Kathmandu Press

यी हुन् दशैं बिदामा घुम्न जाने आकर्षक गन्तव्य

काठमाडौं : दशैँ बिदामा परिवार र साथीभाइसहित घुम्न जान चाहनेहरुका लागि थुप्रै आकर्षक गन्तव्यहरु छन्।

यी हुन् दशैं बिदामा घुम्न जाने आकर्षक गन्तव्य
Hardik ivfHardik ivf

काठमाडौं : दशैँ बिदामा परिवार र साथीभाइसहित घुम्न जान चाहनेहरुका लागि थुप्रै आकर्षक गन्तव्यहरु छन्। रोजगारी र कामको शिलशिलामा देशविदेशमा रहेपनि दशैंमा जमघट भएर रमाइलो गर्ने चलन छ। सबैलाई लामो र छोटो बिदा सरकारीदेखि निजी क्षेत्रका कार्यरत कर्मचारीहरुले लिएका हुन्छन्।

बिदाको सदुपयोग परिवार र साथीहरुसँग घुमफिर गरेर पनि गर्न सकिन्छ।  पछिल्लो समय समूह नै बनाएर घुम्न जाने प्रचालन बढ्दो छ। जसले गर्दा देशका विभिन्न ठाउँमा घुमेर रमाइलो गर्ने अवसर हुन सक्छ।  नेपालमा धेरै गन्तव्यमा घुम्न जान सकिन्छ। 

यी हुन् घुमफिरका लागि आकर्षक गन्तव्य :

पाथीभरा दर्शन 

ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर हिन्दू धर्मालम्बीहरुको प्रसिद्ध तीर्थस्थल हो।  विभिन्न स्थानहरुको अवलोकन गर्दै कन्याम चिया बगानमा जाने र सोही क्षेत्रमा बसोबास गर्ने।  आधा दिन चिया बगानको अवलोकन गर्ने साथै सो दिन अन्तुडाडाँमा बासोबास गर्ने। अन्तु डाँडाबाट ६ घण्टाकोे सवारी यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ सो दिन सोही स्थानमा बस्ने।  ताप्लेजुङ बजार क्षेत्र, पाथीभरा मन्दिर क्षेत्रको दर्शनपछि सो दिन तप्लेजुङमा नै बसेर फर्किन सकिन्छ।   

रारा ताल

सडक क्षेत्रको पहुँच भएपछि मुगु जिल्लाको रारा ताल धेरैका लागि पर्यटकीय गन्तव्य बन्न पुगेको छ। समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको रारा तालले सुन्दरताका अनेक उपनाम पाएको छ। रारासँगै यस आसपासको पर्यटन क्षेत्र पनि फस्टाउँदो छ। गर्मी समयमा रारा तालको यात्रा सुःखद अनुभूति बन्न सक्नेछ। रारा ताल र त्यसको आकार नै प्राकृतिक सुन्दरताको उच्चतम नमूना मानिन्छ। तालसँगै रहेको जङ्गल र आसपासका मनोरम दृश्य रारा तालको आकर्षण बढाउन पर्याप्त छन्। रारा ताल ट्रेकिङका लागि पनि प्रसिद्ध छ। एक हप्तादेखि १० दिनसम्मको समय रारा तालको घुमघामका लागि पर्याप्त हुन सक्छ। 

डोल्पा

से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने डोल्पो अहिलेसम्म आन्तरिक पर्यटकका लागि अझै गन्तव्य बन्न सकेको छैन। टे«किङ र ग्रामिण क्षेत्रको खास अनुभूति गर्ने चाहना छ भने डोल्पोलाई रोजाइमा राख्नुहोस्। यात्रा अवधिभर देखिने हिमालका अनेक रुप र वन्यजन्तुका रहर लाग्दा गतिविधि डोल्पाका आकर्षणका केन्द्र हुन्। स्थानीय संस्कृति पनि आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि नयाँ अनुभव बन्न सक्छ। तल्लो र माथिल्लो गरी डोल्पामा दुई वटा टे«किङ रुट छन्। नेपालगञ्जबाट दुनै हुँदै ताराकोट र तारफ खोलापछि डोल्पा क्षेत्र प्रवेश गरिन्छ।  पूरा क्षेत्रको टे«किङका लागि कम्तिमा तीन हप्ता लाग्छ। 

