Kathmandu Press

ताप्लेजुङ दुर्घटनाः मन्त्री सवार हेलिकप्टर किन मोडियो पाथीभरा ? मन्दिर दर्शन त बहानामात्रै !

काठमाडौं, फागुन २६ : ताप्लेजुङको पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटन मन्त्री

ताप्लेजुङ दुर्घटनाः मन्त्री सवार हेलिकप्टर किन मोडियो पाथीभरा ? मन्दिर दर्शन त बहानामात्रै !

काठमाडौं, फागुन २६ : ताप्लेजुङको पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीका प्रियजनहरू त्यो दुःखान्त बिर्सने कोशिसमा छन् । 

तर, मन्त्री सवार हेलिकप्टर चुहानडाँडाको पूर्वनिर्धारित कार्यक्रम सकिएपछि काठमाडौं फर्किनुको सट्टा किन अचानक पाथीभरा मन्दिरतर्फ मोडियो ? याे प्रश्नको उत्तर भने अझै आइसकेको छैन ।

अहिलेसम्म आएका समाचारहरू अनुसार, मन्त्रीको टोली पाथीभरा मन्दिरको दर्शनका लागि त्यसतर्फ मोडिएको थियो । तर, काठमाडौं प्रेसले विभिन्न उच्च स्रोतहरूबाट संकलन गरेको सूचना अलि बेग्लै छ – मन्दिर दर्शन त बहाना मात्रै थियो, पूर्व निर्धारित कार्यक्रमबिनै मन्त्री सवार हेलिकप्टर पाथीभरा मोडिनुको खास कारण अर्कै थियो । 

Hardik ivf

मन्त्री नेतृत्वको टोली चुहानडाँडापछि पाथीभरा जाने कार्यक्रम काठमाडौंमै तय भएको तर त्यसलाई गोप्य राखिएको रहस्य पनि खुलेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीकै आग्रहमा पर्यटन मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । मन्त्री अधिकारीको साथमा थिए – पर्यटन व्यवसायी आङछिरिङ शेर्पा ।

त्यो यात्राका लागि शेर्पाले एयर डायनेष्टीकाे आफ्नै हेलिकप्टर उपलब्ध गराएका थिए । सोही हेलिप्टर दुर्घटनामा पर्दा मन्त्री अधिकारी र शेर्पासहित ७ जनाले ज्यान गुमाएका थिए  । 

पर्यटन मन्त्री अधिकारीले त्यो कार्यक्रमलाई सम्बोधन गर्दै चुहानडाँडामा आन्तरिक विमानस्थल बनाउन लागिएको बताएका थिए  । उनले आफूहरु चुहानडाँडामा विमानस्थल बनाउन भनेर हेर्न–बुझ्न आएको भन्दै एउटा नक्सा पनि देखाएका थिए । 

सम्बोधनमा विमानस्थलको लागत पहिला २९ करोड रुपैयाँ हुने भनिएको भए पनि निर्माणका लागि ८७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको भन्दै २ वर्षभित्र विमानस्थल निर्माण सम्पन्न हुने घोषणा समेत मन्त्री अधिकारीले गरेका थिए । 

मन्त्री अधिकारी किन गए पाथीभरा मन्दिर ?    

चुहानडाँडाकै कार्यक्रममा सहभागी नेकपाकै नेतासमेत रहेका प्रदेश सांसद तेजमान कन्दङ्वाले त्यो कार्यक्रमपछि मन्त्रीसहितको टोली सिधै काठमाडौं फर्किने योजना रहेको जानकारी सार्वजनिक गरेका थिए । उनले मन्त्री सहितको टोलीको पाथीभरा मन्दिर जाने योजनै नरहेको सार्वजनिक प्रतिक्रिया पनि दुर्घटना भएकै दिन दिएका थिए । 

कार्यक्रममै सहभागी आफ्नै नेतालाई समेत जानकारी नगराई मन्त्री अधिकारी भने व्यवसायी आङछिरिङ शेर्पाको लगानीमा निर्माण हुन लागेको पाथीभरा केबलकारको अवलोकन गर्न गएको रहस्य खुलेको छ । शेर्पाकै मुख्य लगानी रहेको त्रिवेणी केबलकार कम्पनीले पाथीभरामा केबलकार निर्माणको काम अघि बढाएको थियो ।

मन्त्री अधिकारीको टोली प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी नगराई किन पाथीभरा गएको थियो भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा काठमाडौं प्रेसले यो तथ्य फेला पारेको हो  ।

पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं व्यवसायीहरूले अनौपचारिक कुराकानीका क्रममा पर्यटन व्यवसायी शेर्पाले मन्त्री अधिकारीलाई आकाशबाटै भए पनि आफ्नो केबलकार योजनास्थल देखाउन त्यसतर्फ लगेका थिए । 

