नेकपामा ‘मेक्सिकन स्ट्यान्डअफ’
काठमाडौं, जेठ २१ : सत्तारुढ नेकपाभित्र प्रमुख तीन गुटको नेतृत्व गर्ने अध्यक्षद्वय केपी शर्मा ओली, पु
काठमाडौं, जेठ २१ : सत्तारुढ नेकपाभित्र प्रमुख तीन गुटको नेतृत्व गर्ने अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति–संघर्षले पार्टीमा गतिरोध उत्पन्न भएको छ।
नेतात्रयको अवस्था देखिन्छ– मेक्सिकन स्ट्यान्डअफ जस्तो। अंग्रेजीमा प्रयोग हुने ‘मेक्सिकन स्ट्यान्डअफ’ यस्तो गतिरोध हो, जसमा शक्तिशाली दुई वा सोभन्दा बढी पक्ष यस्तो संवेदनशील अवस्थामा हुन्छन्, यीमध्ये कुनै एकले प्रहार गर्यो भने सबैको एकसाथ प्रहार हुन्छ र सबै समाप्त हुन्छन्। कुनै पनि पक्षसँग जीत हासिल गर्न कुनै पनि रणनीति हुँदैन। सबै प्रतिस्पर्धीलाई रणनीतिक तनाबमा राख्छन्। कुनै बाहिरी पक्षले हस्तक्षेप नगरुञ्जेल यो सुल्झँदा पनि सुल्झँदैन।
नेपालीमा प्रयोग हुन्छ– सर्प, बिच्छी र भ्यागुतोको शक्ति सन्तुलन। सर्पले भ्यागुतो, भ्यागुतोले बिच्छी र बिच्छीले सर्पलाई सहजै जित्छ, भनिन्छ। सर्प, बिच्छी र भ्यागुतोमध्ये कुनै दुई मात्र एक ठाउँमा हुँदा एउटाले अर्कोलाई सहजै पराजित गर्न सक्छ। तर, यी तीनै एकै ठाउँमा भेला भए एकअर्कोको खतराले ती ‘हल न चल’ को अवस्थामा पुग्ने कहावत छ
नेकपाका यी तीन शीर्षनेता– ओली, प्रचण्ड र नेपालमध्ये दुई जना जता लागे, उतै आरामदायी बहुमत पुग्छ। तर, कुनै पनि पक्षलाई बेवास्ता वा पेलेर जानसक्ने अवस्था देखिँदैन।
ओली सरकारले शान्तिप्रक्रियाका बाँकी काम टुंगोमा नपुर्याएसम्म कुरेरै बस्ने रणनीतिमा छन् प्रचण्ड। दुवै अध्यक्ष यो सहमतिलाई टुटाएर अघि बढ्न तयार देखिँदैनन्– अनेक असन्तुष्टिका बाबजुद पनि।
तत्कालीन एमालेभित्रका दुई गुटमा गत वर्षको पार्टी एकताबाट साविक माओवादी थपिएपछि तीन गुट भएको हो। यसैको परिणामस्वरुप तीन महिनाभित्र पूरा गर्ने घोषणा गरिएको पार्टी एकताका काम अझै बाँकी छन्। एमाले र माओवादीकेन्द्रका पोलिटब्युरोलाई एकीकरण गरी नेकपाको पोलिटब्युरो कमिटी कहिले बन्ने हो, अनिश्चित छ।
नेकपाको सबैभन्दा सक्रिय नौ सदस्यीय केन्द्रीय सचिवालय मात्र हो। त्रिपक्षीय शक्ति सन्तुलनका कारण पछिल्लो समय यसमा समेत गतिरोध उत्पन्न भएको छ। पटक–पटक बस्ने भन्दै नबस्दै गरेको सचिवालय बैठक आज तीन बजेका लागि डाकिएको छ। बिहानै अध्यक्षद्वयले अर्का वरिष्ठ नेता नेपालसँग छलफल गरी केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नेबारे तयारी गरेका छन्।
