आङछिरिङको नाममा कानून र बाैद्ध संस्कृतिविपरीत लुम्बिनीमा व्यक्तिगत गुम्बा
काठमाडौं, जेठ १० : बुद्ध जयन्तीको अवसरमा गत जेठ ४ गते प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा शिलान
काठमाडौं, जेठ १० : बुद्ध जयन्तीको अवसरमा गत जेठ ४ गते प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा शिलान्यास गरेको गुम्बा कानून र बौद्ध संस्कृतिविपरीत रहेको पाइएको छ।
गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको स्मृतिमा बनाउन लागिएको व्यक्तिगत गुम्बाले लुम्बिनी गुरुयोजनाकाे पनि उल्लङ्घन गर्छ।
बौद्ध धर्म र दर्शनका अध्येता वसन्त महर्जन भन्छन्, ‘बौद्धमार्गी समुदायमा व्यक्तिको नाउँमा गुम्बा बनाउने चलन छैन। लुम्बिनीको विहार क्षेत्रभित्रै व्यक्तिगत गुम्बा बनाउनु त झन् मिल्दै मिल्दैन। आज आङछिरिङ शेर्पाको नाउँमा व्यक्तिगत गुम्बा बनाउन अनुमति दिने लुम्बिनी विकास कोषले भोलि अर्को व्यक्तिलाई पनि व्यक्तिगत गुम्बा बनाउन दिन्छ?’
यसकारण कानूनविपरीत
बुद्धको जन्मस्थलको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि लुम्बिनी विकास कोष ऐन २०४२ बनेको छ। यो ऐनद्वारा गठित लुम्बिनी विकास कोषले नै लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन गर्दै आएको छ। यो ऐनअन्तर्गत बनेको विहार क्षेत्र विनियमावली २०५८ ले लुम्बिनीमा कसले र कस्तो अवस्थामा गुम्बा बनाउन पाउँछ भन्ने निर्देश गर्छ।
यो विनियामावलीको विनियम ३ मा भनिएको छ - ‘विहार क्षेत्रमा कुनै विहार बनाउन बुद्ध धर्म मान्ने वा बुद्ध धर्मसँग सम्बन्धित कुनै मित्र राष्ट्र वा संघ संस्थाले अनुरोध गरेमा (लुम्बिनी विकास) कोषले आवश्यक विश्वसनीयता वा सबै व्यहोरा बुझी उपयुक्त ठहराएमा त्यस्तो पक्षसँग सम्झौता गरेर विहार क्षेत्रको कुनै चक्ला उपलब्ध गराउन सक्नेछ।’
याे पनि : आङछिरिङ शेर्पाको कम्पनीलाई ऐन मिचेर ८० वर्षसम्म पाथीभरा केबलकार चलाउने अनुमति
यो विनियमको सार हो – लुम्बिनीको विहार क्षेत्रमा बौद्धमार्गी राष्ट्र वा बौद्ध धर्मसँग सम्बन्धित संस्थाले मात्रै गुम्बा बनाउन पाउँछ।
अहिले आङछिरिङ शेर्पाको स्मृतिमा बनाउन लागिएको व्यक्तिगत गुम्बा सुरुमा उनी सम्वद्ध रहेको टाँसी साङ्गा छोलिङ मोनाष्ट्रीले बनाउने भनिएको थियो। र, गुम्बाको नाउँ पनि टाँसी साङ्गा छोलिङ गोन्पा थियो।
टाँसी साङ्गा छोलिङ मोनाष्ट्रीले टाँसी साङ्गा छोलिङ गोन्पा बनाएको भए लुम्बिनी विहार क्षेत्र विनियमावली २०५८ उल्लङ्घन भएको मानिँदैन थियो।
तर, यो संस्थाले गुम्बा निर्माणको शिलान्यास गर्नुअघि नै आङछिरिङ शेर्पाको निधन भयो। त्यसपछि आङछिरिङ शेर्पाको परिवारले संस्थाको नाउँमा बनाउन अनुमति लिएको गुम्बालाई व्यक्तिगत रुपमा बनाउने गरी शिलान्यास गरेको हो।
यति एयरलाइन्स, एयर डाइनेस्टी र गोकर्ण गल्फ रिसोर्ट लगायत दर्जनौं व्यवसायका मालिक आङछिरिङ शेर्पा जीवित छँदा प्रधानमन्त्री ओलीका अत्यन्तै निकट मानिन्थे। उनको परिवार अहिले पनि प्रधानमन्त्री ओलीसँग उत्तिकै निकट मानिन्छ।
सत्तासँगको यही निकटताको आधारमा शेर्पा परिवारले संस्थाको नाउँमा बनाउन लागिएको गुम्बालाई व्यक्तिगत गुम्बामा परिणत गरेको हो। प्रधानमन्त्री ओली आङछिरिङ शेर्पाका दाइ सोनाम शेर्पाका साथमा ‘आङ छिरिङ शेर्पा गुम्बा’ उद्घाटन गर्न लुम्बिनीको विहार क्षेत्र पुगेका थिए।
लुम्बिनी विकास कोषले कसरी आफ्नै विनियमावली मिचेर व्यक्तिगत गुम्बा बनाउने अनुमति दियो? काठमाडौं प्रेसले यो प्रश्न लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईलाई सोधेको थियो।
