‘मध्यराति भैँसीकाे साहराले बाँच्याैं, अब के खाएर बाँच्ने?’
वीरगञ्ज, असार ३१ : मध्यराति मस्त निन्द्रामा रहेका बेला खाटमा पानी आयो। के भयो भनेर छामछुम गर्दा पानी
वीरगञ्ज, असार ३१ : मध्यराति मस्त निन्द्रामा रहेका बेला खाटमा पानी आयो। के भयो भनेर छामछुम गर्दा पानीमै हात डिब्यो। पर्साको छिपहरमाई गाउँपालिका–१ धोविया टोलका ४० वर्षीय जयमुल्लाह मियाँले उठेर मोबाइलको बत्ती बाल्दा पो देखेँ, कोठा त पानीले भरिएछ।
‘के गर्ने, कस्तो गर्ने भयो,’ जयमुल्लाहले काठमाडौंप्रेससँग भने, ‘बाहिर निस्किन नसकिने भयो, मरिने भयो भन्ने सोचेँ।’ उनको १४ जनाको परिवार थियो। एक–एक गरेर घरबाट पारी लग्न पनि गाह्रो थियो। गाउँभरी हल्लाखल्ला मच्चिसकेको थियो।
उनको दिमागमा एउटा उपाय आयो, भैँसी। ‘भैँसीको सहरा लिएर पूरै परिवारलाई बचाएँ । बच्चाबच्चीलाई भैँसीमै चढाएर पार गरेँ,’ उनले भने।
उनले राति २ बजे पत्नी मोबिला खातुन, छोराहरू ताज मियाँ, मुमताज मियाँ, मोसदी मियाँ, अनवर मियाँ, सुनवर मिया, सलामत मिया, लालु मियाँ र बुहारी सबना खातुनलाई भैँसीको सहरा लिँदै घरबाट निकालेर सुरक्षित ठाउँमा पुर्याए। नातिनीहरू वर्षा, नसिमा, सजरा र बबियालाई भैँसीमै चढाएर पारी लगे। ‘साना बच्चालाई भैँसीमै राखे। झमझम पानी परिहेको थियो। डुबान घाँटीसम्म थियो,’ जयमुल्लाहले भने, ‘भैँसीले पूरै परिवारलाई बचयो।’
हरेक वर्षातको पानीले उनको घर डुबानमा पर्छ। यो वर्ष त चार दिन लगातार पानी परेपछि पुरै घर डुबानमा परेको मोबिला खातुनले बताइन्। ‘बुडानले घरमा भएको अन्न, लत्तकपडा सबै खत्तम भयो, केही बाँकी रहेन,’ मोबिलाले काठमाडौंप्रेससँग भनिन्, ‘मध्यराति भैँसीकाे साहराले बाँच्याैं, अब के खाएर बाँच्ने?’
भकारीमा भएको ४० किलो गहुँ, अर्काको खेतमा मसुरो काटेवातफ आएको साढे सात किलो मसुरो, ६ महिना पुग्ने धान नष्ट भएको उनले दुःखेसो गरिन्। ‘ज्यान त जोगियो, अब छोराछोरीलाई कसरी पाल्ने?’ उनको पीडा थियो।
तर, उनले अझैसम्म राहत पाउन नसेकेको बताइन। आइतबार एक केजी चिउरा, सख्खर र बिस्कुटले दिन काटेको उनले सनाइ । ‘हिजो दिनभरी राहत पाइला भनेर बस्यौं, कसैले केही दिएनन्,’ मोबिलाले भनिन्।
डुबानसँग भलले घरभित्रका लुगाकपडा र भाडाकुडा पनि बगेका छन्। शरीरमा भएको बाहेक लुगा नभएको उनले सुनाइन्। यताउताबाट जोहो गर्न पनि पकाउने भाडाकुँडा नभएको मोबिलाले बताइन्।
मोबिलाको परिवारसँगै धोविया टोलका सबै बासिन्दा डुबान र बाढीबाट प्रभावित भएका छन्। धोवियाका छिमेकी गाउँ पनि डुबानमै छन्। जयमंगलापुर, टिहुकी, बुढगाई, झलमहिया टापुजस्तै बनेको छ।
