Kathmandu Press

जंक फुड ख्वाउनु हुन्न भन्ने थाहा छ, तैपनि खुवाइरहेका छन्

काठमाडौं, साउन ४ : पोषण सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल न्यूट्रिशनमा हालै प्रकाशित एक र

जंक फुड ख्वाउनु हुन्न भन्ने थाहा छ, तैपनि खुवाइरहेका छन्
इन्द्रसरा खड्का

काठमाडौं, साउन ४ : पोषण सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल न्यूट्रिशनमा हालै प्रकाशित एक रिपोर्टमा नेपालबारे केही चिन्ताजनक तथ्याङ्कहरू छन्। जस्तै – दुई वर्षमुनिका नेपाली बालबालिकाहरूले आफूलाई चाहिने एक चौथाई क्यालोरी जंक फुडबाट पाइरहेका छन् र यसैले  उनीहरू कुपोषण र पुड्कोपनाको शिकार हुँदैछन्। 

यो रिपोर्ट हेलेन केलर इन्टरनेशनल नामक संस्थाले काठमाडौं उपत्यकाका १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीमा गरेको अनुसन्धानमा आधारित छ। हेलेन केलरको अनुसन्धानमा संलग्न नेपाली डाक्टर अतुल उपाध्यायसँग काठमाडौं प्रेसले गरेको अन्तर्वार्ताको सम्पादित संक्षेपः

यो अनुसन्धानको पृष्ठभूमि बताइदिनुहोस् न ! 

Hardik ivf

सन् २०१४ मा हामीले काठमाडौंमा स्तनपानको अवस्था बुझ्न केही ठूला अस्पतालहरूमा अनुसन्धान गरेका थियौँ। त्यो अनुसन्धानमा करिब ५७ प्रतिशत आमाहरूले बच्चा जन्माएको तीन दिनसम्म आमाको दूधको साटो अरु नै चिज खुवाउने गरेको पायौँ। आमाको दूध नआएको र बच्चा रोएकाले त्यसो गर्नुपरेको पनि थाहा पायौँ । 

नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुको विक्री वितरण गर्न नपाइने एने २०४९ सालमै आएको थियो। तर, त्यसबारे अहिले पनि धेरैलाई थाहा छैन। हामीले स्वास्थ्य मन्त्रालय, त्यतिखेरको बाल स्वास्थ्य महाशाखा र अहिलेको परिवार कल्याण महाशाखासँग समन्वय गरी नेपालभरका सरकारी अस्पतालमा कार्यरत डाक्टर र नर्सहरूलाई त्यसबारे जानकारी गरायौँ। दूध नआउने कारणहरूबारे पनि जानकारी दियौँ। त्यतिखेर के पनि फेला पारेका थियौँ भने २ वर्षमुनिका बालबालिकाले अत्यधिक मात्रामा बजारमा उपलब्ध जंक फुड खाइरहेका छन्। जंक फुडले असर गर्छ भन्ने त हामीलाई सामान्यतयाः थाहा भएकै कुरा हो, तर कसरी र कति गर्छ भन्ने थाहा थिएन। त्यही असरहरूबारे बुझ्न हामीले ७ सय ४५ जना १२ देखि २३ महिनाका बालबालिकामा जंक फुडको असरबारे अनुसन्धान गरेका हौँ।

यो अनुसन्धान कसरी गरियो?

हामी विभिन्न वर्गका परिवारहरूमा गयौं। सुकुमबासी बस्ती हुँदै धनाढ्य परिवारहरूसम्म पनि पुग्यौँ। बालबालिकाले २४ घण्टामा के के खाइरहेका छन् हेर्‍यौँ।  त्यसको मात्रा पनि हेर्‍यौँ। खाना कसरी पकाइयो, बच्चाले कति खायो र कति फाल्यो भन्नेबारे पनि हेर्‍याैँ। खाएको कुरामा कति भिटामिन र पौष्टिक पदार्थ थियो त भन्ने पनि हेर्‍यौँ। यसरी हेर्दा तीन किसिमका बालबालिका पाइए। पहिलो–धेरै अस्वस्थकर खानेकुरा खाने। दोस्रो–अलिअलि अस्वस्थकर खाने। र तेस्रो–केही मात्रामा खाने। 

जो अत्यन्तै गरीब छन्, तिनका बालबालिकाले सबैभन्दा धेरै अस्वस्थकर खाना खाइरहेको पायौँ। मध्यमवर्गका बालबालिकाको खाना अलिअलि अस्वस्थकर र सम्पन्न वर्गका बालबालिकामा खाना केही अस्वस्थकर भेट्यौँ।

अस्वस्थकर खानेकुरा भन्नाले कस्तो खानेकुरा?

