शताब्दी पुरुषले देखेको नारीमाथिको विभेद
काठमाडौं, फागुन २४ : नारीमाथिको विभेद पहिले पनि थियो, अहिले पनि छ । पहिलेभन्दा अहिले अलि घटेको
काठमाडौं, फागुन २४ : नारीमाथिको विभेद पहिले पनि थियो, अहिले पनि छ । पहिलेभन्दा अहिले अलि घटेको छ । पहिले छोरीमान्छे लेखपढ गर्न पाउँदैनथे । घरको काममै सीमित हुन्थे । अहिले त छोरी पनि छोरासरह लेखपढ गर्न थाले । देशविदेश गर्न थाले ।
पहिले सती प्रथा थियो । श्रीमान मरे श्रीमतीले जिउँदै चितामा बसी आफ्नो प्राण त्याग गर्नु पर्थ्यो । जिउँदै जल्नुपर्ने कस्तो बाध्यता ? अहिले सम्झदा पनि डर लाग्छ ।
दास प्रथा थियो । साहु–महाजनले किनेर कमारा–कमारी राख्थे । मान्छे खसीबोका किनेजस्तै किनिन्थ्यो । यसको अन्त्य भयो तर तराइक्षेत्रमा अझै कमलरी प्रथाको घोषणा भइसक्दा पनि यो प्रथा अर्को रुपमा जीवितै छ। सती गएको, कमाराकमारी राखेको आफ्नै आँखाले देखिनँ । आफैँले नदेखे पनि कमारा–कमारी राख्न मान्छेको पशुसरह बेचबिखन हुने गरेको बाले सुनाउनुहुन्थ्यो ।
मानव समाजमा कलङ्कको रूपमा रहेको थियो– कमाराकमारी प्रथा । नेपालमा झण्डै एक सय वर्षअघि प्रधानमन्त्री चन्द्रशम्शेर राणाको समयमा, सम्वत् १९८१ माघ १४ गते उन्मुलनको घोषणा गरियो ।
पश्चिममा छाउपडी, देउकी, कमलरी, मधेशमा दाइजो, बोक्सी जस्ता थुप्रै कुप्रथा त अझै कायमै छन् । पहिलेको जस्तै सती जान नपरे पनि महिलामाथि हुने शोषण, दमन, थिचोमिचो अझै बाँकी नै छन् ।
सती, कमारा–कमारीका घटना आँखैले देख्न पाइनँ । बोक्सी लागेको भन्ने आरोप आँखैले देखेको छु । म सानै थिएँ । पाटनमै एक जना गाउँको दाइको बिहे भयो । त्यो बेलामा नेवारी समुदायमा बिहे गर्दा दुलाही लिन दुलाहा जाँदैनथे ।
दुलाहाको बाबु जन्ती लिएर गए । उता दुलही रुने, कराउने गर्न थालिन् । अचम्म लाग्यो– एक्कासी के भयो होला भनेर । दुलहीका आमाबुवाले अरुले थाहा पाउलान् भन्दै डरले ठूलो हल्ला गरी बाजागाजा बजाए । दुलहीलाई अलग्गै लगेर मन्त्र फुक्न थालियो ।
गाउँलेले बोक्सी लागेको भन्दै जुत्ता–चप्पल चटाउन लगाए । दुलाहाका बाबुको जुत्ता बिहेकै दिनमा बेहुलीलाई चाट्न लगाइयो । मलाईअनौठो लाग्यो । सँगै नरमाइलो पनि लाग्यो । यस्ता एक–दुई घटना त आँखैले देखेको थिए ।
पहिले खुट्टा–हातमा केही नीलडाम परे पनि ‘लौ न मलाई त बाेक्सीले टोक्यो’ भन्दै छिमेकभरि हल्ला फैलाउँथे ।
दाइजो पनि लिनेदिने चलन थियो । पहिले मोलमलाइको हिसाबमा हुँदैनथ्यो । छोरीलाई दुःख पर्दा सहज होस् भन्दै माइतीले सकेअनुसार थाल, भाँडा, भैँसी यस्तै दिइन्थ्यो । यो त छोरीहरुको लागि राम्रै त हो नि !
