Kathmandu Press

जहाँका युवा सहर वा विदेश पढे पनि गाउँकै सेवामा फर्कन्छन्

जाल्पा (खोटाङ) – नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको हिसाबले जति नै बदनाम व्यवस

जहाँका युवा सहर वा विदेश पढे पनि गाउँकै सेवामा फर्कन्छन्
शोभा मानन्धर

जाल्पा (खोटाङ) – नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको हिसाबले जति नै बदनाम व्यवस्था भए पनि पञ्चायतले केही रचनात्मक अवधारणाहरू अघि सारेको थियो। 

त्यसैमध्ये एक थियो – गाउँ फर्क अभियान। 

गाउँका युवा शिक्षाका लागि सहर जाने, पढाई पूरा गरेपछि सहरमै अल्झिने र गाउँका खेत–बारीहरू भने बाँझै रहने समस्या सम्बोधन गर्न त्यो अवधारणा ल्याइएको थियो।

Hardik ivf

सैद्धान्तिक रुपमा जति नै लोकप्रिय भए पनि गाउँ फर्क अभियान दीगो भने हुन सकेन। पञ्चायती व्यवस्था ढल्नुअघि नै त्यो कार्यक्रम प्रभावहीन भयो। 

त्याे अभियान दीगो हुन नसक्नुको एउटा कारण थियो – जनसहभागिता र जनअनुमोदनको अभाव। 

राजदरबारको चाहनाअनुरुप सिंहदरबारले गाउँ फर्क अभियान  सुरु त गर्‍यो, तर युवाहरू त्यो अभियानमा हृदयदेखि नै जोडिएनन्। 

जति युवा यो अभियानमा जोडिए, उनीहरूले पनि गाउँ फर्केर आफ्नो शिक्षा, सीप र योग्यताअनुसार काम गर्ने उत्साहप्रद वातावरण पाएनन्। भित्री उद्देश्य गाउँको विकास गर्नेभन्दा पञ्चायतको पक्षमा जनाधार निर्माण गर्ने भएकोले पनि सम्भवतः त्यो अभियान चल्न सकेन। 

गाउँ फर्क अभियान अवरुद्ध भएको केही वर्षमै अर्थात् २०३८ सालतिर खोटाङ जिल्लाको जाल्पा गाउँका युवाहरूले यस्तै अभियान सुरु गरेका थिए, जुन अझैसम्म चलिरहेको छ। गाउँका युवाले आफ्नै सोच, सहभागिता र सक्रियतामा सुरु गरेकाले यो अभियान भने अहिलेसम्म निरन्तर चलिरहेको छ।

स्थानीयबासी आफैंले श्रमदान गरेर बनाएको स्वास्थ्य चौकी रहेको जाल्पा गाउँको भाग। तस्वीरः शोभा मानन्धर

बितेका तीन दशकमा जाल्पाका जति युवा पढ्नका लागि काठमाडौं वा विदेश गएका छन्, तीमध्ये प्रायः सबै गाउँ नै फर्केका छन्।

उनीहरू गाउँमै पढाउँछन्। गाउँमै खेती गर्छन्। गाउँमै सहकारी चलाउँछन्। गाउँमै विभिन्न इलम गर्छन्। जे गर्छन्, गाउँमै गर्छन्।

सहर– विदेश उनीहरूका लागि शिक्षा हासिल गर्ने र विभिन्न सीप सिक्ने थलो मात्रै हो, कर्म–भूमि होइन।

काठमाडौं वा विदेशमा पढेर गाउँ फर्किने र गाउँकै विकासमा खटिने जाल्पाली युवामध्ये एक हुन् – विकास राई।

हम्फ्रे छात्रवृत्तिमा अमेरिका पढेर जाल्पा फर्केका विकास राई। गत वर्ष जाल्पामा आयोजित लाटोकोसेरो महोत्सव उनकै पहलमा भएको थियो। त्यही बेला खिचिएको उनको तस्वीर। तस्वीरः शोभा मानन्धर

