Kathmandu Press

‘म द्वन्द्वकालमा बलात्कृत भएँ, के मैले न्याय पाउँछु त?’

काठमाडौं, भदाै १४ : दश वर्षे द्वन्द्वकालमा धेरै नेपाली महिला बलात्कारको शिकार बने। कोही माओवादी

‘म द्वन्द्वकालमा बलात्कृत भएँ, के मैले न्याय पाउँछु त?’

काठमाडौं, भदाै १४ : दश वर्षे द्वन्द्वकालमा धेरै नेपाली महिला बलात्कारको शिकार बने। कोही माओवादीबाट, कोही सेनाबाट।

त्यो अँध्यारो कालखण्डमा ठ्याक्कै कति महिला बलात्कृत भए? यकिन तथ्याङ्क कोहीसँग छैन। 

सङ्क्रमणकालीन न्यायको क्षेत्रमा कार्यरत संस्थाहरूले केही पीडितहरूलाई सघाइरहेका छन्। तर, कतिपय पीडितहरू अझै न्यायको खोजीमा बाहिर आउन सकेका छैनन्। तिनैमध्ये एक हुन् – कालिकोटकी पवित्रा (नाम परिवर्तन)

हालै काठमाडौंप्रेसको सम्पर्कमा आएकी पवित्राले सोधिन्, ‘म्याडम, त्यो बेलाको घटनाको विषयमा अहिले पनि उजुरी दिन मिल्छ र?’

उनले थपिन्, ‘न्यायका लागि कहाँ जानुपर्छ? के गर्नुपर्छ? मलाई केही थाहा छैन। मेरो आफ्नो भन्नु कोही छैन। सुर्खेतमा एउटा दिदी हुनुहुन्छ। उहाँले धेरै सहयोग गर्नुभयो। तर, सधैं उहाँलाई कति दुःख दिनु जस्तो लाग्छ। तपाईँ सहयोग गर्नुहोस् न है, म उजुरी दिन्छु।’

घटना २०५८ फागुनको हो। गते उनलाई ठ्याक्कै थाहा छैन। माओवादीले अछामको मंगलसेन र साँफेमा भर्खरै आक्रमण गरेका थिए। 

उनी त्यो दिन गाईवस्तु चराउन घरछेवैको जङ्गल गएकी थिइन्। साथमा उनकी ठूली आमा र छिमेकी भाइ थिए। गाईगोरु चर्दै थिए। उनले कतैबाट बुट बजार्दै केही मानिसहरू आइरहेको सुनिन्। 

अडियाेमा सुन्न तलकाे लिंक प्ले गर्नुहाेस्

त्यस बेला कालिकोट माओवादीको किल्ला थियो। दिनहुँ गाउँमा माओवादीहरू आइरहन्थे। कार्यक्रमहरू गरिरहन्थे। गाउँमा उमेर पुगेका सबैलाई माओवादीले छापामार बनाइसकेका थिए। कसैलाई सम्झाएर त कसैलाई जबर्जस्ती। 

तर, उनी माओवादीको आँखामा परेकी थिइन्। किनकि, उनी त्यो बेला सानै थिइन्। त्यस्तै १३÷१४ वर्षकी। गाउँमा माओवादीहरू आइरहने भएकोले त्यो बुटको आवाज पनि छापामारहरूकै भएको उनले ठानिन्।

तर, उनीहरू सैनिक रहेछन्। उनीहरूले चार जनालाई माओवादी भन्दै पक्राउ गरेर ल्याएका थिए। पवित्रा, ठूलीआमा र छिमेकी भाइलाई पनि ‘तिमीहरू माओबादी हौँ’ भन्दै तर्साउन थाले। 

सेनाले उनीहरू सबैलाई समाते र आँखामा पट्टी बाँधे। अरुलाई खै कता लगे कुन्नि, उनलाई भने जङ्गलमै रहेको एउटा पुरानो भत्केको छानामुनि लगियो। त्यहीँ उनलाई सात जना सैनिकले पालैपालो बलात्कार गरे।

पवित्रा त्यो त्रासदिपूर्ण क्षण सम्झदै भन्छिन्, ‘मैले माथि चोलो र तल गुन्यू लगाएकी थिएँ। सातै जनाले मेरो शरीर छाम्न थाले। म रोएँ, तर मलाई सुन्ने कोही थिएन।’ 

बलात्कारपछि उनी वेहोस भइन्। कति घण्टापछि होस आयो, उनलाई थाहा भएन। उनी होसमा आउँदा उनकी ठूली आमा कराउँदै थिइन्, ‘बरु मलाई मार्नुहोस्, तर यो बालकलाई किन यस्तो गरेको?’