सबै छोरीले कहाँ राम्रो, सुखी परिवार पाउँछन् त बिहे गरिसकेपछि । यस्तो बेलामा छोरीचेलीलाई दुःख नहोस् भन्दै माइतीले गरेको सहयोग हो ।
यो चलनपछि गएर तराई–मधेशतिर नराम्रो रूपमा फैलियो । अहिले पनि दाइजो प्रथा छ । तर, पहिलेको जस्तो नभएर विकृत रुप लियो । जहाँ अहिले धेरै छोरी हुने गरिब घरपरिवारलाई बाँच्नै धौ–धौ परिरहेको छ । यो त कदापि राम्रो हैन ।
हाम्रो परिवारमै आमा, हजुरआमाले पनि त्यस्तो केही भोग्नुपरेको देखिनँ तर नेपाली महिलाले भोगेका कुरा सुन्दा र देख्दा चाहिँ नरमाइलो लाग्थ्यो । म पूर्वदेखि पश्चिमका जिल्लाहरूमा पुगेको छु । पूर्वतिर जाँदा महिलामाथि एक किसिमको शोषण भएको पाइन्थ्यो भने पश्चिममा जाँदा अर्कै किसिमको शोषणदमन हुन्थ्यो । ठाउँअनुसार माहिलामाथि हुने शोषण रुपमा मात्रै फरक थियो । त्यो कुनै ठाउँको चलन थियो । त्यही चलन अर्को ठाउँका लागि अचम्मको कुरा हुन्थ्यो ।
के–के हट्यो ?
सतीप्रथा निर्मूल भयो । अब महिलाले जिउँदै श्रीमानको चितामा जल्नु पर्दैन । कमाराकमारी पनि हट्यो । अब कसैको कमारा कोही बसेको पाइँदैन ।
मधेसमा अझै दाइजोको अवस्था भयावह देखिन्छ । छाउपडी सुदूर र मध्यपश्चिममा मात्रै छैन । सबै ठाउँमा बारिन्छ । पश्चिममा अलगै सानो झुप्रोमा राखिन्छ भने यतातिर घरभित्रै भए पनि अर्को कोठामा राखने चलन छ ।
हाम्रोमा पहिलोपटक गुफा राख्ने चलन अहिले पनि छ । १० दिनसम्म छोरीले कसैको मुख हेर्न पाउँदैनन् । अनि त्यसपछि भोज खुवाइन्छ । छोरीलाई दानदक्षिणा दिइन्छ ।
महिनावारी भएको बेला अलग्गै राखिने चलन चाहिँ मलाई पनि राम्रै लाग्छ । यो बेलामा उनीहरूले आराम पाउँछन् । चार–पाँच दिन भए पनि घरको कामबाट छुट्कारा पाउँछन् । सधै यौन सम्बन्धमा रहने श्रीमानबाट पनि टाढा हुन् भन्नका लागि महिनावारी भएको बेला अलग बसाउनु राम्रो हो । तर, जुन अलगै राख्ने, कसैलाई छुन नहुने, दहीदूधलगायतका खानेकुराहरू नदिने चलन चाहिँ राम्रो हैन ।
सती प्रथादेखि दासलगायत जुनसुकै कुप्रथाहरू छन्, यी सबै राजा–रजौटा, समाजका गन्यमान्य, भद्र–भलाद्मी कहलिएकाबाटै भएको पाइन्छ । कमाराकमारी पनि त्यसबेलाका धनीले गरिबका छोराछोरीलाई किनेर राख्ने गर्थे । देउकी प्रथामा पनि सुन्नुभएको होला– त्यसमा पनि धनीहरूले गरिबकै छोरीहरूलाई किनेर देवतालाई चढाएको पाइन्छ । डोले प्रथा थियो त्यसमा पनि क्षेत्रीबाहुनहरूले कथित ‘तल्लोजात’ का मान्छेलाई डोली बोक्ने काम गराउने गर्थे ।
धर्म, रीतिरिवाज चालचलनले नै प्रथालाई निर्धारण गरेको पाइन्छ । परम्परादेखि चल्दै आएको मान्दै आएको सँस्कृति हो । सँस्कृतिसँगै यस्ता चालचलन निर्धारण गरिए । कानूनी रुपमा अन्त्य भए पनि जिल्ला भेग, ठाउँअनुसार नै फरक फरक किसिमले नारीमाथि विभेद गर्ने कार्यहरू अहिले पनि भइरहेका छन् । यसलाई व्यवहारबाटै चाँडो अन्त्य गरिनुपर्छ ।
इन्द्रसरा खड्कासँगकाे कुराकानीमा आधारित