चिनियाँ राष्ट्रपतिको भ्रमणपछि प्रधानमन्त्री ओलीको प्राथमिकता रेलबाट सुरुङतर्फ
काठमाडौं, कात्तिक ६ : नागढुंगा–नौबिसे सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्
काठमाडौं, कात्तिक ६ : नागढुंगा–नौबिसे सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्दैं थानकोट–चित्लाङ सुरुङमार्ग बनाउने घोषणा गरे। प्रधानमन्त्री ओलीले देशभर सडक सुधार गर्दै आवश्यक दर्जनौ स्थानमा सुरुङमार्ग बनाउने उद्घोषसमेत गरेका छन्।
विगतमा तिब्बत–काठमाडौं रेलको कुरा गरेर नथाक्ने प्रधानमन्त्री ओलीले यतिवेला देशभर सुरुङ निर्माणको अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशननै दिएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको छ।
समझदारीअनुसार टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्ग बनाउन अध्ययन गरिनेछ भने चिनियाँ राष्ट्रपतिले सहयोग गर्ने घोषणा समेत गरेका छन्। यसबाट चीनको पनि नेपाललाई रेलभन्दा सडक सुधारमा ध्यान दिनुपर्ने सन्देश दिएको प्रष्ट हुन्छ।
चिनियाँ राष्ट्रपति सीको भ्रमणसंगै नेपालमा सुरुङमार्ग बनाउने स्थानहरूबारे समेत चर्चा सुरु भएको छ। यसभन्दा अघि पनि सुरुङमार्गका विषयमा अध्ययन भने नभएका होइनन्। तर, अहिले भने सुरुङमार्गको चर्चा चुलिएको छ।
आइतबार काठमाडौं उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने सबैभन्दा ठूलो नाकाको व्यवस्थापनका लागि लाइफलाइन मानिएको सुरुङमार्ग प्रधानमन्त्री ओलीले शिलान्यास गरिसकेका छन्। ४२ महिनामा सक्ने लक्ष्य लिइएको सुरुङमार्ग नेपालको लागि नमुना परियोजना हुनेछ।
अहिले यो नयाँ विषयजस्तो लागेता पनि राणा शासनमै नेपालमा सुरुङमार्ग भने निर्माण भएको थियो। नेपालमा १०३ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनेको थियो। अमलेगञ्ज–हेटौंडा सकडखण्डमा सात सय मिटरको सुरुङमार्ग समेत निर्माण गरिएको थियो।
एक शताब्दीपछि सुरुङमार्गको विषयमा चर्चा हुनु सकारात्मक विषय भएको रेल तथा सडकविज्ञ ज्ञानेन्द्र लाल प्रधान बताउँछन। ‘चीनसँग रेलभन्दा पनि सडकनै सुधार गरेर दुरी छोट्याउने हो, यो नै उपयुक्त हुन्छ,’ प्रधानले भने।
यतिवेला सरकारले १६ स्थानमा सुरुङ निर्माणका लागि अध्ययन गरिरहेको छ। जसमा सेनाले निर्माण गरिरहेको काठमाडौं–निजगढ द्रुतमार्गमा नै तीन सुरुङ निर्माण हुँदै छन्। सेनाले यसको टेन्डरनै आह्वान गरिसहेको छ। विस्तृत अध्ययन प्रतिवेदमा उल्लेख भएअनुसार महादेवडाँडामा ३.३ किलोमिटर, धेद्रेमा १.६ किलोमिटर र लेनडाँडामा १.४ किलोमिटर लामो सुरुङ निर्माण गरिनेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सडक सुधारअन्तर्गत सुरुङमार्गलाई प्राथमिकतामा राखेर अध्ययन थालिएको बताए। सरकारले विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको अध्ययनका लागि ६० करोड रुपैयाँ छुट्याएर सडक विभागलाई जिम्मा दिएको प्रवक्ता ज्ञवालीले बताए।
त्यस्तै, टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्ग बनाउन अध्ययन गर्न चीनसँग सहमति भएको छ। टोखा–छहरे–गुर्जुभञ्याङको निर्माणनै गर्ने सहमति समेत भएको छ। टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब पाँच किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटरको सुरुङ हुने अनुमान गरिएको छ।
सरकारलाई टाउको दुखाइ बनेको सिद्धार्थ राजमार्गको सिद्धबामा खण्डमासमेत सुरुङ निर्माणका लागि अध्ययन सुरू गरिएको छ। उक्त क्षेत्रमा सुख्खा पहिरोका कारण वर्षेनी दर्जनभन्दा बढीले ज्यान गुमाउँदै आएका छन्। सिद्धबाबाको स्वीस सरकारले अध्ययन गरिरहेको छ।
यसमा १.२ किमि लम्बाइको सुरुङमार्ग निर्माण सुरू गर्ने सरकारले तयारी थालेको छ। स्वीस सरकारले नै गणेशमान सिंहमार्गमा पर्ने थानकोट–चित्लाङ सुरुङमार्गको पनि अध्ययन गरिरहेको छ। मकवानपुरको थाहा नगरलाई जोड्ने यसुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जाने त्रिभुवन राजपथको दूरी छोटिनेछ। जसको प्रधानमन्त्रीले समेत अध्ययन भइरहेको र छिट्टै निर्माण थाल्ने घोषणानै गरेका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालो, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, कुलेखानी–भीमफेदी, खुर्कोट–सिन्धुली, दोलखाको लामाबगरको पनि प्रारम्भिक चरणको अध्ययन सरकारले गरिसकेको छ।
बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्ड पनि सम्भाव्य सुरुङमार्गको अध्ययन गर्ने तयारी सरकारले गरेको छ। यो सुरुमार्गको अनुमानित लम्बाई पाँचदेखि साढे ६ किलोमिटर हुने अनुमान गरिएको छ।
दोलखाको लामाबगरमा बन्ने सुरुङमार्ग डेढदेखि साढे तीन किलोमिटरको हुनेछ। यो मार्ग उत्तरदक्षिण लोकमार्गलाई लक्षित गरी बनाउन लागिएको हो। नवलपरासीको दाउन्नेमा बन्ने सुरुङमार्ग पाँदेखि ६ किलोमिटरको हुने अनुमान छ। पोखरा–बागलुङ सडकमार्गको हेम्जा–नयाँपुल सुरुङमार्ग सातदेखि साढे आठ किमिको हुने अनुमान गरिएको छ।
कोटेश्वरको जाम कम गर्न काठमाडौंमा कोटेश्वर–जडीबुटी सुरुङमार्गको पनि जापानले अध्ययन गरिरहेको छ। त्यस्तैगरी काठमाडौंको बानेश्वरमा अन्डरपास तथा कैलालीको खुटिया–बीपीनगर–दिपायल खण्ड र ललितपुरको गोदाबरी–काभ्रेको मानेचौरमा पनि सुरुङमार्गले जोड्ने गरी अध्ययन भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले विगतदेखिनै ठूला सडक र दूरी छोट्याउन सुरुङको विकल्प रोज्नु पर्ने थियो। ढिलै भएपनि अध्ययन सुरू हुनु सकारात्मक भएको रेल तथा सडकविज्ञ प्रधानको भनाइ छ। सरकारले भनेकौ सबै ठाउँमा अध्ययन गरेर निर्माण गर्न खर्खौं रुपैयाँ लागेता पनि नेपाललाई भने दीर्घकालसम्म फाइदा पुग्ने प्रधानको बुझाइ छ।