Kathmandu Press

शौच लाग्दा चिया र खाजाको बाहाना बनाउँदै यात्रु

काठमाडौं, माघ १३ : बनेपाबाट काठमाडौं आएका कृष्ण रिजाल नयाँ बानेश्वर चोकमा झर्ने वितिक्कै यताउता हेर्

शौच लाग्दा चिया र खाजाको बाहाना बनाउँदै यात्रु
रिवाज राई

काठमाडौं, माघ १३ : बनेपाबाट काठमाडौं आएका कृष्ण रिजाल नयाँ बानेश्वर चोकमा झर्ने वितिक्कै यताउता हेर्नथाले। ‘बसमा पिसाबले च्यापिरहेको थियो। बसबाट झरेपछि आपत पर्‍यो,’ कृष्णले भन्छन्, ‘चोकको वरपर शौचालय जानको लागि हेरेँ। कतै सार्वजनिक शौचालय देखिनँ।’

दश-पन्ध्र मिनेटर यताउता रक्कर लगाएपछि पनि कहिँकतै सार्वजनिक शौचालय देखेनन्। ‘निकै गाह्रो भइसकेको थियो। अनि हतार–हतार होटलमा छिरेँ,’ उनी भन्छन्।

होटलमा त्यसै शौचालय जान दिदैनन् भन्ने उनलाई पनि थाहा थियो। ‘खाना खान त मन थिएनँ। चिसो समय भएकाले चिया खाने बहानामा खाजा घरमा पसेँ,’ कृष्ढाले भन्छन, ‘चिया अर्डर गरेँ। अनि शौचालयतिर लागेँ।’

Hardik ivf

राजधानीमै सार्वजनिक शौचालय नहुँदा उनलाई दिक्क लाग्यो। ‘राजधानीजस्तो यस्तो ठूलो शहरमा अझ मान्छेको भीडभाड हुने स्थानमा सार्वजनिक शौचालय छैन,’ उनी भन्छन्, ‘कति बाहाना बनाएर होटल, चिया पसलमा पस्नु! सार्वजनिक शौचालय बनाउनुपर्ने हो।’

उनको मात्रै होइन, धेरै यात्रुको समस्या यस्तै छ। चावहिल, माइतीघर, रत्नपार्क, न्यूरोड, ठमेल, बसन्तपुर, बागबजार, थापाथली, टेकु चक्रपथलगायत शहरका मध्य चोकमा सार्वजनिक शौचालयको अभाव छ। मान्छेको भीडभाड हुने यि स्थानमा सार्वजनिक शौचालय नहुँद बटुवाले मात्रै होइन, पर्यटकले पनि समस्या झेल्दै आएका छन्।

काठमाडौंका धेरै ठाउँमा दिसा–पिसाबले च्यापेकापछि बुटावालाई नजिकैका होटल, खाजाघर छिरेर भोक नलागे पनि खानेकुरा अर्डर गरेर शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ। गत असोज १२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित समारोहमा देश खुला दिसामुक्त भएको घोषणा गरे। यो घोषणाले ९९ प्रतिशत जनसंख्याले शौचालयमा मात्र दिसा–पिसाब गर्न थालेको सन्देश दिएपनि राजधानी काठमाडौंमै सार्वजनिक शौचालय नहुँदा व्यंग्य गरेको छ।

सार्वजनिक शौचालय नभेटेर आपतमा परेका सर्वसाधारणले सडकका छेउ–कुना भेट्नासाथै लाज–घिन बिर्सेर दिसा–पिसाब गर्छन्। सन् २०२० को अन्त्यसम्म दिगो विकास लक्ष्य हाँसिल गर्न पूर्णसरसफाइ र स्वच्छतामा सबैको पहुँच हुनुपर्ने मापदण्डअनुसार, हतारोमा खुला दिसामुक्त घोषणा गरियो। तर, सडक फोहोर नै हुने गरेका छन्। ‘बिहानको समयमा सडक कति फोहोर हुन्छ, त्यसको सकस पदैल यात्रीले भोगिरहेका छन्,’ कृष्ण भन्छन्।

काठमाडौं उपत्यकामा करिब ६० लाखको बसोबास रहेको अनुमान छ। काठमाडौं उपत्यकाको जनसंख्याको अनुपातमा सार्वजनिक शौचालय एकदमै न्यून छन्।
२०७४ मा स्थानीय तहको निर्वाचनको वेला काठमाडौं महानगरका उम्मेदवार विद्यासुन्दर शाक्यले स्मार्ट सिटी बनाउनेसहितका १०१ वाचा गरेका थिए। तर, महानगरको शहरी योजना आयोगसँग आर्थिक वर्ष २०७६÷७७ मा एउटा पनि सार्वजनिक शौचालय बनाउने योजना छैन।

काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल पनि प्रयाप्तमात्रामा सार्वजनिक शौचालय नभएको स्वीकार्छन्। ‘महानगरभित्र ४५ वटा मात्रै सार्वजनिक शौचालय छन्। प्रयोगमा आएकामध्ये पनि १५ वटा शौचालयमा पानी उपलब्ध छैन,’ डंगोलले भने।

महानगरको शौयालय बनाउने योजना नभएपनि विभिन्न बैंक तथा अन्य व्यापारिक घरानाहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत विद्युतीय शौचालय निर्माण गरिदिन अनुरोध गरिएको उनको भनाइ छ। तर, यस्तो शौचालय कहिले बन्ने हो, टुङ्गो छैन।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार, हरेक पाँच सय जनाको लागि एउटा सार्वजनिक शौचालय हुनुपर्छ। यो मापदण्ड देशभर त परको कुरा राजधानीनमा समेत लागू हुन सकेको छैन।

काठमाडौं महानगरपालिकाकै एक अध्ययनअनुसार, महानगरमा सरदर २० हजार दुई सय ८८ जनाको लागि एउटा सार्वजनिक शौचालय उपलब्ध छ। ३२ वटा वडा रहेको महानगरभित्र १६ वडामा त सार्वजनिक शौचालय नै छैनन्। धेरै मानिसको चहलपहल हुने वडा नंं. ३२ कोटेश्वर क्षेत्रमा एउटा मात्रै सार्वजनिक शौचालय छ।

महानगरको अध्ययनअनुसार, एक जना व्यक्तिलाई एक पटक दिसा–पिसाब गर्दा सफा गर्न कम्तीमा दुई लिटरको दरले पानी आवश्यक पर्छ। हरेक सार्वजनिक शौचालयमा दैनिक कम्तिमा १८ हजार लिटर पानी चाहिन्छ।

तर, पानी उपलब्ध ३४ वटा सार्वजनिक शौचालयमा दुई–दुई हजार लिटर क्षमताका पानीट्याङ्की मात्र छन्। बिहान भरिने ती ट्याङ्की केही घण्टा नबित्दै रित्तिन्छन्। पानी नभएपछि सार्वजनिक शौचालय त्यसै दुगन्धित हुने प्रवक्ता डंगोलले बताए।

खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा देशभरिमा २० वटा सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएको छ। तर, हालसम्म सुनसरीको चतराधाममा मात्र एउटा शौचालय बनाएको छ। योजना बनाएअनुसार, काम गर्न सकेको छैन।

सार्वजनिक शौचालय निर्माण गर्दा अपाङ्गतामैत्री संरचना बनाउनु आधारभूत कुरा हो। तर, महानगरपालिकामा प्रयोगमा रहेका ४५ वटा सार्वजनिक शौचालयमा ह्विलचेयर पुग्न सक्दैनन्। अब निर्माण भईरहेका नयाँ शौचालयमा मात्र अपांगमैत्री बनाउन थालिएको प्रवक्ता डंगोलको भनाइ छ।

अहिले काठमाडौंमा भएका शौचालको अवस्था पनि राम्रो छैन। कतै दुर्गन्धित छन् भने कतै भत्किएका छन्। कतै चुकुल बिग्रिएका छन् भने कतै चुकुल नै छैन।

यसले गर्दा भएका सार्वजनिक शौचालय छिर्दा पनि सर्वसाधारणले सकस भोग्ने गरेका छन्। स्यानिटरी प्याड थन्क्याउने ठाउँ नभएका, पानी नभएको हुनेजस्ता कारणले शौचालय जान कठिन भएको थानकोट जानको लागि रत्नपार्कमा बस कुर्दै गरेकी सिता ढुंगानाले गुनासो गरिन्। ‘स्मार्ट सिटी बनाउने भन्दै गर्दा शौचालय पनि नहुनु ठूलो व्यंग्य हो,’ उनी भन्छिन्।

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्