राजा महेन्द्रपछि मै भएँ यो बाटो हिँड्ने : डा. भट्टराई
नेपालको पूर्वीसीमा सिक्किमसँग जोडिएको चिवाभञ्ज्याङदेखि पश्चिमी सीमा बैतडीको झुलाघाटसम्म मध्यपहाडी (पुष्पला
नेपालको पूर्वीसीमा सिक्किमसँग जोडिएको चिवाभञ्ज्याङदेखि पश्चिमी सीमा बैतडीको झुलाघाटसम्म मध्यपहाडी (पुष्पलाल) राजमार्गको यात्रा सम्पन्न फर्केका छन्– पूर्व प्रधानमन्त्री एवम् नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई । क्षेत्रीय विकास योजनामा विद्यावारिधि गरेका उनले यसअघि दशवर्षे सशस्त्र माओवादी जनयुद्धका क्रममा टुक्रा–टुक्रा गरी यो बाटोमा यात्रा गरेका थिए । यसपटक चाहिँ १८७९ किलोमिटर यात्रा लगातार पूरा गरे । ३० दिनलामो यात्रामा एक सयभन्दा बढी अन्तक्र्रिया गरे । हजारौँ स्थानीय बासिन्दासँग साक्षात्कार गरे ।
दश वर्षअघि आफू अर्थमन्त्री छँदा भट्टराईले यो लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेका थिए तर अझै यो अधुरो छ । ‘ऊ बेला जनयुद्धका क्रममा गएको थिएँ, यसपटकको यात्रा चाहिँ मनयुद्ध हो । यो उमेरमा यो यात्रा गर्नु निकै चुनौतीपूर्ण थियो तर सफल भइयो’, उनले भने ।
आफ्नो नेतृत्वमा भएको एक दशकलामो सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित मध्यपहाडमा के परिवर्तन आएको पाए त डा भट्टराईले ? कसरी संभव देख्छन् त ‘हाम्रै पालामा समृद्धि’ ?
करिब १९ महिना प्रधानमन्त्री भएका थिए- डा.भट्टराई । त्यसबेला काठमाडौंलगायत देशका मुख्य शहरको स्वरुप फेर्ने, राजश्व सङ्कलनमा ह्वत्तै वृद्धि गर्ने अनि माओवादी सेनाका लडाकूको समायोजन/व्यवस्थापन टुंगोमा पुर्याउनेजस्ता उल्लेखनीय काम गरेका थिए, उनले । दुईतिहाइ बहुमतको बलियो वर्तमान सरकारले एक वर्ष पुग्दा डा.भट्टराई मध्यपहाडकै यात्रामा थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गति र यसले तय गरेको गन्तव्यतर्फको एकवर्षे यात्राप्रति कस्तो मूल्याङ्कन छ उनको ? उनको दल नयाँशक्ति पार्टीको मूल नारा छ– ‘समृद्धि संभव छ हाम्रै पालामा’ । यो यात्रापछि पनि उनी कसरी देख्छन् त संभव ?
प्रस्तुत छ– यिनै विषयमा केन्द्रित रहेर डा. भट्टराईसँग काठमाडौंप्रेसका लागि माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता :
चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म १८७९ किलोमिटरलामो मध्यपहाडी यात्रा एकैचोटी फर्कनुभयो । यो रूट नै किन रोज्नुभएको ?
हो, हामीले माघ १५ देखि फागुन १५ सम्म सिक्किसमसँग जोडिएको पूर्वीसीमा चिवाभञ्ज्याङबाट मध्यपहाडी (पुष्पलाल) लोकमार्ग हुँदै फागुन १५ गते महाकाली किनारको झुलाघाट पुगेर १८७९ किलोमिटरको यात्रा सम्पन्न गर्यौँ । किनभने, मध्यपहाड नै ऐतिहासिक हिसाबले नेपालको भौगोलिक एकीकरणपछि दुईतिहाइ जनसङ्ख्या बसोबास गर्ने ठाउँ हो । कालान्तरमा पहाडी अर्थतन्त्र धरासायी बन्दै गयो । मान्छे तराई झर्न थाले । युवाहरू विदेश पलायन हुन थाले । र, यो भाग पछाडि पर्यो । त्यसो भएको हुनाले म अर्थमन्त्री छँदा ०६५ सालमा मध्यपहाडी राजमार्गलाई ‘पुष्पलाल लोकमार्ग’ नामाकरण गरेर यो सम्पन्न गर्नुपर्छ भन्ने अवधारणा अघि सारेको थिएँ । त्यसैले यो मध्यपहाडी लोकमार्गवरिपरि नै पछि सहरहरू पनि बनाउने भन्ने अवधारणाा अघि सारियो ।
यसले नै नेपालको अर्थतन्त्रलाई आमूल रुपान्तरण गर्नसक्छ भन्ने सोचका साथ यो यात्रा हामीले गर्यौँ । किनकि, मध्यपहाड नेपालको एक प्रकारको मेरुदण्ड नै हो । त्यसैले यो भागका जनतासँग भेटघाट गर्ने, यहाँको विकासको स्थिति बुझ्ने हाम्रो मुख्य चाहना थियो ।
०६३ सालअघि माओवादी जनयुद्ध कालमा त्यसको एकजना प्रमुख नेताका हैसियतमा त पक्कै यो बाटो हिँड्नुभएको थियो, शायद् खण्ड–खण्डमा । द्वन्द्व सकिएको १३ वर्षपछि फेरि एकैचोटी यात्रा गर्नुभो । यो बीचमा मध्य पहाडले कत्तिको उन्नति गरेछ ?
