प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा प्रदीप ज्ञवाली कि महेन्द्र पाण्डे?
काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा परराष्ट्रमन्त्
काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रवल संभावना रहेको प्रधानमन्त्रीनिकट स्रोतहरूले बताउन थालेका छन्।
प्रधानमन्त्री ओलीले वर्तमान प्रमुख सल्लाहकार विष्णु रिमाललगायत प्रधानमन्त्रीका सल्लाहकारहरू र सचिवालयमा हेरफेर गर्ने तयारीसँगै सल्लाहकारमा ज्ञवालीको चर्चा चुलिएको हो। यदि ज्ञवाली नभएमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डेले प्रमुख सल्लाहकार पाउने स्रोतको दाबी छ। तर, रिमाल नै फेरि सल्लाहकार रहिरहने सभावना पनि बाँकी नै रहेकाे स्राेतहरुकाे दाबी छ ।
प्रधानमन्त्री ओली सचिवालयसँगै मन्त्रिमण्डलमा समेत हेरफेर गर्ने तयारीमा छन्। उक्त पुनर्गठनमा ज्ञवालीलाई परराष्ट्रमन्त्रीबाट झिकेर प्रमुख सल्लाहकार बनाउने विकल्पबारे प्रधानमन्त्री ओलीले गृहकार्य अघि बढाएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, परराष्ट्रमन्त्री ज्ञवालीको कार्यशैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट छन्। विशेषगरी, अमेरिकालगायत पश्चिमेली देशसँग उनले अपनाएको दोहोरो नीतिबाट प्रधानमन्त्री ओली चिढिएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण पनि परराष्ट्रमन्त्रीको तहबाट पहल नभई सिधै प्रधानमन्त्रीको सचिवालयले काम गर्नुपरेको प्रधानमन्त्रीको बुझाइ छ। प्रधानमन्त्री सचिवालय स्रोतका आरोप छ, ‘परराष्ट्रमन्त्री ज्ञवाली सबैसँग राम्रो देखिन चिप्लो व्यवहार गर्न खोज्छन्।'
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, परराष्ट्रमन्त्री ज्ञवालीले ओली सरकार नरुचाउने कम्युनिष्टविरोधी पश्चिमेली शक्तिकेन्द्रलाई उनले रिझाउन खोजे। यत्तिसम्म कि सम्पादक र वरिष्ठ पत्रकार भनेर भेला बोलाउँदासमेत वाम विचार राख्ने वरिष्ठ पत्रकार उनको प्राथमिकतामा परेनन्, सरकारलाई सधैँ खुइल्याउन क्रियाशील ‘वरिष्ठ’हरूलाई बोलाएर उनीहरूसामु आफू कम्युनिष्टशैलीको हैन भन्दै सफाइ दिने प्रयास गरे।’
परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाले नेतृत्व गरेको ‘इण्डो-प्यासिफिक रणनीति’मा सहमति जनाएर फर्केका कारण पनि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन्। फितलो नेतृत्वको कारण पनि मन्त्री ज्ञवालीलाई परराष्ट्र मन्त्रालयमा कसैले पनि नटेर्ने अवस्था आइसकेको छ। यतिसम्म कि पछिल्लोपटक चार राजदूत नियुक्तिमा समेत उनको कुनै भूमिकाबिनै प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर पारित भएको थियो।
प्रधानमन्त्रीनिकट उक्त स्रोतको दाबी छ, ‘ज्ञवालीको अंग्रेजी राम्रो छ। कोठामा बसेर कम्युटरमा काम गर्न पनि उनी धेरै मेहनती छन्। त्यसबाहेक ‘ग्रास रूट’को राजनीति गरेर खारिएका उनी जनसम्पर्कमा अत्यन्त शिष्ट र शालीन छन्। उनी प्रधानमन्त्री ओलीको गुटका एक जना नेता समेत हुन्। त्यसैले ओलीले आफ्नो निकट सहयोगी बनाएर राख्न चाहन्छन्।’
ज्ञवाली प्रमुख राजनीतिक सल्लाहकार भएमा यसअघि पार्टीपंक्तिभित्र बिग्रिएको सम्बन्ध पनि सुध्रिनसक्ने सुझाव प्रधानमन्त्री ओलीलाई उनीनिकट केही नेताले दिएका छन्। तथापि, ओली अहिले कुनै भूमिकामा नरहेका पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई दिने कि ज्ञवालीलाई मन्त्री छुटाएर ल्याउने भन्ने निष्कर्षमा पुगि नसकेको स्रोतको दाबी छ।
ज्ञवाली परराष्ट्रमन्त्री बहाल रहेका कारण पनि पाण्डे नै मुख्य सल्लाहकारमा आउने संभावना रहेको स्रोतको दाबी छ। यदि ज्ञवालीलाई मुख्य सल्लाहकार बनाएमा पाण्डेलाई कुनै महत्वपूर्ण देशको राजदूत प्रस्ताव गर्नसक्ने स्रोतले जनाएकाे छ।
प्रधानमन्त्रीनिकट उक्त स्रोत भन्छ, ‘प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न उपचुनाव कुरिरहन जरुरी पनि छैन। देशभरिको चुनाव नभई एउटा प्रनिनिधिसभा, तीन सीट प्रदेशसभा र एउटा उपमहानगरको मेयरको चुनाव हुन लागेको हो। सरकार पुनर्गठनका लागि चुनाव भनेर प्रधानमन्त्रीले पर्खिरहनुहोला भन्ने लाग्दैन।’
केही दिनअघि नै पुनर्गठनको तयारी अन्तिम चरणमा पुगिसके पनि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुहारी वीना मगरलाई हटाउनै नहुने अडान राखेका थिए। यसमा प्रधानमन्त्री ओलीले पनि सहमति जनाए तर सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई हटाउनैपर्ने उनको प्रस्ताव भने स्वीकारेनन्। अनि फेरि छलफल गरौँला भनी हिँडेका प्रचण्डले त्यसपछि छलफल गर्नै नगएकाले पुनर्गठन ढिला भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
याे पनि पढ्नुस् : अरु सल्लाहकार हटाउन चाहने रिमाल आफैँ फन्दामा !






