Kathmandu Press

‘बाघ संरक्षणमा नेपाल विश्वकै नमूना राष्ट्र’

काठमाडौं, फागुन १९ : आज विश्व वन्यजन्तु दिवस । दुर्लभ वन्यजन्तुको व्यापार नियमन गर्ने अन्तर्राष्ट्रि

‘बाघ संरक्षणमा नेपाल विश्वकै नमूना राष्ट्र’
रिवाज राई

काठमाडौं, फागुन १९ : आज विश्व वन्यजन्तु दिवस । दुर्लभ वन्यजन्तुको व्यापार नियमन गर्ने अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) अनुमोदन भएको दिनको सम्झनामा सन् २०१३ यता हरेक मार्च ३ मा यो दिवस मनाइँदै आएको छ । 

यसै सन्दर्भमा काठमाडौं प्रेसले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का नेपाल प्रमुख घन एस. गुरुङसँग संरक्षण, यसका चुनौति, जलवायु परिवर्तनका जोखिम र दीगो विकासमा केन्द्रित रही कुराकानी गरेको छ ।

दुई दशकभन्दा लामो समयदेखि संरक्षण, पर्या पर्यटन र मानव केन्द्रित प्राकृतिक स्रोत व्यवस्थापनजस्ता क्षेत्रमा कार्यरत गुरुङ यसअघि डब्लूडब्लूएफ नेपालमै वरिष्ठ संरक्षण कार्यक्रम निर्देशकको रुपमा कार्यरत थिए । 

Hardik ivf

गत बिहीबार काठमाडौं प्रेसको टिम डब्लूडब्लूएफ नेपालको बालुवाटारस्थित कार्यालय पुग्दा गुरुङ मलिन मुद्रामा थिए । अघिल्लो दिन ताप्लेजुङको पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी र पर्यटन व्यवसायका हस्ती आङछिरिङ शेर्पासहित ७ जनाको मृत्यु भएको खबरले गुरुङको मनमा झण्डै १२ वर्षअघि ताप्लेजुङकै घुन्सामा भएको अर्को हेलिकप्टर दुर्घटनाको याद ताजा गराएको थियो, जसमा  डब्लूडब्लूएफका तत्कालीन नेपाल प्रमुख चन्द्र गुरुङलगायत थुप्रै संरक्षण हस्तीहरूको निधन भएको थियो ।

‘त्यो दुर्घटनामा मैले मेरा धेरै गुरु र अग्रजहरू गुमाएँ,’ उनले भने, ‘ताप्लेजुङमै भएको अर्को हेलिकोप्टर दुर्घटनामा परेर हामीसँग संरक्षणका लागि सहकार्य गरिरहनुभएका पर्यटन मन्त्री लगायत सात जनाको निधन भएको खबरले त्यो पुरानो घाउ फेरि बल्झाइदियो ।’

एक छिनलाई त्यो दुःख बिर्सेर गुरुङले वन्यजन्तु संरक्षणमा नेपालले हासिल गरेको सफलता, चुनौति र भावी दिशाबारे आफ्ना ज्ञान, अनुभव र धारणाहरू अघि सारे । 

के सन् २०२२ भित्र बाघको संख्या दोब्बर हुन्छ ?
बाघ संरक्षणमा नेपाललाई विश्वमै उत्कृष्ट र नमूना देशको रुपमा हेरिन्छ । भखरै लण्डनमा भएको एक सम्मेलनमा पनि नेपालमा भइरहेको बाघ संरक्षणको प्रशंसा भएको थियो । नेपाललगायत दक्षिण एसियाली देशहरूले बाघ संरक्षणमा उत्साहजनक नतिजा हासिल गरिरहेका छन् । तर, इन्डोनेसिया, थाइल्याण्ड र मलेसियाजस्ता दक्षिण पूर्वी एसियाली देशहरूले भने सन्तोषजनक नतिजा हासिल गर्न सकिरहेका छैनन् । 

सन् २०२२ भित्र बाघको संख्या दोब्बर पार्ने लक्ष्य नेपालका लागि सम्भव देखिन्छ । अरु दक्षिण एसियाली देशहरूले पनि यो लक्ष्य भेट्न सक्छन् । तर, विश्वमै बाघको संख्या दोब्बर हुन्छ भन्न चाहिँ गाह्रो छ । 

