अमेरिका र ओमानविरुद्ध कसले गर्ला नेपालको ओपनिङ?
काठमाडौं, माघ १८ : एकदिवसीय मान्यता पाएको दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक एकदिवसीय
काठमाडौं, माघ १८ : एकदिवसीय मान्यता पाएको दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक एकदिवसीय खेल खेल्दैछ। सन् २०१९ को विश्वकप छनोटको ९ औं स्थानको प्ले अफमा पपुवा न्यूगिनीलाई पराजित पर्दै नेपालले एकदिवसीय मान्यता पाएको थियो।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिका र ओमानसँग खेल्दैछ। एकदिवसीय मान्यता पाउनुअघि र अहिले नेपाली क्रिकेट टिममा खासै अन्तर छैन। अन्तर छ त, केही पुराना अनुहार टिमबाट बाहिरिँदा केही नयाँ थपिएका छन्।
नेपाली टिमको ब्याटिङमा जहिल्यै समस्या हुने गर्छ। बलिङको तुलनामा नेपालको ब्याटिङ कमजोर नै छ। त्यसमा पनि ओपनिङ नेपालको परम्परागत समस्या नै हो। ओपनिङमा कसलाई पठाउने भन्ने द्विविधामा नेपाली टिम सधैँ हुने गरेको छ। त्रिकोणात्मक सिरिजअघि पनि नेपाली टिममा त्यही समस्या छ।
अमेरिका र ओमानविरुद्धको सिरिजका लागि घोषणा गरिएको १४ सदस्यीय नेपाली टिममा ओपनिङमा उपयुक्त खेलाडी नै छैनन् भन्दा पनि छन्। त्रिकोणात्मक सिरिजमा नेपाली इनिङको सुरुवात एउटा इन्डबाट कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्, त्यो पक्का छ। तर, उनलाई अर्को इन्डबाट कसले साथ दिने ? त्यसको टुंगो छैन।
ज्ञानेन्द्र पनि ओपनर भने होइनन्, लामो सयम तेस्रो नम्बरमा ब्याटिङ गरेका उनलाई ओपनिङ समस्याकै ओपनिङमा ल्याइएको हो। कुनै समयका नेपालका नियमित ओपनर अनिल मण्डल र सुवास खकुरेल फर्ममा नभएपछि ज्ञान्द्रललाई ओपनिङमा ल्याइएको हो।
उनले अलिन, सुवाससँगै नरेश बुढाऐर, विनोद भण्डारी, कुशल भुर्तेल, अनिल साह, सगर पुनसँग पनि ओपनिङ गरिसकेका छन्। यी मध्ये अहिले विनोद भण्डारी मात्र टिममा छन्। तर, विनोदसँग युएईविरुद्धको एकदिवसीय सिरिजमा ज्ञानेन्द्रको जोडी क्रिजमा नजमेपछि नयाँ ओपनरको खोजी भएको हो।
त्रिकोणात्मक सिरिजमा सम्भवतः ज्ञानेन्द्र र पारस खड्काले इनिङको सुरुवात गर्नेछन्। तर, दुवै ओपनिङ ब्याट्सम्यान होइनन्, दुवै नेपाली क्रिकेटमा मिडलअर्डरका खम्बा हुन्। कप्तान ज्ञानेन्द्र र पारसले पनि यसको संकेत गरेका छन्।
ज्ञानेन्द्रले पछिल्ला खेलहरुमा पारस र आफूले ओपनिङ गरिरहेकाले त्यसैले निरन्तरता पाउन सक्ने बताए। तर, यसबारे निर्णय भइनसकेको पनि उनले बताएका छन्। ‘पछिल्ला समय पारस र मैले ओपनिङ गरिरहेका छौं, सायद हामीले नै इनिङको सुरुवात गर्छौं होला,’ कप्तान ज्ञानेन्द्रले भने।
पारसले खड्काले टिमको अवस्थामा अनुसार आफू जुनसुकै स्थानमा पनि ब्याटिङका लागि तयार भएको बताए। ‘मैले लामो समय चौथो नम्बरमा ब्याटिङ गरेको छु। आगामी खेलमा कति नम्बरमा ब्याटिङ गर्ने भन्ने मैले सोचेको छैन,’ पारसले भने, ‘टिमले मलाई कुन स्थानका लागि उपयुक्त ठान्छ, त्यसका लागि तयार छु। टिमको आवश्यकता अनुसार ओपनिङ, तेस्रो वा चौथो सबैका लागि तयार छु।’