पोखरा–लुम्बिनी–सौराह

केही दिनको बिदामा नै घुम्न उपयुक्त स्थान हुन सक्छ काठमाडौं–पोखरा–लुम्बिनी–सौराहा क्षेत्र। स्वदेशी तथा विदेशी दुवै खालका पर्यटकका लागि प्रख्यात गन्तव्य यी ठाउँहरुलाई मानिन्छ। काठमाडौंबाट पोखरा गएर बसेर मुख्य स्थानहरु घुमेपछि रात्री बस चढेर लुम्बिनी जान सकिन्छ। लुम्बिनी जाने उपयुक्त मौसम यही हो।  त्यसपछि सौराह आएर थारु संस्कृतिको अवलोकन, साँझ राप्ती र नारायणी नदीको दोभानमा सूर्यास्तको दृश्य अनि जंगल सफारीका लागि प्रख्यात छ चितवन।

यतिमात्र नभएर चराचुरुङ्गी अवलोकनका लागि पनि चितवन उपयुक्त गन्तव्य हो। यो ठाउँ मयुर, च्याखुरा, पानी हाँस र चखेवाको बथानसहित अन्य चराहरुको बसोबासको थलो हो। शान्त र राष्ट्रिय निकुञ्ज नजिकै भएकाले पनि बाघसमेत हेर्ने मौका मिल्न सक्छ।

खप्तड

सुदूरपश्चिमको खप्तड जान काठमाडौंबाट सात रात आठ दिनको समय छुट्याउनुपर्छ। काठमाडौंबाट १५ घण्टाको बस यात्रापछि धनगढी पुगिन्छ। धनगढीदेखि डोटी सदरमुकाम सिलगढीसम्म पनि बसमै आठ घण्टाको यात्रा हुन्छ। सिलगढीबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्चीबाटोमा यात्रा गर्न सकिन्छ। पैदाल यात्रा गर्दा भने सिलगढीबाटै सुरु गर्नुपर्छ।  हवाई जहाजबाट जाँदा भने धनगढी ओर्लेर सोही दिन सिलगढी पुगेर बास बस्न सकिन्छ।

सिलगढीदेखि बखलेखसम्म जिप जाने कच्ची बाटो छ। त्यसका लागि रिर्जभ गर्नु पर्छ। सिलगढीदेखि सुरु पैदल यात्राको पहिलो दिन बिहानको खाना बगलेखमा खाएर झिगरानमा बेलुकाको बास हुन्छ। दोस्रो दिनको यात्रामै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ। निकुञ्ज क्षेत्रमा पसेपछि यात्राको सबैभन्दा अप्ठ्यारो ठाडो उकालो सुरु हुन्छ। बिहानको खाना बीचपानीमै खाएर जानु राम्रो हुन्छ। त्यहाँबाट अघि बढेपछि खाना खाने ठाउँ पाइन्न। बीचपानीबाट चार घण्टा लाग्छ, निकुञ्जको मुख्यालय पुग्न। ठूल–ठूला चट्टान र घना जंगल तथा बाटोमा फूलेका रंगीचंगी फूलको बासनाले थकान मेटिन्छ।

दिनभरको यात्रापछि साँझ त्रिवेणी मन्दिर पुगिन्छ। त्रिवेणी मन्दिरबाट शुरु हुन्छ खप्तड क्षेत्रको सुन्दर दृश्य। खप्तडको त्रिवेणी मन्दिर, हरिया फाँट, थारु संस्कृति, डडेलधुरको उग्रताराम मन्दिर, डोटीको शैलेश्वरी र भागेश्वरी–सालमुनिको यस क्षेत्रका आकर्षण हुन्। खप्तड यात्राका लागि काठमाडौंदेखि १० दिनको समय छुट्याउनु पर्छ।

