अहिलेको तीज के तीज? उहिलेकाे तीज पाे तीज!
काठमाडौं, भदौ १६ : काठमाडौंका पार्टी प्यालेस र होटेल एक सातादेखि तीजको दर पार्टीले भरिभराउ छन्। रातो
काठमाडौं, भदौ १६ : काठमाडौंका पार्टी प्यालेस र होटेल एक सातादेखि तीजको दर पार्टीले भरिभराउ छन्। रातो सारी र गहनामा छपक्कै सजिएका महिलाले तीज आउनु अगावै पार्टी प्यालेस भरिन थालेका थिए।
हाम्रा परम्पराका आफ्नै महत्व र महिमा छन्। तर कतै संस्कृतिको नाममा विकृति त भित्रिएको छैन?
महिलाले पार्टी प्यालेस र होटेलमा तीजको पार्टी मनाइरहँदा आजभन्दा चार-पाँच दशकअघि मनाउने तीजलाई भने फरक तरिकाले सम्झन्छन् सात दशक पार गरेकाे हजुरआमाहरु।
झापाको दमक नगरपालिका-१० की नरमाया विष्ट तीजलाई माइती भेटाउने चाडको रुपमा लिने गरेकाे बताउँछिन्।
झापाबाट पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएकी उनलाई तपाईँको पालामा तीज कसरी मनाउनुहुन्थ्यो? भनेर सोधेका थियौं। उनले भनिन्, ‘कति रमाइलो कति नी, वर्षौपछि तीजको बेला आमाबुबा, साथीसंगीहरुसँग भेट हुन्थ्यो।’
तीजले महिलालाई एक खालको बन्दनबाट मुक्त भएकाे महसुस गराउने र आनन्द दिने उनको अनुभव छ।
‘पोइली घरमा पेटभरी खान नपाउनेहरु तीजमा माइती आउँदा त अनेकथरि बनाएर पेटभरी खान्थ्यौं। अनी हामीलाई त्यहीँ रमाइलो हुन्थ्यो नी,’ उनले भनिन्।
सात दशक पार गरेकी उनी अहिलेको तीज के को तीज भन्दै पन्छिन्छिन्। ‘हाम्रा पालामा जस्तो तीज अहिले कहाँ छ र? अहिले त के-के गाउँछन् के-के खान्छन्,’ उनले भनिन्।
त्यतिबेला चेलीबेटीले माइती जानकै लागि पनि चाडपर्व नै कुर्ने गरेकाे उनले सुनाइन्। ‘तीजमा माइती जाने आशले दिन, महिना गनेर बस्थ्यौं। गाउँमा कसैका माइती लिन आएको सुन्दा मलाई लान कहिले आउँलान् भनेर बाटो हेर्थ्यौं,’ उनले स्मरण गरिन्।
भिडियाे रिपाेर्ट
नरमायाको पालामा मनाइने तीज र अहिले मनाइने तीजमा धेरै फरक छ। ‘हामी तल्लो माथ्लो घरका दिदीबहिनीको तीजमा भेट हुन्थ्यो। बिरहका गीत रचेर कसैले गाउँथे, कोही नाच्थे, कसैले मादल बजाउँथे। अहिलेको जस्तो कहाँ थियो र बाबै त्यतिखेर,’ उनले भनिन्।
रसुवाकी ७५ वर्षीया उर्मिला बस्नेत पनि अहिले काठमाडौंको पशुपतिमा रहेको बृद्धआश्रममा बस्छिन्। उनी पनि आफ्ना पालाकाे जस्तो रमाइलो अहिले नभएको सुनाउँछिन्। ‘दिनमा त नाच्न कहाँ फुर्सद हुन्थ्यो र? दिनभरी बस्तुभाउलाई घास काट्यो, साँझ खाना खाइवरी बल्ल नाच्न सुरु गथ्यौं,’ उनले भनिन्।
उहिलेका गीत पनि बिरहका हुन्थे। उनी भन्छिन्, 'गीत सुन्दा मन रुन्थ्यो, अहिले त न गीत बुझिन्छ, न केही रमाइलो लाग्छ।'
धादिङकी ७० वर्षीया मैया न्यौपाने उहिलेको तीज बेग्लै हुने गरेको सुनाउँछिन्। ‘अघिपछि ढिडो खाएपनि तीजका बेला भात खाइन्थ्यो, कुराउनी पकाएर खाइन्थ्यो। रमाइलो नै हुन्थ्यो,’ उनले भनिन्।
त्यतिबेलाका तीजका गीत उनले गाउँदै सुनाइन्।
आयो तीज भन्दा न्दै गयो डाँडा पारी,
हलौं हलौं गयो वर्षा वनमा भयो झरी।
फेरि फर्की जान पर्याे त्यहीँ साैताको घर,
मेरो छाती चिरिएर आँछ चररर।
मरौ भने आउँदैन काल, बाँचौ भने सधैंको यो चाल ...
उर्मिला, नरमायाको पालामा जस्तो तीज अहिले पक्कै पनि छैन। समयसँगै तीज पनि बद्लिँदै गएकाे छ।
अहिले हरेक ठाउँमा आयोजना गरिएका तीज कार्यक्रममा तीजका गीतमा नभई हिन्दी, अंग्रेजी, र्याप गीतमा नाचिरहेको देखिन्छ।
हुन त पछिल्लो समय नेपालमा मनाइने हरेक चाडपर्वको राैनक बदलिँदै गएको छ। तीज आउनु अगावै दरका लागि तारे होटेलदेखि पार्टी प्यालेससम्म बुकिङ हुन्छन्। यसले पनि समाज र हाम्रो संस्कृति कतातिर जाँदै छ भन्ने चिन्ताको विषय रहेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको भनाइ छ।
राष्ट्रकवि घिमिरेले तीजमा दिदीबहिनीले रमाइलो गर्ने चलन राम्रो भए पनि तडकभडक गर्नु नहुने बताउँछन्।