पारस र ज्ञानेन्द्रले एकदिवसीयमा सँगै ओपनिङ नगरेपनि टि–२० मा भने पछिल्लो समय दुवैले नेपाली इनिङको सुरुवात गरेका छन्। सबैभन्दा भरपर्दा दुवै ब्याट्सम्यानलाई ओपनिङमा ल्याउँदा मिडलअर्डरमा समस्या आउने कतिपयले तर्क गरेका छन्। यस्तै तर्क गर्नेमध्ये एक हुन्, नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा महिला राष्ट्रिय टिमका प्रशिक्षक विनोद दास।
ज्ञानेन्द्र र पारसबाट इनिङ सुरुवात गर्ने हो नेपालको मिडलअर्डर कमजोर बन्ने विनोद दासले बताए। उनले अहिलेको नेपाली टिममा ओपनिङका लागि उपयुक्त खेलाडी नै नभएको पनि बताए।
‘सम्भवतः ज्ञानेन्द्र र शरद भेषावकरले ओपनिङ गर्छन् जस्तो लाग्छ। तर, ज्ञानेन्द्रसँगै पारस पनि ओपनिङमा आउने सम्भावना छ,’ पूर्वकप्तान दासले भने, ‘शरद र पारस ओपनिङका लागि उपयुक्त खेलाडी होइनन्। पछिल्लो समय ज्ञानेन्द्रले ओपनिङ गरिरहेको छन्, तर उनी पनि उयुक्त होइनन्। अहिले टिममा ओपनिङका लागि उपयुक्त खेलाडी नै छैनन्।’
कप्तान ज्ञानेन्द्र मल्लले टिमको प्लान अनुसार खेल्न तयार हुनुपर्ने तर्क गरे। उनले जो जुनस्थानमा खेले पनि टिमलाई जिताउनु नै मुख्य भएको बताए। उनले ओपनिङका विषयमा टिम म्यानेजमेन्टसँग बसेर छलफल गरेर टुंगो लगाउने बताए।
बलिया छन् प्रतिद्वन्द्वी
नेपालले अमेरिका र ओमानविरुद्धकै खेलबाट आईसीसी विश्वकप क्रिकेट लिग–२ सुरुवात गर्नेछ। पछिल्लो समयको प्रदर्शनका आधारमा अमेरिका र ओमान दुवै नेपालभन्दा बलिया टिम हुन्। लिग–२ मा दुवै टिमले समान ८ खेल खेलिसकेका छन्।
अमेरिका लिग–२ को शीर्ष स्थानमा छ। उसले लिगका ८ मध्ये ६ खेलमा जित निकालेको छ। ८ खेलमा ४ खेल जितेको ओमान चौथो स्थानमा छ। उसले आफ्ना राजा सुल्तान काबुस बिन साइद अल साइदको निधनका कारण खेलेन।
नेपालले अमेरिकासँग सन् २०१४ को डिभिजन–३ खेलेको छैन। त्यसपछि नेपाल डिभिजन २ सम्म पुग्यो भने अमेरिका डिभिजन–४ मा झरेको थियो। तर, पछिल्लो समय भने अमेरिकाले उत्कृष्ट क्रिकेट खेलिरहेको छ र एकदिवसीय मान्यता पनि पाएको छ। यता ओमानसँग नेपालले टि–२० म्याच खेलिरहे पनि एकदिवसीय खेल भने खेलेको छैन।
को-को छन् नेपाली टिममा ?
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, करण केसी, आरिफ सेख, विनोद भण्डारी, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, कुशल मल्ल, अभिनास बोहरा।
वैकिल्पक : सुवास खकुरेल, पवन सर्राफ, सन्दीप जोरा र किशोर महतो।
यस्तो छ त्रिकोणात्मक सिरिजको तालिका
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २२ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका