फोरम-नयाँ शक्ति एकताको भित्री पाटो
काठमाडौं, वैशाख २२ : न चुनाव सम्मुख छ न त कुनै ठूलो आन्दोलनको बाध्यता। यतिबेला गरिने संघीय समाज
काठमाडौं, वैशाख २२ : न चुनाव सम्मुख छ न त कुनै ठूलो आन्दोलनको बाध्यता। यतिबेला गरिने संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकताले वर्तमान सत्ता–समीकरणमा पनि कुनै असर गर्दैन।
‘अफ सिजन’ मै नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता गरी ‘समाजवादी पार्टी, नेपाल’ घोषणा तेस्रो राजनीतिक शक्ति निर्माणको कोशिशलाई प्रष्ट संकेत देखाउँछ। डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको ‘सर्वाइभल’ (बचाउ) र उपेन्द्र यादवको संघीय समाजवादी फोरमको ‘एक्स्पान्सन’ (विस्तार) को बाध्यताले दुई पार्टी एकीकृत बन्ने निर्णयमा पुगेका हुन्।
विकासको प्रष्ट दृष्टिकोण भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक उचाइ र व्यक्तिगत लोकप्रियता ‘फोरम’ ले राष्ट्रिय पार्टीको छवि बनाउने व्यक्तित्व पाउने छ। पार्टी कमजोर हुँदै जाँदा ‘बिनासेनाका जर्नेल’ को हालतमा पुगेका डा. भट्टराईका लागि उपेन्द्र यादवको तराई–मधेसको बलियो संगठनले राजनीतिक शक्ति प्रदान गर्नेछ।
भोलि वैशाख २३ गते दुई बजे काठमाडौंको प्रज्ञा प्रतिष्ठानबाट ‘समाजवादी पार्टी, नेपाल’ घोषणापछि नेपाली राजनीतिमा वैकल्पिक शक्ति निर्माणको प्रयास देखाउँछ। यसले नयाँ राजनीतिक शक्ति निर्माणमा नयाँ ध्रुवीकरण ल्याउनेछ। केही समयपछि नै यसमा ‘राष्ट्रिय जनता पार्टी’ (राजपा) र जनमुक्ति पार्टी पनि एकीकृत हुनसक्ने सम्भावनाले पनि नयाँ ध्रुवीकरणलाई संकेत गर्छ।
एक महिना ढिला गरी ‘राजपासमेत एकीकृत भएको घोषणा गरौँ’ भन्ने महन्थ ठाकुरको प्रस्ताव भए पनि यी दुई पार्टीले चाहिँ तत्काल एकीकरणमा हतार गरेका हुन्। ढिला गर्दा विभिन्न शक्तिकेन्द्रले खेल्ने मौका पाउने हुनाले तत्काल घोषणा गरिहाल्ने निष्कर्षमा डा. भट्टराई र यादव पुगे।
मधेसी समुदायको पर्याय बनिसकेको थियो– ‘फोरम’ शब्द। यो शब्दसँग मधेसी समुदायको अपनत्व न थियो नै, तर पहाडी समुदायको वितृष्णा पनि थियो। अझ राजधानीबासी वा ‘पहाडी’ समुदाय बसोबास क्षेत्रको ‘कन्जरवेटिभ’ जमातले त कोही पनि मधेसी वेशभुषाको व्यक्तिलाई हेपेर पनि यही शब्द प्रयोग गरेर बोलाउनेसम्म थिए– ‘ओ फोरम’ भनेर। नाममा यो शब्द कायमै राखेर राष्ट्रिय पार्टी बन्न नसक्ने निष्कर्षमा उपेन्द्र पुगिसकेका थिए। मधेसमा पार्टीको नाममा फोरम रहे वा नरहे पनि उपेन्द्रको स्थापित संगठनमा केही फरक पर्ने अवस्था छैन। त्यसैले अब पार्टीको नाममा ‘फोरम’ रहने छैन। एउटा पूर्ण रूपमा ‘सोसलिस्ट पार्टी’ का रूपमा आउने छ– समाजवादी पार्टी।
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा दुबै नेता एकै पार्टीमा थिए– डा. बाबुराम भट्टराई र उपेन्द्र यादव। भट्टराई माओवादी पार्टीभित्र तेस्रो वरियताका नेता थिए। तर, पहिचानका हिसाबले चाहिँ एक नम्बर नेता थिए। उपेन्द्र माओवादीकै तल्लो वरियताका केन्द्रीय नेता थिए। अब एउटै पार्टीमा भट्टराई ‘सेरोमोनियल सर्वोच्च नेता’ र यादव कार्यकारी अध्यक्ष हुनेछन्।
एकतापछि पनि पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराई ‘समाजवादी पार्टी, नेपाल’ को एक नम्बर नेता नै हुनेछन्। उनले संघीय परिषद्को अध्यक्षता गर्नेछन्। करिब ६ सय जना सदस्य रहने पार्टीको यो एकाईंको बैठक वर्षमा एक वा दुई पटक मात्र बस्नेछ। यो एकाईं नेपाली कांग्रेसको महासमिति वा नेकपाको राष्ट्रिय परिषद्जस्तै हो। केन्द्रीय समितिको अध्यक्ष र प्रतिनिधिसभाको संसदीय दलको नेता चाहिँ उपेन्द्र यादव नै रहने छन्।
