कास्की एन्फा अध्यक्ष भन्छन्, ‘अश्लिल बोल्दै सांसदज्यूले मुक्का र किक हान्नु भयो’
कास्की, माघ ८ : मंगलबारदेखि नेपाली फुटबल क्षेत्रमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप र प्रदे
कास्की, माघ ८ : मंगलबारदेखि नेपाली फुटबल क्षेत्रमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप र प्रदेश सांसद राजीव गुरूङ उर्फ दिपक मनाङेको चर्चा चलिरहेको छ। मंगलबारबाट सुरु भएको मुख्यमन्त्री कपको उद्घाटन शत्र अघि मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि यो विषयले चर्चा भइरहेको छ । मनाङेले मिलन माथि मुक्का र लात्ती हानेका थिए । जुन, कुरा मनाङे आफैंले स्विकारी सकेका छन्।
मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई समेत झापड हान्ने बताएका छन् । मंगलबार मनाङेले हातपात गरेपछि मिलनले बुधबार ज्यानको सुरक्षा माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्।
सांसद मनाङेले के कारणले हातपात गरे त । पीडित गुरूङको भनाइको सम्पादीत अंशः
हिजो १ बजे मुख्यमन्त्री कपको उद्घाटन थियो । मुख्यमन्त्रीज्यू विशेष कारणवस स्याङजा जानुपर्ने भयो । उहाँ ढिला आउनुभयो, त्यसैले कार्यक्रम पनि ढिला भयो । मुख्यमन्त्री ज्यू आइसकेपछि सांसदहरु राजिव पहारी, मोहन रेग्मी, दिपक कोइरला, जर्साब, एसपी साबहरु, खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरूङ लगायत समेत उपस्थित हुनुहुन्थ्यो।
मुख्यमन्त्री आउनुभन्दा पाँच मिनेट अघि सांसद राजिव गुरूङ (दिपक मनाङे) दाइ आउनुभयो । मैले उहाँलाई पहिले देखि नै दाइ भन्थे । हिजो उहाँ अलि इन्टेन्सनली आउनुभएको रहेछ । उहाँको पिए रोहित भन्ने छ । उसँग पनि मेरो राम्रै सम्बन्ध थियो । रोहित भिडियो खिच्दै आएको थियो । उसले रक्सी खाएको रहेछ । ठुस्ठुस गन्हाइरहेको थियो । म मुख्यमन्त्रीलाई लिन गइरहेको थिएँ, गुरुहरु अघिअघि थिए । मलाई भाइ भनेर बोलाइयो । मैले हजुर दाइ भनेँ । मनाङको टिमलाई होटल नमिलाइदिने, ग्राउन्ड नमिलाइदिने भन्दै उहाँले यस्तो खालको एन्फा, यस्तो खालको कर्माछिरिङ, म अहिले औडा गर्छु, त्यसलाई म ठिक पार्छु भन्दै हप्काउनुभो ।
खेलमा आप्ठर र विफोर भन्ने हुन्छ । उहाँ मनाङको सम्बन्धित व्यक्ति पनि होइन ।
मनाङको सम्बन्धित व्यक्तिसँग समन्वय गरेर सबै कुरा भइरहेको थियो । मनाङमा जिल्ला फुटबल संघ नभएकाले पर्यवेक्षकको मान्यता दिइएको छ । त्यहाँको खेलकुद विकास समितिसँग समन्वय भइरहेको थियो । उनीहरु एकसाता अघि नै अर्को खेल खेल्न आएका रहेछन् । उनीहरु सात दिन अघि नै आउँदा मैले त पैसा दिन सक्दिनँ नी ! सात दिन अघि नै पैसा दिन प¥यो, किन नदिएको, होटल किन नमिलाइदिएको, गाडी किन नदिएको, तिमीहरुले तिर्नपर्छ भन्दै उहाँ कराउनुभयो । हामीले त १ दिन अघि मात्रै होटलमा राख्ने हो । कहाँ गेम खेल्न गएका हुन्, त्यसको गाडी भाडा हामीले तिर्न पर्यो रे!
