पहिलो पटक ६ हिमालको सफल आरोहण
काठमाडौं, कात्तिक २१ : शरद ऋतु (अटम सिजन)मा साना हिमालतर्फ आरोहीहरू आकर्षित भएका छन्। यस सिजनमा मात्

काठमाडौं, कात्तिक २१ : शरद ऋतु (अटम सिजन)मा साना हिमालतर्फ आरोहीहरू आकर्षित भएका छन्। यस सिजनमा मात्रै ६ वटा हिमालको पहिलो पटक आरोहण गरेका छन्।
विगतको तुलनामा आरोहीहरू साना हिमालको आरोहणतर्फ आकर्षित हुँदा हालसम्म आरोहण नै नभएका हिमालको आरोहण सफल भएको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार, यो सिजनमा ६ हजार ७ सय ६४ मिटर उचाइको हङगु (सुरापिक), ६ हजार ७ सय ४० मिटर उचाइको अम्पु पिक र ६ हजार ८ सय ३३ मिटर उचाइको हुङ्कु चुलीको सफल आरोहण गरिएको छ।
त्यस्तै, ६ हजार ६ सय ५९ मिटर उचाइको लिङ्कु चुली, ६ हजार ६ सय २० मिटर उचाइको पाङ्पोचे–१ हिमाल र ६ हजार ५ सय ४ मिटर उचाइको पाङ्पोचे–२ हिमालको पहिलो पटक सफल आरोहण भएको विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार, नयाँ हिमालमध्ये पाङ्पोचे–१ मा दुई समूहका आठ आरोही र अन्य पाँच हिमालमा तीनदेखी पाँच जना आरोहीले अनुमति लिएका थिए। अनुमति लिएकामध्ये धेरै आरोहीले आरोहण सफल गरे पनि विभागमा ‘ब्रिफिङ’ नहुँदा आरोहीको तथ्यांक आएको छैन।
विभागका एक अधिकारीका अनुसार केही दिनभित्रै सबै आरोहीको नामावली संकलन गरिनेछ। ती अधिकारीका अनुसार आरोहण अनुमति र समिटसँगै हुँदा तथ्यांक राख्न समस्या भएको छ।
विभागको तथ्यांकअनुसार, हालसम्म ५० हिमाल आरोहणका लागि ६२ देशका आरोहीले आरोहण अनुमति लिएका छन्।
यो वर्षको शरद ऋतुमा ६ हजारदेखि आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्न चाहने आरोहीको संख्या ११ सय ७० जना रहेका छन्। एक सय ५७ समूहमा रहेका आरोहीमध्ये नौ सय २० पुरुष र दुई सय ५० महिला आरोही छन्।
आरोहण अनुमति लिने अधिकांश आरोही हिमाल आरोहणका लागि नै आएका हुन्। गत वर्षसम्म ट्रेकिङ अनुमति लिएर साना हिमाल आरोहणमा जानेको संख्या धेरै थियो। यस वर्ष त्यस्तो व्यवस्था हटेपछि आरोहण अनुमति लिनेको संख्यामा बृद्धि भएको विभागले जनाएको छ।
सगरमाथाको आरोहण हुन सकेन
तीन वर्षदेखि शरद ऋतुमा सगरमाथा हिमालको आरोहण अनुमति नै दिईएको थिएन। तर, यस सिजनमा सगरमाथा आरोहणका लागि दुई समूहका १० आरोहीले अनुमति लिएका थिए।
अनुमति लिएर आरोहणका लागि आधारशिविर पुगेका आरोही खराब मौषमका कारण आरोहण नै नगरि फर्किएका थिए। त्यस्तै एउटै आधारशिविरबाट जाने सगरमाथाको आरोहण नभएपछि ल्होत्से र नुप्से हिमालको पनि आरोहण हुन सकेन। ल्होत्से आरोहणका लागि दुई समूहका १३ आरोही र नुप्से आरोहणका लागि एक समूहका आठ आरोहीले आरोहण अनुमति लिएका थिए।
मनास्लुको आरोहण सम्पन्न
अहिलेसम्मकै सबैभन्दा धेरै आरोहीले आरोहण अनुमति लिएको गोरखाको मनास्लु हिमाल (८१६३ मिटर) आरोहणका लागि विभागवाट २७ समूहका दुई सय ६४ आरोहीले अनुमति लिएका थिए। अनुमति लिएकामध्ये अधिकांश आरोहीले सफल आरोहण गरेका छन्।
मनास्लुमा सन् १९५६ मे ९ मा जापानका तोसिओ इमानिशिले पहिलो पटक आरोहण गरेका थिए। उनले आरोहण गरेयता मनास्लुमा पहिलो पटक एकै सिजनमा सबैभन्दा धेरै अनुमति दिइएको विभागले जनाएको छ।
आमादब्लममा आरोहीको आकर्षण
सोलुखुम्बु जिल्लामा रहेको ६ हजार ८ सय १४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणमा आरोहीको आर्कषण देखिएको छ। अन्य हिमालको तुलनामा आमादब्लममा सबैभन्दा धेरै तीन सय १६ आरोहीले आरोहण अनुमति लिएका पर्यटन विभागको होमस्टे तथा पर्वतारोहण शाखा निर्देशक मिरा आचार्यले बताइन्।
उनका अनुसार आमादब्लम हिमाल आरोहणको मौषम सुरू हुँदा अनुमति र समिट सँगसँगै भएको विभागले जनाएको छ। अझै एक÷दुई दिन अनुमति लिन आउन सक्ने देखिएको निर्देशक आचार्यले बताइन्।
दुई आरोहीको मृत्यु
यो सिजनको हिमाल आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। गोरखाको मनास्लु हिमाल (८१६३ मिटर) आरोहणका क्रममा गत असोज ११ गते शनिबार पोल्यान्डकी आरोहीको मृत्यु भएको थियो। सेभेन समिट ट्रेक्सवाट आरोहणमा गएकी ५० वर्षीया रिता डोनेटा ब्लाङ्यको तेस्रो शिविरमा मृत्यु भएको थियो।
त्यस्तै, मनाङको हिमलुङ हिमाल (७१२६ मिटर) आरोहणका क्रममा स्पेनका आरोही ४८ वर्षीय फर्नान्डो सान्चेज घासाको मृत्यु भएको छ। हिमालको आरोहण गरि फर्कने क्रममा कात्तिक १५ गते ६ हजार पाँच सय मिटर उचाइमा स्नो ब्लाइनेस्टका कारण उनको मृत्यु भएको विभागले जनाएको छ।
इम्याजिन नेपाल ट्रेकवाट आरोहणमा गएका उनी गाईडले भनेको नमानी जर्बजस्ती आरोहणमा जादा मृत्यु भएको जनाएको छ। इम्याजिनबाट हिमलुङ आरोहणका लागि गएका आठ आरोहीमध्ये तीन आरोहीले मात्रै आरोहण सफल गरेका ट्रेकले जनाएको छ। यस सिजनको आरोहणबाट मात्रै ६४ करोड ८८ हजारभन्दा बढी राजश्व संकलन भएको छ।












