Kathmandu Press

‘फेरि मिर्गौला प्रत्यारोपण गर्दा शरीरले थेगे प्रधानमन्त्री २५ वर्ष मज्जाले बाँच्न सक्नुहुन्छ’

डा. ऋषिकुमार काफ्ले वरिष्ठ मिगौला रोग विषेशज्ञ हुन्। ३८ वर्षदेखि मृर्गौला रोग विषेशज्ञका रुपमा काम गर्दै आएका डा. काफ

‘फेरि मिर्गौला प्रत्यारोपण गर्दा शरीरले थेगे प्रधानमन्त्री २५ वर्ष मज्जाले बाँच्न सक्नुहुन्छ’

डा. ऋषिकुमार काफ्ले वरिष्ठ मिगौला रोग विषेशज्ञ हुन्। ३८ वर्षदेखि मृर्गौला रोग विषेशज्ञका रुपमा काम गर्दै आएका डा. काफ्ले हाल ललिपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा कार्यरत छन्, मिर्गौला रोग विषेशज्ञका रुपमा। 

६२ वर्षीय काफ्लेले विभिन्न सरकारी र निजी अस्पतालमा मिर्गौला रोग प्रत्यारोपणको अगुवाई गर्दै आएका छन्। उनकै नेतृत्वमा सरकारले राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र पनि स्थापना गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पनि मिर्गौलाका बिरामी हुन्। उनको २०६४ सालमा भारतको एपोलो अस्पतालमा दुबै मिर्गौला प्रत्यारोपण गरिएको हो। त्यसपछि उनको स्वास्थ्यमा खासै समस्या आएको छैन। तर, हालै मात्रै प्रधानमन्त्री सिंगापुरमा उपचार गरेर फर्किएका छन्। र, बिहीबार पुनः उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।

यसै सन्दर्भमा प्रधानमन्त्रीको स्वास्थ्य र समग्र मृगौला रोगका विषयमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेसँग काठमाडौंप्रेसका लागि इन्द्रसरा खड्काले गरेको कुराकानी:

Hardik ivf

नेपालमा मिर्गौला प्रत्यारोपण कहिलेदेखि सुरु भएको हो? 

नेपालमा सन् २००८ अगष्ट ८ तारिखदेखि मिर्गौला प्रत्यारोपण सुरु भएको हो। सबैभन्दा पहिले टिचिङ अस्पताल, त्यसपछि वीर अस्पताल अनि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मिर्गौला प्रत्यारोपण सुरु गरेका हुन्। निजी अस्पताहरु ग्राण्डी, निदान अस्पताल, सुमेरु, भरतपुरको मेडिकल कलेज गरी ८ अस्पतालले अहिले  मानव अंग प्रत्यारोपण गर्न अनुमति पाएका छन्।

प्रत्यारोपण गरेको मिर्गौलाले कति वर्षसम्म काम गर्छ?

धेरैजसो व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेको पाँच वर्षपछि समस्या देखापर्छ भने कसैको १०, १२ र १५ वर्षपछि मिर्गौलामा समस्या आउँछ। पूर्णरुपमा बिग्रियो भने फेरि फर्केर डायलासिस र प्रत्यारोपण गर्नु पर्छ। जीवनभर यो क्रम उसको जारी रहन्छ, जबसम्म ऊ जीवित रहन्छ। अहिले मोर्डन साइन्सले गरेको टेक्नोलोजीका आधारमा यो सम्भव देखिएको छ।

भिडियो रिपोर्ट

के एक पटक प्रत्यारोपण गरिसकेपछि पनि फेरि मिर्गौला फेर्न मिल्छ?

हो, मिल्छ।  तर, मिर्गाैला प्रत्यारोपण गराउने व्यक्तिको शरीरमा भर पर्छ।  नत्र सफल हुँदैन। 

हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मिर्गौला प्रत्यारोपण गराएको १२ वर्ष पुगिसक्यो। अहिले केही समस्या देखिएको छ। उमेरका कारण समस्या आएको हुन सक्छ उसो भए?