भट्टराईले सुरुमा त व्यक्तिगत गुम्बा बनाउने अनुमति दिइएको कुरा ठाडै इन्कार गरे। उनले गत बुधबार टेलिफोनमा भने, ‘आङछिरिङ दाइले धेरै पहिलेदेखि नै लुम्बिनीमा गुम्बा बनाउने इच्छा राख्दै आउनु भएको थियो, तर उहाँको संस्थाले बनाउने हो। यो व्यक्तिगत गुम्बा होइन।’
तर, काठमाडौं प्रेसले गुम्बा शिलान्यास गरिएको ठाउँमा ठड्याइएको बोर्डमै ‘आङ छिरिङ शेर्पा गुम्बा’ लेखिएको छ भनेपछि भट्टराईले ‘यस विषयमा बुझौंला’ भन्दै बातचित टुङ्ग्याए।
बिहीबार दोस्रो पटक टेलिफोन सम्पर्कमा आउँदा भट्टराईले भने, ‘तपाईंसँग कुरा भएपछि मैले आफैं त्यहाँ गएर हेरेँ। तपाईंले भनेको सही रहेछ। बोर्डमै आङ छिरिङ शेर्पा गुम्बा लेखिएको रहेछ।’
संस्थागत गुम्बा बनाउन अनुमति दिइएकोमा कसरी व्यक्तिगत गुम्बाको शिलान्यास गरियो भन्ने विषयमा आफूले पनि सोधपुछ गरेको भट्टराईले बताए।
भट्टराईले आफूले पाएको जानकारी काठमाडौं प्रेसलाई दिए - सुरुमा संस्थागत गुम्बा बनाउने निवेदन आएको रहेछ, संस्थागत गुम्बाकै लागि अनमुति पनि दिइएको रहेछ, तर आङछिरिङ शेर्पाको निधनपछि उनको स्मृतिमा व्यक्तिगत गुम्बा बनाउने निर्णय उनको परिवारले गरेछ तर यो निर्णयबारे लुम्बिनी विकास कोषलाई मौखिक जानकारी मात्रै दिइएको छ।
उनले भने, ‘यस विषयमा अझै लिखित निवेदन आएको रहेनछ, लिखित निवेदन पेश गर्ने कुरा चाहिँ चलिरहेको रहेछ।’
यसकारण अशोभनीय
सन् १९७८ मा विश्वप्रसिद्ध जापानी आर्किटेक्ट केञ्जो ताङ्गेले लुम्बिनी विकास गुरुयोजना बनाए। गुरुयोजना अनुसार लुम्बिनीलाई तीन भागमा बाँडिएको छ।
सबैभन्दा दक्षिणी भागमा छ, मायादेवीको मन्दिर। यो नै त्यो ठाउँ हो, जहाँ २५ सय वर्षअघि बुद्ध जन्मिएका थिए।
मायादेवी मन्दिरदेखि उत्तरको भाग हो, विहार क्षेत्र। एउटा नहरले यो क्षेत्रलाई दुई भागमा विभाजन गरेको छ।
विहार क्षेत्रभन्दा पनि उत्तर नयाँ लुम्बिनी गाउँ छ, जहाँ विश्व शान्ति स्तूपा बनेको छ।
याे पनि :आङछिरिङको अर्बौंको उत्तराधिकारी को ?
नहरले छुट्याएको विहार क्षेत्रको पूर्वी भागमा थेरावादी र पश्चिम भागमा महायन सम्प्रदायका गुम्बाहरू छन्।
पूर्व क्षेत्रमा १३ र पश्चिम क्षेत्रमा २९ वटा गुम्बा बन्ने गरी जग्गाको चक्लाबन्दी गएिको छ। आङ छिरिङ शेर्पा गुम्बा निर्माणका लागि पश्चिम क्षेत्रको एउटा चक्ला प्रदान गरिएको छ।
केञ्जो ताङ्गेले लुम्बिनी गुरुयोजना बनाउँदा यस्तो विहार क्षेत्रको कल्पना गरेका थिए, जहाँ वौद्ध धर्म मान्ने सबै राष्ट्रको गुम्बा संस्कृति झल्कियोस्। जस्तै – श्रीलंकाको गुम्बामा जाँदा श्रीलंकै पुगेको भान होस्, थाइल्यान्डको गुम्बामा जाँदा थाइल्यान्ड नै पुगेको भान होस्।
भिन्नाभिन्नै बौद्ध राष्ट्रका भिन्नाभिन्नै बौद्ध संस्कृति झल्किने विहार क्षेत्रमा एउटा व्यापारीको नाउँमा व्यक्तिगत गुम्बा बनाइनु अशोभनीय हुने वौद्ध दर्शनका अध्येता वसन्त महर्जन बताउँछन्। भन्छन्, ‘लुम्बिनीको विहार क्षेत्रमा व्यक्तिगत गुम्बा बनाइनु केञ्जो ताङ्गेको परिकल्पना र वौद्ध संस्कृति विपरीत हुन्छ।’
महर्जनका अनुसार, लुम्बिनीभित्र त व्यक्तिगत गुम्बा अहिलेसम्म बनेकै छैन। अन्यत्र व्यक्तिले बनाएका गुम्बा पनि संस्था वा समुदायकै नाउँमा छन्। उनी भन्छन्, ‘हुन त आङ छिरिङ शेर्पा गुम्बामा पनि अरुलाई जान नदिने त होइन होला, तर व्यक्तिको नाउँमा गुम्बा बनाउनु अलि अशोभनीय भयो। यस्तो मिल्दैन।’