सी-विचारधारा कसरी बन्ला नेकपाको मार्गदर्शन?
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल। जनवादी गणतन्त्र चीन। अलग-अलग शासन व्यवस्था भएका यी दुई देशबीच एउटा समानता छ- दुवै
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल। जनवादी गणतन्त्र चीन। अलग-अलग शासन व्यवस्था भएका यी दुई देशबीच एउटा समानता छ- दुवै देशको कार्यकारी प्रमुख कम्युनिज्ममा विश्वास गर्छन्। दुवैले १९सौँ शताब्दीका महान् दार्शनिक कार्ल मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छन्। सन् १८४८ मा मार्क्सले जारी गरेको कम्युनिष्ट घोषणापत्रलाई मार्गदर्शक सिद्धान्त मान्छन्। सिद्धान्ततः भन्दा दुवैको सुदूर गन्तव्य साम्यवादलाई स्वीकारेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना त्यही वर्ष भएको हो, जहिले चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) जनवादी क्रान्ति सम्पन्न भयो। अर्थात्, चीनको कम्युनिष्ट सत्ता र नेकपाको उमेर उत्तिकै छ। यो ७० वर्षको अन्तरालमा पहिलोचोटी पार्टीको तहमा संयुक्त रूपमा ‘विचारधारात्मक छलफल’ भएको नेकपाले जनाएको छ। कार्यक्रमपछि पार्टीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ। आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ।’
अध्यक्षद्वय केपी ओली र प्रचण्डकाे उपस्थितिमा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चीनियॉ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले हस्ताक्षर गर्नुभएको समझदारी-पत्रमा ६ बुँदा उल्लेख छन्– उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन । यी सबै यसबीच हुँदै आएका कुरा हुन् ।
काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल ‘याक एण्ड यती’मा असोज ६ र ७ गते ‘विचारधारात्मक छलफल’ कार्यक्रम भयो। त्यसमा सहभागी हुन आएका सीपीसीका विदेश विभाग प्रमुख सुन ताओ फर्किसकेका छन् तर नेपालमा त्यसको प्रभावबारे बहस जारी छ। कांग्रेसका कतिपय नेताहरूले यतिसम्म भनेका छन्, ‘नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संस्था बनाइयो, नेकपाले चिनियाँ हस्तक्षेप निम्त्यायो।’ नेकपाको आयोजक पक्ष भन्छ– ऐतिहासिक छलफल भयो। कार्यक्रमको अन्त्यमा दुई पार्टीका विदेश विभाग प्रमुखले लिखित सम्झौतापत्रमा हस्ताक्षर गरे। ७० वर्षपछि भाइचारा सम्बन्ध स्थापना भएको घोषणा गरेका छन्।
आयोजक थियो- नेकपाको स्कुल विभाग। आमन्त्रित थिए, सीपीसीका विदेश विभाग प्रमुख। अर्थात्, समकक्षी थिएनन् आमन्त्रित। तर, त्यसलाई सम्झौता गर्ने समयमा भने मिलाइयो- नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सुन ताओले हस्ताक्षर गरेर। पार्टीका एकतिहाइ केन्द्रीय सदस्यलाई मात्र सहभागी गराइनु, राजधानीको पाँचतारे होटेलमा सिंगै नेकपाको शीर्ष नेतृत्व सम्पूर्ण शक्तिसहित कार्यक्रम गरिनु, ठूलो हल्लाखल्ला हुनु र सम्झौतामा हस्ताक्षरसमेत गरिनुले देशको प्रतिपक्षी दलसहित दक्षिणको छिमेकी र कम्युनिष्ट विरोधी पश्चिमेली देशहरू सशंकित भएका हुन्। त्यसैले कतै पश्चिमको प्रिय नभइने त होइन भनेर नेकपाकै केही नेताहरूले सामाजिक सञ्जालमार्फत् घुमाउरो भाषामा विमति पनि सार्वजनिक गरेका छन्।
नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले विज्ञप्ति जारी गरी दुई पार्टीबीच भएको दुईदिने विचारधारात्मक छलफलले आपसी सम्बन्ध थप मजबुत बनाएको उल्लेख गरेका छन्। तर, प्रचार विभाग प्रमुखसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने यस्तो ट्वीट गरे, ‘सी जिङपिङ विचारधार चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण मार्गदर्शक सिद्धान्त हो, हाम्रो हैन। हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिष्ट मोम्ट तथा समाजबाट सिक्न तयार छौँ तर हामी नक्कल गर्दैनौँ। यहाँ कुनै द्विविधा छैन।’
प्रचार विभाग र प्रचार विभाग प्रमुखकै अलग–अलग भनाइ आएको देखिन्छ। बुझ्न सकिन्छ– प्रवक्ताकाे ट्वीट सार्वजनिक खपतका लागि हाे तर पनि यसले थप भ्रम सिर्जना गरेको छ। कि, नेकपाले पनि मार्गदर्शक सिद्धान्त सी विचारधारालाई बनाउन लागेकाले प्रवक्ताले त्यसमा फरकमत देखाउन खोजेका हुन्, त्यो बुझ्न कठिन छ। नत्र ‘जनताको जनवाद’ मार्गदर्शक सिद्धान्त भएको पार्टी नेकपाका प्रवक्ताले ‘सी विचारधारा’ हाम्रो हैन, चीनियाँको हो भनेर अभिव्यक्ति दिनु भनेको पुराना वामपन्थी नेता चित्रबहादुर केसीका शब्दमा भन्दा ‘सिरकले छोपेको बिरालो म्याउ गरेको’ त हैन? प्रश्न गर्ने ठाउँ छ ।
उद्घाटन समारोहमा पार्टी उपाध्यक्ष वामदेव गौतमबाहेक सचिवालयका सबै सदस्य मञ्चमा आसिन थिए। गौतम भने अस्वस्थ भएको जानकारी कार्यक्रममै गराइएको थियो। भलै, सम्बोधन भने अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले मात्र गर्न पाएका थिए। नेपाली र चिनियाँ राष्ट्रिय गान बजाउँदा त्यहाँ उपस्थित सबै उठेकै थिए। सी जिङपिङ विचारधारा नेकपाको पनि विचारधारा बनाउनका लागि त्यो कार्यक्रम आयोजना गरिएको भनेर कसैले पनि त्यहाँ भनेको थिएन। अनि फेरि यो स्पष्टीकरण कसका लागि? यो शैली पोखरीभित्रै डुबेर पनि म ओभानो छु भनेर दाबी गर्ने ‘दोहोरो चरित्र’ को प्रस्तुतिबाहेक केही हुन सक्दैन।
नेकपाका केन्द्रीय सचिवालय, स्थायी कमिटीका सबै जनासहित करिब दुई सय केन्द्रीय नेता सहभागी दुई दिने विचारधारात्मक आदानप्रदान कार्यक्रममा सीपीसीका विदेश विभाग प्रमुख सुन ताओसहित सीपीसीका १० जना सहभागी थिए। चिनियाँ पक्षले प्रस्तुत गरेका कार्यपत्रमा जम्मा तीन विषय थिए- (१) बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) के हो? (२) चिनियाँ कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेको ७० वर्षमा गरिबीको अन्त्य कसरी गरे? (३) करिब नौ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीमा अनुशासन कसरी कायम हुनसकेको छ?
उक्त ‘विचारधारात्मक छलफल’मा चिनियाँ पक्षले आफ्नो अनुभव नेकपाका नेता–कार्यकर्तासँग साटेका थिए। त्यसबाहेक न चिनियाँ कम्युनिष्ट पार्टी वा न नेपाल कम्युनिष्ट पार्टी– दुवैलाई तत्काल लाभ वा हानी हुने कुनै पनि कुरा त्यहाँ भएको देखिँदैन। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही कुरा भने जुन यसअघिका सरकार प्रमुखले पनि भने, ‘नेपाल एक चीन नीतिको पक्षमा छ। नेपालको धर्ती र आकाश चीनविरोधी कुनै पनि गतिविधिमा प्रयोग हुन दिँदैनौँ। असंलग्नताको सिद्धान्तका आधारमा भाइचारा कायम राख्छौँ।’
