Kathmandu Press

विकटका डाक्टर विकास

काठमाडौं, कात्तिक ३० :  तत्कालीन विद्रोही माओवादीले २०५८ साल फागुन महिनामा अछामको मंगलसेन र साँ

विकटका डाक्टर विकास

काठमाडौं, कात्तिक ३० :  तत्कालीन विद्रोही माओवादीले २०५८ साल फागुन महिनामा अछामको मंगलसेन र साँफेबगरमा भीषण हमला गरी झण्डै १५० प्रहरी जवानको ज्यान लिनुअघिसम्म सुदूर नेपालको यो विकट जिल्लाको नाउँ धेरै नेपालीले सुनेकै थिएनन्।

डा. विकास गौचनले भने अछामको नाउँ सुन्न त सुनेका थिए, तर उनलाई पनि यो जिल्ला यति पिछडिएको होला भन्ने लागेको थिएन। किनकि, अछाम कति विपन्न र रोगग्रस्त छ भन्ने बुझ्न त्यहीँ  पुग्नुपर्थ्यो। मुस्ताङमा जन्मेर धरानको वीपी प्रतिष्ठानमा काम गर्न पुगेका यी तन्नेरी डाक्टरको जीवनमा अछाम पुग्ने संयोग जुरेको थिएन।  

मंगलसेन र साँफेबगर आक्रमणपछि अछाममा सीमित मात्रामा उपलब्ध सरकारी सेवा पनि झन् सीमित भयो। सरकारी कर्मचारीहरू सदरमुकाममै खुम्चिए। राज्यले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराउन सकेन।

Hardik ivf

रोजगारीको खोजीमा भारत पुग्ने अछामी युवाहरू एड्स लिएर घर फर्किन थाले। क्षयरोगको प्रकोप पनि झन् चर्को हुन थाल्यो। तर, अछाममा डाक्टरहरू भने बस्नै नमान्ने! जति डाक्टर थिए, तिनले पनि सबैलाई हेर्न कहाँ भ्याउँथे रे!

२०६३ सालमा युद्धविराम भएपछि अरु जिल्लाले झैं अछामले पनि विकासको आशा गरेको थियो। अछामले भनेजस्तो विकास त पाएन, तर युद्धविराम भएको झण्डै चार वर्षपछि विकास नाम गरेका एक कर्मठ डाक्टर भने त्यहाँ पुगे। 

अछामको बयलपाटामा अलपत्र अवस्थामा रहेको एक सरकारी अस्पताललाई न्याय हेल्थ नामक एक गैरसरकारी संस्थाले व्यूँताएको थियो, र त्यहीँ बसेर काम गर्ने गरी डा. विकास गौचन अछाम पुगेका थिए।

डा. गौचनलाई अछाम पुगेको मिति ठ्याक्कै याद छ – २०६७ साल साउन २२ गते । त्यो दिन विहानै अछाम पुग्दा उनलाई लाग्यो – यो जिल्ला त सोचेभन्दा धेरै पिछडिएको रहेछ! 

बयलपाटा अस्पताल पुग्दा झण्डै ५०–६० जना बिरामीहरू डाक्टर कुरेर बसेका थिए। त्यहाँ डाक्टर भने थिएन। दुई एचए मात्रै थिए। डा. गौचन नै न्याय हेल्थ नेपालले पुनः सुरु गरेको बयलपाटा अस्पतालमा धेरै समय बस्ने डाक्टर हुन्।

डा. गौचन एक दिन पनि राम्रोसँग थकाई नमारी बिरामीको सेवामा जुटे। अस्पतालमा पर्याप्त औषधि थिएन। स्वास्थ्य उपकरणहरू पनि थिएनन्। सामान्य एक्सरे गराउन पनि अछामी जनताले डोटी जिल्ला अस्पताल वा सेती अञ्चल अस्पताल पुग्नुपथ्यो। पैसा हुनेहरू भारत गई उपचार गराउँथे। नहुनेहरू रोग पालेर बस्थे। त्यसै मर्थे।  

झण्डै २ लाख ६० हजार जनसंख्या रहेको जिल्लामा उनी एक्ला डाक्टर थिए। कतिलाई हेर्ने, कतिलाई त्यसै फर्काउने! अवस्था निकै अत्यासलाग्दो थियो। तर, डा. गौचनले हरेस खाएनन्। उनको मनमा सहर फर्कू कि भन्ने सोच नआएको पनि होइन, तर उनलाई अछामी जनताका निरीह आँखाहरूले अछाम छाडेर जान दिएनन्।  