उनको शरीर रगतले भिजेको थियो। सेना त्यहीँ थिए। अघि पक्राउ गेर ल्याएका मानिसलाई केरकार गर्दै थिए। उनी सकिनसकी उठेर भागिन्।

उनी भन्छिन्, ‘सायद त्यो दिन नभागेको भए मलाई मार्थे होलान्। अहिले लाग्छ, किन भागेर आएछु। बरु, मरेकै भए वेश हुन्थ्यो।’

घर पुगेर आमाबुवालाई घटनाबारे बताउन सकिनन्। साँझ ठूली आमा घर आइसकेपछि उनैले सबै कुरा बेलीबिस्तार लाइन्। आमाबुवाले आँशु झारे, तर त्यो बाहेक अरु केही गर्न सकेनन्। 

पवित्राले ४ कक्षासम्म मात्र पढेकी छिन्। भन्छिन्, ‘७ जना भाइबहिनीमध्ये सबैभन्दा जेठो मै थिएँ। भाइबहिनी हेर्नुपर्ने, गोठालो जानुपर्ने भएकाले स्कुल नै जान पाइनँ। पढाइ छोडेँ। ’

२०६३ सालमा नेपालमा शान्ति प्रक्रिया सुरु भयो, तर उनको जिन्दगीमा शान्ति आएन। उनले दैलेखका जय सञ्जेलसँग बिहे गरिन्। तर, बिहेपछि सञ्जयले उनको कहालीलाग्दो विगतबारे थाहा पाए। त्यसपछि पवित्रालाई सहानुभूति दिनुको सट्टा उनी विहे तोडेर भागे। 

श्रीमान भागेपछि उनी दैलेख बस्न सकिनन्। तर, पेटमा सञ्जेलको बच्चा हुर्किदै थियो। पवित्रा गर्भमा दुई महिनाको बच्चा बोकेर माइत फर्किन्। कालिकोटमै उनको छोरा जन्मियो। तर, गाउँमा कुरा काट्नेहरू धेरै थिए। उनी कालिकोट बस्न सकिनन्। छोरा बोकेर सुर्खेत पुगिन्।

सुर्खेतम गाउँमै चिनेको एक महिला भेटाइन्। उनैको घरमा काम गरेवापत बस्न, खान पाइन्। 

३ वर्ष जति त्यहाँ बसेपछि उनी डेरा लिएर बस्न थालिन्, मजदुरी काम गर्दै। सुत्केरी हुँदा पनि गाह्रो काम गर्नुपरेकोले उनको पाठेघरसमेत खस्यो, तर उनले आफ्नो पीडा कतै सुनाउन पाइनन्। 

एक दिन द्वन्द्वपीडित साझा चौतारीका कर्णाली प्रदेश संयोजक शितल सिंहसँग उनको भेट भयो। उनले द्वन्द्वकालमा भोगेको सबै पीडा सुनाइन्। सिंहकै सहयोगमा काठमाडौंबाट डाक्टरहरू आएको बेला उनको पाठेघरको मुखमा रिङ राखियो।

उनी भन्छिन्, ‘मेरो लागि शितल दिदीले धेरै गर्नुभएको छ, तर कहिलेसम्म उहाँको सहयोग लिइरहने?’  

पवित्राको छोरालाई अहिले सुर्खेतमै रहेको एउटा असहाय बालबालिका पढाउने विद्यालयमा भर्ना गरिएको छ। उनी अहिले कक्षा ५ मा पढ्छन्। 

छोराको पढाइका लागि पनि उनले उत्तिकै संघर्ष गर्नु प¥यो। छोराको जन्मदर्ता थिएन। भाइको सहयोगमा दैलेखमा जन्मदर्ता बनाउन जाँदा उनका श्रीमानले जन्मदर्ता नै दिन मानेनन्। जन्मदर्ता नहुँदा उनको छोराको पढाई दुई वर्ष ढिलो भयो।

गाउँले र माइतीको दबाबपछि सञ्जेलले जन्मदर्ता त बनाइदिए, तर पवित्राको नाममा नभएर कान्छी श्रीमतीको नाममा। आफूसँग भएको एक छोरा पनि जन्मदर्तामा अर्कैका छोरा भएको थाहा पाएपछि उनले फेरि शितल सिंहलाई यो कुरा सुनाइन्। 

सिंहको दबाबमा सञ्जेल अर्को जन्मदर्ता बनाउन राजी भए। जन्मदर्ताको समस्या त समाधान भयो, तर उनलाई जीवन धान्न पनि समस्या छ। उनी भन्छिन्, ‘साँझ बिहान समेत के खाने भन्ने पीर छ। भारी बोक्न मिल्दैन, अरु काम पाउँदिनँ।’

उनी सोध्छिन्, ‘के मैले न्याय पाउँछु त?’

प्रकाशित मिति: १०:१० बजे, शनिबार, भदौ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्