दिदीबहिनी नहुनेकी अञ्जली दिदी
काठमाडौं, कात्तिक ११ : उमेरले डाँडा काट्दैछ। काम गर्ने जागर पनि त्यत्ति चल्दैन। तर तिहार आएसँगै उनको
काठमाडौं, कात्तिक ११ : उमेरले डाँडा काट्दैछ। काम गर्ने जागर पनि त्यत्ति चल्दैन। तर तिहार आएसँगै उनको मन यसैयसै खुशीले चञ्चल हुन्छ।
कतिपय भाइहरुले त दिदी, यो वर्षपनि आउँदै छौ है भन्दै फोन गर्न थालिसके। दिदीबहिनी नभएकाहरुकी एक्ली दिदी अञ्जली मास्के सय भाइको लागि टीकाको सर्दम तयार गर्दैछिन्। उनका लागि तिहारको भाइटीका अलि विशेष नै हुन्छ। ‘मलाई किन किन तिहारको भाइटीकामा भित्रैदेखि खुशीले बास गर्छ’ तिहारको माला उन्दै गरेकी अञ्जलीले भनिन्।
उनले भोलिको भाइटीकामा एक सय ८० भाइहरुलाई टीका लगाउने तयारी गरेकी छन्। ‘दशै सकिए लगत्तै भाइटीकाको सर्दम किनेर तयारीमा लाग्नुपर्छ’ उनी भन्छिन्, ‘अहिले मखमली फूलको माला, पञ्चरंगी टीका, मिठाइ, ओखरको चाँजोपाँजो मिलाइसकेकी छु।’
उमेरले ७५ नाघिसकेकी छन्। शरीर पनि पहिलाजस्तो बलियो छैन तर पनि उनको एउटै अठोट छ–आफु बाचुन्जेल मेरा दाजुभाइको निधार खाली हुन दिन्न।
काठमाडौंको बाङगेमुढाकी अञ्जली हरेक वर्ष तिहारमा दिदीबहिनी नहुनेहरुकी दिदी बन्छिन्– भाइटीका लगाएर।
उनले २०५५ सालदेखि सामुहिक भाइटीका लगाउदै आएकी छन्। उनले भाइटीका लगाएका भाइहरु हजारौ पुगिसकेका छन्।
‘मेरो लागि को धनी, को गरिब, को कुन जात कसैले कुनै अर्थ राख्दैन’ उनी भन्छिन्, ‘खालि निधार हुने सबै मेरा भाइ हुन्।’
उनको भाइटीकामा निधार थाप्नेहरु कोही न्यूरोडका रिक्सा चालक छन्, भने कोह प्रधानमन्त्रीसमेत भैसकेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि उनै अञ्जली दिदीका भाइ हुन्। खनालले पनि अञ्जलीसँग भाइटीका लगाएका छन्। ‘मेरो हातबाट ५ वर्षको बालकदेखि सय वर्षकाले समेत भाइटीका लगाएका छन्’ उनी भन्छिन्।
भाइटीकामा किन सबैलाई टीका लगाउँछिन् त अञ्जली दिदी? ‘मैले आफ्नो दाइभाइ नभएर टीका लगाएको हैन, हरेक वर्ष तिहारमा काष्ठमण्डपमा पूजा गर्न जान्थे, टीकाको दिन निधार खाली भएका दाजुभाइलाई देख्थे, मनमा नराम्रो लाग्थ्यो’ अञ्जलीले भनिन्, ‘त्यसैले ति खाली निधार भर्न म सबैको दिदी बन्ने निष्कर्षमा पुगेको हुँ।’
२१ वर्षदेखि भाइटीका लगाउदै आएकी अञ्जली दिदीका ७७ वटै जिल्लामा दाजुभाइ छन्। कतिपयले त अहिले पनि तिहारमा विदेशबाट फोन गरेर उनलाई सम्झन्छन्।
राख्दिँनन् खर्चको लेखाजाेखा
२१ वर्ष लगातार टीका लगाएर २२औं वर्षको टीकाको तयारी गरिरहँदा अञ्जलीले कति खर्च लाग्छ? भन्नेको कुनै लेखाजोखा राखेकी छैनन्।
‘म कती खर्च हुन्छ भन्ने हिसाव नै गर्दैनँ। तर, हरेक वर्ष दुई सयभन्दा बढी दाजुभाइहरुको लागि माला, भाइमसला तयार पार्छु’ अञ्जली भन्छिन्, ‘मलाई तिहारमा भाइहरुका लागि गरेको खर्च खर्च नै लाग्दैन। उनीहरुको माया र आसिर्बादले अहिलेसम्म हट्टाकट्टा छु। यो भन्दा ठुलो एउटा बहिनीको लागि के हुन्छ?’
अञ्जली तिहारमा भाइले दिएको उपहार पनि लिन्नन्। भन्छिन, ‘मैले कहिल्यै कसैबाट पनि दक्षिणा वा उपहार लिएको छैन। कतिपयले त जबरजस्ती लिनै पर्छ भन्छन्, तर म लिन्न।’
हरेक वर्षजस्तै यो वर्ष पनि उनले दिदीबहिनी नहुने दाजुभाइलाई काष्ठमाण्डपमा आउन आग्रह गरेकी छन्।