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गराएको १२ वर्ष भइसक्यो। अहिलेसम्म राम्रोसँग मिर्गाैला चल्नु उहाँ भाग्यमानी मान्छे हो। 

तर, समस्या आयो भन्दैमा अहिले नै अन्तिम अवस्था हुँदैन। प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आयो भन्दैमा अन्तिम अवस्था हो भन्न मिल्दैन। र, तत्काल डायलासिस वा प्रत्यारोपणमा जानुपर्ने अवस्था होइन।  प्रधानमन्त्री ओलीज्यूको मेडिकल रिपोर्ट मैले हेरेको छैन।

बाहिर आएका खबरका आधारमा मैले भन्न सक्ने कुरा के हो भने उहाँलाई अचानक आएको समस्या चाहिँ होइन। प्रत्यारोपण गराएका व्यक्तिले स्वास्थ्य नियमित जाँच गर्नु पर्छ। धेरै समस्या आयो भने फेरि मिर्गौला प्रत्यारोपण पनि गर्न सकिन्छ। 

प्रधानमन्त्री ओलीले यही मिर्गौलाले अझै २५ वर्षसम्म बाँच्छु भन्नु भएको छ? फेरि प्रत्यारोपण नगरी यो कुरा सम्भव छ?

यही मिर्गौलाले २५ वर्षसम्म बाँच्छु भन्नेमा कुरामाथि चै प्रश्न उठ्छ। तर, फेरि अर्को  मिर्गौला प्रत्यारोपण गर्नु भयो भने उहाँ मज्जाले बाँच्न सक्नुहुन्छ। डायलासिसमा नगएरै मिर्गौला प्रत्यारोपण गर्‍यो भने सबैभन्दा राम्रो हो। तर, नेपालमा दाता नपाएर नै डायलासिस गर्नुपर्छ।

प्रत्यारोपण गरेका व्यक्तिको शरीरमा कस्तो समस्या देखिन्छ? 

अंग फुल्ने, हड्डी कमजोर हुने, मोतिया विन्दु हुने लगायत शरीरका धेरै अंगमा समस्या आउँछ।

मिर्गाैला प्रत्यारोपनका लागि नेपालमा के जटिलता छ?

जटिलता धेरै छन्। तर, मृर्गाैला बचाउन सजिलो छ। नेपालमा तीन करोड जनसंख्यामध्ये ३० लाख मिर्गौला रोगी  छन्। तीन लाख व्यक्ति मिर्गौला बिगारेर हिँडिरहेका छन्।  तीस हजार व्यक्ति नराम्रोसँग मिर्गाैला बिगारेर बसेको छन्। जसमध्ये तीन हजार व्यक्ति प्रत्येक वर्ष डायलासिस गर्न धाउँछन्।

जटिलता के छ भने रोगीको संख्या दिनदिनै बढ्दो छ। खर्च बढ्दो छ, विशेषज्ञ बढी चाहिएका छन्। यी  सबै कुरा धान्न हामीले के गर्नुपर्‍यो भने रोगबारेमा जानकारी दिनुपर्‍यो। एक अर्ब रुपैयाँ डायलासिसमा खर्च गरिरहेका छौँ, १० करोड रुपैयाँमा मिर्गौला कसरी बचाउन सकिन्छ?  स्वस्थ जीवनशैली भनेको के हो?

एक जना व्यक्तिको मिर्गौला जोगाउन सकियो भने लाखौं जोगाइन्छ। सयौं जनाको मिर्गौला जोगाउन सकियो भने करोडौं रुपैयाँ जोगाउन सक्छौं। अब यसमा सबैले ध्यान दिनुपर्छ।

मानिसको मिर्गौला किन बिग्रिन्छ? यसको नेपालमा अवस्था कस्तो छ? 

अधिकांश व्यक्ति जन्मिँदा स्वस्थ मिर्गौला लिएर जमिन्छन्। कसैको जन्मिँदै एउटामात्रै मिर्गौला हुन्छ भने कतिपयको मिर्गौला जन्मिँदै कमजोर हुन्छ।

स्वस्थ्य छ भने एउटै मिर्गौलाले पनि राम्रोसँग काम गर्छ। मिर्गौला मान्छेको जीवनशैलीसँग जोडिएको हुन्छ। मिर्गौला कमजोर छ भने त्यसलाई स्वस्थ्य राख्न खानपानमा बढी ध्यान दिनु पर्छ। नत्र मिर्गौला बिग्रिन सक्छ।  नेपालको कुरा गर्ने हो भने पछिल्लो समय मिर्गौलाका रोगीको संख्या बढ्दो छ। वर्षेनी मिर्गाैला बिग्रेर डायलसिस गर्नेको संख्या मात्रै पाँच हजारको हाराहारीमा छ।

तीन सहभन्दा बढीको प्रत्यारोपण हुन्छ। रोगीको संख्या बढ्दो छ तर, रोगीले उपचारका लागि राज्यबाट पाउने सेवा सुविधा कम छ। 

यो ११ वर्षको अवधिमा कति जनाको मिर्गौला प्रत्यारोपण भयो?

