कापी पनि सकिँएका छन्। छिट्टै कापीकलम पठाइदिनु पर्यो।’
‘यो पटक त ८० जनालाई पुग्ने गरि पठाइ दिनुहोला। अलि सजिलो हुन्छ,’ श्रीमणिराज एकहोरो आएको आवाज सुनिमात्रै रहे। श्राद्ध गर्न ठिक्क परेका उनका जजमान पनि मोबाइलमा उताबाट बोलिरहेका मान्छेको आवाज अलिअलि सुनिरहेका थिए।
‘हुन्छ, कोसिस गर्छु,’ उनले यति मात्रै बोलेका थिए, उताबाट फेरि आवाज आयो, ‘होइन, होइन्। कोसिस होइन्, जसरी पनि पठाइदिनुपर्छ। नत्र विद्यार्थीको पढाइ नै छुट्छ।’
श्राद्ध बनाउन ठिक्क जजमानलाई झर्को लाग्ला भन्ने डरले श्रीमणिराजले पनि धेरै कुराकानी नगरि ‘हुन्छ, कोही आउने मान्छेसँग पठाउँछु’ भन्दै फोन काटे।
डोल्पाबाट आएको थियो, यो फोन। फोन गर्ने मान्छे थिए, तल्लो डोल्पाको चुन गाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक गमबहादुर बुढा। विगतमा झै यस पटक पनि कापी र कमल पठाउन आग्रह गरिरहेका थिए।
त्यहाँ त प्रधानाध्यापक बुढाले भनेअनुसार, कापी र कलम पठासकेका थिए नै माघ २० गते काठमाडौं प्रेससँग कुराकानी गर्दा पनि उनी कापीकलमकै जोहो गरिरहेका थिए। यस पटक तल्लो डोल्पाको अर्को स्कुलका लागि शैक्षिक सामग्री पठाउने तयारीमा थिए, उनी। केहीवेरपछि उनी बोले, ‘तल्लो डोल्पाको डाँफुगाउँस्थित कान्जिरोवा आधारभूत विद्यालयमा कापी कलम सकिएको थियो, उतैका साथीहरुसँग पठाएँ।’ कान्जिरोवाका लागि बसन्ती कठायतसँग सात सय कापी, पाँच-पाँच सय इरेजर र कटर पठाएको हिसाव उनले भरखरै राखे।
उपल्लो र तल्लो डोल्पाका विद्यार्थीका कापी, कलम, कटर वा अन्य शैक्षिक सामग्रि सकियो कि उनीहरुको आमाबुवा होइन, श्रीमणिराजको मोबाइल बज्न थाल्छ। तर, उनी न डोल्पाका बासिन्दा हुन, न त त्यहाँका विद्यार्थी, शिक्षक र स्थानीय वासिन्दासँग नातासम्बन्ध पर्छ। उनले त्यहाँका स्कुल र विद्यार्थी देख्नु–भेट्नु त परै जावस, डोल्पा टेकेका पनि छैनन्। त्यसो भए किन उनी डोल्पाका विद्यार्थीका लागि शैक्षिक सामग्रि जुटाउँछन्? काठमाडौंको क्षेत्रपाटीका श्रीमणिराज भन्छन्, ‘डोल्पा गएको छैन, तर त्यहाँका बालबालिका, शिक्षक, अभिभावक तथा विद्यालयका समस्यासँग परिचित छु। उनीहरुको समस्या बुझ्छु, पीडा महसुस गर्छु।’
शिक्षाका लागि काठमाडौंका श्रीमणिराज र डोल्पालाई जोड्ने माध्यम छ, स्नो याक फाउन्डेसन। यो स्थापनामा पनि अर्का काठमाडौंवासीकै भोगाइको कथा छ। सन् २००४ काठमाडौंका विनोद शाही शिक्षक बनेर उपल्लो डोल्पा पुगे। केही महिना त्यहाँको सल्दाङ गाउँमा बस्दा उनले समस्या र पीडा देखे। आठ–आठ घन्टा हिडेर विद्यार्थी स्कुल जानु परेको, अझ स्कुलमा राम्रो पढाइ नहुने गरेको, शिक्षक र शैक्षिक सामग्रीको अभाव, भौतिक पूर्वाधारको अभाव, यस्तै यस्तै, तर थुप्रै समस्या।
