विश्वकपका लागि सुरू हुँदै नेपालको यात्रा
काठमाडौं, माघ २१ : सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको रोडम्यापका रुपमा रहेको विश्वकप क्रिकेट लिग&nd
काठमाडौं, माघ २१ : सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको रोडम्यापका रुपमा रहेको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज बुधाबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरू हुँदै छ।
नेपालले घरेलु मैदानमा खेल्न लागेको यो पहिलो एकदिवसीय प्रतियोगिता हो। सन् २०१८ को मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमार्फत् एकदिवसीय मान्यता पाएको नेपालले अहिलेसम्म विदेशी भूमिमा मात्रै शृंखला खेलेको थियो। यस अघि नेपालले नेदरल्यान्ड्स र युएईमा एकदिवसीय सिरिज खेलेको थियो।
विश्वकप क्रिकेट लिग–२ मा नेपालको यो पहिलो सिरिज हो। नेपालबाहेकका अन्य देशले भने दुई–दुई सिरिज खेलिसकेका छन्। लिग–२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिबिया, युएई र पपुवा न्यूगिनीुसहत सात देश छन्।
ओमान र अमेरिका दुवै विश्व क्रिकेट लिग डिभिजन–२ बाट आएका हुन्। ओमान डिभिजन–२ को उपविजेता हुँदै लिग–२ मा अवसर पाएको टिम हो भने अमेरिका डिभिजन–२ मा तेस्रो हुँदै लिग–२ का लागि छनोट भएको हो।
नेपाल, स्कटल्यान्ड र युएईले पहिल्यै एकदिवसीय मान्यता पाइसकेकाले सिधै लिग–२ मा छानिएका हुन्। ओमान र अमेरिकासँगै नामिबिया र पपुवा न्यूगिनी पनि डिभिजन–२ बाट आएका टिम हुन्।
सुरुआतमै बलिया प्रतिद्वन्द्वी
नेपालले लिग–२ को पहिलो सिरिजमै बलिया प्रतिद्वन्द्वी पाएको छ। अमेरिका र ओमानले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेका छन्। डिभिजन–२ बाट आएका अमेरिका र ओमान दुवैले लिग–२ मा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
अमेरिका अहिले लिग–२ को शीर्ष स्थानमा रहेको टिम हो। लिग–२ का आठ खेलमध्ये ६ खेल जित्दै १२ अंक जोडेको छ। अमेरिकाले नामिबिया र स्कटल्यान्डसँग १–१ खेल हारेको छ।
नेपाल अमेरिकासँग ६ वर्षपछि खेल्न लागेको हो भने घरेलु मैदानमा कीर्तिपुरमा भने १० वर्षपछि खेल्न लागेको छ। नेपालले सन् २०१० मा डिभिजन–५ मा कीर्तिपुरमा दुई खेल खेलेका थियो, जसमा लिग चरणमा अमेरिका विजयी भएको थियो भने फाइनलमा नेपाल विजयी भएको थियो।
नेपाल र अमेरिका अन्तिम पटक सन् २०१४ मा भिडेका थिए। डिभिजन–३ को सो खेलमा नेपाल डिएल मेथडमा १० रनले विजयी भएको थियो। डिभिजन–३ बाट अमेरिका रेलिगेसनमा परेपछि नेपाल र अमेरिका त्यसपछि भिडेका छैनन्।
नेपाल Vs अमेरिका
डिभिजन–५, सन् २००८ : नेपाल ९६ रनले विजयी (तेस्रो स्थान)
डिभिजन–४, सन् २०१० : अमेरिका ५५ रनले विजयी
डिभिजन–५, सन् २०१० : अमेरिका ५ विकेटले विजयी (लिग चरण), नेपाल ५ विकेटले विजयी (फाइनल)
डिभिजन–४, सन् २०१२ : नेपाल ३२ रनले विजयी (लिग चरण), नेपाल ८ विकेटले विजयी (फाइनल)
डिभिजन–३, सन् २०१३ : अमेरिका ९४ रनले विजयी
डिभिजन–३, सन् २०१४ : नेपाल १० रनले विजयी
यसैगरी ओमानले पनि लिग–२ उत्कृष्ट प्रदर्शन गरिरहेको छ। आठमध्ये चार खेल जितेको ओमान लिग–२ को चौथो स्थानमा छ। ओमानले आफ्ना राजाको मृत्युका कारण दुई खेल भने खेल्न पाएन।
