Kathmandu Press

हुरीबतास पीडित खुला आकाशमुनि, नक्कलीलाई राहतको ओइरो

परवानीपुर, चैत २०ः बाराका हुरीबतास पीडितलाई राहत सामग्री वितरण गर्न प्रभावित क्षेत्रमा विभिन्न संघसं

हुरीबतास पीडित खुला आकाशमुनि, नक्कलीलाई राहतको ओइरो

परवानीपुर, चैत २०ः बाराका हुरीबतास पीडितलाई राहत सामग्री वितरण गर्न प्रभावित क्षेत्रमा विभिन्न संघसंस्थाहरुको बाक्लो उपस्थिति छ। राहत वितरणको काम पनि धामधम भइरहेको छ। तर, दिनहुँ राहत वितरणको काम भइरहेपनि हुरीबतासबाट प्रभावित वास्तविक पीडितहरुले भने राहत पाउन सकिरहेका छैनन्।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा रहेको दलित बस्तीका पीडितहरुले हुरीबतास गएको तीन दिन वितिसक्दा पनि अझैसम्म राहत पाएका छैनन्। घर भत्किएपछि तीन दिनदेखि खुला आकाशमुनि भोकै रातदिन कटाइरहेका छन्। वडा अध्यक्षको बलमिच्याइ र पीडित युवाहरुको विवादका कारण राहत नपाउँदा पीडितहरु भोकै आकाशमुनि बस्न बाध्य छन्। वास्तविक पीडितलाई राहत वितरण नगरी गैरपीडितलाई वडा अध्यक्षले राहत वितरण गरेको विरोधमा पीडित युवाहरुले वडा कार्यालयको गोदाममा दुई वटा ताल्चा लगाइदिएका छन् भने गोदाममा राहत सामग्री थुप्रिएको छ।

Hardik ivf

वडा अध्यक्षले गैरपीडितलाई आफूले भ्याएसम्म राहत सामग्री वितरण गरेका छन्।  परवानिपुर गाउँपालिकामा पर्ने वडा नम्बर ४ को कुल जनसंख्याको ३२ प्रतिशत दलित तथा अति विपन्न मानिसको बसोबास छ। वडा अध्यक्षकै कारण हुरीबतासबाट प्रभावित भएका वास्तविक पीडितहरुले राहत पाउन नसकेको स्थानीय सुगन्धीदेवी रामले बताइन्।

मुखियाले विभिन्न संघसंस्थाले दिएको राहत आफै बुझेर आफ्नो घरमा थन्क्याउने गरेको अर्का पीडित रामप्रवेश रामले बताए। उनीजस्तै पीडित मदन रामले मुखिया आफैले ठूला–ठूला मकानमा पीडितहरुका लागि आएको राहत पुर्‍याएको आरोप लगाए। गोदाममा त्रिपाल, दाल, चामल, अन्न, लत्ताकपडा सबै भरिभराउ अवस्थामा भएपनि आफ्नो पार्टी निकटका व्यक्तिलाई मात्रै राहत दिने गरेको पीडित मदनले बताए।

जहाँ बढी क्षति भएको छ, त्यहाँ वडा अध्यक्षले राहत सामग्री अझैसम्म नपठाएको अर्की पीडित रमरतिया देवीले बताइन्। ‘राहत सामग्री अझैसम्म पाएका छैनौं। पटक–पटक हामीले राहत माग्यौ। तर, उल्टै उनले कुटपिट गर्न लगाउँछन्,’उनले दुखेसो पोखिन्। 

पीडितहरुले राहत सामाग्री मागेपनि जनप्रतिनिधिहरु भने आफ्नै काममा व्यस्त देखिन्छन्। उनीहरुले पीडितको आवाज सुन्नुको साटो नक्कली पीडितहरुलाई नै राहत वितरण गरेको पनि पाइएको छ। बुधबार घटनास्थल पुग्दा वडा अध्यक्ष वडा अध्यक्ष गजेन्द्र पटेलले पीडितहरुलाई राहत सामग्री वितरण गर्ने भन्दै लाइनमा लगाए।

तर, राहत सामग्री वितरण गर्नुको साटो उल्टै पीडित दलित महिलाहरुहरुलाई आफ्नै सेवा सत्कारमा खटाए। आफू राजशी मेचमा बस्दै पीडितहरुका लागि राहतस्वरुप आएको विस्कुट चपाउँदै तिनै पीडित महिलाहरुलाई हाते पंखा घुमाउन लगाए। तर, दलितबस्तीमा एक बोरा चामलसमेत पठाएनन्।

वडा अध्यक्ष गजेन्द्र पटेलले पीडितहरुको अवस्था सुधार्न प्रयास गरिरहेको दाबी गरे।  ‘विहानै देखि पीडितहरुका लागि खान बनाउन लगाउने काम गराएका छौँ। यहाँ दलितको जनसंख्या बढी छ, खाना पकाएर दिने काम हामीहरुले नै गरिरहेका छौं,’उनले भने,‘बढी दिए खेर जाने र दुरुपयोग हुने भएकाले राहत सामग्री गोदाममा राखेका छौं।’ उनले गैरपीडितलाई राहत सामग्री दिएको भन्ने कुरा सही नभएको दाबी गरे।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, चैत २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्