र, उनले बाचा गरे अब बाँकी जिन्दगी डोल्पाकै बालबालिकाको शिक्षाका लागि सहयोग गरेर बिताउँछु। त्यतिवेलाको प्रशंग सम्झिदै विनोद भन्छन, ‘बच्चाले मलाई रुवाउँथे। अलिकति मिस्टेक गर्यो भने ह्या यो सरलाई त केहि आउँदैन रैछ भनेर हल्ला गर्न थाल्थे। भित्ताको बोर्डमा लेखेर पढाइराखेको हुन्थे, फर्किदा बच्चाहरु पिठ्यू फर्काएर बसेका हुन्थे।’
त्यतिवेला विनोद विदेशी दाताले संचालन गरेको स्कुलमा पढाउथे। उनलाई लाग्यो यसरी पढाएर केही गर्न सकिँदैन, आफैले लाग्नुपर्छ। अनि पढाउन छोडेर शिक्षा अभियन्ता बन्न पुगे। त्यसपछि विनोदसहितको टोली तयार भयो, डोल्पाका विद्यालयमा शैक्षिक स्तर सुधारका लागि काम गर्न। सन् २०१० मा पुग्दा त स्नो याक फाउन्डेसकाने परिकल्पना तयार भयो। त्यहि सुरुआति टोलीमै थिए, पुरोहित श्रीमणिराज पनि।
यो टोली काम गर्दै गयो। र, सन् २०१४ मा आएर यसलाई दर्ता पनि गरे, जसले काम गर्न सजिलो होस्। कानुनी झैझमेला नआवस्। त्यहि स्नो याक फाउन्डेसनका अध्यक्ष विनोद छन् भने पुरोहित श्रीमणिराज सचिव।
यहि फाउन्डेसनमार्फत डोल्पाका विद्यार्थीका लागि शैक्षिक सामग्रि जुटाउँछन्। हरेक वर्ष विद्यालयमा नयाँ कक्षा सुरु हुनुअघि तथा शैक्षिक सत्र सकिएपछि शैक्षिक सामाग्री जोहो गर्न थाल्छन्। त्यसको काठमाडौंमा सबै व्यवस्थापन गर्छन्, श्रीमणिराज।
यसका लागि कहिले घरघर पुग्छन् त कहिले स्कुलस्कुलमा। काठमाडौंका विभिन्न विद्यालयमा ‘चिल्ड्रेन फर चिल्ड्रेन’ अर्थात् बालबालिको लागि बालबालबालिकाले गर्ने सहयोग कार्यक्रम सञ्चालन गरिरहेका छन्। विद्यलायमा खुत्रुके राख्छन्। व्यक्ति, विद्यालय र संस्थाले दिएको किताव, कलमलाई संकलन गर्छन्। अहिले त केही सजिलो भएको छ, धेरैले डोल्पाका लागि सहयोग गर्छन्। तर, सुरुआतमा भने साह्रै दुःख भएको श्रीमणिराज सुनाउँछन्। ‘विदेशी अनुदानमा सञ्चालित स्कूलमा आउने विद्यार्थीको कापीको एक–एक पाना च्यातेर पनि डोल्पाका विद्यार्थीका लागि कापी बनायौं,’ उनी सम्झिन्छन्।
अब त यस्तो भइसक्यो, डोल्पाका विद्यार्थीको कापीकलम सकियो कि विद्यार्थीका अभिभावकभन्दा पहिले श्रीमणिराजलाई खबर आउँछ। विद्यालयमा शैक्षिक सामग्रीको अभाव भयो कि उनकै मोबाइल बज्न थाल्छ। ‘फोन आयो कि जोरजाम गर्नतिर लाग्नुपरिहाल्छ,’ श्रीमणिराज भन्छन, ‘सरसामान नपठाउँदासम्म राति निन्द्रै लाग्दैनँ।’ विद्यार्थीका लागि शैक्षिक सामग्री मात्रै होइन, उनीहरुलाई पढाउने स्वयंसेवक शिक्षकका लागि चिनी, चियापत्ती, नुन, तेल, मरमसलासहित सरसामान यतैबाट पठाउँछन्।
