मानवअधिकार आयोगमा विवाद, अध्यक्षको निर्देशन सदस्यबाट अवज्ञा
काठमाडौं, पुस २० : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग
काठमाडौं, पुस २० : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्तासम्बन्धी आयोगका पदाधिकारी सिफारिश समितिमा पठाइएका आयोगका सदस्य प्रकाश वस्तीलाई फिर्ता बोलाउने पत्र दिएका छन्, तर पत्र लिएको डेढ महिना बित्दा पनि पत्र नबुझाई वस्ती समितिको बैठकमा सहभागी हुँदै आएका छन्।
समितिको बैठकमा आफैंले बुझाउने भनी डेढ महिनाअघि मंसिर ८ गते नै अध्यक्ष अनुपराज शर्माको हस्ताक्षर गराएर पत्र लगेका सदस्य वस्ती अझै सिफारिश समितिको बैठकमा सहभागी भएपछि शर्मा चिन्तित भएका छन्।
नेकपा नेतृत्वले सरकारले चाहेका व्यक्तिको नाम अनुमोदन गर्ने निकायका रूपमा मात्र सिफारिश समितिलाई उपयोग गर्ने तयारी गरेपछि मानवअधिकार आयोग उक्त सिफारिश समितिबाट बाहिरिने निर्णयमा पुगेको थियो।
आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन सर्वोच्च अदालतले विगतमा दिएको आदेश, संयुक्त राष्ट्रसंघको सुझाव र राष्ट्रिय मानवअधिकार आयोगले दिएको सुझावलाई समेट्ने गरी संशोधन गर्न सरकारलाई सुझाव दिँदै आएको छ।
आयोग र अन्तर्राष्ट्रिय समुदाय विशेष गरी १० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा भएका मानवता र मानवीय कानूनविरुद्धका जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिन नहुने पक्षमा रहेका छन्। योजनाबद्ध रुपमा गरिएका हत्या, बलात्कारजस्ता घटनामा संलग्न अपराधीलाई फौजदारी कसुरबमोजिम दण्ड दिनुपर्ने आयोगको मत छ।
राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी डेढ महिनापछि अवकाश पाउँदै छन्। अवकाशको मुखमा रहेका आयोगका सदस्य वस्तीले आयोगकै पूर्वकर्मचारी सुवर्ण कर्माचार्यलाई बेपत्ता आयोगमा र वर्तमान सचिव वेदप्रसाद भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यमा सिफारिश गर्ने आश्वासनसहित अध्यक्षले फिर्ता बोलाएको पत्रसमेत नबुझाएर बैठकमा सहभागी भइरहेको आयोग स्रोतको आरोप छ।
आयोग उच्च स्रोतका अनुसार, अध्यक्ष शर्मा २०७५ मंसीर ८ गते अमेरिकाबाट काठमाडौं आइपुगेका थिए। त्यसै दिन कानून मन्त्रालयमा सिफारिश समितिको बैठक डाकिएको थियो। नेकपाले अमूक व्यक्तिलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा सिफारिश गरेको र उक्त नाम सिफारिश समितिबाट पारित गराइने चर्चा सञ्चारमाध्यमहरूमा थियो।
यसै हल्लाबीच अध्यक्ष शर्मासँग टेलिफोनमा कुराकानी गरी आयोगबाट चिठी तयार गरियो। अनि वस्तीले विमानस्थलमा अध्यक्षलाई ‘रिसिभ’ गर्न जाँदा त्यही पत्रमा हस्ताक्षर गराए। आफैंले सिफारिश समितिका अध्यक्ष पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई बुझाउन पत्र बोकेर बैठक स्थल कानून मन्त्रालय पुगे। उक्त बैठकले कुनै निर्णय गरेन।
बैठकको अन्त्यमा वस्तीले मिश्रलाई उक्त पत्र दिए तर मिश्रले आफू पनि भोलि पल्टै अमेरिका जाने बताउँदै यसबीचमा बैठक बसेर कुनै निर्णय नगर्ने बताए। उनले वस्तीलाई पत्र आफैँसँग राख्न भने। वस्तीले पत्र आफूसँगै राखे। उनले यो पत्र आयोगका अध्यक्षलाई फिर्ता पनि गरेका छैनन्।
आयोगका अध्यक्ष अनुपराज शर्माले गत सोमबार धुलिखेलमा सञ्चारकर्मीसँग गरिएको एक अन्तक्रिया कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा भनेका थिए, ‘आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिश समितिबाट आफ्नो सदस्यलाई फिर्ता बोलाइसकेको छ। सदस्य वस्तीलाई त्यसबारे पत्र दिइसकिएको छ। बाँकी उहाँलाई नै सोध्नुपर्छ।’






