Kathmandu Press

होटलको कामदारदेखि एनआरएनएको अध्यक्ष

काठमाडौं, कात्तिक १ : गैर आवसीय नेपाली संघ (एनआरएनए) को नवौ सम्मेलनबाट कुमार पन्त अध्यक्षमा निर्वाचि

होटलको कामदारदेखि एनआरएनएको अध्यक्ष
रिवाज राई

काठमाडौं, कात्तिक १ : गैर आवसीय नेपाली संघ (एनआरएनए) को नवौ सम्मेलनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित भएका छन्। उनको एनआरएनए नेतृत्वसम्मको यात्रा भने रोचक छ।

सन् १९७६ मा गोरखाको फुजेलमा जन्मिएका पन्तले भैरहवा माध्यामिक विद्यालयबाट स्कुलसम्मको अध्ययन गरेका थिए। सन् १९९७ मा उच्च शिक्षा हासिल गर्न उनी युरोप छिरेका थिए। ग्रीसमा उच्च शिक्षाको अध्ययन थालेका उनी केही वर्षमै जर्मनी हानिए। जर्मनीबाटै उनले राजनीतिशास्त्रमा स्नातक गरेका छन्।

जर्मनीमा होटलमा कामदारको रुपमा काम सुरू गरेका पन्त त्यसको केही वर्षमा नै कोरियनले सञ्चालन गरेको होटलमा म्यानेजर भए। उनले त्यसमा चार वर्ष काम गरेका थिए। म्यानेजर भएर काम गर्दा गर्दै उनले जर्मनीमा आफ्नै होटल व्यवसाय सुरू गरेका थिए।

त्यहि क्रममा एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका जिवा लामिछानेसँग पन्तको भेटघाट भयो। लामिछानेकै सहयोगमा पन्तले व्यवसायलाई विस्तार गर्न थाले। एउटा होटलबाट व्यवसाय सुरु गरेका उनले अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल चलाइरहेका छन्।

व्यवसायसँगै जर्मनीमा एनआरएनएको अभियानमा समेत काम गर्न थालेका उनले सन् २००४ एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बनेका थिए। उनीको त्यसको केही समयमा नै संयोजक समेत बन्न सफल भए।

पन्त सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य बनेका थिए भने सन् २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित भएका थिए। त्यस्तै, उनी सन् २०१३ देखि २०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव बनेका थिए।

सन् २०१५ मा उपाध्यक्ष भएका पन्त सन् २०१७ मा पनि उपाध्यक्ष नै भए। निवर्तमान अध्यक्ष भवन भट्टलाई सहयोग गर्न भन्दै दोस्रो कार्यकाल समेत उपाध्यक्षमै काम गरेका उनी नयौं सम्मेलबाट भने एनआरएनएको अध्यक्षमा निर्वाचित भएका छन्।

उनले एनआरएनएको भवन निर्माणका लागि लगानी जुटाउने संयोजक बनेर काम समेत गरेका थिए। केही दिन अगाडि मात्रै एनआरएनएको भवनको औपचारिक उद्घाटन भएको छ।

चुनौतिबीच अध्यक्ष पन्त

नवौ सम्मेलनमा एनआरएनएको फरक दृष्य देखिएको छ। समाजिक सञ्जालमा आलोचना बढेको छ। बेलायत बस्ने कुल आचार्य नेपाली कांग्रेसको समर्थनमा अध्यक्षमा उम्मेदवारी दिएका थिए भने पन्त नेकपाको समर्थनमा उम्मेदवारी दिएका थिए।

एनआरएनएको सञ्जाल ८१ देशमा फैलिएको छ भने हजारौको संख्यामा सदस्य रहेका छन्। युरोपबाट सुरू भएको अभियान खाडी मुलुकदेखि चीन, भारतसम्म विस्तार भइसकेको छ।

विगतमा राजनीतिबाट मुक्त रहेको संस्था यसपटक भने राजनीतिक कित्ताकाटमै उत्रिएको छ। पूर्वअध्यक्षहरू विभाजित भएका छन्। संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलननै बहिस्कार गरेका छन्। अब पन्तले एनआरएनएलाई कसरी समेट्छन्? उनको मुख्य चुनौति देखिएको छ।

यता नवौ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएलाई विकासको साझेदार बन्न आग्रह गरेकी थिइन् भने अन्य वक्ताहरूले पनि नेपालको समृद्धिको अभियानमा लगानी जुटाउन एनआरएनएलाई आग्रह गरेका थिए। एनआरएनएले पनि दोहोरो नागरिकताको विषय जोडतोडका साथ उठाइरहेको छ।

संविधानमा व्यवस्था भएपनि केही संसोधन आवश्यक भएकाले नागरिकतासम्बन्धी विधेयक संसदमा टेबुल भइसकेको अर्थमन्त्री डा.युवराज खतिवाडले बताएका थिए। ‘सरकारले एनआरएनएलाई नागरिकता दिन्छ तर एनआरएनएबाट पनि वार्षिक ६० अर्ब लगानीको अपेक्षा गर्छ’ भन्दै खतिवडाले लगानीका लागि सहयोग गर्न एनआरएनएलाई आग्रह गरेका थिए।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनएको नारालाई मूर्तरुप दिन विदेशमा रहेका बालबालिकाका लागि नेपाली भाषाका स्कुल स्थापना गरिने पन्तले घोषणा गरेका छन्। उनले एनआरएनए नेपालीलाई उद्यमी बनाउन जागरण अभियान र नेपालमा संयुक्त लगानीलाई जोड दिने बताउँदै आएका छन्।

पन्तले चुनावी दौडमा बिदेशमा बस्ने नेपाली सक्षम भए त्यो सीप र पुँजी नेपालको उन्नतीमा महत्वपूर्ण हुने बताउँदै नेपालको समृद्धिमा सहयोग गर्ने बताएका थिए। अब उनको काम गर्ने यात्रा सुरू भएको छ।

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, कात्तिक १, २०७६