Kathmandu Press

भुटानलाई हराउँदै फुटबलमा नेपालले जित्यो स्वर्ण 

काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पद

भुटानलाई हराउँदै फुटबलमा नेपालले जित्यो स्वर्ण 
रिवाज राई

काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेकाे छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो। नेपालले खेलको १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट सुरुवाती अग्रता लिएको थियो। 

तर, खेलको ३७ औं मिनेटमा भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २–१ को जित दिलाएका हुन्।

जितसँगै दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलमा सर्वाधिक स्वर्ण जित्ने पाकिस्तानसँगको कीर्तिमानी नेपालले बराबरी गरेको छ। साग फुटबलमा नेपाल र पाकिस्तानले चार- चार पटक स्वर्ण जितेका छन्। 

यसअघि भारतमा भएको १२ औं सागमा नेपालले आयोजक राष्ट्र भारतलाई पराजित गर्दै फुटबलमा स्वर्ण पदक जितेको थियो।


 

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, मंसिर २४, २०७६