आज अछामको स्वास्थ्य अवस्थामा धेरै सुधार भएको छ। अहिले अछाममा १५ जना डाक्टर छन्। स्वास्थ्यकर्मीहरू पनि प्रशस्त छन्। बयलपाटा अस्पतालले आधारभूत र आकस्मिक स्वास्थ्य सेवा मात्रै उपलब्ध गराउँदैन, जटिल शल्यक्रिया पनि गर्छ। नसर्ने रोग र मानसिक रोगको उपचार सेवा पनि उपलब्ध गराउँछ।

र, सबैभन्दा महत्वपूर्ण के छ भने यी सबै सेवाहरू बयलपाटा अस्पतालमा निःशुल्क वा अत्यन्तै न्यून शुल्कमा उपलब्ध छन्। बयलपाटा अस्पतालले अछामी जनताको मात्रै होइन, आसपासका जिल्लाको समेत सेवा गरिरहेको छ।

बयलपाटा अस्पताल नै पुग्छन्।  नयाँ संविधानअन्तर्गत तीनै तहका सरकारहरू निर्वाचित भएसँग देशमा अहिले साँच्चै संघीयताको अभ्यास भइरहेको छ। तर, अझैं पनि दूरदराजका मानिसहरूले जटिल शल्यक्रियाका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भइसकेको छैन।

तर, बयलपाटा अस्पतालले भने अछाम र आसपासका जिल्लाका मानिसलाई घरपायक आधुनिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराई संघीयताको प्रत्याभूति गराइरहेको छ। बयलपाटा अस्पतालले नेपालको ग्रामीण भेगका गरिब जनतालाई कसरी सस्तोमा सुलभ सेवा पुर्‍याउन सकिन्छ भन्ने प्रश्नको उत्तर दिएको छ।

बयलपाटा अस्पताल ब्यूँत्याउने न्याय हेल्थ नेपाल संस्था अहिले पोसिबल नेपालमा परिणत भएको छ। आफ्नो नाम झैं पोसिबलले ग्रामीण भेगमा पनि भरपर्दो उपचार सेवा उपलब्ध गराउन सम्भव छ भन्ने प्रमाणित गरेको छ।

हाल बयलपाटा अस्पतालमा स्वास्थ्य सेवा निर्देशकको रुपमा कार्यरत डा. विकास गौचन अछाममा काम गर्दा निकै सन्तुष्टि मिल्ने बताउँछन्। भन्छन्, ‘जति बिरामी आउँछन्, उनीहरूको दिनचर्या र कठिनाइबारे जान्न पाइन्छ। यो ज्ञान हामी कुनै किताबमा पाउँदैनौँ ।’ 

केही वर्ष पहिले अछामकी एक २० वर्षीया किशोरी बयलपाटा अस्पताल आइन्। उनको पाठेघरभन्दा बाहिर गर्भ बसेको थियो। गर्भ बढ्दै जाने क्रममा फुटेको अवस्थामा अस्पताल पुगिन्। यस्तो अवस्थामा अस्पताल पुग्दा शरीरमा रगतको मात्रा धेरै कम भइसकेको थियो। 

‘अस्पतालमा पनि उपचार जटिल हुने र अन्त पठाउन पनि नहुने अवस्थामा हामीले तुरुन्तै रगत जम्मा गरी सर्जिकल कोठामा लगेर सर्जरी गर्‍यौँ। यस्तो जटिल शल्यक्रियापछि उनी बाँचिन्। यो घटना अहिले पनि सम्झिरहन्छु,’ उनी भन्छन्। 

उनी थप्छन्, ‘एउटा विकट बस्तीमा आर्थिक अवस्था कमजोर भएकाहरूको जीवन बचाउन सफल हुँदा निकै आनन्द लाग्छ। यसले निकै खुशी दिन्छ।’ 

अझै डा. गौचनलाई अछाम छोड्न मन छैन। अझै उनले जुन अस्पतालबारे सपना देखेका छन्, त्यो पूरा भएको छैन। बयलपाटा अस्पतालले अन्य पाँच स्थानीय तहमा सामुदायिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेको छ।

अहिले यसलाई दीगो कसरी बनाउने भन्ने विषयमा आफू केन्द्रित भएको उनी बताउँछन्। यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको सहयोग कसरी माग्ने? सहुलियत र गुणस्तरीय रुपमा स्वास्थ्य सेवा कसरी दिन सकिन्छ? उनी यिनै प्रश्नको उत्तर खोजिरहेका छन्।
 

प्रकाशित मिति: १२:२० बजे, शनिबार, कात्तिक ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्