चुनौतिहरू के के छन् ?
बाघ संरक्षण साह्रै चुनौतिपूर्ण छ । बाघ संरक्षणका लागि सर्वप्रथम त फराकिलो बासस्थान चाहियो । बाघको आहाराका लागि अन्य वन्यजन्तुहरू पनि चाहियो । तर, अहिले बाघको वासस्थान खण्डीकृत हुँदैछ । चोरी–शिकारीको खतरा पनि छ । बाघको संख्या जति बढ्यो, मानव र वन्यजन्तुबीच द्वन्द्वकोे जोखिम पनि उत्तिकै बढ्छ । त्यसको उचित व्यवस्थापन पनि चुनौतिपूर्ण हुन्छ । 

नेपाल र भारतका बन क्षेत्रहरू जोडिएका छन् । यताका बाघ उता जाने र उताका बाघ यता आउने भइरहन्छ । यसकारण, नेपालले मात्रै बाघ बचाएर हुन्न, भारतले पनि बचाउनुपर्छ । एक ठाउँमा बाघको संख्या घट्यो भने अर्को ठाउँमा बृद्धि गर्न गाह्रो हुन्छ । नेपाल र भारतका बाघहरूले विचरण गर्ने फराकिलो क्षेत्र पाएनन् भने तिनको बंशाणु गुणमा  ह्रास आउँछ । 

के चितवन बाघका लागि साँघुरो भएको हो ?
चितवनमा क्षमताभन्दा बढी बाघ भइसके भन्ने कुरा आइरहेको छ । यसैले, चितवनसँग साँच्चै कति बाघ अँटाउने क्षमता छ त भन्ने बुझ्न हामी अहिले एक अध्ययन गर्दैछौँ । तर, चितवन साँघुरो भए पनि सँगै पर्सा निकुञ्ज छ । बाघको संख्या त्यहाँ पनि बढ्न सक्छ । सीमापारि भारतमा पनि बाघको संख्या बढ्दैछ । बाघ त धेरै ठाउँमा आवत–जावत गरिराख्ने जनावर हो नि ! 

शुक्लाफाँटामा बाघको बृद्धि हुन नसकेको कुरा पनि छ । त्यहाँ सन् २००४ तिर २० भन्दा बढी बाघ थिए । अहिले १७–१८ मात्रै बाघ छन् । त्यहाँ बाघको संख्या बढाउन भारत र नेपाल दुबै देशले चोरीशिकारी नियन्त्रणमा अझ ध्यान दिनुपर्नेछ । त्यहाँ भाले र पोथीको सन्तुलन कति छ भन्ने पनि हेर्दैछौँ । पोथीभन्दा भालेको संख्या बढी भयो भने बाघको सख्यामा बृद्धि हुँदैन । चितवन र बर्दियामा क्षमता अनुसारै बाघ छन् । शुक्लाँफाँटा, बाँके र पर्सामा पनि बाघको संख्या बढाउन सके बाघको संख्या दोब्बर बनाउन सकिन्छ । 

चोरी–शिकारीको अवस्था कस्तो छ ?
बाघ मरेका र मारिएका घटनाहरू बेलाबेला बाहिर आउने गरेका छन् । तर, बाघ शिकारीले केही पनि छाडेर जाँदैनन् । बाघका छाला–हड्डी सबै लान्छन् । गैंडा शिकारीले झै खाग ताछेर शरीर छाड्दैनन् । कहिंलेकाहीँ बाघको छाला समातिन्छ, तर त्यो छाला नेपालबाटै आएको हो कि भारतबाट भन्ने ठम्याउन गाह्रो पर्छ । यसैले, बाघको चोरी–शिकारीको अवस्था यस्तो छ भनी ठ्याक्कै भन्न गाह्रो हुन्छ । 

वन्यजन्तु संरक्षणमा सरकारी प्रयासलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपालमा बाघ प्रायः प्राकृतिक कारणले मरेका छन्, जुन स्वाभाविक पनि हो । किनकि, यहाँ बाघको वृद्धिदर नै उच्च छ । अघिल्लो गणनाको तुलनामा यसपटक बाघको संख्या ६३ प्रतिशतले बढ्यो । बाघले ३ देखि ४ वर्षभित्र अर्को बच्चा जन्माइसक्छ । दुई–चार वटा बच्चा राम्रोसँग हुर्काउन पनि सक्छ । यसैले, बासस्थानको व्यवस्थापन र चोरीशिकारी नियन्त्रण प्रभावकारी हुने हो नेपालमा बाघको संख्या मज्जाले बढ्न सक्छ । नेपालमा प्रधानमन्त्रीकै नेतृत्वमा बाघ संरक्षण समिति बनेको छ । वर्षमा एकपटक समितिको वैठक बस्छ र यो वर्ष पनि बस्ने तयारी भइरहेको छ । बन मन्त्रालय, सेना र प्रहरी पनि बाघ संरक्षणमा प्रत्यक्ष संलग्न छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि चोरी–शिकारी नियन्त्रणमा विशेष पहल गर्दै आएको छ । यसरी बाघ संरक्षणमा उच्च सरकारी स्तरबाटै काम भइरहेको छ । 