२०४८ सालमा काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम गरेपछि उनी गाउँ फर्किए। झण्डै एक दशकपछि उनी समाजशास्त्र पढ्न फेरि काठमाडौं आए। २०६० सालमा त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेपछि उनी फेरि गाउँ फर्किए।

सन् २००९ मा अमेरिकी सरकारको हम्फ्रे छात्रवृत्ति पाएर उनी अमेरिकाको कोर्नेल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कृषि तथा ग्रामीण विकास विषय पढ्न गए। एक वर्ष अमेरिका बसेर पढेपछि पनि उनी काठमाडौं बसेनन्, गाउँ नै फर्किए।

उनी अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १२ नंं वडाका वडाध्यक्ष छन्। विभिन्न सामुदायिक संस्थामा पनि सक्रिय छन्। उनकै सक्रियतामा गत वर्ष जाल्पामा आठौं लाटेकोसेरो महत्सोवको पनि आयोजना गरिएको थियो।   

राई भन्छन्, ‘युवाले पढेर मात्रै पुग्दैन, पढेको कुरा गाउँमा लागू गर्न पनि सक्नुपर्छ। तब पो गाउँको विकास हुन्छ।’

जाल्पाका युवाले सुरु गरेको अभियान पञ्चायती व्यवस्थाको गाउँ फर्क अभियानको देखासिकी नभएको राई बताउँछन्। उनी भन्छन्, ‘अवधारणामा समानता होला, तर हाम्रो कार्यक्रम हाम्रै मौलिक अवधारणा हो। यो माथिबाट सरकारले लादेको कार्यक्रम होइन, गाउँका युवाले तलबाटै थालेको अभियान हो।’ 

विदेशमा दीगो विकास पढ्नेहरू प्रायः विदेशमै जागिर खान्छन्, नभए काठमाडौं फर्केर दातृ संस्था वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छन्। तर, ध्रुव श्रेष्ठ भने गाउँ नै फर्केका छन्। 

२०५० सालमा जाल्पा माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका ध्रुव श्रेष्ठ उच्च शिक्षा पढ्न काठमाडौंको त्रिचन्द्र क्याम्पस पुगे। त्यसपछि गाउँ नै फर्के। सन् २०१७ मा उनी अन्तर्राष्ट्रिय दीगो विकास पढ्न अमेरिकाको म्यासुचुसेटस्थित ब्रान्डाइज् युनिभर्सिटी गए। 

अमेरिकी विश्वविद्यालयबाट दीगो विकास पढ्नेहरू प्रायः विदेशमै जागिर खान थाल्छन्, नभए काठमाडौं फर्केर दातृ संस्था वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छन्। तर, श्रेष्ठ भने गाउँ नै फर्केका छन्। 

हाल उनी दिक्तेल बहुमुखी क्याम्पसमा पढाउँछन्। एउटा सहकारी र एउटा सामुदायिक अस्पतालको अध्यक्ष पनि छन्। जनसेवा समाज नेपाल नामक गैरसरकारी संस्थामार्फत् जाल्पामै दीगो विकासको अभ्यास पनि गर्दैछन्। 

सहर वा विदेश पढेर गाउँमै विभिन्न इलम र सामुदायिक सेवा गर्ने युवाका कारण जाल्पा अहिले खोटाङको मात्र नभई, पूर्वी नेपालकै नमूना गाउँ बनेको छ। जाल्पाका पूर्व सांसद् टंक राईका अनुसार, यो गाउँ सधैं यस्तो रचनात्मक युवाले भरिपूर्ण गाउँ थिएन।

उनका अनुसार, पहिले जाल्पाबाहिरका मानिसले जाल्पा चिन्दैन थिए। भन्छन्, ‘घर कहाँ हो भनेर कसैले सोधे हामी जाल्पा भन्दैन थियौँ। किनकि, जाल्पालाई कसैले चिन्दैन थियो। हामी जाल्पा नजिकैको अलि चर्चित गाउँ हौंचुर वा खार्मीबाट आएका हौँ भन्थ्यौँ। अहिले त जसले पनि जाल्पा चिन्छन्। हौंचुर र खार्मीका मानिसहरू पनि आफूलाई जाल्पाबासी भनेरै चिनाउँछन्।’

