स्यानिटरी प्याडको सट्टा ‘मेन्स्ट्रुअल कप’
काठमाडौं, भदौ ६ : महिनावारी हुँदा प्रयोग हुने स्यानिटरी प्याडलाई सरकारले प्रत्येक स्कुलमा पुर्य
काठमाडौं, भदौ ६ : महिनावारी हुँदा प्रयोग हुने स्यानिटरी प्याडलाई सरकारले प्रत्येक स्कुलमा पुर्याउने कार्यक्रम ल्याएको छ। स्थानीय र प्रदेश सरकारहरूले पनि स्यानिटरी प्याडको प्रयोगलाई सहज बनाउन कार्यक्रमहरू ल्याइरहेका छन्।
ग्रामीण भेगसँग स्यानिटरी प्याड नपुग्दै नयाँ सामग्री आएको छ, ‘मेन्स्ट्रल कप’। अब स्यानिटरी प्याडको सट्टा मेन्स्ट्रुअल कपको चर्चा हुन थालेको छ। शहरी क्षेत्रमा यसको प्रचारप्रसार पनि गर्न थालिएको छ।
यसलाई मेरी स्टोपले नेपालमा भित्र्याएको छ। सन् २०१८ नेपाल भित्रिएको मेन्स्ट्रुअल कपको माग पनि बढ्दै गइरहेको छ।
प्रजनन् स्वास्थ्यबारे काम गर्दै आइरहेको मेरी स्टोपले पछिल्लो समय महिनावारी हुँदा प्रयोग गरिने कपबारे जानकारी दिइरहेको छ। के हो मेन्स्ट्रुअल कप? यो कसरी नेपाल भित्रियो? यसका फाइदा–बेफाइदा के छन्? यस्तै विषयमा मेरी स्टोपका मार्केटिङ परामर्सदाता सन्तोस शर्मासँग कुराकानी गरेर यो सामग्री तयार पारेका छौं।
के हो मेन्स्ट्रुअल कप?
मेन्स्ट्रुअल कप भनेको महिनावारी भएको बेला रगतलाई व्यवस्थापन गर्न महिलाले प्रयोग गर्ने कप हो। यो सिलिकनले बनेको हुन्छ।
महिनावारीको समयमा यसलाई यौनाङ्गबाट पाठेघरको मुखसँग पुग्ने गरी राख्ने गरिन्छ। रगतले कप भरिएपछि यसलाई निकालेर रगत फाल्ने र फेरी सफा गरेर राख्ने गरिन्छ।
यो विवाहित र अविवाहित महिलाका लागि फरक–फरक हुन्छ। विवाहित महिलाको लागि ठूलो र अविवाहितको लागि सानो आकारको हुन्छ।
नेपालमा मेरी र रुबी दुइटा कप आएका छन्। डेनमार्क र लन्डनबाट आउने कप धेरैजसो खेलाडी, प्रहरी र कार्यालयमा काम गर्ने महिलाले प्रयोग गरिरहेका छन्।
कपको मूल्य एक हजार ६ सयदेखि दुई हजारसम्म पर्छ। यो महंगो त भएन र भन्ने प्रश्नमा सन्तोसले भने, ‘बजारमा पाइने स्यानिटरी प्याडभन्दा सस्तो पर्छ।
मेन्स्ट्रुअल कपको मूल्य महिलाले ६ महिनासम्म प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य जति नै पर्छ। यो एकैपटक किन्दा महंगो देखिए पनि १० वर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले प्याडभन्दा सस्तो हुन्छ।’
स्यानिटरी प्याड र मेन्स्ट्रुअल कपमा के फरक छ?
बजारमा पाइने स्यानेटरी प्याड एक पटक प्रयोग गरिसकेपछि फेरि प्रयोग गर्न मिल्दैन तर, यो कप १० वर्षसम्म प्रयोग गर्न सकिन्छ। बजारमा पाइने प्याडमा केमिकल हुन्छ भने कपमा कुनै केमिकल मिसाएको हुदैन।
प्याड प्रयोग गरिसकेपछि डिस्पोजल गर्न समस्या हुन्छ। तर कप प्रयोग गरिसकेपछि तातोपानीमा १० मिनेटसम्म उमालेर राख्यो भने अर्को पटक प्रयोग गर्न सकिन्छ।
कसरी प्रयोग गर्ने?
कपको मुखलाई पल्टाएर सानो बनाउने, ‘सी’ आकारको। यौनाङ्गबाट बिस्तारै पाठेघरको मुखसम्म पुर्याउनु पर्छ। त्यसपछि आफ्ना दैनिक कामकाज गर्न सकिन्छ। रगतले भरिसकेपछि कपको तलपट्टी हातले दबाउने, बाहिर निकाल्ने।
यसलाई सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ। तातोपानीमा उमालेर सफा गर्नुपर्छ। सानो सुर्केथैली बनाएर त्यसमा सुरक्षित राख्न सकिन्छ।
महिलाको प्रतिक्रिया के छ?
यसको प्रयोग गर्ने महिलाहरूले प्याडभन्दा सहज भएको बताएका छन्। सन् २००२ की मिस नेपाल माल्भीका सुब्बा स्यानिटरी प्याडभन्दा मेन्स्ट्रुअल कप सहज र सस्तो भएको बताउँछिन्। उनी भन्छिन्, ‘पहिले स्यानिटरी प्याड नै प्रयोग गर्थें तर, जबदेखि कपबारे थाहा पाएँ, बुझेँ, त्यसपछि कप प्रयोग गर्न थालें। अहिले कप नै प्रयोग गरिरहेकी छु।’
एकै पटक किन्दा महंगोजस्तो देखिए पनि १० वर्षसम्म चल्ने भएकाले कप नै सस्तो हुने उनको भनाइ छ। कप प्रयोग गर्दा हिंड्न, यात्रा गर्न, काम गर्न निकै सहज हुने उनको अनुभव छ।
लामो समयदेखि मेन्स्ट्रल कप प्रयोग गर्दै आएकी मानवी पौडेल पनि महिनावारीको समयमा रगत व्यवस्थापनका लागि सहज हुने बताउँछिन्। उनी भन्छिन्, ‘पहिलो पटक प्रयोग गर्न झन्झटिलो हुन्छ तर बिस्तारै बानी पर्दै जान्छ, सहज हुन्छ।’
एक-दुई पटकमा कप राखेको महसुुस भएपनि त्यसपछि कुनै त्यस्तो महसुस नै नहुने उनी बताउँछिन्। यो प्याडभन्दा सहज हुने उनको अनुभव छ।