मौन माधव, दबाब दिँदै दाहाल
शीर्षनेताहरू रहेको ४५ सदस्यीय स्थायी कमिटी बैठक नबसेको छ महिना भएको छ। केन्द्रीय कमिटी बैठक पार्टी एकतापछिका १३ महिनामा तीन पटक बसेको छ। दुई सयभन्दा बढी सदस्य भएका कमिटीहरू गठन भए पनि क्रियाशील हुन सकेका छैनन्। त्यहाँ निर्णय सुनाएर अनुमोदन गर्नेबाहेक छलफल गरी निर्णय गर्नसक्ने अवस्था पनि छैन।
एकअर्कासँग असन्तुष्ट छन्– तीनै जना शीर्ष नेताहरू। प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैको शक्तिमा ‘रजाइँ’ गरिरहेका ओली बैठकै नडाकी अघि बढिरहेका छन्। दाहालसँग सानिध्यता बढाएर शक्ति आर्जनको रणनीतिमा रहेका नेपाल चाहिँ मौन बसेर ओलीलाई दबाब दिँदै छन्।
ओलीको शैली हेर्दा पार्टी एकता गर्दा भएको सहमतिबमोजिम प्रधानमन्त्री वा अध्यक्षको कार्यकारी अधिकार पनि आफूमा नआइपुग्ने हो कि भन्ने आशंकाले प्रचण्डभित्र छट्पटाहट पनि देखिन्छ ।
अनि अत्यन्त क्रियाशील स्वभावका ‘डाइनामिक’ नेता प्रचण्ड चाहिँ द्विविधामा छन्। उनी न नेपालसँग मिलेर तत्काल ओलीलाई दबाब दिएर वारका पार गरी अघि बढ्न सक्छन् न उनमा ओलीसँग ‘बिलय’ भएर बाँकी चार वर्ष कुर्ने धैर्य देखिन्छ। उनलाई कार्यकारी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद पाउनुपर्ने आकांक्षा पनि छ।
ओलीको शैली हेर्दा पार्टी एकता गर्दा भएको सहमतिबमोजिम प्रधानमन्त्री वा अध्यक्षको कार्यकारी अधिकार पनि आफूमा नआइपुग्ने हो कि भन्ने आशंकाले प्रचण्डभित्र छट्पटाहट पनि देखिन्छ। नेकपाका एक जना स्थायी कमिटी सदस्य भन्छन्, ‘प्रधानमन्त्री ओली भारत भ्रमणमा भएको बेला आलोपालोबारे पार्टी एकता गर्दा भएको सहमतिबारे सञ्चारमाध्यममा बोल्नु यही छट्पटाहट र आशंकाको परिणाम हो।’
पोटिब्युरो बनाउन सकस
नेकपाको एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गरिने टुंगो एक वर्षअघि नै भएको हो। त्यसमध्ये साविक एमालेलाई ८१ र साविक माओवादीको भागमा ६६ जना बाँडिएको थियो तर दुबै जना अध्यक्ष व्यक्ति चयन गर्न सक्ने अवस्थामा छैनन्। त्यसैले ओली र प्रचण्ड पोलिटव्युरो नबनाउनेबारे मौन सहमति जस्तै छ।
साविक एमाले पोलिटब्युरोका ५९ जना थिए। ती बाहेक थप २२ जनाको नाम ओली–नेपालको भागमा परेको छ। एक पटक केन्द्रीय सदस्य भइसकेकोमात्र पोलिट्व्युरो हुन पाउने पूर्व एमालेकै ‘योग्यता’ मा उल्लेख थियो।