६ महिनाभन्दा माथिका बालबालिकालाई आमाको दूधसँगै पूरक आहारा खुवाउनुपर्छ । जस्तै–जाउलो, गेडागुडी हरियो सागपात, माछा, मासु र अण्डा। हामीले अनुसन्धान गरेका बालबालिकामा त्यसको सट्टा बजारमा पाइने चाउचाउ, बिस्कुट, चिजबल, जुस, जंक र स्न्याक्स फुडहरु बढी खुवाउने गरिएको भेटियो। यसले बालबालिकाको स्वास्थ्य बिगार्छ।

यस्तो खानेकुराले बालबालिकालाई कस्तो असर गर्छ?

यसले बालबालिकालाई धेरै असर गर्छ। शरीरले पाउनुपर्ने भिटामिन, खनिज पाउँदैन। शरीरलाई चाहिने क्यालोरीको मात्रा कमी हुन्छ। यसले गर्दा उनीहरूको तौल नबढ्ने, पुड्कोपना हुने र दुब्लाउँदै जाने हुन्छ। बजारमा पाइने यस्ता खानेकुरालाई स्वादिलो बनाउन नुनिलो र गुलियो पदार्थ प्रयोग गरिएको हुन्छ। यो स्वादिलो हुन्छ र बच्चालाई खान निकै मन पर्छ, तर यसले बालबालिकाको शरीरमा चाहिने आवश्यक पौष्टिक तत्वको मात्रा निकै कम हुन्छ। 

बालबालिकालाई पर्ने असरबारे अभिभावक अनभिज्ञ हुन् त? 

पक्कै होइन। अहिलेका आमाहरु स्वयं शिक्षित छन्। उनीहरुलाई यस्तो खानेकुरा बच्चालाई खुवाउनु हुँदैन भन्ने थाहा छ।  तैपनि, उनीहरूले बच्चालाई त्यस्तै खानेकुरा खुवाइरहेको भेटियो। थाहा हुँदा हुँदै किन खान दिएको भनेर सोध्दा उनीहरुको एउटै जवाफ थियो – समय  हुँदैन, जे सजिलो हुन्छ, त्यही दिन्छौँ। एकातिर आफिसको काम अर्कोतिर घरको काम, फेरि बालबालिकाको काम सबैतिर समय मिलाउन नसक्दा पनि बजारमा पाइने खानेकुरा बढी दिने गरेको पाइयो। जुन सस्तो पनि पाइने, काँचै खान पनि मिल्ने, चिया, दूधसँग घोलेर पनि खुवाउन मिल्ने। यसले गर्दा धेरैजसोले थाहा पाएर पनि जंक फुड खुवाइरहेका छन्।

जंक फुडले बच्चाहरू मोटोपनाको शिकार पनि हुन्छन्?

हाम्रो अनुसन्धानले यो भनाइलाई चुनौति दिएको छ। यस्ता खानेकुराले बालबालिकामा मोटोपना बढी हुन्छ भनिन्छ, तर हामीले काठमाडौंमा गरेको अनुसन्धानामा यस्तो भेटिएन। तौल र उचाई कम भएको पाइयो, तर मोटाएको भेटिएन। 

बालबालिकाको यस्तो अवस्था छ भनेर त थाहा भयो, तर अब के?

हामीले गर्ने भनेकै समाजमा गएर अनुसन्धान गर्ने अनि त्यसमा फेला परेको समस्या ल्याएर नीति निर्माणको लागि घचघच्याउने हो। यसका लागि परम्परागत खाद्यपदार्थमा अलि परिर्वतन गरौँ, ताकि त्यो पोषिलो होस्, स्वादिलो पनि होस् र बच्चालाई पनि मन परोस्। अनि, सस्तो पनि होस्। नेपाल सरकारलाई मेरो व्यक्तिगत सुझाव छ – यस्तो खाद्य पदार्थ उत्पादन गर्नेलाई सहुलियत दिऔँ। पोषणमा १ रुपैयाँ लगानी गरे १६ रुपैयाँ प्रतिफल पाइन्छ भन्ने प्रमाणित भइसकेको छ। यसो हो भने किन सरकारले पोषणमा लगानी नगर्ने?
 

प्रकाशित मिति: १४:४६ बजे, शनिबार, साउन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्