सोमबार, मंसिर ३०, २०७६

अरु सल्लाहकार हटाउन चाहने रिमाल आफैँ फन्दामा !

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल । | तस्वीर:फाइल फोटो

काठमाडौं, कात्तिक २४ः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको सचिवालयका सबैको राजीनामा मागेर आफू भने रहिरहने प्रयास असफल हुने भएको छ । उनले सचिालयका सबैको राजीनामा माग्दा उनी पनि त्यही फन्दामा पर्ने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मुख्य सल्लाहकार रिमाललाई बोलाएर  आफ्नो सचिवालयले कुशलतापूर्वक काम नगरेको भनी असन्तुष्टि पोखेका थिए । लगत्तै रिमालले सचिवालयका सबैलाई भेला गरी राजीनामा गर्न आग्रह गरे । ती सल्लाहकारका अनुसार, रिमालको आशय अरुलाई राजीनामा गराएर आफू चाहिँ रहिरहने देखिन्थ्यो ।

प्रधानमन्त्रीका एक जना सल्लाहकारले दिएको जानकारीअनुसार, रिमालको चाहना विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन  अर्याललाई हटाउने थियो । 

सबै सल्लाहकारलाई आफूलाई नै ‘ब्रिफिङ’ गर्ने र आवश्यक परे आफैंले प्रधानमन्त्रीसँग भेट गराउने गरी आफूप्रति मात्र उत्तरदायी बनाउँदै आएका रिमालले उक्त तीनै जना सल्लाहकारलाई नरुचाउने ती सल्लाहकारको दाबी छ । 

रिमालले ‘सबैको राजीनामा’ माग्नेबित्तिकै सर्वत्रबाट प्रश्न उनैमाथि उठ्यो । ‘प्रधानमन्त्रीलाई पार्टीका नेताहरूसँग पनि भेट गर्न नदिई अलोकप्रिय बनाउने मुख्य सल्लाहकार रिमाल नै हुन् । अरु सल्लाहकारको भूमिकामाथि प्रश्न उठाउँदा सबैभन्दा पहिले उनको कार्यशैलीमाथि प्रश्न उठ्छ’, ती सल्लाहकारले भने । 

प्रधानमन्त्री ओलीको आशय रिमाल पनि फेर्ने थियो वा थिएन, त्यो उनैले जान्ने विषय हो । सिंगो नेकपा पंक्ति र कर्मचारीतन्त्रभित्र एक हदसम्मको खुशी व्यक्त भयो । आफूलाई ‘डिफ्याक्टो प्रधानमन्त्री’ सम्झने अनि पार्टी नेताका कुरा प्रधानमन्त्रीसम्म पुग्नसम्म नदिने रिमालकै कारण प्रधानमन्त्रीको सबै सचिवालय सदस्यहरू निकम्मा भएको पनि प्रधानमन्त्रीकहाँ पु¥याइएको छ । 

त्यसैले आफूले राजीनामा नगर्ने बताइरहेका रिमाल स्वयम् राजीनामा गर्न बाध्य हुने अवस्थामा पुगेका छन् । स्रोत भन्छ, ‘अब रिमालको दाउ अमेरिकाका लागि राजदूत हुनेमा हुनेछ । जति जोड गरे पनि उनी प्रधानमन्त्रीको सल्लाहकार रहिरहन सक्ने छैनन् ।’

प्रधानमन्त्रीसँग भेट गर्न मन्त्रीलाई समेत रोक्दै आएका रिमालले प्रधानमन्त्रीलाई पार्टीकाे ‘ग्रास रूट’ सँगको सम्बन्ध नै टुटाइदिएको आरोप नेकपाकै मन्त्री र सांसद्हरू लगाउँछन् । रिमालको राजनीतिक क्षेत्र पनि नभएकाले शक्तिको दुरुपयोग गरी आर्थिक उपार्जनमा व्यस्त रहेको समेत आरोप उनीमाथि लागेको छ । 

प्रधानमन्त्री ओलीले नै पार्टी एकतापछि स्थायी कमिटीमा मनोनित गरे पनि रिमालको निर्वाचन क्षेत्र छैन । मजदूर राजनीतिबाट आएका इञ्जिनीयर रिमालको अंग्रेजी भाषा र सूचना प्रविधिमाथिको दखलका कारण प्रधानमन्त्री ओली प्रभावित हुँदै आएका थिए । करिब २० महिनापछि आफ्नो सरकार पार्टीपंक्तिमा अलोकप्रिय हुनुको कारण थाहा पाएका प्रधानमन्त्री ओलीले रिमाललाई पनि मुख्य सल्लाहकारमा बाँकी नराख्ने प्रधानमन्त्रीनिकट राजनीतिक स्रोतको दाबी छ । 
 

 Published Date: Sunday, 10th November 17:23:12 PM