पूर्व सांसद राईका अनुसार, जाल्पाका  पढेलेखेका युवामा गाउँको व्यवस्थित विकास हुनुपर्छ भन्ने सोच तीसको दशकमै आएको थियो। २०३९ सालमा जनहित युवा समाज नामक संस्था गठन गरेर थुप्रै काम थालेको राई सम्झिन्छन्। 

जनहित युवा समाजले त्यतिबेला रचनात्मक कामहरू गरेको उनले सुनाए। जस्तै – अन्न बचाउन मुसा मारेर ल्याउनेलाई १० रुपैयाँ दिने, महिनाको एक दिन सबै युवाले गाउँका निम्ति श्रमदान गर्ने, जागिर खानेले आफ्नो कमाईको १० प्रतिशत समाजलाई बुझाउने र जागिर नखानेले पनि मासिक ५ प्रतिशत बुझाउनुपर्ने।
 
यसरी उठाइएको रकमबाट स्वास्थ्योपचारका सामान किनियो। गाउँमा स्कुल भर्ना कार्यक्रम सञ्चालन गरियो। खानेपानीका लागि बाँसको नाली बनाइयो। बाटो–कुलो खनियो।

काम गर्दै जाँदा उनीहरुले पढेलेखेर मात्र गाउँको उन्नति सम्भव छैन भन्ने बुझे। पढेलेखेका युवा गाउँमै बसेर गाउँको विकासमा लाग्ने हो भने मात्र विकास हुन्छ भन्ने निष्कर्षमा जाल्पाली युवा पुगे। त्यो सोचलाई व्यवहारमा उतार्न २०४८ सालमा जनसेवा समाज नामक गैरसरकारी संस्था दर्ता गरियो। 

विकास निर्माणमा फड्को 

जनसेवा समाज खोलेपछि जाल्पाली युवाहरुले गाउँबाट बौद्धिक पलायन रोक्ने सामूहिक प्रतिबद्धता गरे। यसका लागि मीठो नाराले मात्रै हुँदैन भन्ने निष्कर्ष निकालेर गाउँमा रोजगारी सिर्जना गरे। गुणस्तरीय शिक्षा र स्वास्थ्योपचारका लागि समुदायलाई नै अग्रसर बनाए। 

बाध्यताले गाउँबाट टाढा रहेकाहरूलाई पनि गाउँसँग नाता नतोड्न बारम्बार आग्रह गरियो। विदेशमा बसेकाले पनि गाउँको उन्नतिका लागि सक्दो सहयोग गरे। 

२०४८ र २०५१ सालमा गरी दुईपटक प्रतिनिधिसभा सदस्य भएका टंक राई सांसद् भएका नाताले काठमाडौंमा हुन्थे। तर, गाउँ पनि नियमित गइरहन्थे। 

टंक राईसहित विकास राई, प्रतिमान राई, इमान राई, जयश्वर राई, निरकुमार श्रेष्ठ, तेजबहादुर राई र देवका राईलगायत थुप्रै जाल्पाली युवाले टिम नै बनाएर गाउँ फर्क अभियान सुरु गरे। 

गाउँबाट पहिलो एसएलसी उत्तीर्ण प्रतिमान राईले झण्डै दुई दशक गाउँमै पढाए।  बाहिर पढेर आएका धेरैले अहिले गाउँमै अध्यापन गरिरहेका छन्। 0

२०६१ सालमा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका हिरालाल राई अहिले जाल्पा उमावि र ज्योति माविमा अंग्रेजी पढाउँछन्। 

त्रिभुवन विश्वविद्यालयबाटै इतिहासमा स्नातकोत्तर गरेका देवका राई २०५६ सालमा गाउँ फर्किए। २०५७ सालमा स्थापित जाल्पा उच्चमावि प्राचार्य भई १० वर्ष  काम गरे। 

हाल जाल्पा माविमा कक्षा १२ सम्म र ज्योति माविमा १० कक्षासम्म पढाई हुँदै आएको छ। ज्योति माविले १८ महिने भेटनरी कोर्स पनि सञ्चालन गरिरहेको छ। 