पार्टी पद्धति र प्रणालीको वकालत गर्दै आएका नेपाल वरिष्ठताका आधारमा व्यक्ति चयन गर्नुपर्ने पक्षमा छन्। यसो गर्दा पोलिटव्युरोमा पनि नेपाल पक्षलाई बढी फाइदा पुग्छ। त्यसैले अध्यक्ष ओली चाहिँ स्वाभाविक रूपमा आफू निकटलाई पार्न चाहने र महाधिवेशनमा नेपाल खेमाबाट जितेर आएका केही ‘प्रभावशाली’ युवा केन्द्रीय सदस्यलाई पोलिटव्युरोमा पुग्नबाट रोक्न चाहन्छन्।
अर्का अध्यक्ष प्रचण्डको बाध्यता बेग्लै छ। उनीसँग नेकपा पोलिटब्युराेमा योग्यता पुगेका पूर्व माओवादीको सूचीमा करिब १०० जना जतिको नाम छ। सविक माओवादीकै पोलिटब्युरो ८३ सदस्यीय थियो। त्यसबाहेक अरु पार्टीबाट आएकासमेत गर्दा उनीसँग सय जना जतिको दबाब छ– उनको भागमा परेको ४७ सीटका लागि। त्यसैले दाहाल पनि पोलिट्व्युरो बनाएर आफू पक्षका धेरै नेतालाई चिढ्याउन चाहँदैनन्। दुवै अध्यक्षको यही स्वार्थमा पोलिट्व्युरो अड्किएको छ। जुन चाँडै गठन नहुने अवस्थामा रहेको नेकपाकै नेताहरू बताउँछन्।
पूर्वएमालेभित्र पार्टी फुटाएर अघि बढ्ने साहस अब कसैमा देखिँदैन। ०५५ सालमा वामदेव गौतमको नेतृत्वमा फुटेको पार्टी नचलेको तिक्त अनुभव र यथार्थबोध सो पार्टीका सबै गुटका नेतामा छ।
फुट्दा पनि नफुट्ने, जुट्दा पनि नजुट्ने
कानूनी र भौतिक रूपमा एकै पार्टी बनेको छ– नेकपा। यो सारमा भने मोर्चाकै रुपमा क्रियाशील छ। तीन मुख्य गुट र त्यसभित्र दोस्रोतहका नेतापिच्छे अनेक ‘सेटलाइट’ का रूपमा चल्दै आएको छ नेकपा। ओली सरकारले शान्तिप्रक्रियाका बाँकी काम टुंगोमा नपुर्याएसम्म कुरेरै बस्ने रणनीतिमा छन् प्रचण्ड। ओली–प्रचण्डबीचको समझदारी नै त्यही छ।
ओली सरकारले आफ्नो तीन वर्षभित्र शान्तिप्रक्रिया टुंग्याउने र त्यसपछि पछिल्लो दुई वर्ष प्रचण्डलाई प्रधानमन्त्री हस्तान्तरण गर्ने पार्टी एकतापूर्वको सहमति हो। अहिलेसम्म दुवै अध्यक्ष यो सहमतिलाई टुटाएर अघि बढ्न तयार देखिँदैनन्– अनेक असन्तुष्टिका बाबजुद पनि।
फेरि पूर्वएमालेभित्र पार्टी फुटाएर अघि बढ्ने साहस अब कसैमा देखिँदैन। ०५५ सालमा वामदेव गौतमको नेतृत्वमा फुटेको पार्टी नचलेको तिक्त अनुभव र यथार्थबोध सो पार्टीका सबै गुटका नेतामा छ। त्यसैले बेलाबखत असन्तुष्टि छरपष्ट पार्ने, फेरि छलफल गरी सहमति गर्ने र अघि बढ्ने क्रम नेकपामा देखिइनै रहने छ।
चौथो वर्ष लाग्दा पनि प्रधानमन्त्री ओलीले कुनै पनि कार्यकारी भूमिका दिएनन् भने र माधव नेपाललाई पनि पेलेरै जाने रणनीतिलाई निरन्तर राखे भने के होला भन्न सकिन्न तर नेकपा फुट्दा पनि नफुट्ने, जुट्दा पनि नजुट्ने ढंगले नै एकअर्को गुटको चाल हेर्दै अघि बढ्ने बाध्यात्मक अवस्थामै रहने देखिन्छ।