मध्यपहाडी लोकमार्ग जसलाई ऐतिहासिक रूपमा हुलाकी मार्ग पनि भनिन्थ्यो । पूर्वमा पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटादेखि र पश्चिममा डोटी र जुम्लादेखि काठमाडौंसम्म आउने बाटोलाई हुलाकी मार्ग भन्ने गरिन्थ्यो । त्यो बाटोबाट नेपालको इतिहासमा राजनीतिज्ञहरू कसैले भ्रमण गरेका रहेनछन् । हामी धेरै ठाउँ पुग्दा मानिसहरूले भने– ०१४/१५ सालतिर राजा महेन्द्र यो बाटोबाट आएका थिए । त्यस यता नेपालको कुनै पनि नेता, पूर्वप्रधानमन्त्री स्तरको मान्छे अथवा प्रधानमन्त्री कोही पनि आएनन् । त्यस हिसाबले यो बाटोको अवलोकन गर्दा धेरै नयाँ कुरो हेर्न पायौँ ।
म आफैँ पनि क्षेत्रीय विकासको विद्यार्थी हुनुको नाताले नेपालका तत्कालीन ७५ र अहिलेका ७७ वटै जिल्लाको अध्ययन गरेर मैले विद्यावारिधिको शोधपत्र तयार गरेको थिएँ । त्यसैले मलाई मोटामोटी जानकारी पनि थियो । जनयुद्धको तयारीको सिलसिलामा २०५२ सालमा म पश्चिममा कैलालीदेखि पूर्वमा संखुवासभासम्म अधिकांश क्षेत्रमा गएको थिएँ । जनयुद्धको क्रममा यी ठाउँमा अंश–अंश रूपमा गएको थिएँ ।
अहिले म फेरि पुग्दा राजनीतिक रूपमा मान्छेको चेतना जागृत भएको त पाएँ तर आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा खासै परिवर्तन भएको देखिएन । पूर्वमा केही परिवर्तन देखियो । मध्यमा ठीकठीकै देखियो । मध्यपश्चिम र सदूर–पश्चिम चाहिँ अलि पछाडि रहेको हामीले पायौँ । आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले जुन किसिमको रूपान्तरण पहाडको हुनुपर्थ्याे, त्यो भएको देखापरेन ।
यो पनि पढ्नुहोस्: बाबुराम भट्टराईले एक महिने मध्यपहाडी यात्रामा जे देखे....
त्यहाँ पुग्दा तपाईंलाई यत्ति पनि भएनछ यत्रो वर्षमा पनि भन्ने लाग्यो ? विकासको अवस्था निराशाजनक नै हो ?
