Kathmandu Press

विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आयो : माधव नेपाल

उनले विगतमा विप्लव नेतृत्वको पार्टीसँग मिलेर समाजवादी मोर्चा गठन गरी देशव्यापी अभियान सञ्चालन गरेको स्मरण गर्दै त्यसले जनस्तरमा उत्साह र तरङ्ग पैदा गरेको बताए ।
विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आयो : माधव नेपाल

काठमाडौं, कात्तिक १७ : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका समूहहरूलाई पनि एकता तथा सहकार्यको प्रक्रियामा आउन आह्वान गरे ।

उनले विगतमा विप्लव नेतृत्वको पार्टीसँग मिलेर समाजवादी मोर्चा गठन गरी देशव्यापी अभियान सञ्चालन गरेको स्मरण गर्दै त्यसले जनस्तरमा उत्साह र तरङ्ग पैदा गरेको बताए ।

उनले भने, ‘अझै म भन्छु नेत्रविक्रम चन्दजीलाई पनि— तपाईं सोच्नुहोस्, तपाईंहरूसँग हामीले मिलेर एउटा समाजवादी मोर्चा बनाएका थियौँ। र त्यो समाजवादी मोर्चाको माध्यमबाट देशव्यापी रूपमा अभियान पनि चलाएका थियौँ। त्यो अभियान शानदार रूपमा सबै ठाउँमा आयोजित भएको थियो । हजारौँ–हजार कार्यकर्ताहरू समावेश हुने गर्दथे । त्यसले एउटा बेग्लै किसिमको तरङ्ग पैदा गरेको थियो ।’

नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य समाजवादी शक्तिहरूलाई पनि सहकार्यमा आउन आग्रह गरे  कम्युनिस्ट पार्टीमा आउन आग्रह गर्न नसकिए पनि समाजवादी अभियान, राष्ट्रियताको रक्षा, संविधान र गणतन्त्रको संरक्षण तथा जनअधिकारका लागि मिलेर अघि बढ्न सकिने उनको भनाइ थियो।

नेपालले नेपाली कम्युनिस्ट पार्टीप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपेक्षा रहेको दाबी गर्दै विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बताए। अमेरिकी साम्राज्यवादका आक्रामक नीति र नेपाललाई आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने स्थानका रूपमा हेर्ने प्रवृत्तिले पनि कम्युनिस्ट आन्दोलनमा चुनौती थपिएको उनको भनाइ थियो ।

पछिल्लो विश्व परिवेशमा विकसित भइरहेका घटनाक्रमले कम्युनिस्ट, वामपन्थी र परिवर्तनका पक्षधरहरूका लागि उत्साहजनक सन्देश दिएको उनले बताए।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले एकता र रूपान्तरण अपरिहार्य भएको बताइन्।

उनले विगतमा ६० देखि ६५ प्रतिशतसम्म जनमत रहेको कम्युनिस्ट आन्दोलन अहिले २२ देखि २३ प्रतिशतमा खुम्चिएको उल्लेख गर्दै दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिसकेका कम्युनिस्टहरू सीमित सिटमा खुम्चिनुपर्ने अवस्था आएको बताइन्।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, कात्तिक १७, २०८३