प्रतिनिधिसभामा साविक फोरमको १६ सिट छ भने नयाँ शक्तिको डा. बाबुराम भट्टराई एक जना मात्र छन्। १७ सिटसहित ‘समाजवादी पार्टी, नेपाल’ संसद्को तेस्रो दलको हैसियतमा उक्लने छ। डा. भट्टराई पूर्वप्रधानमन्त्रीको हैसियत सो पार्टीसँग जोडिने छ। ‘ब्याक बेञ्चर’ नेताको समेत हैसियत भएको पार्टीको संसद्भित्र र अन्तर्राष्ट्रिय मञ्चमा पनि साख बढ्छ।
दुई वर्षअघि तीन तहका निर्वाचन अघि नै यी दुई दल एकीकृत हुने टुङ्गो नजिक पुगेका थिए। अन्तिम क्षणमा आएर सो एकता बिथोलिएको थियो। निर्वाचन परिणामले नयाँ शक्तिलाई निकै कमजोर सावित ग¥यो भने फोरमले पनि क्षेत्रीय शक्तिको आफ्नो पहिचान फेर्न सकेन।
फोरमले प्रतिनिधिसभामा ‘मधेस’ बाट १० सिट जित्यो। एमालेबाट बाहिरिएका ‘जनजाति नेताहरू’को प्रभाव क्षेत्र भनिए पनि प्रदेश १ को पहाडमा पनि फोरमले अस्तित्व देखाउनै सकेन। समानुपातिकतर्फ फोरमले करिब चार लाख ६९ हजार भोट पायो। नयाँ शक्तिका संयोजक भट्टराई एक जनाले मात्र जिते। समानुपातिकमा करिब ८१ हजार मत पाए पनि राष्ट्रिय पार्टी पनि बन्न सकेन।
फोरम अध्यक्ष यादव आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन चाहन्छन्। अशोक राईले नेतृत्व गरेको त्यसबेलाको संघीय समाजवादी पार्टीसँगको एकता पनि त्यही प्रयास थियो, जुन असफल भयो। उक्त एकतापछि प्रदेश १ मा फोरमको उपस्थिति चाहिँ देखियो।
प्रदेश २ को प्रदेश–सरकारको नेतृत्व त फोरमकै छ। राजपाको समर्थनमा सबैभन्दा ठूलो दलको हैसियतमा फोरम संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री बन्न सफल भएका थिए। तर, एमाले र माओवादी केन्द्र एकीकरणपछि प्रदेश २ को प्रदेशसभामा ३२ सिटसहित सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ– त्यहाँको प्रमुख प्रतिपक्षी नेकपाले।
सबै प्रदेशमा पार्टीको बलियो उपस्थिति हुने र राष्ट्रिय राजनीतिमा पनि प्रभाव बढ्ने आशा फोरमको छ। प्रदेश १, २ र ५ मा फोरम बलियो छ। अब देशव्यापी संगठन भएको राष्ट्रिय पार्टी बन्ने छ। गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ३ मा पनि नयाँ शक्तिको संगठन बन्ने छ। यससँगै एमाले र माओवादी एकीकरणका क्रममा ‘अन्यायमा परेका’ हरूलाई आकर्षित गर्ने र पार्टी निर्माण गर्ने रणनीति पनि समाजवादी पार्टीको हुनेछ।
नयाँ शक्तिका नेता भट्टराईले बलियो प्रतिपक्ष निर्माणलाई जोड दिएका छन्– पार्टी एकता वार्ताका क्रममा। त्यसका लागि उपेन्द्रमाथि सरकार छाड्नुपर्ने दबाब पनि बढेको छ तर तत्काल छाडिहाल्ने मुडमा छैनन् उनी। विगतमा फोरम सरकारमा सहभागी हुँदा नेकपासँग गरेको दुई बुँदे सहमतिअनुसार मधेस आन्दोलनका माग सम्बोधन गर्न संविधान संशोधन गरिहाल्नुपर्ने दबाब बढाउने छन् उपेन्द्रले। त्यो पूरा नभए मात्र सरकार छाड्ने उपेन्द्रको तर्क छ।
जे होस्, उपेन्द्रले बाबुरामको लोकप्रियता र पूर्व प्रधानमन्त्रीको व्यक्तित्व पाएका छन्। त्यस्तै डा. बाबुरामले पनि उपेन्द्रको बलियो संगठन पाएका छन्। त्यसैले ‘बचाउ’ र ‘विस्तार’ को बाध्यतामै भए पनि ‘अफसिजन’ मा गरेको यो एकताले राजपालगायत साना दललाई पनि समेट्न सक्यो भने नेपाली राजनीतिका स्थापित नेकपा र कांग्रेसजस्तै अर्को राष्ट्रिय शक्ति बन्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न।