मध्यपहाडी राजमार्गको ट्रयाक त खुलेको रहेछ । हामीले जाजरकोटको एउटा खण्डबाहेक हामी मोटरमा मध्यपहाडी लोकमार्गबाटै गयौँ । हिउँले सात किलोमीटर बाग्लुङ र रुकुमको सिमानामा अवरोध भयो । त्यो विभिन्न ढंगले पार गर्यौँ । त्यसअतिरिक्त यो बाटो बन्नु नै विकासको एउटा समान्य पूर्वाधार बनेकै हो ।
क्षेत्रीय विकास योजनाको विद्यार्थीका नाताले पनि मलाई के थाहा छ भने कृषिप्रधान अर्थतन्त्रमा सबभन्दा पहिलो पूर्वाधार भनेको सडक नै हो । सडकले बजारसँग जोडेपछि मात्रै कृषिको वैज्ञानिकीकरण आधुनिकीकरण हुन्छ र विकासको प्रक्रिया अघि बढ्छ । यस हिसाबले मध्यपहाडी लोकमार्गको निर्माण सँगसँगै सामान्य आर्थिक विकास हुन थालेका, साना बजारहरू हुन थालेका, जनताले निर्वाहमुखी खेती प्रणालीको सट्टामा व्यावसायिक खेती गर्न सुरु गरेको भन्ने त देखियो ।
तर, कतिपय ठाउँमा गम्भीर प्रकृतिको समस्या पनि देखियो । मध्यपूर्वी रुकुममा एउटा समान्य रुपान्तरण पनि हुन नसकेको हामीले देख्यौँ । लुकुम भन्ने गाउँमा हामी पुग्दा मध्ययुगीन अवस्थामा मान्छेहरू सुँगुरसँगै बस्ने, अत्यन्त फोहोर छ । रोजगारी छैन । युवाहरू गाउँमा कोही पनि बस्दैनन् । बूढाबुढीमात्रै, कठ्याङ्गिने चीसोमा नाङ्गो खुट्टा हिँडिराखेका छन् । यस्तो अवस्था देख्यौँ ।
जाजरकोट, दैलेखका कतिपय गाउँहरूमा बाटो, पानी बिजुली कुनै पनि पूर्वाधार नबनेको देखियो । पूर्वी नेपालको तेह्रथुमदेखि खोटाङ रामेछाप हुँदै आउने क्रममा पानीको गम्भीर समस्या देखियो । त्यसले गर्दा मान्छेहरू बसाइँ सरेर बस्ती नै उजाड हुँदै गएको पायौँ । यो प्रकारको अल्पविकास यो प्रकृतिको छ भन्ने मैले अलि सोचेको थिइनँ । योभन्दा अलि अगाडि बढ्यो कि भन्ने मेरो अनुमान थियो । विकास र समृद्धिमा अहिले पनि पहाड धेरै पछाडि रहेछ भन्ने अनुभूत भयो ।
भिडियाे वार्ता
१० वर्षमा यत्ति छोटो बाटो पनि बन्न नसक्नु हुन्थ्यो त आजको युगमा ?
एकदमै ठीक कुरा उठाउनुभो । हाम्रो राष्ट्रिय प्राथमिकता भएन । हाम्रा एउटा सरकारले एउटा योजना सुरु गर्छ । अर्को सरकारले आएर अर्कै प्राथमिकता तोक्छ । त्यो कारणले गर्दा पनि हाम्रा ठूलाठूला योजना कुनै पनि बेलामा सम्पन्न हुन सक्दैनन् । यसैलाई मध्यनजर गर्दै मैले राष्ट्रिय गौरवका योजना भनेर १७ वटा ठूला पूर्वाधार योजना घोषणा गरेको थिएँ । त्यसमा सडक, विमानस्थल, जलविद्युत योजना, सिंचाइका नहरहरू लगायतलाई राखेको थिएँ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग राष्ट्रिय लोकमार्ग घोषणा गरियो । त्यसपछि मात्र यसको विकास तीव्र रूपमा अगाडि बढेको हो । त्यसैले सरकारमा रहने मान्छेको दूरदृष्टि नहुनु, राष्ट्रिय प्राथमिकता के हो भन्ने पनि नहुनु मुख्य समस्या थियो । त्यसैले नै हाम्रा यी निर्माणहरू ढिला हुने गरेका छन् ।
यसरी हुँदैन । हाम्रा प्रधानमन्त्रीजी कहिले पानी जहाज प्राथमिकता दिने भन्नुहुन्छ, कहिले कहिले रेलको कुरा गर्नु हुन्छ । कहिले के भन्नुहुन्छ । हाम्रो राष्ट्रिय प्राथमिकता निर्धारण नभएरै यसो भएको हो । त्यसले गर्दा हाम्रा रणनीतिक महत्वका पूर्वाधार बेलामा बन्न सकेका छैनन् । रणनीतिक महत्वका पूर्वाधार नबनेसम्म देशले आर्थिक फड्को मार्दैन । औद्योगिक क्रान्ति हुँदैन ।
त्यसैले यो भ्रमणपछि म जोड दिएर भन्न चाहन्छु– हामीले पहिले राष्ट्रिय विकासको एउटा मार्गचित्र बनाऊँ । हाम्रो प्राथमिकता किटान गरौँ, जुनसुकै सरकार आए पनि त्यसलाई पालना गर्नुपर्छ भन्ने मान्यता बनाऊँ । त्यसो भयो भने देश बन्छ । नत्र यसरी नै बीसौँ वर्ष अलपत्र पर्छ । कुनै पूर्वाधार नबनी देशको विकास हुँदैन । मैले संसदमा पनि यो कुरा उठाउने सोचेको छु ।
‘समृद्धि संभव छ हाम्रै पालामा’ भन्ने यहाँहरूको जुन नारा छ, यो यात्रापछि पनि संभव छ भन्ने नै लाग्यो त ?