जाल्पामा अहिले एउटा पनि निजी विद्यालय छैन। आधारभूत तहको ५ वटा विद्यालयहरु सञ्चालनमा छन्। सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यम र वालमैत्री विधिबाट शिक्षा दिने गरिएको छ। 

जिल्लाकै पहिलो सामुदायिक पुस्तकालय जाल्पा मावि परिसरमा सञ्चालित छ। विद्यालयहरुमा साना साना पुस्तकालयहरु सञ्चालनमा छन्। गाउँमा सबै दलित र अपाङ्गलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ। 

प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नेलाई निशुल्क पढाईको व्यवस्था छ।  

राईको बाहुल्य रहेको जाल्पामा दोस्रो ठूलो जनसंख्या नेवारको छ। तामाङ र गुरुङहरू पनि उल्लेख्य मात्रामा छन्। गाउँमा २० जना स्नातकोत्तर (५ महिला र १५ पुरुष) तथा २२ जना स्नातक (५ महिला र १७ पुरुष) छन्। 

जाल्पाका युवाको पहलमा २०७० सालदेखि सामुदायिक स्वास्थ्य अस्पताल सञ्चालनमा छ। टोलटोलमा सरकारी हेल्थ पोष्टहरु सञ्चालनमा छन्। 

अस्पताल बनाउँदा आमा समूहका सदस्यहरूले स्वयंसेवकको रुपमा गिट्टी कुट्ने काम गरे। युवाहरुले निर्माण सामग्री ओसार्ने काम निःशुल्क गरे। काठका लागि गाउँलेले आफूसँग भएका रुखहरु नि:शुल्क उपलब्ध गराएका थिए। 

१३ वर्षअघिदेखि स्थानीय लुम्झु खोलाबाट १५ किलोवाट र तापखोलाबाट १५ किलोवाटको माइक्रोहाइड्रोबाट जाल्पालगायत साविक ३ वटा गा.वि.स.का करिब  एकहजार घरपरिवारलाई विजुली वितरण गरिएको थियो। यस वर्षदेखि केन्द्रीय विद्युत विस्तार गरी जालपाका ६०० परिवारमध्ये ५० प्रतिशत घर परिवारलाई वितरण गरिएको छ।

जाल्पा खुल्ला दिशामुक्त गाउँ हो। घर तथा टोल सरसफाईका लागि प्रत्येक वर्ष सफा घर र सफाटोल पुरस्कारको व्यवस्था गरिएको छ। घरघरमा र सार्वजनिक स्थलहरुमा प्लास्टिक संकलन गर्ने टोकरी निर्माण गरिएको छ। 

पर्या पर्यटन र सांस्कृतिक पर्यटनलाई विशेष जोड दिइएको छ। जाल्पामा ५ जातजातिको संस्कृति हेर्न सकिन्छ र ५ वटा सामुदायिक वनमा चरा अवलोकन गर्न सकिन्छ।

निरक्षर महिलाको सक्रियतामा २०५३ सालमा स्थापित जनसेवा बचत तथा ऋण सहकारी संस्थामा अहिले १२०० जनाभन्दा बढी सदस्यहरु छन्। यसले प्रतिवर्ष २ करोड भन्दा बढीको कारोवार गर्छ। स्थानीय बैंकको भूमिका सहकारीले निर्वाह गरिरहेको छ।

जाल्पा अर्गानिक गाउँ हो। यहाँका खेतबारीमा रासायनिक मल प्रयोग गर्न प्रतिबन्ध छ। सबै कृषिउत्पादनहरू अर्गानिक हुन्। 

कृषि उत्पादनमा आत्मनिर्भर हुन व्यावसायिक तरकारी र पशुपालन ब्यवसाय प्रवद्र्धनमा स्थानीय युवा लागि परेका छन्। अहिलेसम्म बंगुर, अण्डा र कुखुरामा आत्मनिर्भर भइसकेका छन्। 

 
 

प्रकाशित मिति: ११:०५ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्