मसँग सल्लाह नगर्ने ? भन्दै उहाँ राँकिनु भयो । सांसद कास्कीमा कति जना छन् ? तर, अहिलेसम्म यस्तो दुव्र्यवहार कसैले गर्नुभएको छैन । गण्डकीका कति जना सांसद मैले चिनेको छु । उहाँहरुले मुख्यमन्त्री कप गर्न लागेका रहेछौ । निकै राम्रो कुरा हो भनेर उहाँहरुले सल्लाह दिनुहुन्छ । तर, उहाँ (मनाङे)ले मलाई किन सल्लाह नगरेको ? तिमीहरुले पैसा तिनुपर्छ भन्नुभयो । तर, मैले सक्दिनँ भनेँ । त्यसो भन्दा अश्लिल शब्द बोल्दै म माथि मुक्का र किक प्रहार गर्नुभयो ।
तर म संयम भएँ । मैलेपनि एक्सनमा जान सक्थे नी त । तर मैले यसो विचार गरेँ, पहिलो त उहाँ सांसद हो । उहाँको व्यवहार खत्तम भएपनि अरु सांसदको इज्जत त जान्छ नी त ! सँगै पहिलो पटक हुन लागेको मुख्यमन्त्री कप पनि भाँडिन्छ । हाम्रो चाहाना अनुसार मुख्यमन्त्रीसँग छलफल गरियो, उहाँले पहिलो पटक २० लाख दिनुभयो । थप २० लाख चाहिँ प्रतियोगिता सकिएपछि दिने भन्ने भयो । प्रतियोगिताका लागि ८० देखि ९० लाख लाग्छ । त्यो पैसा जोरजाम गरेर हामीले काम गर्ने हो । त्यो २० लाख समेत प्रदेश सरकारले स्विकृत गरेको छ । तर हाम्रो खातामा आइसकेको छैन । यो भन्दा अघि म्याग्दी र बाग्लुङमा छानौटका लागि खेल खेलाइयो । त्यो मुख्यमन्त्रीकोे चाहाना अनुसार नै थियो । उहाँले ११ जिल्लालाई खेलाउन भन्नुभयो । तर, मुस्ताङ, म्याग्दी र पर्वत त एन्फाबाट एफिलेटेट छैनन् । तर, हामीले छनौट गरेर आयौं । त्यहाँ तीन चार दिन बसियो, आफ्नै खल्तीको पैसाले । अहिलेसम्म प्रदेश सरकारबाट हामीले पैसा ल्याएको छैन । ल्याउने प्रोसेसमा छौं।
तर उहाँले भ्रष्टाचार ग¥यो भनेर आरोप लगाउनुभयो । हाम्रो गोजीको पैसाले अहिले काम भइरहेको छ । सबैलाई सोधे हुन्छ, कसरी भ्रष्टाचार भयो ? हुँदा हुँदा फिफाको पैसा तिमीहरुले कता लग्यौ ? बरु कर्मा भन्दा गणेश थापानै ठिक थियो भन्दै उहाँ कराउनुभयो । कर्मालाई यति धेरै गाली गर्नुभयो नी सहनै सक्ने अवस्था नै थिएन । पछि त यस्तो मुख्यमन्त्री कप पनि हुन्छ भन्नुभयो । जबकी उहाँ आफैं सांसद हो । तर पछि मैले संयमता अपनाए । मैले केही गरेको भए म आफैं दोषी हुन्थेँ । त्यो भन्दा अघि नै सामाजिक सञ्जाल, पत्रपत्रिकामा एन्फा र कास्की फुटबल संघको विरुद्धमा जथाभावी टिकाटिप्पणी भइरहेका थिए । दुःख लाग्छ, हामीले पनि त दुःख गरेर काम गरिरहेका छौं।
कहिले काम गर्दा नराम्रो भयो होला, कहिले राम्रो भयो होला । तर, समर्थन गर्नु त कता हो कता उहाँको त सोचाइ नै गलत रहेछ । भिडियो खिचेर भाइरल बनाउने योजना रहेछ । तर, उहाँले म माथि कुटपिट गरेपछि उसको पिए रोहितले भिडियो पक्कै डिलेट गर्ला । किनकी उसले मलाई हान्छ भन्ने सोचेको थिएन सायद । सांसद जस्तो मान्छेले त्यस्तो गर्ने हो ? मेरो ज्यानको सुरक्षा, उसको व्यवहारका कारण मुख्यमन्त्री कप जस्तो प्रतियोगिता रोकिन सक्थ्यो । तर, हामीले त्यस्तो गरेनौं । मुख्यमन्त्री कप भनेको गण्डकी प्रदेशमा पहिलो पटक भएको हो । त्यसैले रोक्दैनौं । हामी त्यस्तो तुच्छ मान्छे पनि होइनौं । एउटा व्यक्तिका कारण खेल रोक्दैनौं । उहाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएँ । ज्यानको सुरक्षा साथै सार्वजनिक ठाँउमा गरेको गाली गलौजलाई आधार बनाएर उजुरी हालेको हुँ।