अहिले देशभर करीब ६० ठाउँमा डायलासिसको सुविधा छ। चितवन र काठमाडौं उपत्यका गरी ८ ठाउँमा मिर्गौला प्रत्यारोपण गरिन्छ। ११ वर्षको अवधिमा करिब १५ सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। यो संख्या प्रयाप्त होइन।

मिर्गौला रोगीका लागि सरकारले कति अनुदान दिने गरेको छ? 

मिर्गाैला रोगीहरुको उपचार सरकारले सित्तैमा गरिदिन्छ। एक जना बिरामीलाई एक पटक डायलासिस गर्दा कम्तिमा ३० हजार लाग्छ। मिगौला प्रत्यारोपण अघि पनि ५० हजार औषधिका लागि दिन्छ।  प्रत्यारोपणका लागि ४ लाख र प्रत्यारोपण पश्चात औषधि खान एक लाख दिएको छ। तर, प्रत्यारोपण गर्ने व्यक्तिले जीवनभर औषधि खानुपर्छ। महिनामा १० देखि २० हजार रुपैयाँको औषधि खानु पर्छ। उपचार सकिएपछि भने व्यक्ति आफैले चाहिने सबै औषधि किनेर खानुपर्ने अवस्था छ।  

प्रत्यारोपणका लागि अंग दान गर्न के आवश्यक पर्छ?

सबैभन्दा पहिलो कुरा, कुनैपनि अंग दान गर्दा नातेदार हुनुपर्छ। यो कुरा कानूनमै उल्लेख छ। अर्को कुरा, गु्रप मिल्नुपर्‍यो, जो दाता हो ऊ पूर्णरुपमा स्वस्थ हुनुपर्‍यो। यति कुरा मिलेमा अंगदान गर्न मिल्छ। मष्तिक मृत्यु भएका व्यक्तिले पनि अंगदान गर्न पाँउछ। तर, नेपालमा यस्तो प्रचलन छैन।  अहिलेसम्म नेपालमा तीन मष्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गरिएको छ। 

प्रत्यारोपण गरिसकेका व्यक्तिले के कुरामा ध्यान दिनुपर्छ?

मिर्गौला प्रत्यारोपणपछि बिरामीले साना साना कुरा पनि ध्यान दिनु पर्छ। डोज मिलाएर नियमित औषधि खानु पर्छ। औषधि मात्रा मिलाएर नखाए  इन्फेक्सन हुन्छ। औषधि डोजभन्दा कम खाए शरीरले त्यो किड्नी ध्वस्त पारिदिन सक्छ। औषधिको मात्रा मिलाउन त्यो मान्छेले जीवनभर चेकअप गराउनुपर्‍यो, जीवनभर औषधि खानु पर्छ। 
 
अन्तिममा भनिदिनुस्, मिर्गौला रोगबाट बच्न के कुरामा ध्यान दिनुपर्छ? 

बिहान उठ्नेबित्तिकै टन्न पानी पिउनुहोस्। दिनको सुरुवात एक गिलास पानीबाट सुरु गरौँ, ताकि हामी दिनभर दुईदेखि तीन लिटरसम्म पानी पिऔं। स्वस्थ्य खानेकुरा खाऔं।  समयमै सुतौं। सकेसम्म डाक्टरको सल्लाहबिना पेन किलर नखाऔँ। उच्च रक्तचाप छ भने रक्तचापलाई ठीक ठाउँमा राखौं। सन्तुलित आहार खानुपर्छ, माछामासु, तारेको खानेकुरा र फास्टफुड नखाऔं। चुरोटखैनी, जाँडरक्सी नखाऔँ र वर्षमा एक पटक शरीर चेकजाँच गरौं। 
 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, भदौ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्