“जेठा बुवा मेरो लादो नानु भयो”
काठमाडाै : बौद्धिक अपांगता भएकी अछामकी एक बालिका थापाथलीस्थित प्रस
काठमाडाै : बौद्धिक अपांगता भएकी अछामकी एक बालिका थापाथलीस्थित प्रसूतिगृहमा गर्भपतनपछि स्वास्थ्यलाभ गरिरहेकी छिन्। १२ वर्षिया ती बालिकाको हातमा खैरो कपाल र सेतो कपडामा सजिएको सानो खेलौना छ। उनको साथी नै त्यहि खेलौना हो। एकछिन पनि छोड्दिनन्। खेलौनासँगै कुरा गर्छिन्। घरि काखमा राख्छिन्, घरि आफू बसेकै बेडमा।
उनलाई निकै सकस परेको सजिलै बुझ्न सकिन्छ। अस्पतालमा चिनेजानेका कोही छैनन्। सबै अनौठो लाग्दो हो। न्यास्रो मान्दै घरि झ्यालबाट बाहिर आँखा डुलाउँछिन्। केहि बेर सुत्छिन्, फेरि उठ्छिन्। अस्पतालबाहिर जान दिइएको छैन।
तर अरूले बोलाउँदा भने मुसुक्क हाँस्छिन्। सुस्त मनस्थिती भए पनि दोहोरो कुराकानी गर्न सक्छिन्। नेपाली भने उत्ति साह्रो बुझ्दिनन्। अछामी भाषामा भने फरर बोल्छिन्।
१२ दिनको अस्पतालले उनलाई दिक्क बनाएको छ। गाउँघर र आमाबुवाको सम्झनाले निकै पिरोलेको छ। “जेठा बुवा घर बाइजाउ,” छेवैमा बसेका ठूलोबुवालाई उनी भन्छिन्। हरेक भेटमा ठूलोबुवालाई घर फर्किन उनी यसरी नै अनुरोध गरिरहन्छिन्।
ठूलोबुवा भन्छन्,“निको मानिनके त।” (यता राम्रो लागेनर?)
“नाइँ।”
ठूलोबुवा,“केइ पीड हुँदो छ के अइल।” (अहिले दुखिरहेको छ?)
“नाइँ,” बालिका टाउको हल्लाउँछिन्।
“क्या हुँदो छ तरु” (के हुन्छ?)
पेट छाम्दै भन्छिन्,“जेठाबुवा मेरो लादो नानु भयो।” (ठूलोबुवा मेरो पेट सानो भयो)
ठूलाबुवा ढाडस दिदैं सोध्छन्,“अँ हो। केहइ खान्या होइकेरु” (अँ। अँ। भोक लाग्योरु केहि खाने हो?)
मुख अमिलो बनाउँदै बालिका भन्छिन्,“नाइँ केइ खाँदैन।” (अहँ खान्)
.....
दुखाइभन्दा धेरै उनलाई घरको सम्झना आउँछ। भन्छिन्,“घर बाइजाउँ। हामे काँ आयाका छौं। घर कइल जान्याँ हुँ?”
ठूलोबुवा सुनाउँछन्,“म भोलि भोलि भनिकन अल्की मात्रै लाउँदो छु। अरू क्या भन्नु?”
ठूलोबुवालाई पनि अब त न्यास्रो लाग्न थालिसक्यो। उनीहरू पहिलो पटक काठमाडौं आएका हुन्। बिरानो शहर, बिरानो मान्छे। खाना खान क्यान्टिन जाने अनि फर्केर त्यहि बेडमा बस्ने। उनीहरूको दैनिकी यहि हो। अस्पतालको बसाइँ र चिन्ताले उनीहरू थाकिसके।
“घरबाटी दिनदिनै फोन आयाको आयै छ। सबैका गहुँ बुइसक्यो। हलो जोत्न्या मान्छे अछिन छाँटा आइजा भन्दा छन्। अब यल्लाइ काँ हालिकन जानुरु सँगै लैजानु कि याइँ छाडिजानुरु” ठूलोबुवा आफ्नो असमञ्जस र अप्ठ्यारो सुनाउँछन्।
.....
कसरी भयाे घटना?
बालिकाको आमाबुवा दुवै जना सुस्त मनस्थितीका छन्। एक्ली छोरी पनि उस्तै। स्याहार र सुसार पाइनन्। गाउँलेले पनि वास्तै गरेनन्।
गाउँमा अर्मपर्म गरेर खाने। जसको घरमा काम गर्न गयो, त्यति बनिबुतो गरिखायो। परिवारसँग ओतलाग्ने सानो घरबाहेक कमाइ खाने जमिन र सम्पत्ति केहि छैन। घाँसदाउरा गरेर कसैले केहि खान दिए, खाने नभएर भोकै सुत्नुपर्ने बाध्यता थियो।
बालिकालाई असोजमा कुकुरले टोकेको थियो। केहि समयपछि पेट बढ्दै गएको सबैले देखे। कुकुरको टोकाइले होला भनेर गाउँलेहरूले पैसा उठाएर कात्तिक ७ गते बयालपाटा अस्पतालसम्म पुर्याए। बुवा पनि सँगै गएका थिए।
तर स्वास्थ्य परीक्षणमा उनी गर्भवति भएको पत्ता लाग्यो। बयालपाटा अस्पतालले जिल्ला अस्पताल मंगलसेनको एकद्वार संकट व्यवस्थापन प्रणाली ओसिएमसि पठायो। उनको गर्भ २२ हप्ता पुगिसकेको थियो। स्वास्थ्यमा समस्या हुनसक्नै भएकोले थापाथली, काठमाडौंस्थित ओसिएमसिसँग समन्वय भयो। प्रहरीको सहयोगमा ठूलोबुवासहित १२ अघि बालिकालाई काठमाडौं ल्याइयो। बच्चा जन्माए पनि हेरचाहन गर्न नसक्ने भएकोलै घरपरिवारको सल्लाह र सहयोगमा शुक्रबार गर्भपतन गरियो।
घटनाको अनुसन्धान भइरहेको छ अछाम प्रहरीले जनाएको छ। १५ र १६ वर्षका दुई किशोर पक्राउ पनि परेका छन्। गोठालो गएको बेला प्रस्ताव गर्दा बालिकाकै स्वीकृतिमा एक पटक शारीरिक सम्पर्क राखेको एक जनाले बयान दिएका छन्। अर्कोले केहि बताएका छैनन्। दुवै जनाको रगत डिएनए परीक्षणका लागि काठमाडौं पठाइसकिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपि जनक शाहीले जानकारी दिएका छन्।
बालिकालाई राज्यले पुनर्स्थापना केन्द्रमा राख्नेछ: मन्त्री थापा
महिला, बालबालिका तथ ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रसूति गृह गइ ती बालिकालाई भेटेकी छिन्। भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुस्त मनस्थितीकी ती बालिकालाई यस्तो अवस्थामा पुर्याउनेलाई कारवाही गरेरै छाड्ने बताइन्।
“अहिले बालिकादेखि वृद्धासम्म सुरक्षित छैनन्। यो दुस्खको कुरा हो। यसले हाम्रो समाज कतातिर जाँदैछ भन्ने देखिएको छ,” मन्त्री थापाले भनिन्।
बालिकालाई काठमाडौंको पुनर्स्थापना केन्द्रमा राखिने भएको छ। यसका लागि विभिन्न संघसंस्थासँग छलफल गरि उपयुक्त पुनर्स्थापना केन्द्र छनोट गरिने मन्त्री थापाले बताइन्।