बाटो नदीमा परिणत भएकाले दैनिकी चलाउन पनि कठिन भएको स्थानीय शिवसंकर शर्माले बताए। बिरामी र बालबालिकालाई खाटमा राखेर सिमावर्ती भारतीय बजार पुरुषोत्तमपुर पुग्नु परिरहेको उनले बताए। उनका अनुसार, छिपहरमाई गाउँपालिका नै टापु बनेको छ।
यसको कारण भने उनीहरू भारतमा बनेको नहर बताउँछन्। २०२१ सालमा भारतले सिमा नजिकै बनाएको घोडासाहन नहरले सिमावर्ती क्षेत्रहरु डुबान पर्ने गरेको छिपहरमाई गाउँपालिका–४ जयमंगलापुरका मोहन ठाकुरले बताए।
त्यो नहरका कारण उत्तरी क्षेत्रमा पानीले निकास पाउने गरेको छैन। जसले गर्दा यहाँका दर्जनौँ गाउँका १२ हजारभन्दा बढी बासिन्दा प्रभावित हुने गरेको छिपहरमाई–१ धोवियाका ७२ वर्षीय अमिन मियाँले बताए।
नहर बनाउन अघि डुबान नहुने गरेको उनले सुनाए। पानीको निकास गरिदिने भनेर झुक्याएको उनको भनाइ छ। ‘उतिबेला पानीको निकास गरिदिन्छौं भनेर झुक्याए। अहिले घाँटीसम्म पानी आउछ,’ अमिनले भने।
त्यही नहरका कारण पर्साको छिपहरमाईसँगै, पाकहामैनपुर गाऊँपालिकाको मिर्जापुर, भलवहिया, सम्झाता, भेडिहर्वा, चरगाह, पुर्वारी, टिहुकी, जयमगलापुर, बुढगाई, झलमहिया, तुलसी बार्वा, बन्जारी, भिस्वालगायत १६ भन्दा बढी गाउँ वर्षेनी डुबानमा पर्ने गरेका छन्।
यस पटक पनि यहाँका बासिन्दाले त्यही नियती भोगे। दुई दिनयता वर्षा रोकिए पनि घरभित्र र बाहिरको पानी कम भएको छैन। पानीले निकास नपाएको स्थानीय बासिन्दा बताउँछन्।
डुबानले अन्नपाली नष्ट भएको छ। खोला भरिभराउ हुँदा गाउँतिरै फर्किएको अमिनले बताए। यसबाट करोडौंको अन्नबाली क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रामचन्द्र यादवले बताए। डुबानले एक हजार सात सय ४१ हेक्टर क्षेत्रफल प्रभावित भएको उनले बताए। आधाजति रोपाइ भएसकेको उल्लेख गर्दै डा.यादवले भने, ‘रोपाइसँगै मकै, तरकारी नष्ट भएको छ। घरमा भएको अन्नपात पनि क्षति भएको छ।’
पाँच दिनसम्म राहत मिलेन
बाढी तथा डुबान प्रभावितलाई आइतबारदेखि राहत वितरण गर्न थालिएको छ। तर, जिल्ला विपद व्यवस्थापन समितिले एकद्वार प्रणाली लागू गरेको छ। गाउँपालिका वा नगरपालिकाको उद्धार समितिमार्फत मात्रै राहत वितरण गर्ने व्यवस्था गरेको छ।
यसले गाउँपालिका तथा नगरपालिका सदरमुकामका बासिन्दाले मात्रै राहत पाइरहेका छन्। गाउँगाउँसम्म राहत पुग्न सकेको छैन। जसले गर्दा गाउँ पीडित परिवार भोकभोगकै बस्न बाध्य भएका छन्।
अझ विपद् व्यवस्थापन समितिले वीरगञ्जस्थित उधोग वाणिज्य संघको सभाहलबाट राहत सामाग्री वितरण गर्न निर्देशन दिएको छ। तर, पीडित परिवार हिडेर त्यहाँसम्म पुग्ने अवस्था छैन।
भारतीय भूमि भएर आउदा ४२ किलोमिटर हिड्नु पर्ने अवस्था रहेको जयमंगलापुरका शिवशंकर शर्माले बताए । जसका कारण छिपहरमाई गाउँपालिका बाढी तथा डुबान प्रभावित बासिन्दा राहतबाट पनि बञ्चित भएका छन्।
याे पनि : पाँच दिनदेखि खुल्ला आकाशकै बास