राजनीतिक नेतृत्वमा दूरदृष्टि, प्रतिबद्धता र इच्छाशक्ति भएन भने १०० वर्षमा पनि बन्दैन । तर, राजनीतिक नेतृत्वमा सही दूरदृष्टि भयो, सही खालको योजना बन्यो र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति भयो भने फेरि बन्न सक्छ । हाम्रैजस्ता देशहरू १५–२० वर्षमा रूपान्तरण भएका छन् । हामीकहाँ नेतृत्वकै दूरदृष्टिको अभाव छ । राज्य सञ्चालनका संयन्त्रहरूको कमजोरी र राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमीको कारण नेपाल पछाडि परेको हो । यो हुनसक्यो भने बन्छ ।
अहिलेको विकासको मोडल त ‘जहाँ ठूला नेता त्यहाँ ठूलो पुल, जहाँ ठूला नेता त्यहाँ ठूलो बाटो’ हैन त ?
कति मनपरीतन्त्र छ भने यसपटकको भ्रमणमा मैले सबै नदीहरू तरेँ । तमोर, अरुण, दूधकोशी, सुनकोशी, त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, भेरी, कर्णाली हुँदै महाकालीसम्म पुगेँ । तर, त्यहाँ के देखियो भने कुनै नदीमा पुलै पुल छन् । कतै छँदै छैन । उदाहरणका लागि, मस्र्याङ्दीमा ३०–४० किलोमिटर दूरीमा १० वटा पक्की पुल छन् तर सुनकोशी र भेरीमा एउटा–दुईटा पुल पनि छैन । कतिपय ठाउँमा त बाटो नै बनेको छैन पुल बनिसकेको छ– सानो खोल्सीमा पनि । त्यहाँ बाटोको ट्रयाक खुलिसकेको छैन ।
व्यक्तिगत सोच र दबाबका आधारमा राष्ट्रिय ढुकुटीको दोहन हुनु हुँदैन । देश र जनताको आवश्यकता अनुसार योजना बनाएर अगाडि जानुपर्छ । अलिकति टाठाबाठा मान्छेले आफ्नो चुनावी क्षेत्रमा मात्र ध्यान दिने आदि कारणले गर्दा भएको हो । राष्ट्रिय प्राथमिकता नहुनुको कारणले पनि यस्तो भएको हो । विकासको राष्ट्रिय मार्गचित्र बन्न सक्यो भने र कार्यान्वयनको दृढता भयो भने देश बन्छ । हाम्रै पालामा बन्छ भन्ने मलाई पूरा विश्वास छ ।
मध्यपहाडी लामो यात्राको रोचक पक्ष के रह्यो ? मन छुने कुरा र चुनौती के–के देख्नुभो ?
