एकता टुङ्ग्याउन नेकपाले डाक्यो ६ बजे सचिवालय बैठक
काठमाडौं, बैशाख ८ : साङ्गठनिक एकीकरण प्रस्तावलाई अन्तिम रूप दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सच
काठमाडौं, बैशाख ८ : साङ्गठनिक एकीकरण प्रस्तावलाई अन्तिम रूप दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ ६ बजेका लागि डाकिएको छ।
नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले दिएको जानकारी अनुसार, उक्त बैठकले दिनभरिको गृहकार्यपछि साङ्गठनिक एकतालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।
नेकपाको स्थापना दिवस पारेर भोलि बैशाख ९ गते साविकको नेकपा (नेकपा) एमाले र माओवादीकेन्द्रबीच एकीकरण पूरा भएको घोषणा गर्ने दुवै अध्यक्षलगायतका नेताहरूले बताउँदै आएका थिए।
पार्टी स्थापना दिवस आउन एक दिन मात्र बाँकी छँदा नेताहरू यसलाई अन्तिम रुप दिन सक्रिय भएका हुन्। ७० वर्षअघि २२ अप्रिल सन् १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त्यसको गृहकार्य गरिरहेका छन्।
दुई अध्यक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि अन्तिम रुप दिने गृहकार्यमा जुटेका छन्।
अध्यक्षद्वयले तयार पारेको प्रस्तावलाई सचिवालयले अनुमोदन गरेपछि त्यसलाई स्थायी कमिटी बैठकबाट पारित गराएर एकताको घोषणा गर्ने प्रक्रिया यसअघि पुसमा बसेको स्थायी कमिटीले तय गरिसकेको छ।
साविक एमालेभित्रका दुई गुट– अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको गुटबीचको कटुताका कारण एकतामा कठिनाइ उत्पन्न हुँदै आएको थियो। वरिष्ठ नेता नेपालसँग पनि अध्यक्षद्वय ओली र प्रचण्डले छलफल थालेपछि एकता प्रक्रियाले गति लिएको हो।
साङ्गठनिक एकता वरिष्ठताका आधारमा गरिनुपर्ने र पराजितलाई नेता बनाएर अघिल्ला अधिवेशनमा विजयी नेतृत्वलाई किनारा लगाउन नहुने अडान राख्नै आएको नेपाल पक्ष त्यस अडानमा केही लचिलो भएको छ। वरिष्ठ नेता नेपालले जिल्ला र गाउँ/नगर कमिटीहरू एकीकरण गर्दा साविक कमिटीका निवर्तमान सदस्यलाई कायम राख्ने, संख्या घटाउनुुपर्ने भएमा कनिष्ठताका आधारमा सदस्यलाई हटाउने र थप्नुपर्ने भएमा साविक कमिटीलाई नै आफ्नो तहका वरिष्ठताका आधारमा राख्ने धारणा राख्दै आएका थिए।
यसैगरी, जिल्ला र मातहत कमिटीका पदाधिकारीमा सम्बन्धित कमिटीका निवर्तमान पदाधिकारीमध्ये वरिष्ठलाई राख्ने, राजकीय जिम्मेवारीमा रहेका भए सम्बन्धित कमिटीको वरिष्ठतम सदस्यलाई पदाधिकारी बनाउने मापदण्ड लागू गर्नुपर्नेमा अडान वरिष्ठ नेता नेपालले लिँदै आएका थिए।
हाल कायम रहेका ७७ जिल्लामध्ये एकताका क्रममा ४५ पूर्वएमाले र ३२ जिल्लाको अध्यक्ष पूर्वमाओवादीले लिने गरी भागबन्डामा सहमति यसअघि नै भइसकेको छ।
अध्यक्ष पूर्वएमालेले पाएको जिल्लामा सचिव पूर्वमाओवादी र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लाको सचिव पूर्वएमालेले लिने सहमति छ। त्यस्तै इञ्चार्ज साविक एमालेले पाएमा सहइञ्चार्ज माओवादी केन्द्रमा जाने पनि तय भइसकेको छ।
दुवै अध्यक्षले पटक–पटक नेकपा नेताहरू वामदेव गौतम, ईश्वर पोखरेलसँग पनि छलफल गरिसकेका छन्। गत साता अध्यक्षद्वय रामबहादुर थापा बादल र महासचिव पौडेलसँग चन्द्रगिरि रिसोर्टमा एक दिन एक रात सँगै बसेर छलफल गरी खाका तयार पारिसकेका छन्।
साङ्गठनिक एकताबारे साविकको एमाले वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भने खासै वास्ता गरिएको छैन। गत वर्ष जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा उपचारका लागि चीनमा रहेका बेला नेपाललाई उनीभन्दा वरिष्ठ बनाइएको थियो।
साविकका एमाले र माओवादी केन्द्र मिलेर ११ महिना ०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसमा नेकपा घोषणा भएको थियो। एकीकरणलगत्तै बसेको नेकपा केन्द्रीय कमिटी बैठकले तीन महिनाभित्र एकता टुंग्याउने बताए पनि विवादकै कारण यो लम्बिदै गयो। पार्टीको पोलिटब्युरोको गठन नै भएको छैन । केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन छैन । केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिष्ट मञ्चको गठन नै भएको छैन ।
राष्ट्रिय परिषद्मा सदस्यहरूको मनोनयन भएको छैन । काठमाडौं उपत्यकामा बन्ने प्रदेश स्तरीय विशेष कमिटीको गठन भएको छैन । जिल्लासहित मातहत कमिटीहरूको एकीकरण अझै हुन सकेको छैन । जनवर्गीय सङ्गठनहरूको एकीकरण बाँकी छ । प्रबासका सङ्गठनहरूको एकीकरण र सम्पर्क कमिटी एवं मञ्चहरूको एकीकरणगायत साङ्गठनिक एकीकरणका काम बाँकी छ ।