Kathmandu Press

नेकपाका दुई अध्यक्ष : मुखमा रामराम, बगलीमा छुरा

काठमाडौं, कात्तिक ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प

नेकपाका दुई अध्यक्ष : मुखमा रामराम, बगलीमा छुरा

काठमाडौं, कात्तिक ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अविश्वास र आशंका फेरि बढेको छ।

खासगरी सभामुख कृष्णबहादुर महरामाथि यौन अपराधको आरोप लागेपछि प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्ड निकै चिढिएको स्रोतहरूको दाबी छ। 

प्रधानमन्त्री ओलीले प्रचण्डनिकट नेताहरूका गल्तीहरूलाई राज्य संयन्त्रको प्रयोग गरी जम्मा गरेको र त्यसलाई विरोधी सखाप पार्ने अस्त्रको रुपमा प्रयोग गर्न थालेको भन्दै साविक माओवादी खेमा त्रस्त बनेको हो।

Hardik ivf

पार्टी एकता गर्दाको भद्र सहमतिबमोजिम ओलीले प्रधानमन्त्री हस्तान्तरण नगर्ने संकेत गरेपछि प्रचण्ड बेचैन बनेका छन् । नेकपा स्रोतहरूका अनुसार, दुई अध्यक्षबीच भेटघाट भइराखे पनि मनभित्र भने शंकैशंकाले घर गरेको छ । विशेष गरी समान हैसियतका अध्यक्ष भने पनि दोस्रो मर्यादा क्रममा प्रचण्डले आफू पेलाइमा परेको महसुस गरेका छन् । प्रधानमन्त्री ओली र  उनीनिकट सत्तासीन नेताहरूले सत्ताको नेतृत्व प्रचण्डमा हस्तान्तरण हुने कुनै संभावना नरहेको अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । साविक माओवादीहरू भने साढे दुई वर्ष पुग्दा प्रधानमन्त्री प्रचण्डमा आउने दाबी गर्दैछन् ।

सरकारमा दोस्रो मर्यादामा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार विराटनगर पुगेर भने, ‘पार्टी एकीकरणका बेला दुबै अध्यक्षबीच सरकारको नेतृत्व फेर्ने कुनै सहमति भएको छैन ।’ प्रधानमन्त्री ओलीले पनि यसै साता सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिँदै पाँच वर्ष आफैँ प्रधानमन्त्री रहने बताइसकेका छन् ।

समान हैसियतका अध्यक्ष भने पनि प्रचण्डले न पार्टीको काम ‘अध्यक्ष’ भएजसरी गर्न पाएको महसुस गरेका छन् न प्रधानमन्त्री पाउने सुनिश्चितता देखेका छन् । ‘दुई अध्यक्षबीच सम्बन्ध सुमधुर हुँदा सत्ता हस्तान्तरण हुने संभावना हुँदैन, सम्बन्ध बिग्रियो भने ओलीले छाड्ने कुरै आउँदैन’, नेकपाका एक नेताले नाम नलख्ने शर्तमा सत्ता हस्तान्तरणको संभावनाको व्याख्या गरे ।

महरा प्रकरणपछि ‘हारेको’ महसुस गर्न थालेका छन्– प्रचण्ड । उनी परिस्थिति आफूअनुकूल बनाउन प्रयत्नशील छन् । महराको बयान चलिरहँदा प्रचण्डनिकट मन्त्रीसहित स्थायी कमिटीमै रहेका नेताको समेत ‘यौन काण्ड’ तयारी अवस्थामा रहेको, केहीको द्वन्द्वकालीन फौजदारी मुद्दा ब्युँतिन सक्नेसम्मका हल्ला साविक माओवादीभित्र भुसको आगोसरी फैलिएको छ । यसले सरकार कतै साविक माओवादीको तेजोबध गर्ने मिशनमा नै लागेको त छैन भन्ने आशंका बढेको छ ।