भोटेकोशी र त्रिशूलीमा र्‍याफटिङ्

साहसिक जलायात्रा र्‍याफ्टिङ लागि नेशनल जोग्राफी च्यानलले विश्वका दशौं उत्कृष्ट गन्तव्यमा भोटेकोशीलाई पनि राखेको छ। पछिल्लो समय भोटेकोशीमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ।

काठमाडौंमा बसिरहेकाहरु छुट्टीको समयमा त्रिशूली र भोटेकोशी नदीमा र्‍याफ्टिङ गर्न जाने क्रम बढेको व्यावसायीहरुको भनाइ छ। यी नदीमा बढीमा दुई दिने प्याकेजको व्यवस्था व्यावसायीहरुले गरेका छन्। भोटेकोशी र त्रिशूलीमा दिनभर   र्‍याफ्टिङ गरेर साँझ आरम गर्न पनि सकिने तथा र्‍याफ्टिङ गरेर यहाँबाट काठमाडांै पनि पुग्न सकिन्छ। माथिल्लो भोटकोशी र तल्लो भोटेकोशीमा याफ्टिङ  व्यवस्था गरिएको छ। र्‍याफ्टिङ लागि माथिल्लो भोटेकोशी तल्लोभन्दा साहसिक मानिन्छ। माथिल्लो  भोटेकोशीमा र्‍याफ्टिङ गर्दा केही कम अनुभवीलाई तल्लो भोटेकोशी उपयुक्त छ।

पहिलो पटकमै पनि माथिल्लो भोटेकोशीमा र्‍याफ्टिङ सकिन्छ। त्रिशूलीमा नदीमा  परिवारसहित र्‍याफ्टिङ गर्न सकिन्छ। त्रिशूलीमा विद्यार्थी र अन्य आन्तरिक पर्यटकहरु र्‍याफ्टिङ लागि पुग्ने गरेका छन्। राजधानीबाट नजिकै र पहिलो पटक र्‍याफ्टिङ गर्नेलाई पनि यो उपयुक्त गन्तव्य हुन्छ। 

पुनहिल पद यात्रा

दशैं बिदामा एक हप्ता घुम्न जानेहरुका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ। पाँच रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ। धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपुर मनोरञ्जन दिन्छ। पुनहिल पद यात्रामा बास बस्न समस्या छैन। पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाइडिङको पनि मजा लिन सकिन्छ। प्याराग्लाइडिङका लागि भने थप एक दिन छुट्याउनुपर्छ।

पोखराबाट नयाँ पुलसम्म सवारीसाधनको सुविधा छ। नयाँ पुलबाट शुरु हुन्छ पुनहिल पद यात्रा।  पद यात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ।
समुद्री सतहबाट २९०० मिटरमा उचाइमा अवस्थित घोडेपानीबाट एक घण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ। समुद्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइको पुनहिलबाट धौलागिरी, अन्नपूर्ण माछापुच्छ्रे, निलगिरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाइन्छ। पुनहिलको अर्को विशेषता धौलागिरीमा सूर्योदयको दृश्य हेर्न पाउनु पनि हो। धौलागिरीसहित माछापुच्छ्रे र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरको थकान भुल्न सकिन्छ।

लोमाङथाङ

हिमालपारीको जिल्ला मुस्ताङ आफ्नै मौलिक संस्कृतिका कारण पनि प्रख्यात छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ। गत वर्ष करिब तीन हजार पर्यटक लोमाङाथाङ पुगेका थिए।

लोमाङथाङ जाने पर्यटकहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ। एकनासका घरहरु, घरमाथि एकनासले राखिएका दाउराका थुप्रा। यही ठाउँमा घरहरु भन्दा भिन्न, अग्लो र लामो एउटा घर जुन घरलाई देखेपछि सबैले अनुमान लगाउन सक्छन्। लोमाङथाङको पहिचान बनाएको ऐतिहासक दरबार भनेर। गुम्बाको जिल्ला भनिने मुस्ताङ जान मोटरको सुविधा छ। उक्त क्षेत्रमा जाँदा मुक्तिनाथ पनि जाने उपयुक्त गन्तव्य हो। 