बिना जानकारी पाथीभरा गएको भनिए पनि शेर्पाले पहिले नै मन्त्री अधिकारीलाई चुहाँनडाँडाको अवलोकन र पाथीभरामा निर्माण हुने केबलकार समेत एकै साथ हेर्ने गरी एयर डाइनेष्टीको हेलिकप्टर लिएर गएको तथ्य पत्ता लागेको छ । 

‘ केही मिनेट केबलकार निर्माण हुने क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्ने र केही छिन मन्दिरको दर्शन गरेर फर्कने छोटो कार्यक्रम तय भएको थियो,’ आङछिरिङ शेर्पाकै लगानी रहेको यति एयरलाइन्सका एक उच्च तहका कर्मचारीले काठमाडौं प्रेससँग भने ।

यो पनि पढ्नुहोस्: आङछिरिङको अर्बौंको उत्तराधिकारी को ?

एक्कासी मौसम बिग्रिएपछि हेलिकप्टरबाट अवलोकन गर्ने काम थाँती राखी पाथीभरा मन्दिरको दर्शनका लागि हेलिकप्टर ल्यान्ड गरिएको थियो  । 

पाथीभरामा केबलकार निर्माण गर्ने शेर्पाको योजना विगत लामो समय देखिकै हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष केवल कार निर्माणको लागि कम्पनी छनोटको प्रक्रिया अघि बढाएको थियो । 

वार्षिक १० लाख पर्यटक पाथीभरा पुर्‍याउने लक्ष्यका साथ केबलकारको  निर्माणको प्रक्रिया अघि बढेको छ । गत वर्ष माग गरिएको आवेदनमा त्रिवेणी केबलकार, हिमाल दर्शन, पाथीभरा देवी दर्शन, इलाम पाथीभरा दर्शन प्राली र दिब्य दर्शनले पाथीभरामा केबलकार निर्माणका लागि प्रस्ताव पेश गरेका थिए । भौतिक मन्त्रालयले त्रिवेणी केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय मूल्यांकन गर्न अनुमति समेत दिएको थियो । 

पाथीभरा क्षेत्र विकास समिति सदस्य पुष्प बडुवाल, आङछिरिङ शेर्पा, आङछिरिङकै दाजु लाक्पा सोनाम शेर्पा, नागरिक उड्डयन प्राधिकरणका पूर्व सञ्चालक सदस्य समेत रहेका ईश्वरी पौडेल सहितको लगानी त्रिवेणी केवलकारमा रहेको छ । झन्डैै १ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माणको योजनामा केवलकार निर्माणको प्रक्रिया अघि बढाइएको थियो । 

केबलकार निर्माणपछि वर्षिक १० लाख पर्यटक पुर्‍याउने लक्ष्य 
विगत लामो समय देखि नै पाथीभरा मन्दिर दर्शनको लागि केवलकार निर्माण अघि बढाउन खोजिएको थियो । विगतमा पर्यटन मन्त्रालयले अनुमति दिने केवलकारको लाइसेन्स पछि भौतिक पूर्वाधार निर्माण मन्त्रालयमा पठाइएको थियो । 

पर्यटन मन्त्रालयले अनुमतिको अन्तिम तयारी गरिरहेको वेला आङछिरिङ शेर्पाको लगानी रहेको उक्त कम्पनी पछि भौतिकबाट लाइसेन्स लिनुपर्ने भएपछि समस्यामा परेको थियो । लामो कसरतपछि गत वर्ष वातावारणीय प्रभाव मूल्यांकनको अनुमति उनकै कम्पनीले पाएको थियो । प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेकै बेला केही समयअघि भौतिक मन्त्रालयले पुनः लाइसेन्सको लागि स्थानीय तहलाई जिम्मा दिने भन्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय पठाएको थियो । 

आङछिरिङ शेर्पाले बनाउन लागेको भन्दै स्थानीय अन्य ४ कम्पनीले विरोध जनाएपछि निर्माणको काम अघि बढ्न सकेको थिएन । केही साताअघि मात्रै स्थानीय अन्यलाई सहमति लिएर निर्माण गराउने प्रक्रियामा आङछिरिङ शेर्पा पुगेका थिए । 

३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरमा उपल्लो फेदी देखि केवलकार निर्माण गर्न लागिएको छ । झापाको बिर्तामोड बाट इलाम–फिदिम हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार तर्फ जानु पर्दछ । तल्लो फेदी सम्म मोटरबाटो पुगेको र माथिल्लो फेदीमा पनि मोटरबाटो पुर्‍याउने क्रममा रहेको छ । 

उपल्लो फेदीबाट मन्दिर दर्शनमा जान अहिले ३ घन्टाभन्दा बढी पैदला यात्रा गर्नु पर्दछ । सोही स्थानबाट केवलकार निर्माणको काम अघि बढेको हो । केवलकार निर्माणपछि बार्षिक १० लाख पर्यटक पुर्‍याउन सकिने प्रतिवेदन तयार पारिएको थियो ।  
 

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, फागुन २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्