Kathmandu Press

सागमा इतिहास रच्ने नौ खेलाडी

काठमाडौं, मंसिर २५ : १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नौ जना नेपाली खेलाडीले इतिहास रचेका छन्।

सागमा इतिहास रच्ने नौ खेलाडी

काठमाडौं, मंसिर २५ : १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नौ जना नेपाली खेलाडीले इतिहास रचेका छन्।

मंगलबार सम्पन्न सागमा भारतले सबैभन्दा बढी पदक जितेको छ। पदक तालिकामा १७४ स्वर्णसहित भारत पहिलो स्थानमा छ भने ५१ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहेको छ।

भारतले १७४ स्वर्ण, ९३ रजत, ४५ कास्य पदक जितेको छ। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

त्यस्तै, जितेर श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कास्य, पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य, मालदिभ्सले एक स्वर्ण र चार कास्य तथा भुटानले सात रजत र १३ कास्य पदक जितेको छ।

नेपालले ५१ स्वर्ण जित्दा खेलाडीको प्रदर्शन सम्झनालायक रह्यो। त्यसमा पनि केहि खेलाडीले कीर्तिमान कायम गरे।

गौरिका सिंह

गौरिका सिंहले १३औं सागमा ऐतिहासिक सफलता हात पारिन्। उनले एकै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाउँदा लगातार चार सागमा चार स्वर्ण जितेका दिपक विष्टको कीर्तिमान बराबरी गरिन्।

गौरिकाले नेपालको सर्वाधिक सफल खेलाडीको रुपमा जारी सागमा आफूलाई उभ्याउन सफल भइन्। गुहाटीमा भएको १२औं सागमा एक रजत र तीन काश्य जितेकी गौरिकाले घरमा भएको १३औं सागमा चार स्वर्णसहित दुई रजत र तीन काश्य पदक जितिन्। दुवै सागमा उनले १३ पदक जित्न सफल भएकी छन्। यस अघि कुनै खेलाडी यति पदक जितेका छैनन्।

आयशा शाक्य

खेल जीवन त्याग्ने सोच बनाएकी आयशा शाक्यको पुनरागमन सनसनिपूर्ण रह्यो। तेक्वान्दो क्वीनको छवि बनाएकी आयशाका दुई सन्तान छन्।

उनले तेक्वान्दोको गेरुगी विधा छोडेर पुम्सेमा लागिन्। जहाँ उनले १३औं सागमा दुई स्वर्ण जित्दै तीन स्वर्णको कीर्तिमान बनाइन्। तेक्वान्दोको दुवै विधामा स्वर्ण जित्ने उनी एक्लो खेलाडी हुन्।

मन्डेकाजि श्रेष्ठ

कराँतेका स्टार मन्डेकाजी श्रेष्ठले १३औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाए। उनले कराँतेमा दुई स्वर्णको कीर्तिमान बनाउँदा एकल र टिम कातामा नै स्वर्ण जिते। उनी कराँतेमा एकै इभेन्टमा दुई स्वर्ण जित्ने एक्लो खेलाडी हुन्।

सन्तोषी श्रेष्ठ

सन्तोषी श्रेष्ठ १३औं सागमा अर्को कीर्तिमानी खेलाडी हुन्। उनले एथ्लेटिक्समा पहिलो पटक नेपाललाई स्वर्ण दिलाइन्। सन्तोषीले १० हजार मिटर दौडमा सानदार प्रदर्शन गर्दै स्वर्ण जितिन्।

उनले ३५ मिनेट ७.९४ सेकेन्डमा दूरी पार गरेकी थिइन्। भारतीय खेलाडीको दबाब रहने इभेन्टमा सन्तोषीको उपलब्धि नेपालीका लागि ऐतिहासिक बन्यो।

सुवास तामाङ

यो सागमा गल्फको इभेन्ट पनि नेपालका लागि ऐतिहासिक रह्यो। गल्फमा स्वर्ण जिताउने सुवास पहिलो खेलाडी बने।

१७ वर्षीय सुवासले ऐतिहासिक रुपमा स्वर्ण मात्रै जितेनन्, दुई वटा स्वर्णको कीर्तिमान समेत बनाए।

मिनु गुरुङ

मिनु गुरुङले बक्सिङमा ऐतिहासिक सफलता हात पारिन्। बक्सिङमा स्वर्ण जित्ने मिनु पहिलो नेपाली खेलाडी बनिन्।

उनले ५४ केजी तौल समूहमा भारतकी शिक्षालाई पराजित गर्दे स्वर्ण जित्न सफल भइन्। जुन बक्सिङमा २० वर्षपछिको स्वर्ण हो।

सञ्जु चौधरी

सन्जु चौधरीले नेपाली खेलकुदमा अर्को नयाँ कीर्तिमान बनाइन्। भारत्तोलनको इतिहासमा नै सञ्जुले महिलातर्पm पहिलो स्वर्ण जितिन्।

कमलबहादुर अघिकारीले पुरुषतर्फ १३ वर्षअघि स्वर्ण जितेका थिए। यो पटक भने उनी रजतमा चित्त बुझाउन बाध्य भए। सञ्जुले ऐतिहासिक प्रदर्शन गर्ने क्रममा ५९ केजी तौल समूहमा १७१ केजी भार उचालेकी थिइन्।

संगीता धामी

नेपाली कुस्ती इतिहासमा नै पहिलो स्वर्ण दिलाएकी संगिता धामी १३औं सागमा उत्कृष्ट प्रदर्शन गर्ने अर्को खेलाडी हुन्। कुस्तीमा भारतको बर्चस्व रहँदा यो पटक नेपाललाई कुस्ती इतिहासमा पहिलो स्वर्ण दिलाइन्।

संगिताले सार्केर समिलाई पराजित गरेर उपाधि जितेकी थिइन्।

किरणसिंह बोगटी

एथ्लेटिक्सकै चर्चित विधाका रुपमा रहने म्याराथनमा नेपालले यो पटक ऐतिहासिक उपलब्धि हात पार्‍यो। मद्रास सागमा टीका बोगटीले ऐतिहासिक रुपमा नेपाललाई स्वर्ण दिलाएको २४ वर्षपछि किरणले स्वर्ण जितेका हुन्।

छोटो समयमा नै ठूलो सफलता पाएका किरणले भारतका राशव सिंहलाई पछि पार्दै स्वर्ण हात पारेका हुन्।
 

प्रकाशित मिति: ११:४३ बजे, बुधबार, मंसिर २५, २०७६