स्नो याक फान्डेसनले डोल्पामा स्वयंसेवक शिक्षक पनि पठाउँछ, काठमाडौंबाटै। अंग्रेजी, गणि र विज्ञानमा विद्यार्थी कमजोर थिए। त्यहाँ स्कुल र सरकारले विषयअनुसारका शिक्षक राख्न सकेको छैन। जसले विद्यार्थीले राम्रोसँग पढ्न पाउँदैनन्। त्यो देखेर विनोदले स्वयंसेवक शिक्षक पठाउन योजना बुने।
यसको सुरुआत तल्लो डोल्पाको डाँफुगाउँस्थित कान्जिरोवा आधारभूत विद्यालयबाट गरिएको थियो। जहाँ काठमाडौंमा गएका स्वयंसेवक शिक्षकले अंग्रेजी, गणित र विज्ञान पढाउन थाले। ‘कक्षामा त पढाउने भए नै आवश्यक परेका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था गरेर पढाउने, शैक्षिक क्रियाकलाप गराउने, विद्यार्थी र अभिभावकसँग अन्तक्रिया गर्छन्,’ विनोद भन्छन्।
यसले शैक्षिक गुणस्तर त सुधार भयो नै विद्यार्थी र अभिभावकको व्यवहारमा पनि परिवर्तन आयो। एउटा विद्यालयबाट सुरु गरिएको यो अभियान अहिले १२ वटा विद्यालयमा चलिरहेको छ । ति विद्यालयमा एक हजार दुई सय ४२ विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, यो अवधिमा ५६ स्वयंसेवक शिक्षकशिक्षिकाले डोल्पा पुगेर अध्यापन गराएका छन्। ‘चार दशक अघि स्थापना भएर पनि कक्षा सञ्चालन नभएका विद्यालयमा अहिले शहरका विद्यालयको जस्तै गुणस्तरीय पढाइ भइरहेको छ,’ स्नो याक फान्डेसनका अध्यक्ष विनोद भन्छन्।
डोल्पा पढाउन जान चाहने स्नातक गरेका युवायुवतीलाई तालिम दिने गरिन्छ। उनीहरुलाई डोल्पाको भौगोलिक अवस्था, सामाजिक अवस्था, शैक्षिक अवस्थाबारे जानकारी दिइन्छ। डोल्पाबाट फर्केका शिक्षकहरुसँग अन्तरक्रिया गराइन्छ । एक रात क्याम्पमा राखेर खाना पकाउन समेत सिकाएर पठाइने गरेको श्रीमणिराज बताउँछन्।
यसरी काठमाडौंबाट गएका स्वयं सेवक शिक्षकले पनि विद्यालयमा मात्रै नभएर समाजमा पनि सकारात्मक छाप छोड्न सफल भएका छन्। ति विद्यालयमा पढेका विद्यार्थी पनि हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल भएका छन्। जसले अझ काम गर्न आत्मबल बढाइरहेको श्रीमणिराजको भनाइ छ ।
डोल्पाका विद्यार्थीका लागि काठमाडौंमा चाँजोपाँचा मिलाउँदै आएका यि पुरोहित यसका जस आफू लिँदैनन्। ‘हामी सुनको कचौरा लिएर विदेशीसँग पैसा मागिरहेका छौं,’ देशभित्रैको स्रोत, साधन र जनशक्ति प्रयोग गर्न नसकिएको बताउँदै श्रीमणिराज भन्छन, ‘देशकै अर्को कुनाका बालबालिकाको उज्ज्वल भविष्यका लागि काम गर्न खोजेका हौं। मैले पनि विनोद शाहीले गरेको काममा सानो सहयोग मात्र गरेको हुँ।’ उनको यहि सानो सहयोगले त डोल्पाका सयौं विद्यार्थी स्कुलमा मुस्कुराउन पाइरहेका छन्।