संरक्षण र विकासलाई कसरी सँगै बढाउन सकिन्छ ?
कतिपयले हामी संरक्षणमा काम गर्नेहरूलाई विकास विरोधीको आरोप लगाउँछन् । तर, हामी विकास बिरोधी होइनौँ । हामी केबल जथाभावी विकासको बिरोधमा छौँ । हामी दीगो विकास चाहन्छौँ । बन्यजन्तुको वासस्थान नै ध्वस्त हुने गरी संरक्षण क्षेत्रभित्र जथाभावी सडक, रेल्वे मार्ग र भौतिक संरचना निर्माण गरिनु हुँदैन भन्ने हाम्रो भनाइ हो । चितवनकै कुरा गरौँ, त्यहाँ बन्यजन्तुलाई असर नपर्ने गरी सडक बनाउन सर्वोच्च अदालतले पनि आदेश दिइसकेको छ । त्यहाँ बाघ–गैंडा नै नाशिने गरी बनमा जथाभावी सडक र रेल्वे मार्ग बनाएर पर्यटक घुमाउने हो भने के हुन्छ ? बाघ र गैंडा नै नरहेपछि पर्यटकहरू के हेर्न आउँछन् ? विकास नगर्ने भन्ने होइन । गर्ने हो, तर दीगो रुपले । बन्यजन्तु र तिनका वासस्थान विनाश नगर्ने गरी पनि विकास गर्न सकिन्छ, गर्नु पर्छ । चितवनका बाघ र गैंडा बचाउन सकिएन भने पर्यटनको मुख्य आधार नै गुम्छ । 
गैंडाको अवस्था के छ ?

गैंडाको अवस्था बाघको भन्दा पनि राम्रो छ । चितवनका गैंडा अन्त पनि लग्दैछौं । जसकारण, चितवनका गैंडाहरू संक्रामक रोग फैलिएर मरे भने पनि अर्को ठाउँका गैंडाहरू बाँच्छन् । चोरी शिकारी पनि नियन्त्रित भएको छ । सन् २०११ देखि अहिलेसम्म पाँच पटक गैंडा संरक्षणमा शून्य चोरी–शिकारी वर्ष मनाएका छौँ । 

भिडियो हेर्नुहोस्

वन्यजन्तु संरक्षणमा जलवायु परिवर्तनको जोखिम कति छ ?
जलवायु परिवर्तनले बन्यजन्तुमा ठ्याक्कै के असर पारिरहेको छ भन्ने स्पष्ट छैन । तर, यसका डरलाग्दा असरका संकेतहरू देखिँदैछन् । अबको ५० वर्षपछि तराईमा सालका रुखहरू नै नरहने जोखिम पनि देखिएको छ । भोलि तराईमा सालका रुखहरू नै नरहे वन्यजन्तुको हाल के होला ? जलवायु परिवर्तनकै कारण हो कि होइन, तर अहिले बाघहरू पनि चुरे चढ्दैछन् । जलवायु परिवर्तनका कारण सिधै बाघहरू नमर्लान्, तर उसका आहारा र वबासस्थानमा असर पर्न सक्छ । बन क्षेत्र नजिकै बस्ती बढ्दै गएपछि कुकुरको संख्या पनि बढ्दैछ । जलवायु परिवर्तनका कारण कुकुरमा कुनै घातक रोगको संक्रमण फैलिए त्यो बाघमा पुग्न कति बेर लाग्ला र ! 

हिउँचितुवाको हाल के छ ? 

हिउँचितुवा अवस्था राम्रै छ । तर, यसको संख्या कति छ भन्ने ठ्याक्कै भन्न सकिँदैन । हामी हिमचितुवा २ सय ५० देखि ५ सयको संख्यामा रहेको अनुमान मात्रै गर्न सक्छौँ । नेपाल, भारत र चीनको त्रिपक्षीय हिमालमा डुल्ने हिउँचितुवाको संरक्षणबारे जनचेतना पनि राम्रै फैलिएको छ । 

प्रकाशित मिति: १०:५४ बजे, आइतबार, फागुन १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्