पहिलो कुरो, नेपालको हिमाल, पहाड र तराई जुन भूबनौट छ, त्यहाँ जुन हाम्रा जाति छन्, त्यसको विविधताको सम्मान गर्ने संस्कार हामीसँग भएन । सात रङ्ग भएको इन्द्रेणी कति राम्रो हुन्छ । त्यो एउटा सेतो मात्र हुँदा त्यति रमाइलो हुँदैन ।
मलाई खुशी के लाग्यो भने मध्यपहाडबाट यात्रा गर्नुको पछाडि पनि नेपालका एक प्रतिशतभन्दा बढी भाषा जनसंख्या भएका जनसमुदाय नौ वटा छन् । तीमध्ये दुई– थारू र मधेशी तराई÷मधेशमा बस्छन् । बाँकी सातवटा– लिम्बु, खम्बु, तामाङ, नेवार, गुरुङ, मगर र पश्चिमका खस चाहिँ मध्यपहाडमा बस्छन् ।
यी सात प्रमुख जातिका भाषा, संस्कृति, भेषभुषालाई भेट्ने, संगीतहरू सुन्ने कुराले मलाई आनन्द अनुभूति भयो । पूर्वमा ‘अरुण तरेर नाना तमोर तरेर....’ भन्ने गीत सुन्दै ‘सुदूर पश्चिमीसँग ‘आउँछु तम्रा बैतडी खप्तड घुम्न जाउँला....’ भन्ने गीतहरू सुन्दै जुन हिँड्न पाइयो त्यसले आनन्दको अनुभूति भयो ।
पूर्वमा चिवाभञ्ज्याङबाट सुरु गर्दा त्यो १० हजार फिटको उचाइमा हिउँ परिराखेको थियो । मध्य भागमा, बागलुङबाट रुकुम जाने क्रममा त्यहाँ पनि साढे १० हजारको उचाइमा हिउँ परिरहेको थियो । अन्त्यमा, हामी बैतडी पुग्दा पनि हिउँ परेको थियो । प्राकृतिक विविधता पनि देख्न पाइयो । पहाड, टार, खोँच यसको विविधता, विभिन्न जाति, संस्कृति, भाषा यसको अनुभव गर्दा चाहिँ अत्यन्त सुन्दर र रमाइलो अनुभव भयो ।
खोटाङको नूनथलाबाट गरेको ट्वीटमा लेख्नुभएको थियो– तामाङ दाइ जनयुद्ध सुरु गर्दा जति उत्साहित र सक्रिय हुनुहुन्थ्यो, अहिले पनि उत्तिकै उत्साहित हुनुहुन्छ तर उहाँको गरिबी जस्ताको तस्तै ? यो खालको मान्छेका दूरावस्था कत्तिको भेट्नुभो ?
नूनथलाका तामाङ दाइलाई ०५२ सालमा जनयुद्धको तयारीका लागि जानेक्रममा भेटेको थिएँ । अहिले पनि उहाँ खाली खुट्टा उत्तिकै दीनहीन अवस्थामा देखिनुभो । त्यसले मलाई मर्माहत बनायो । पूर्वीरूकुमको लुकुम पुग्दा त्यहाँका खाम मगर जनयुद्धको क्रममा पुग्दाजस्तै खाममगर अत्यन्त गरिबीको अवस्थामा अहिले पनि पाएँ । हामीले त्यत्रो आन्दोलन र अभियान चलायौँ । ठूलो परिवर्तनपछि पनि त्यो गाउँमा खासै परिवर्तन नआएको देख्दा नमीठो अनुभूति पनि भयो ।
रुकुम, जाजरकोट, बैतडीका पनि कतिपय ठाउँमा त्यहाँका दलितहरू अत्यन्तै दीनहीन अवस्थामा देख्दा मलाई निकै पीडाबोध पनि भयो । त्यस अर्थमा यो भ्रमण एकापट्टि विविधताको अवलोकनबाट सुखद् अनुभूति, अर्कोपट्टि गरिबी र बेरोजगारीको दुष्चक्रमा परेको देख्दा अत्यन्त दुःखद् अनुभूति पनि सँगसँगै भयो ।
हामीले अहिलेसम्म अभ्यास गरेको विकासको मोडल नै फेर्नुपर्छ भन्ने चाहिँ लागेन ?
त्यो लागेरै म हिँडेको हो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि अब लोकतान्त्रिकरणको युग मूलतः पूरा भयो । अब हामीले आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र संमृद्धीकरणको नयाँ युगमा हामी प्रवेश गर्यौँ । अब पुराना सोच, शैली, चिन्तन, विचार र पार्टीहरूबाट हुँदैन । म विकास योजनाको विद्यार्थी भएको नाताले नयाँ आधुनिक विचार, पछिल्लो ज्ञानविज्ञानमा आधारित दर्शनमा बनेका नयाँ शक्ति आवश्यक हुन्छ भनेरै यो अभियान सुरु गरेका हौँ ।