लाङटाङ

वरिपरि हिमालको बीचमा हिउँले ढाकिएको बस्ती। बस्तीनजिकै मन शान्त बनाउने ७ सय वर्ष पुरानो आकर्षक गुम्बा। ऐतिहासिक तथा धार्मिक रुपमा धेरै महत्व भएपनि गुम्बा भने जीर्ण अवस्थामा। यो जीर्ण गुम्बामा बौद्ध धर्मावलम्बीहरुको गहिरो आस्था छ। जुन गुम्बा हो– रसुवाको क्यानजेन गुम्बा। बाहिरबाट हेर्दा सानो र जीर्ण देखिने गुम्बाको भित्री भाग निकै आकर्षक र सुन्दर छ। नेपालमा आउने विदेशी पर्यटकहरुको तेस्रो रोजाइमा पर्छ लाङटाङ पद यात्रा। पर्यटकको रोजाइमा सगरमाथा र अन्नपूर्ण पद यात्रापछि पर्छ, लाङटाङ पद यात्रा। हिमाली जनजीवन र हिमालको मनोरम दृश्यका लागि चर्चित छ, लाङटाङ पद यात्रा। 

हलेसी महादेव दर्शन  

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को सहकार्यमा हलेसी महादेव दर्शन टुर प्याकेज सार्वजनिक गरिएको छ। आन्तरिक पर्यटकलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त प्याकेजमा विशेषगरी धार्मिक पर्यटकहरु समावेश हुन सक्ने छन्।

खोटाङ जिल्लामा रहेको हलेसी महादेव बौद्ध धर्मालम्बीहरुका लागि समेत चर्चित क्षेत्र हो। उक्त क्षेत्रमा जान हवाइ र सडक दुवै प्रयोग गर्न सक्ने छन्। खासगरी हवाइ मार्गको प्रयोग गर्दा पहिलो दिन काठमाडांै–कटारी, जनकपुर अथवा विराटननगर जुन सुकै स्थानमा पनि जान सकिन्छ। त्यो दिन कटारीमा बसेर पहिलो दिन बास बस्नुपर्ने हुन्छ। 

जनकपुरधाम 

ऐतिहासिक मन्दिर जनपुरधाम विश्वभरका हिन्दूहरुका लागि चर्चित रहेको छ। जसमा बोर्डले तीन दिने प्याकेज सार्वजनिक गरेको छ।  जनकपुर पुगेपछि आधा दिन जानकी मन्दिर, राममन्दिर, विवाह मण्डप, राजदेवी मन्दिर लगायत क्षेत्रको अवलोकन गर्न सकिन्छ। धनुस धामको पूजा त्यसपछि सीताको विवाह भएको क्षेत्र लगायत ऐतिहासिक क्षेत्रको अवलोकन गर्न सकिन्छ। 

कोशी क्षेत्रको अवलोकन 

कोशी क्षेत्रमा जान पनि हवाई र सडक दुवै मार्गको प्रयोग गर्न सक्दछन्। पाँच दिनसम्म सञ्चालन हुने प्याकेज हो। काठमाडौंबाट विराटनगर हवाई मार्गमार्फत पनि जान सकिन्छ। आधा दिन नजिकमा क्षेत्रहरुको अवलोकनका साथै सोही दिन ६० किलोमिटर दूरी पार गर्दै कोशी टप्पु क्षेत्रमा जान सकिन्छ। सो दिन सोही क्षेत्रमा बसोबास गरेर कोशी टप्पुबाट फर्किएपछि बराह क्षेत्रको अवलोकन गर्न सकिन्छ। त्यसका साथै सप्तकोशी नदीको बाँधस्थल लगायत अन्य क्षेत्रको अवलोकन र सोही दिन भेडेटारमा बसेर नाम्जे भिलेज, पानी ट्यांकी डाडाँ, धनकुटा तथा नमस्ते झरनाको अवलोकन गर्न सकिन्छ।  पार्खीबास गाउँको अवलोकन तथा पाँच किलोमिटर दूरीमा रहेको हिले बजारको अवलोकन पनि गर्न सकिन्छ।

प्रकाशित मिति: १०:०७ बजे, शुक्रबार, असोज १७, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्