चिनियाँ पक्षको त झन् एकदमै प्रष्ट कुरा हुन्छ। उनीहरूको औपचारिक मञ्च र अनौपचारिक छलफलमा भन्ने फरक–फरक कुरा नै हुँदैन। द्विपक्षीय सम्बन्धका विषयमा गैरकम्युनिष्ट पार्टी– नेपाली कांग्रेस र नेकपासँग भन्ने कुरा एउटै हुन्छ– दुई देशका सम्बन्धबारे। विगतदेखिको चिनियाँ शैलीलाई हेर्ने हो भने चीन सधैँ देशको बलियो संस्थापन पक्षसँग निकट हुन चाहन्छ। पञ्चायतकालमा राजासँग, त्यसपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग अत्यन्त निकटता राख्थे चीनियाँ नेताहरू। अहिले झण्डै दुईतिहाई बहुमतसहित बलियो सत्तारुढ दल नेकपासँग उसको निकटता स्वाभाविक हो। यसको मतलब प्रमुख प्रतिपक्षी दल कांग्रेससँग पनि उत्तिकै सम्बन्ध राख्छन्– चिनियाँहरू। त्यसैले नेकपासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको विषयमा कतिपय कांग्रेस नेताले गरेको टिप्पणी आन्तरिक राजनीतिक लाभका लागि मात्र हो भन्ने सहजै बुझ्न सकिन्छ।
सन् २०१३ पछि सर्वोच्च चिनियाँ नेताका रूपमा उदाए– सीपीसीका महासचिव एवम् वर्तमान राष्ट्रपति सी जिङपिङ। उनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)बारे संसारभरिका विश्वविद्यालय र राजनीतिक दलभित्र बहस र छलफल भइरहेको छ। छिमेकी भारतमा पनि यसबारे छलफल भइरहेका छन्। विभिन्न क्रिश्चियत संघ–संस्थासँग पनि चिनियाँहरूले बीआरआईबारे छलफल जारी राखेका छन्। चिनियाँहरू प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि बीआरआईबारे छलफल गर्न चाहन्छन्। स–साना समूहमा छलफल गरिरहेका पनि छन्।
अमेरिकाले अघि सारेको ‘इण्डो प्यासिफिक रणनीति’लाई चुनौती दिन बीआरआई अघि सारेको बुझाइ संसारभर छ। चीनमा अध्यक्ष माओ र अर्का नेता देङ सियाओपिङपछिका सबैभन्दा शक्तिशाली नेताका रूपमा उदाएका राष्ट्रपति सीले विभिन्न राजनीतिक प्रणाली अपनाएका एसिया, अफ्रिका र युरोप गरी करिब ७० देशका लगभग संसारको झण्डै दुईतिहाई जनसंख्या जोड्ने ‘बीआरआई’ रणनीतिबारे निकट छिमेकी नेपालमा छलफल हुनु झन् स्वाभाविक हो।
नेकपासँगको ‘विचारधारात्मक छलफल’पछि राजनीतिक क्षेत्रमा यत्ति धेरै अन्याेल र आशंका सिर्जना हुनुमा केही वास्तविकताले काम गरेको छ। यसका लागि मुख्य कारण नेपालको भूराजनीतिक संवेदनशीलताका नै हो। यसबाहेक नेकपाको आन्तरिक राजनीतिका कारण आयोजक पक्षले गरेको तामझामले पनि यो अन्याेल र आशंकामा बल पुर्याएको छ।
‘याक एण्ड यती’ होटलमा कार्यक्रम हुनुभन्दा दुई दिनअघि पनि प्रज्ञा भवनमा यस्तै कार्यक्रम भएको थियो। घनश्याम भुसाल संयोजक रहेको ‘कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति’ आयोजक रहेको उक्त छलफलमा चिनियाँ चाहिँ सहभागी थिएनन्। तर, बीआरआईबारे करिब पाँच सय सहभागीलाई पढाइएको थियो। भुसालको त्यहाँ प्रस्तुत कार्यपत्रले नेकपा नेताहरूलाई राम्रो ‘रेफरेन्स’को काम गरेको याक एण्ड यतीको उद्घाटन समारोह गरिएको भाषण सुन्दा अनुभूति हुन्थ्यो।
याे पनि पढ्नुस् : सी जिनपिङ पथ पढाउन नेकपाभित्र होडबाजी
साविक माओवादी पक्षको योजनाबद्ध र कडा अवरोध छिचोलेर पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी पाएका साविक एमाले महासचिव एवम् सचिवलय सदस्य ईश्वर पोखरेलले ‘विचारधारात्मक छलफल’मा यस्तो तागत देखाइदिए, जसका कारण यो छलफल अलि बढी नै तामझामपूर्ण भएको देखिएको छ। आफूलाई ‘माओवादी’ भन्ने र चीनसँग ‘विशेष सम्बन्ध’को दाबी गर्ने गर्थे साविक माओवादीकेन्द्रका नेताहरू। त्यो बलसमेत देखाएर स्कुल विभागको दाबी गर्ने साविक माओवादी नेताहरूलाई स्कुल विभाग प्रमुख भएका पोखरेलले ‘तागत देखाइदिएजस्तो’ देखिन्थ्यो– त्यहाँको प्रस्तुति हेर्दा।
