छाउगोठको सट्टा सुविधायुक्त छाउघर
महिनावारी बार्ने चलन नेपालभर छ । गाउँ होस् वा शहर, हिमाल होस् वा पहाड, सुदूरपश्चिम होस् वा कर्णाली, जताततै यो चलन छ ।
महिनावारी बार्ने चलन नेपालभर छ । गाउँ होस् वा शहर, हिमाल होस् वा पहाड, सुदूरपश्चिम होस् वा कर्णाली, जताततै यो चलन छ । सुदूरपश्चिम त अझ छाउपडीकै कारण बदनाम छ।
महिनावारी बार्ने चलन त नेवारी समुदायमा पनि छ । पहिलो पटक महिनावारी हुँदा नेवार कन्यालाई गुफामा राखिन्छ । दोस्रो पटकदेखि कोही चोखो गरी अलगै बस्छन् । कोही बस्दैनन्।
महिनावारी बार्ने चलन आफैमा नराम्रो होइन । खासगरी विहानदेखि रातिसम्म काममा जोतिनु पर्ने महिलालाई महिनावारी बार्दा कम्तीमा ५ दिन भएपनि आराम त हुन्छ।
हाम्रा पुर्खाहरूले सायद राम्रै सोंचले महिनावारी बार्ने चलन शुरु गरे, तर हामीले यसलाई गलत संस्कारको रुपमा विकास गर्यौँ।
पहिले महिनावारी हुँदा कसरी सफा बस्ने भन्ने ज्ञान नेपाली समाजलाई थिएन । महिलाहरू रगत व्यवस्थापन गर्न सक्दैन थिए । यत्तिकै घरभित्र वा बाहिर काम गर्दा रगत बगेर फोहोर हुन्थ्यो । यस्तो बेला महिलालाई काम गर्न गाह्रो हुन्थ्यो । त्यसैले, महिनावारी हुँदा महिलालाई अलग्गै राख्ने चलन शुरु भयो । राम्रो नियतले शुरु भएको यो चलनले बिस्तारै विकृत रुप लिँदै गयो।
महिनावारी भएका बेला भान्छाघर वा मन्दिर पस्दा देउता रिसाउँछ भन्ने गलत मान्यता विकास भयो । महिनावारी हुँदा महिलालाई दूध र दही जस्ता पोषिलो खानेकुरा खान दिनु हुँदैन भनियो । उनीहरूलाई कसैले छुन पनि हुँदैन भन्ने विभेदजन्य सोंचको विकास भयो । कुनै धर्म ग्रन्थमा पनि महिनावारी भएका बेला महिलाले पोषिलो खानेकुरा खानुहुँदैन वा कसैलाई छुन हुँदैन भनिएको छैन । हामी आफैले बनाएको यस्तो गलत सोचलाई परिवर्तन गर्नैपर्छ।
तर, सरकारी र गैरसरकारी क्षेत्रबाट करोडौ लगानी हुँदा पनि सुदूरपश्चिम र कर्णालीमा छाउपडी हट्न सकेको छैन । यो कुप्रथा काकारण महिलाको मृत्यु भइरहेको समाचार आइरहन्छ । यसैले, मलाई लाग्छ, अब छाउपडीको अन्त्य गर्नुभन्दा यसलाई आधुनिक ढाँचामा ढाल्दा राम्रो हुन्छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका वासिन्दालाई आफ्ना आमा, दिदीबहिनीलाई महिनावारी हुँदा राम्ररी हावा नछिर्ने गोठमा राख्नुभन्दा यस्तो छाउघर निर्माण गर्न प्रेरित गर्नुपर्छ, जुन सफा र सुविधाजनक होस् । शहर बजारका होटल वा पार्टी प्यालेसजस्ता सुविधाजनक छाउघरमा बस्न पाए महिलालाई सर्पले टोक्ने, निस्सासिने वा चीसो लागेर मर्ने खतरा हुँदैन । उनीहरूलाई आधुनिक छाउघरमा बस्दा पोषिलो खाना र मनोरञ्जनको पनि व्यवस्था होस्।
जहाँ उनीहरूलाई बस्न, खानदेखि लिएर पाँच दिनसम्म केही मनोरञ्जन पनि होस । यो सुविधा त्यत्तिकै प्रदान गर्ने हैन । सेवाप्रदान गरे बपत पैसा लिनुपर्छ।
गरीबहरूले यस्तो सुविधाजनक छाउघर निर्माण गर्न सक्दैनन् । तर, स्थानीय सरकारले व्यवसायीहरूसँग मिलेर सामुदायिक छाउघरको निर्माण गर्न सक्छन्, जहाँ बस्ने महिलाबाट निश्चित शुल्क उठाउन सकिन्छ।
यस्ता आधुनिक छाउघर बनाउन सकिए गाउँमा पर्यटकहरू पनि बढ्छन । पर्यटकहरूलाई नै पनि त्यस्ता छाउघरमा राख्न सकिन्छ । होम स्टेमा जस्तो । यसो गर्न सकिए छाउपडीको पीडा भोग्ने महिलालाई राहत हुन्छ । छाउपडी चलन त्याग्नै मिल्दैन भन्नेहरूलाई पनि सजिलो हुन्छ।
सके त यस्ता सामुदायिक छाउघरमा एक जना नर्स पनि राख्नुपर्छ, जसले महिनावारी भएका दिदीबहिनीलाई सजिलो होस् । यस्तो बेला पेट दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या महिलाले भोग्ने गरेका छन् । नर्स राखियो भने उनीहरूले स्वास्थ्य सेवा पनि पाउँछन्।
छाउगोठमै महिलाको बलात्कार भएको, सर्पले डसेर मृत्यु भएको र निसास्सिएर ज्यान गएको जस्ता दुःखद घटनाहरू बाहिर आइरहन्छन्।
गाउँमा जसरी श्रमदान गरी र स्थानीय सरकारबाट बजेट निकाली धर्मशाला, विद्यालय र मन्दिरहरू बनाइन्छन्, त्यसरी नै सामुदायिक छाउघर बनाउन सकिन्छ । जसकारण, छाउगोठमै महिलाको बलात्कार भएको, सर्पले डसेर मृत्यु भएको र निसास्सिएर ज्यान गएको जस्ता दुःखद घटनाहरू पनि हुँदैनन् । सधै भरीका यसलाई जोगाइ राख्नु पर्छ भन्ने होइन, अब महिनावारीकै कारण कसैले ज्यान गुमाउनु नपरोस भन्ने तत्कालको उपाय मात्रै हो।
(बहसका लागि संस्कृतिविद् सत्यमोहन जोशीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित । यसमा काठमाडौं प्रेस सम्पादकीय टीम सहमत हुन जरुरी छैन् ।)