नेपालको विकासको अहिलेसम्मको ठोस नीति पनि रहेन । त्यो बनाउनुपर्छ भन्ने मान्यता म राख्छु । यो भ्रमणपछि दिमागमा एउटा के चित्र आएको छ भने– पहिलो कुरा, यो कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न केही प्रमुख पूर्वाधारमा जोड दिनैपर्छ । त्यो भनेको सडक, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार र बैंकिङ प्रणालीको ठोस योजना बनाएर राज्यले नै पहल लिएर अगाडि बढ्नुपर्छ । त्योसँगै, कृषिप्रधान अर्थतन्त्र भएको हुनाले त्यसको रूपान्तरणमा पहिलो प्राथमिकता दिनुपर्छ । वैज्ञानिक र व्यावसायिक खालको कृषिप्रणाली नअपनाई हामीले उद्योग र सेवा क्षेत्रमा हामी जान सक्दैनौँ ।
हाम्रो पहिलो प्राथमिकता कृषिको रुपान्तरण हो । त्यो सँगसँगै कृषि र वनजन्य जडिबुटी उद्योगको स्थापना गर्नुपर्छ । वस्तुको निर्यातमा ध्यान दिनुपर्छ । पर्यटन लगायतका सेवा क्षेत्र र सूचनाप्रविधि क्षेत्रमा हाम्रो लगानी हुनुपर्छ । यसरी अगाडि बढ्न सक्यो भने यो देश बन्छ ।
राज्य र निजी क्षेत्रको भूमिका स्पष्ट किटान गरेर पूर्वाधारमा राज्यले प्रमुख भूमिका निजी क्षेत्रले सहायक भूमिका, कृषि पर्यटन उद्योग लगायतका क्षेत्रमा निजी क्षेत्रको प्रमुख भूमिका हुनुपर्छ । यो सोच अन्तर्गत विकास नीति बनाउनुपर्छ ।
त्योसँगसँगै भारत र चीनसँग लाभ लिने गरी पूर्व–पश्चिम लोकमार्ग, मध्यपहाडबाट र तराइको हुलाकी मार्ग हुँदै पूर्व–पश्चिम लोकमार्गमा प्राथमिकता दिनुपर्छ । त्यसपछि कोशी, गण्डकी, बाग्मती र कर्णाली करिडोर मार्फत् भारत र चीनलाई जोड्नुपर्छ । यो सडकलाई पहिलो प्राथमिकता दिएर हामी अगाडि बढ्यौँ भने नेपालको विकासले एउटा फड्को मार्छ । त्यो गर्न सकेनौँ, सरकार र एउटा व्यक्तिपिच्छे आफ्नो लहडमा भाषणबाजी गर्दै हिँड्यौँ भने देश बन्दैन ।
अन्तिममा, यहाँ मध्यपहाडी यात्रामै हुँदा यो सरकारको एक वर्ष पूरा भयो । यो सरकारको गति र गन्तव्य कस्तो देख्नुहुन्छ ? धेरै वर्षपछि बनेको यत्ति बलियो सरकारले समृद्धितर्फको यात्रामा लाँदैछ कि छैन ?
बिहानीले दिउँसोको झलक दिन्छ भन्छन् । यसरी हेर्दा पाँच वर्षको म्याण्डेट पाएको दुईतिहाइ बहुमतको सरकारले पहिलो वर्षमा जुन झल्को दिनुपथ्र्याे, त्यो दिन सकेन । सामान्य नियमित प्रकारका गतिविधि त भए । त्यो त निरन्तरतामा जसले पनि गथ्र्यो । यो सरकारबाट निरन्तरतामा क्रम भंग र छलाङ्मय विकासको नयाँपनको अपेक्षा जनताले गरेको हो ।
त्यसरी हेर्दा, यो वर्षका उपलब्धि त्यति उल्लेखनीय भएनन् । सुशासनको क्षेत्रमा, कमसेकम भ्रष्टाचार रोकेर जनतालाई सुशासनको प्रत्याभूति गराउन सक्नुपथ्र्यो । त्यो हुन सकेन । वाइडबडी काण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, ३३ किलो सुनकाण्ड लगायत भ्रष्टाचारका पहाडहरू खडा भए । निर्मला प्रकरणजस्ता शान्तिसुरक्षाका सामान्य गतिविधि पनि राम्ररी सम्पन्न हुन सकेनन् ।
विकास र समृद्धिको क्षेत्रमा, कुनै ठूलो उल्लेखनीय प्रकारको लगानी विदेशबाट पनि आएन, देशबाट पनि भएन । उल्टै गत वर्ष छ महिनामा करिब १६ अर्ब वैदेशिक लगानी आएको थियो, यो वर्ष त पहिलो छ महिनामा छ अर्ब पनि आएन । व्यापार घाटा हाम्रो जुन थियो– पोहोर सात छ महिनामा चार खर्ब व्यापार घाटा थियो, अहिले छ खर्ब भयो । यसरी उल्टो ढंगले जसरी अर्थतन्त्र अगाडि बढिराखेको छ, त्यो हिसाबले यो सरकारले राम्रो संकेत गरेन । यही दिशामा जाने हो भने देश बन्दैन ।