समारोह अत्यन्त भव्य थियो। सीपीसीका विदेश विभाग प्रमुखलाई नै अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। उद्घाटन समारोहको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै बनाइदिए, अर्का अध्यक्ष प्रचण्डलाई बनाएनन्। प्रचण्डले अतिथिका रूपमा उद्घाटन समारोहमा सम्बोधन गरे, जसको सभापति पोखरेल थिए। अनि चिनियाँ नेतासामु ‘जनताको जनवाद’को व्याख्या गर्ने क्रममा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले ‘जनताको बहुदलीय जनवाद’का विशेषताहरू सविस्तार व्याख्या गरे। पार्टीका सबै केन्द्रीय सदस्यसहित सामान्य कार्यक्रम गरेको भए अवश्य यत्ति चर्चा र आशंका हुँदैनथ्यो। आन्तरिक प्रतिस्पर्धाले पनि यो कार्यक्रमको बढी नै चर्चा भएको हो। यसले देश र आम नागरिकलाई तत्काल कुनै लाभ वा हानी गर्दैन।
विचारधारात्मक छलफल त्यस्तो बेलामा गरिएको छ, जतिबेला चिनिया राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारीमा छन्। कार्यक्रममा चिनियाँ पक्ष साविक माओवादी अध्यक्ष प्रचण्डभन्दा प्रधानमन्त्री केपी ओलीप्रति नै भरोसा राख्छ भन्ने पनि देखिएको छ। दक्षिणी छिमेकी र पश्चिमी शक्ति राष्ट्रहरूले गर्न सक्ने ‘टिप्पणी’को पर्वाह नगरी अर्का अध्यक्ष प्रचण्ड हुँदाहुँदै प्रधानमन्त्री ओली स्वयम् बिनापर्वाह कार्यक्रममा सहभागी हुनुले पनि यसैलाई पुष्टि गर्छ। नेपालमा पनि कम्युनिष्ट पार्टी नै सत्ताको नेतृत्व गरिरहेको बेला चिनियाँ राष्ट्रपतिको भ्रमणको संघारमा चिनियाँ नीतिबारे छलफल हुनु स्वभाविकै हो।
अर्को पक्षलाई शक्ति देखाउन तामझाम गर्दा त्यसबाट पर्नसक्ने नकारात्मक प्रभावबारे सचेत हुनु त आवश्यक छ नै तर आफूलाई राष्ट्रवादी देखाउन गरिने सस्ता टिप्पणीले पनि थप भ्रम सिर्जना गर्ने काम गर्छ। अर्को पक्षलाई टिप्पणी गरेर वा सस्तो लोकप्रियता आर्जन गर्न ‘सार्वजनिक खपतका लागि’ दिइने अभिव्यक्तिले राष्ट्रियताको जगेर्ना हुन सक्दैन।
सी–विचारधारा विशुद्ध चीनियाँ अनुभवमा आधारित छ । अध्यक्ष माओको नेतृत्वमा भएको नौलो जनवादी क्रान्ति र कठिन सांस्कृतिक क्रान्तिले चीनियाँहरूलाई कर्तव्यनिष्ठ र सुसंस्कृत बनाएको थियो । माओपछिका सर्वोच्च नेता देङ सियाओ पिङको खुला अर्थनीतिपछि चीन विश्वमा आर्थिक शक्तिका रूपमा उदायो । माओ र देङको विचारधारको जगमा खडा भएको छ– सी विचारधारा । माओ र देङ गरीब किसान चीनियाँका नेता थिए । माओ र देङपछि राष्ट्रिय गानमा नाम समेटिएका शक्तिशाली सर्वोच्च नेता सी चाहिँ प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर भएका चीनियाँ जनताका नेता हुन् ।
सी–विचारधारा संसारको पहिलो जनसंख्या र दोस्रो ठूलो अर्थतन्त्र भएको र पहिलो अर्थतन्त्र हुने घोषणाका साथ अघि बढेको देश र त्यहाँका जनताको लागि हो । अहिलेका नेपाली विश्व बजार देखेको छ । लोकतन्त्र र स्वतन्त्रता भोगेको छ । सामाजिक–आर्थिक स्तर चाहिँ सांस्कृतिक क्रान्ति ताकाका चीनियाको भन्दा तल छ । यस अवस्थामा वर्तमान चीनको मार्गदर्शन बनेको सी– विचारधारा नेकपाको मार्गदर्शक सिद्धान्त हुन सक्दैन ।यसलाई मार्गदर्शक सिद्धान्त बनाउने कसैले सोचेको छ जस्तो पनि लाग्दैन । त्यो हाम्रो लागि केवल सन्दर्भ सामग्री हो ।