नेकपाका दुई अध्यक्षबीच सम्बन्ध बिग्रिएको भन्ने समाचारहरू सञ्चारमाध्यममा आउन थालेपछि प्रचण्ड स्वयमले त्यसको खण्डन गरे– सम्बन्ध खराब भएको छैन भनेर । तर पनि, सत्ता हस्तान्तरण हुन्छ र हुँदैन भन्ने खालका अभिव्यक्तिको जुहारी जारी छन् । प्रधानमन्त्री ओलीले तयारी गरेको मन्त्रिमण्डल फेरबदल पनि केही समय पछि धकेलिएको छ । 

पार्टी एकताका बाँकी काम सक्न भनेर गतसाता दुई अध्यक्षबीच निरन्तर बैठक पनि बसे तर त्यसले कुनै परिणाम दिन सकेन । चीनका राष्ट्रपतिको नेपाल भ्रमण र उपप्रधानमन्त्री पोखरेलको चीन भ्रमणले प्रधानमन्त्री ओलीलाई थप बलियो बनाएको प्रचण्ड पक्षको विश्लेषण छ । 

प्रधानमन्त्री ओली टसको मस नभएपछि प्रचण्ड दशैंलगत्तै उपप्रम पोखरेलको निवास गएर सत्ता हस्तान्तरणको वातावरणमा पहल गरिदिन आग्रह पनि गरे । त्यसको उल्टो असर परेको विश्लेषण नेकपाभित्र गरिँदै छ ।

प्रधानमन्त्री पक्षसँग सशंकित बन्दै गएका छन् साविक माओवादी नेताहरू । ती नेताले भने, ‘पार्टीभित्रका विरोधीलाई तह लगाउन सत्ताको दुरुपयोग भएको हाम्रो आशंका छ । प्रचण्डसँग ‘हलगोरु’ जस्तै बनेपछि महासचिव विष्णु पौडेललाई तह लगाउन बालुवाटार जग्गा प्रकरण आयो । यसमा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत जोड्ने कोशिश भयो, भलै अख्तियार प्रमुखले मानेनन् । प्रचण्डको दाहिने हात महराको यो हविगत भयो । अब अरुको पनि बजार हल्ला छ ।’

उता प्रधानमन्त्री ओली भने पार्टीभित्र बलियो भएका छन् । वामदेव गौतमलाई उपाध्यक्ष बनाएर आफ्नो खेमामा ल्याए भने वरिष्ठ नेता झलनाथ खनाललाई तेस्रो मर्यादामा ल्याए । त्यसपछि सचिवालयमा बहुमत पुर्याएर बैठक डाक्ने अवस्थामा फर्किए । पार्टी स्थायी कमिटीको बैठक ११ महिनादेखि बसेको छैन । साढे चार सय सदस्य रहेको केन्द्रीय कमिटी बैठक त झन् कति भो कति ? 

प्रधानमन्त्री ओली स्वास्थ्योपचारमा जानुअघि उनीसँग चर्काचर्की परेका पार्टीभित्रको तेस्रो शक्तिकेन्द्रका नेता माधवकुमार नेपाल भने मौन छन् ।

‘प्रचण्ड वरिष्ठ नेता माधव कमरेडसहितसँग मिलेर बहुमत देखाएर पेल्ने गरी अघि जान पनि सक्नु हुन्न । प्रष्ट गुट बनाएर अघि जाँदा पार्टी एकताको अर्थ नहुने प्रचण्डको  बुझाइ छ’, प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले भने । त्यसैले प्रचण्ड छामी–छामी अघि बढ्ने रणनीतिमा पुगेका छन् । महरा काण्डले ठूलो क्षति व्यहोरेका प्रचण्ड थप क्षति हुन नदिन प्रयात्नशील हुनेछन् ।  
 

प्रकाशित मिति: १०:०५ बजे, शनिबार, कात्तिक ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्