सन् २०१३ पछि नेपालले ओमानलाई ५० ओभरको खेलका हराउन सकेको छैन। नेपालले सन् २०१३ मा भएको डिभिजन–३ को समूह चरणमा ओमानविरुद्ध २८ रनको जित निकालेको थियो। त्यसअघिका दुइटै भेटमा नेपाल विजयी भएको थियो। तर, सन् २०१३ पछिका चार प्रतिस्पर्धामा नेपाल ओमानसँग पराजित हुँदै आएको छ।
नेपाल Vs ओमान
एसीसी ट्रफी, सन् २००२ : नेपाल १०५ रनले विजयी
एसीसी ट्रफी एलिट कप, सन् २०१० : नेपाल ६ विकेट विजयी
डिभिज–३, सन् २०१३ : नेपाल २८ रनले विजयी
एसीसी प्रिमियर लिग, सन् २०१४ : ओमान २ विकेटले विजयी
एसोसिएट टुर म्याच, सन् २०१५ : ओमान ३ विकेटले विजयी
डिभिजन–२, सन् २०१८ : ओमान ६ विकेटले विजयी
एसिया कप छनोट, सन् २०१८ : ओमान ७ विकेटले विजयी
सिरिजको टिकट मूल्य कति?
कीर्तिपुरस्थित टियू मैदानमा माघ २२ देखि २९ गतेसम्म हुने हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) दुई फरक मूल्यका टिकटको व्यवस्था गरेको छ। जसमा नेपालको खेलको दुई सय र अन्य खेलको एक सय रुपैयाँ मूल्य तोकिएको छ। खेल हेर्न आउने दर्शकले ईसेवामार्फत टिकट किन्न सक्नेछन्।
यस्तो छ खेल तालिका
नेपाल र ओमानबीचको खेलसँगै त्रिकोणात्मक सिरिज सुरू हुनेछ। कीर्तिपुरस्थित टियू मैदानमा हुने सबै खेल बिहान १० बजेबाट सुरु हुनेछन्।
प्रतियोगिताका लागि अमेरिका र ओमानको टिम नेपाल आइसकेको छ। अमेरिकी टिम आइतबार र ओमानी टिम सोमबार नेपाल आइपुगेको हो। प्रतियोगितका लागि ओमानले घरमै अभ्यास गरेको थियो भने अमेरिकाले मुम्बईमा एक साता प्रशिक्षण गरेको थियो।
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २३ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका
के हो लिग-२?
आईसिसीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटको प्रक्रिया परिवर्तन गरेपछि लिग–२ सुरू भएको छ। आईसिसीले विश्वकप छनोटका तीन प्रक्रिया बनाएको छ, जसमा सुपर लिग, आईसिसी लिग–२ र च्यालेन्ज कप छन्।
सुपर लिगमा १२ टेस्ट राष्ट्र र नेदरल्यान्ड गरी १३ टिम छन्। सुपर लिगको शीर्ष आठ टोलीले विश्वकप खेल्नेछन्। बाँकी पाँच टिम र लिग–२ र च्यालेन्ज कपका १० टिमले विश्वकप छनोट खेल्ने छन्। विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसिसी लिग–२ का तीन र विश्वकप छनोट प्ले अफका दुई टोलीले खेल्नेछन्।
लिग–२ मा एकदिवसीय मान्यता पाएका सात टोली छन्। जसमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिबिया, युएई र पपुवा न्यूगिनी गरी सात टिम सहभागी छन्। लिग–२ का शीर्ष तीन टिमले छनोट खेल्ने छन् भने बाँकी चार टिम र च्यालेन्ज कपबाट आएका दुई टिम हुनेछन्।
च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेकामध्ये २१ देखि ३२ वरीयताका १२ टोलीले खेल्नेछन्। १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछन्। दुई समूहका विजेताले प्लेअफ खेल्नेछन्।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, करण केसी, आरिफ सेख, विनोद भण्डारी, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, कुशल मल्ल, अभिनास बोहरा।
वैकिल्पक : सुवास खकुरेल, पवन सर्राफ, सन्दीप जोरा र किशोर महातो।